दलहरूमा रहेको विश्वासको संकट चिर्दै एकताबद्ध हुनपर्छ : पूर्वराष्ट्रपति भण्डारी

मोरङ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूमा रहेको विश्वासको संकट चिर्दै राष्ट्रिय मुद्दामा एकताबद्ध हुनुपर्ने बताएकी छन् ।

कोशी प्रदेश भ्रमण सकेर आज काठमाडौं फर्कने क्रममा विराटनगर विमानस्थलमा उनले सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय मुद्दामा सबै पार्टीहरूबीच छलफल गरी एकताका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारीले वर्तमान शासन प्रणालीप्रति जनता सन्तुष्ट रहेको चर्चा गर्दै अब विकासको आकाङ्क्षालाई पूरा गरी आर्थिक समृद्धितर्फ हाम्रो ध्यान केन्द्रित हुनुपर्ने बताइन् ।

सञ्चारकर्मीको जिज्ञासामा उनले आफ्नो कोशी प्रदेश भ्रमण राजनीतिक उद्देश्यले नभएको बताइन् । विराटनगरमा भएको पालिकास्तरीय उपप्रमुख र उपाध्यक्षको राष्ट्रिय सम्मेलन र झापामा विद्यार्थीको विज्ञान प्रदर्शनीमा सहभागी हुन आफू यहाँ आएको बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले आफू विगतमा प्रजातन्त्रिक आन्दोलनमा सहभागी भएको र राष्ट्रपति बनाएको पार्टीप्रति हाल पनि आस्था रहेको धारणा राखिन् । उनले आफू कहिले पनि कुनै गुटबन्दीमा नरहेको बताउँदै मुलुकको समृद्धि कायम गर्नेतर्फ मुख्य ध्यान रहेको बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले विगतमा भएका एकता टिकाउ नभएका उदाहरण स्मरण गर्दै मुलुकमा वाम एकता हुनेतर्फ विश्वास नरहेको चर्चा गरिन् ।

प्रतिक्रिया