काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग– २, त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई १६ रनले हराएको छ । स्कटल्याण्डमा जारी प्रतियोगितामा नेपालले नेदरल्याण्ड्सलाई लगातार दुई खेलमा हराएको हो ।
स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४९.२ ओभरमा अलआउट हुँदै २२० रनमा समेटियो ।
नेपालको जितमा नन्दन यादव र सन्दीप यादवले तीन–तीन विकेट लिए । ललित राजवंशीले दुई विकेट लिँदा करण केसी र कुशल भुर्तेलले एक–एक विकेट हात पारे ।
नेदरल्याण्ड्सका लागि वास्ली बारेसीले सर्वाधिक ३६ रन बनाए भने स्कट एडवार्डले ३० र केले केलिनले २५ रन बनाए । उसका लागि ओपनर मिचेल लेभिटले २७ रन बनाउँदा नोहा क्रोएसले २२ र तेजा निदामानुरुले १७ र रोएलोफ भान डेर मेरवेले १६ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३६ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले ८५ बलमा सात चौका र दुई छक्काको मद्दतमा ८४ रन बनाए ।
यसैगरी भीम सार्की र कप्तान रोहितकुमार पौडेलले समान ३५–३५ रन बनाए । यस्तै, कुशल भुर्तेलले १८, दीपेन्द्रसिंह ऐरीले १६, बसिर अहमद र करण केसीले समान ११–११ तथा नन्दन यादवले १० रन बनाए । सन्दीप लामिछाने दुई रन जोड्दै आउट भए ।
नेदरल्याण्ड्सका लागि पउल भान मिकेरनले चार विकेट लिँदा माइकल लेभिटले तीन तथा आर्यन दत्तले एक विकेट लिए । यस त्रिकोणात्मक सिरिजमा यसपटक नेपालले ४ मध्ये ३ खेल जितेको छ। नेपालले स्कटल्याण्डसँगको पछिल्लो खेलमा २ रनको हार बेहोरेको थियो।
नेपाल ८ राष्ट्र सहभागी लिग– २ मा १६ खेलमा १२ अंकका साथ सातौँ स्थानमा छ । नेदरल्याण्ड्स २३ खेलमा २६ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया