‘गुन्यू चोली पटुकी’मा राष्ट्रप्रेम

काठमाडौँ । ‘गुन्यू चोली पटुकी’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गीतका शब्द एआइजी दानबहादुर कार्कीले लेखेका हुन् । पछिल्लो समय गीत लेखनमा समेत सक्रिय कार्कीको यो गीतमा बाल गायिका अनुजा कडरियाले स्वर दिएकी छन् भने बसन्त सापकोटाको संगीत छ ।

यसको भिडिओमा बालकलाकार आन्भी ओलीले अभिनय गरेकी छन् । नयाँ पुस्तालाई राष्ट्रप्रेम जागृत गराउन र आफ्नो संस्कृति र वेषभूषाप्रति गौरव गराउन यो गीत लेखेको एआइजी कार्कीले बताए । ‘गुन्यू, चोलो र पटुकी नेपाली संस्कृति र वेषभूषाका अभिन्न अंग हुन् । हाम्रो यो संस्कृति नयाँ आउने पुस्ताले बिर्सिंदै जाला कि भन्ने अवस्थामा यो गीत लेखिएको हो’, उनले भने, ‘गीतमा अभिव्यक्ति विषयले म मेरो देशप्रति गर्व गर्छु, मेरो वेषभूषाप्रति गर्व गर्छु भन्ने सन्देश बोक्न खोजेको छ । गीतले नयाँ पुस्तालाई राष्ट्रप्रेम जागृत गराउने र आफनो संस्कृति र वेषभूषाप्रति गौरव महसुस गराउन भूमिका खेल्न सक्छ ।’ पवन सुस्लिङको छायांकन, सम्पादन र कलरिङ रहेको यो गीतको भिडिओ निर्देशन किरण थापाले गरेका हुन् । एआइजी कार्कीले अघिल्लो वर्ष प्रहरीको प्रवक्ता हुँदा ‘दसैँ–तिहार’ बोलको गीत ल्याएका थिए ।

प्रतिक्रिया