काठमाडौं । प्रमुख प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको भन्दै उनको राजीनामा माग गर्दै केही दिनदेखि अवरोध गर्दै आएको प्रतिनिधिसभाको बैठक आज पनि सुरू हुनासाथ स्थगित भएको छ ।
गत सोमबार पनि विपक्षी दलहरुले अवरोध गरेपछि आज बुधबार दिनको १ बजे बस्ने गरी सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए । तर आज १ बजे पनि बस्न नसकेको बैठक दिउँसो ३ः४५ बजे सुरु भएको थियो ।
तर ढिलो गरी सुरु भएको प्रतिनिधिसभा बैठक आज पनि विपक्षी दलहरूले उठेर विरोध जनाइरहेपछि सभामुख घिमिरेले अर्को बैठक भोलि बिहीबार दिउँसो ३ बजे बस्ने गरी स्थगित गरेका हुन् । विपक्षी दलहरूले गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आज पनि प्रतिनिधिसभा बैठक अवरोध गरेका हुन् ।
विपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री लेखकमाथि छानबिन गर्न समिति गठन हुनुपर्ने भन्दै जेठ १३ गतेदेखि सदनमा अवरोध गरिरहेका छन् ।
प्रतिक्रिया