काठमाडौं । एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएपछि अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।
विमानस्थलका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अहमदाबादबाट लन्डन ग्याटविकका लागि उडान नम्बर ब्क्ष्ज्ञठज्ञ आज उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भयो, फलस्वरूप, सरदार वल्लभ भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल हाल बन्द छ, अर्को सूचना नभएसम्म सबै उडानहरू बन्द रहनेछन् ।’
यात्रुहरूले विमानस्थलमा आउनुअघि आ–आफ्नो सम्बन्धित एयरलाइन्सबाट पछिल्लो जानकारी लिनुपर्ने पनि बताइएको छ । यात्रुहरूलाई सहयोग गर्न र धैर्यता कायम राख्न अनुरोध पनि विमानस्थलले जनाएको छ ।
त्यसैगरी एयर इन्डियाले अहमदाबादमा दुर्घटनाग्रस्त आफ्नो विमानमा सवार यात्रुहरूको बारेमा पनि जानकारी दिएको छ । एयर इन्डियाले उडान भरेपछि विमान दुर्घटनाग्रस्त भएको बताएको छ । यो विमान अहमदाबादबाट लन्डन ग्याटविक जाँदै थियो ।
आज बिहीबार दिउँसो भारतको समय अनुसार १ः३८ बजे अहमदाबादबाट उडान भरेको विमान, जसमा २४२ यात्रु र चालक दलका सदस्यहरू थिए ।
यो विमान बोइङ ७८७–८ विमान थियो । विमानमा सवार २४२ जनामध्ये १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक थिए । एयर इन्डियाले घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालहरूमा लगिएको बताएको छ ।
एयर इन्डियाले १८०० ५६९१ ४४४ नम्बर पनि जारी गरेको छ । यो हटलाइन नम्बर यस दुर्घटनासँग सम्बन्धित जानकारीको लागि मात्र जारी गरिएको हो ।
अहमदाबाद प्रहरीले प्रहरी आपतकालीन सेवाहरू र विमान दुर्घटनाको बारेमा जानकारीको लागि अहमदाबाद शहर प्रहरी आपतकालीन नम्बर ०७९२५६२०३५९ पनि जारी गरेको छ ।
विमान दुर्घटनापछि एयर इन्डियाका अध्यक्ष एन चन्द्रशेखरनको दुःख व्यक्त
एयर इन्डियाका अध्यक्ष एन चन्द्रशेखरनले गुजरातको अहमदाबादमा भएको विमान दुर्घटनामा शोक व्यक्त गरेका छन् । उनको बयान टाटा समूहले आफ्नो आधिकारिक एक्स खातामा पोस्ट गरेको छ । एयर इन्डिया टाटा समूहको कम्पनी हो ।
टाटा समूहले एयर इन्डियाका अध्यक्ष एन चन्द्रशेखरनलाई उद्धृत गर्दै ट्विटरमा भनेको छ, ‘म धेरै दुःखका साथ पुष्टि गर्छु कि अहमदाबादबाट लन्डन ग्याटविकका लागि एयर इन्डियाको उडान नम्बर १७१ आज दुर्घटनाग्रस्त भएको छ ।’
‘यस भयानक दुर्घटनाबाट प्रभावित परिवार र प्रियजनहरूसँग हाम्रो गहिरो समवेदना छ’, एन चन्द्रशेखरनले भने, ‘हाल हाम्रो प्राथमिकता सबै प्रभावित र उनीहरूका परिवारलाई सहयोग प्रदान गर्नु हो, हामी घटनास्थलमा उपस्थित आपतकालीन प्रतिक्रिया टोलीहरूलाई मद्दत गर्न र दुर्घटनाका पीडितहरूलाई आवश्यक सहयोग प्रदान गर्न हरसम्भव प्रयास गरिरहेका छौँ, थप ठोस जानकारी प्राप्त हुने बित्तिकै थप अपडेटहरू साझा गरिनेछ, आपतकालीन केन्द्र सक्रिय गरिएको छ र जानकारी चाहिने परिवारहरूका लागि सहयोग टोलीहरू पनि गठन गरिएको छ ।’
प्रतिक्रिया