काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक भएको उल्लेख गर्दै कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया पनि जिम्मेवार हुनुपर्ने बताएकी छन् ।
नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँग बिहीबार भएको टेलिफोन कुराकानीलाई धम्की भनी नागरिक पत्रिकामा आएको समाचारको खण्डन गर्दै उनले स्वभावैले मिडिया पीडितमैत्री हुन्छ भन्ने आफ्नो बुझाइ भएको उल्लेख गरेकी छन् । यसैका आधारमा राखिएका कतिपय धारणालाई प्रेसले धम्कीपूर्ण भाषाका रुपमा बुझ्नु दुःखद् भएको उनको भनाइ छ ।
‘नागरिक दैनिकमा आफ्नो विषयमा समाचार प्रकाशित भएको देखेर आश्चर्य चकित भएकी छु’, उनले भनेकी छन्, ‘हाम्रो परिवारलाई बदनाम गराउने दुसित मनासयसहित सामाजिक सञ्जालमा आएको तथ्यहीन र भ्रामक भिडियो र त्यसको न्यायिक निरुपणमा बारेमा उहाँसँग कुराकानी भएको हो ।’
नेपालमा लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका लागि सबैभन्दा बढी संघर्ष गरेको नेपाली कांग्रेसको योगदानलाई कसैले बिर्सन नमिल्ने समेत उनले स्मरण गरेकी छन् ।
प्रतिक्रिया