राम चरणको फिल्ममा दुर्घटना

नयाँ दिल्ली । दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार राम चरणको आगामी फिल्म ‘द इन्डिया हाउस’को सेटमा एउटा भयानक दुर्घटना भएको छ । यसका कारण फिल्मको छायांकन अचानक रोकिएको छ ।

हैदरावादको शमशाबाद क्षेत्रमा छायांकनका क्रममा पानीको ट्यांकी फुटेको थियो । यसले गर्दा बाढीजस्तो अवस्था सिर्जना भयो, सेटमा उपस्थित चालक दलका सदस्यहरू र सहायक छायांकनकर्ताहरू घाइते भएका छन् । यस घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा पानीको तीव्र धारले सेटमा रहेका सामान र मानिसहरूलाई बगाएको देख्न सकिन्छ ।

फिल्मको एक्सन दृश्य समुन्द्र किनारमा छायांकन भइरहेको थियो, त्यतिबेला अचानक पानीको ट्यांकी फुट्यो । पानीको चाप यति धेरै थियो कि सम्पूर्ण सेट डुबानमा प¥यो र बाढीजस्तो अवस्था सिर्जना भयो ।

सबै घाइतेहरूलाई हैदराबादको एक निजी अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनीहरूको उपचार भइरहेको बताइएको छ । हाल सुरक्षाका कारणले गर्दा फिल्मको छायांकन पूर्ण रूपमा रोकिएको छ ।

दुर्घटनासँग सम्बन्धित भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् । भिडियो सेट पानीमा डुबेको र तीव्र पानीको बहावका कारण कति ठुलो क्षति भएको स्पष्ट देखिन्छ ।

यद्यपि, दुर्घटनाको समयमा मुख्य अभिनेता निखिल सिद्धार्थ त्यहाँ उपस्थित थिए कि थिएनन् भन्ने कुरा अझै स्पष्ट छैन । अर्कोतर्फ, शमशाबाद प्रहरीलाई घटनाबारे जानकारी दिइएको छैन । त्यसैले प्रहरीले अहिलेसम्म कुनै आधिकारिक वयान जारी गरेको छैन ।

द इन्डिया हाउस राम चरणद्वारा निर्मित पहिलो फिल्म हो । स्वतन्त्रता सेनानी वीर सावरकरको १४०औँ जन्मजयन्तीको अवसरमा २०२३ मा यस फिल्मको घोषणा गरिएको थियो । यो फिल्म रामवंशी कृष्णद्वारा निर्देशित छ ।

कृष्णा यस फिल्मबाट निर्देशकको रूपमा डेब्यु गर्दैछन् । पिरियड ड्रामामा निखिल सिद्धार्थ र साई मांजरेकर मुख्य भूमिकामा छन् । अनुभवी अभिनेता अनुपम खेर पनि फिल्ममा छन् । यो कथा देशभक्ति र स्वतन्त्रताको संघर्षसँग सम्बन्धित रहेको बताइएको छ ।

प्रतिक्रिया