प्रदर्शनीमा देशको ललितकलाको ऐना झल्किएको छ : उपकुलपति लामा

सामाजिक रुपान्तरण ललितकलाको अभियान भन्ने नाराका साथ नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ को आयोजना गरेको छ । देशका सातै प्रदेशमा आयोजना गरिएको प्रादेशिक ललितकला प्रदर्शनीमा छानिएका कलाकृतिसहित आमन्त्रित कलाकार गरी ६ सयभन्दा बढी कलाकारका ६ सय ५० कलाकृति राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिएको छ । जेठ १५ देखि ३० गतेसम्म नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान परिसर नक्सालमा चल्ने प्रदर्शनीमा नेपालमा अभ्यासमा रहेका लोककला, शिल्प–हस्तकला, परम्परागत कला, वास्तुकला, समसामयिक चित्रकला÷मूर्तिकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलालगायतका विविध कला मुख्य आकर्षण रहेका छन् । यही प्रदर्शनी तथा ललितकलाका विविध पक्षमा केन्द्रित रही नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति एवं राष्ट्रिय ललितकला प्रदर्शनीका कार्यकारी संयोजक लालकाजी लामासँग गरिएको संक्षिप्त कुराकानीः

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति एवं राष्ट्रिय ललितकला प्रदर्शनीका कार्यकारी संयोजक लालकाजी लामा

० राष्ट्रिय ललितकला प्रदर्शनीको कसरी चलिरहेको छ ?

–राष्ट्रिय ललितकला प्रदर्शनीको तयारी गर्ने सन्दर्भमा हामीले देशका सात वटै प्रदेशमा प्रादेशिक ललितकला प्रदर्शनी गत फागुन ४ देखि चैत ६ गतेसम्म गरेका थियौं । उक्त प्रदर्शनीबाट छनोट समितिले राष्ट्रिय ललितकला प्रदर्शनीका लागि छानेका कलाकृतिहरू ल्यायौं । त्यसपछि मूल आयोजक समिति, सल्लाहकार समिति, विभिन्न उपसमितिरूको गठन भई सबै समितिले तोकिएको जिम्मेवारी पूरा गरेर हामीले बनाएको कार्यविभाजन र समयतालिका अनुसार नै सबै कार्यहरू गरी प्रदर्शनी सुरु गरेका छौं ।

० सामाजिक रूपान्तरण ललितकलाको अभियानका साथ थालिएको प्रदर्शनीको मुख्य ध्येय के हो ?

यसका सन्दर्भमा हामीलाई के लाग्छ भने मान्छेहरूले निर्माण गरेका जति पनि वस्तु वा तिनका बारेमा सोच्ने तौरतरिका छन् अनि त्यसका साथै जीवनलाई सहज बनाउनलाई गरिने दैनिक लोकजीवन व्यवहार वा सचेत मानवीय क्रियाकलाप यी सबै हाम्रा संस्कृति हुन् । यसभित्र ललितकला पनि एउटा प्रमुख क्षेत्र हो । तसर्थ मान्छेका जीवनमा प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा जोडिने विषय कुनै पनि अर्थमा यथास्थिति, पश्चगमन वा आफूमा मात्रै अन्तर्निहित हुन्छ भन्ने कुरा मान्न सकिन्न । कला कलाका लागि नभई कला समाजका लागि हो । त्यसैले कलाले समाजको अग्रगामी रूपान्तरणमा विषेश भूमिका निभाएको हुन्छ हाम्रो विश्वास हो ।

ललितकलाले दैनिक जीवनको आवश्यकताको पूर्ति, उपयोगिता र विचार निर्माण र सम्प्रेषणसम्मको भूमिका खेल्ने हुँदा कलाकारहरूलाई अझ बढी यी विषयमा उत्तरदायी बनाउन हाम्रो मौलिक कलाको जरासम्म पुगी त्यसलाई मजबुत गर्दै समाज रूपान्तरणमा भूमिका निभाउन सकियोस् भन्ने लक्ष्यसम्मको कला अभियान हो – रााष्ट्रिय ललितकला प्रदर्शनी । साथै ललितकला क्षेत्रले मौलिकताको संरक्षण गर्दै रोजगारीमा समेत विशिष्ट योगदान दिएकाले यो प्रदर्शनीले सिर्जनशील क्षेत्रले अर्थतन्त्रमा पनि सशक्त भूमिका निभाएको पक्षलाई बुझ्न सहयोग पुर्याउने आशा राख्न सकिन्छ । यसमा देशको कलाको ऐना झल्किएको छ ।

० प्रदर्शनीमा कस्ता कस्ता कलाकृतिहरू आएका छन् ?


–यस ललितकला प्रदर्शनीमा राज्यको मुख्य साधन–स्रोत र अधिकार लिएर बसेका मूलधारको भनिने वर्ग समुदायले उपेक्षा गरेको/समाजको जरामा रहेको जेनतेन बाँचेको लोपोन्मुख अवस्थामा रहेका कलाहरूदेखि वर्तमान समयमा विश्वकला जगत्ले अभ्यास र अनुसरण गरेका शिल्प शैली र प्रस्तुति आदिसम्मका समसामयिक कलाकृति समावेश छन् ।

० ती कलाकृतिले देशको युगबोधलाई कसरी उठान गरेका छन् ?

हाम्रो आफ्नै समाज र माटामा विकास भएका रैथाने कला शिल्पशैलीका कलाकृतिदेखि विश्वकला जगत्ले अभ्यास गरेका समसामयिक शिल्पशैलीका कलाकृतिसम्म हेर्न बुझ्न सकिन्छ । त्यसमा इतिहास, वर्तमान र भविष्यसम्मका विषयलाई उठान गरेका कयौँ कलाकृति छन् । हाम्रा धर्म, दर्शन, संस्कार, संस्कृति र प्रकृतिदेखि कलामा अनेक प्रयोगात्मक अभ्याससम्म भएको हुँदा यसले इतिहास बोल्छ, वर्तमानलाई सहज तुल्याउँछ र भविष्यलाई मार्गनिर्देश गर्छ । यसरी इतिहासदेखि वर्तमान र भविष्यमा द्रष्टाको कार्यसम्म हुने कलाकृतिहरूले देशको युगबोधलाई अँगालेको स्पष्ट हुन्छ । चेतना निर्माण र मानव जीवनको उपयोगितामा समेत प्रत्यक्ष परोक्ष रुपमा भूमिका खेल्ने भएकाले ललितकला क्षेत्र विशिष्ट हो । प्रदर्शनीमा त्यसको बोध हुने कलाको उपस्थिति रहेको छ । मौलिकताको जर्गेनासँगै यस युगको संस्कृति निर्माण गर्नेलगायतका विषय प्रदर्शनीमा रहेका कलाकृतिले उठान गरेको देखिन्छ ।

० समाज रूपान्तरणको दिशामा ती कलाले मार्गनिर्देश गर्न सक्लान् त ?

–अवश्य सक्छन्, किनकी कला एक यस्तो सशक्त हतियार हो जुन दृश्यको भाषाले मानव मस्तिष्कलाई उद्देलित गर्दछ । दृश्य हुँदै मान्छेको मनमस्तिष्कमा विषय विचार सम्प्रेषित हुने हुँदा मान्छेमा त्यसको गहिरो प्रभाव पर्दछ । ती कलाका मननयोग्य कुरा जनजनमा पुर्याउनसके कलाले स्वभाविकरूपमा समाज रूपान्तरणका लागि मार्गनिर्देश गर्न सक्छ ।

० सात प्रदेशमा गरिएको ललितकला प्रदर्शनी र त्यसको प्रभाव कस्तो रहन गयो ?

सातै प्रदेशमा गरिएको ललितकला प्रदर्शनीले त्यस भेगमा रहेर कलासिर्जना गरेर बस्ने कलाकारहरूलाई एकत्रित गरी राष्ट्रिय मूलधारमा जोडने एक अवसर प्रदान गर्न सक्यो । स्थानीयरूपमा सिर्जनाकर्म गरेर बस्ने कलाकारहरूलाई आत्मविश्वास बढाउनुका साथै समाजमा कलाकर्मलाई सम्मानित पेशाको रूपमा दर्ज गर्न मद्दतसमेत पुगेको छ । त्यसै गरी विद्यार्थी, कलापारखी, अभियन्ता तथा आमजनसाधारणसम्म पुग्ने आधार तयार गर्न सक्यो । साथै आफ्नो संस्कृतिप्रतिको जागरण जगाउने कामसमेत यस प्रदर्शनी गर्न सक्यो । नीतिनिर्माण गर्ने तहमा ललितकलाप्रति हेर्ने दृष्टिकोणमा समेत यसले प्रभाव पार्न सकेको हामीले अनुभूत गरेका छौं । साथै प्रदर्शनीले ललितकलाको संवर्धन, प्रवर्धन, संरक्षण र विकास गर्न आफै तत्पर हुने वातावरणसमेत विस्तारै बनाइरहेको छ । प्रदर्शनीसँगै हामीले कतिपय ठाउँमा प्रशिक्षण, कार्यशाला, गोष्ठीलगायतका काम पनि गरेका छौं । यी गतिविधिले सबै तह र तप्कामा ललितकला र यसको महत्त्व पुग्ने आधार तयार गरिरहेको छ ।

० प्रदेश तहसम्म पुगेको कला प्रदर्शनी अझै तल जाने अवस्था र परिवेश कहिले बन्ला ?

महत्वपूर्ण विषय उठाउनु भयो । मैले यहाँलाई अघि नै बताइसकें समाजको तल्लो तह जनजनमा पुुग्ने भनेकै पालिका सरकार हो । जबसम्म स्थानीय सरकारलाई ललितकलाजस्तो महत्वको विषयलाई बोध गराउन सक्दैनौं तबसम्म यसले सबल रुपमा गति लिन सक्दैन । साथै स्थानीय सरकार सञ्चालन ऐनले निर्दिष्ट गरेका विषयलाई स्थानीय जनप्रतिनिधिले बोध गर्छ तव यी सबै कुरा सहजै आजको भोलि नै कार्यान्वयनको तहमा वातावरण बन्छ । हामीले अहिले गरेको अभ्यासले त्यो मार्ग तय गर्न सहयोग पुर्याउने आशा लिएका छौं ।

० मौलिक रैथाने कलालाई मूलधारमा ल्याउन के गर्नुपर्ला ?

यसको लागि सबैभन्दा पहिला खोज अनुसन्धान गरी यसलाई सैद्धान्तिकरणसहित नामाकरण गर्नुपर्दछ । ती हराएर लोप हुने अवस्थाका कलाको पहिचान गरेपछि सिर्जनाकर्ममा लाग्न तत्तत् समुदायका मानिसलाई प्रोत्साहन गरी त्यसको प्रचार प्रसारसहित स्तरोन्नति गर्दै संरक्षण, संर्वधन र प्रवर्धनसम्मको विषयमा सिङ्गो उद्योगी व्यवसायीसहित बौद्धिकवर्ग समेतको हातेमालो गर्न जरुरी छ ।

० पुनर्जागरणको चरण भनिएको छ, खासमा के हो यो ?

हामीले पुर्नजागरणको चरण हाम्रै देशको ललितकलाको सन्दर्भमा भनेका हौं । जसमा हाम्रो रैथाने मौलिक लोकपरप्परामा आधारित कला शिल्पज्ञानको विषयमा पुनर्जागरणको खाँचोको बोध भएकोले यसो भनिएको हो । विशेष गरी नेपालमा हामीले केही सीमित लोकपरम्परामा आधारित ललितकलाकर्मको अभ्यास गरेको भएता पनि यीलगायतका हाम्रा धेरै रैथाने कला शिल्पज्ञानको खोज अनुसन्धान गर्न बाँकी नै छ । यस्तै, यस प्रदर्शनीमार्फत हामीले नेपालका सम्पूर्ण विषय विधा, विभिन्न भूगोलमा रहेका जातजाति अथवा धर्म, संस्कार र संस्कृतिसँग जोडिएका सबैखाले कलाकृतिलाई समेट्ने प्रयास गरेका छौं । साथै प्रदर्शनीमा सातै प्रदेशका धेरैभन्दा धेरै शिल्पशैली, जाति, समुदाय कलाकारका कलाकृति समेटिएका छन् । यसैगरी स्थानीय पाठ्यक्रमदेखि यसक्षेत्रको संरक्षण अनुसन्धानसहित संर्वद्धन, प्रवर्धन र विकास गर्नुपर्छ भन्ने राष्ट्रिय भावनासहितको वैचारिक सोचको उपज हो । जसको लागि हामीले अहिले त्यसलाई व्यवहारबाट पुष्टि गर्ने प्रयत्न गरिरहेका छौं । यसलाई माझ्नुपर्ने छ । त्यसको सुरुवात् भएको छ यसलाई टुङ्गोमा पुर्याउने मुख्य अवधि र प्रक्रिया नै पुनर्जागरणको चरण हो । हाम्रो साझा सङ्कल्पसहितको पुनर्जागरणको चरण भनेका हौं ।

० देशको सबै तह र तप्कामा ललितकलालाई विस्तार गर्न के गर्नुपर्ला ?

–हामीलाई गार्ह्रो भएको तर सजिलै विस्तार गर्न सकिने उपायहरू छन् । सबैभन्दा पहिला केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्मका जनप्रतिनिधिहरूलाई स्थानीय सरकार सञ्चालन ऐन अनुसार काम गर्न अभिप्रेरित गर्नुपर्दछ । उहाँहरुले म को हुँ, मेरो समाज, मेरो धर्म, संस्कार, संस्कृति र म नेपाली हुनुको गर्व एवं पहिचान हो भन्ने बोध गर्नसके यसले सहजरुपमा लय समात्न सक्छ ।

० ललितकलामार्फत नेपाललाई कसरी समृद्धिको दिशामा लान सकिएला ?

यसको लागि सबैभन्दा पहिला ललितकला भनेको के हो ? यसले कसरी के–के क्रिया वा सिर्जनाकर्म गर्दछ । यो मान्छेको जीवनमा के कसरी घुलमिल भएर निरन्तर अघि बढिरहेको छ जस्ता कुराहरू थाहा नपाएसम्म यसबाट मान्छेले समृद्धि हासिल गरेको कुरा बुझाउन उन गाह्रो हुन्छ ।

विशेष गरी ललितकलाभित्रको उपयोगी कलाबाट सिधै अर्थ आर्जन वा मान्छेको भौतिक आवश्यक्ता पूरा गर्न सकिने हुँदा त्यसतर्फ ध्यान जरुरी छ । तर समृद्धि भनेको समाजको चेतनाको स्तर पनि हो । त्यसबाट समाजलाई नैतिक र जिम्मेवार बनाउने कुरा सबैभन्दा ठूलो समृद्धि होला । त्यसका साथै हामी यो नेपाली कला अथवा हाम्रो पहिचानभित्र रहेको कलाको पक्षलाई कुन चाहि अथवा कस्तो समृद्धिसँग तुलना गर्ने भन्ने कुरा आउँला त्यसैले यी सबैखाले समृद्धिलाई एकीकृत ढङ्गले अघि बढाउनको लागि कलाको भूमिका रहन्छ । तसर्थ सार्थक र दिगो समृद्धिका लागि शिक्षा, खोज, अनुसन्धानका साथै हामीले उत्पादन गर्ने हरेक वस्तुसँग नेपाली मौलिकतासहितको ललितकलालाई जोडेर प्रवर्धन गर्नसके यसबाट भरपुर समृद्धिको यात्रा तय गर्न सकिन्छ ।

० अन्त्यमा ।

कुराकानीका लागि यहाँलाई धन्यवादसहित सम्पूर्ण विद्वतजनमा जसले म नेपाली हुँ भन्छ उहाँहरूलाई मेरो आग्रह छ, तपाईं हामीले उपभोग वा उपयोग गर्ने कुनै पनि वस्तु नेपाली पहिचान झल्किने वस्तुको प्रयोग गर्न अनुरोध गर्दछु । जसले म नेपाली मेरो देश नेपाल आदि इत्यादि नभनिकनै देशको सेवा र सम्मान गरेको हुनेछ । साथै जेठ १५ देखि ३० गतेसम्म चल्ने राष्ट्रिय ललितकला प्रदर्शनी अवलोकनका लागि हार्दिक आव्हान पनि गर्दछु ।

प्रतिक्रिया