विश्वकप क्रिकेट लिग–२ : अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिला ब्याटिङ गर्दै

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो चौथो तथा अन्तिम खेलमा आज नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । स्कटल्याण्डको डन्डीमा टस जितेर नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्डसले बलिङ रोजेका हुन् । नेदरल्याण्ड्सले बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो ।

स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेटमैदानमा हुने उक्त खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ । सिरिजका सुरुवाती दुई खेलमा जितेको नेपाल आज तेस्रो जितको खोजीमा रहेको छ ।

पछिल्लो खेलमा नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित भएको थियो । त्यसअघि नेपालले स्कटल्याण्डलाई एक र स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको थियो ।

यता नेदरल्याण्ड्स भने पहिलो जितको लक्ष्यमा रहेको छ । नेदरल्यान्ड्स स्कटल्यान्डसँग ४४ रनले पराजित भएको थियो । नेपाल १५ खेलमा १० अंकका साथ लिगको सातौँ स्थानमा छ । नेदरल्याण्ड्स २२ खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ ।

विभिन्न आठ टोली सहभागी लिग–२ सन् २०२७ सम्म चल्नेछ । यस लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधैँ स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

नेपाली टोलीमा रोहित पौडेलको (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), अनिल साह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, बसिर अहमद, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी र ललित नारायण राजवंशी रहेका छन् ।

नेदरल्याण्ड्सविरुद्धको आजको खेलमा सोमपाल कामी र गुल्सन झाले नखेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले दुवै जना अभ्यासका क्रममा घाइते भएको जनाएको छ । उनीहरुले आजको खेल तथा टी– २० आई सिरिज समेत गुमाउने छन् ।

‘आईसीसीको कार्यक्रम अनुसार हाल स्कटल्याण्डमा सञ्चालन भइरहेको आईसीसी विश्वकप लिग २ प्रतियोगितामा सहभागिता जनाईरहेका नेपाली राष्ट्रिय टोलीका खेलाडीहरु सोमपाल कामी र गुल्सन झा प्रशिक्षण दौरान घाइते भएका छन् । सोमपाल कामीको दायाँ हात तथा गुल्सन झाको घुँडामा चोट लागेको कारण चिकित्सकको परामर्श पश्चात् खेलाडीद्वय सोमपाल कामी र गुल्शन झा आईसीसी विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको बाँकी खेल र त्यसपछिको टी२०आई त्रिकोणीय श्रृंखलाका सम्पूर्ण खेलमा समेत सहभागी हुन नसक्ने व्यहोरा जानकारी गराईन्छ ,’ क्यानले विज्ञप्तीमा भनेको छ ।

प्रतिक्रिया