ग्रुपमा प्रश्नपत्र हाल्ने शिक्षक सन्दीप सिंह पक्राउ, छानबिन समिति गठन

त्रिवि प्रश्नपत्र चुहावट प्रकरण

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर (एमबिएस) प्रथम सेमेस्टरको परीक्षा सुरु भएको ६ मिनेटमै प्रश्नपत्र ह्वाट्सएप ग्रुपबाट बाहिरिएको पाइएको छ । हजार जनाभन्दा बढी सदस्य रहेको ‘एमबिएस फर्स्ट सेम, सेक्सन सी’ नामको ह्वाट्सएप ग्रुपमा प्रश्नपत्रको पिडिएफ फाइल लिक भएपछि उत्तरसमेत माग्न थालिएको थियो । परीक्षा चलिरहेका बेला प्रश्नपत्र बाहिरिएको घटना सार्वजनिक भएपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रहरी नेतृत्वसँग समन्वय गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएका थिए । मन्त्री पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई फोन गरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र साइबर ब्युरोलाई अनुसन्धानमा परिचालन गर्न निर्देशन दिएका थिए ।

साउन ८ गते परीक्षा सुरु भएको केही मिनेटमै ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र सार्वजनिक भएको थियो । ग्रुपमा ‘सुलभ सर’ नामबाट प्रश्नपत्र पठाउँदै अर्थशास्त्रको प्रश्नपत्रसमेत उपलब्ध गराउने सन्देश राखिएको थियो । परीक्षा चलिरहेकै समयमा मोबाइल र प्रविधिको प्रयोग गरी प्रश्नपत्र बाहिरिएको घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रहरीको प्राविधिक टोलीले डिजिटल फुटप्रिन्ट र ह्वाट्सएप ग्रुपमा भएका गतिविधिको अनुसन्धानपछि सिआइबीले कोटेश्वरको हिमालयन कलेज र काठमाडौँ मोडेल कलेज बागबजारका शिक्षक सन्दीप सिंहलाई पक्राउ गरेको छ । कैलालीको घोडाघोडी नगरपालिका–११ स्थायी ठेगाना भएका उनी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बाट पक्राउ परेका हुन् । उनीमाथि सिआइबीले शिक्षा ऐन २०२८ अन्तर्गतको कसुरमा अनुसन्धान अगाडि बढाएको छ ।

घटनापछि मन्त्री पोखरेलले परीक्षा प्रणाली र प्रश्नपत्र सुरक्षामा भएको लापरबाहीबारे छानबिन गरी दोषीमाथि कारबाही गर्ने बताएका छन् । उनले शैक्षिक अपराधमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने बताए । मन्त्री पोखरेलले विगतमा पनि यस्ता घटना दोहोरिने गरेको उल्लेख गर्दै यस पटक तत्काल कारबाही प्रक्रिया अघि बढाइएको बताए । सुशासनविरोधी गतिविधिमा संलग्न जोसुकैलाई कानुनअनुसार कारबाही गरिने र घटनाको विस्तृत अनुसन्धानपछि सत्यतथ्य सार्वजनिक गरिने उनले स्पष्ट पारे ।

त्रिविद्वारा छानबिन समिति गठन

त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयले घटनाको छानबिन गर्न प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ । समितिले परीक्षा केन्द्रको सुरक्षा व्यवस्था, प्रश्नपत्र बाहिरिनुको कारण र भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायबारे अध्ययन गरी प्रतिवेदन बुझाउनेछ । यसअघि विश्वविद्यालयमा प्रश्नपत्र बाहिरिने वा परीक्षामा अनियमितता हुने घटनामा छानबिन समिति गठन भए पनि दोषीमाथि कारबाही नहुने गुनासो हुँदै आएको थियो । यस पटक भने प्रश्नपत्र बाहिरिएको २४ घन्टाभित्रै आरोपित पक्राउ परेका छन् ।

प्रतिक्रिया