लोगो दुरुपयोग भएकोमा सौर्य दैनिकको ध्यानाकर्षण

काठमाडौं । आफ्नो लोगो तथा मास्टरहेड दुरुपयोग भएकोप्रति सौर्य दैनिकले गम्भीर आपत्ति जनाएको छ । सो दैनिकको प्रकाशन संस्था सृजना इन्टरनेशन मिडिया प्रालिले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको जनाउँदै संलग्नहरुलाई कारवाहीको माग गरेको छ ।

तिलाठी कोईलाडी गाउँपालिकाको आव २०७९–०८० को स्वीकृत बजेटअनुसार विभिन्न ठेक्काको बोलपत्र आव्हान र खरिद आशयको सूचना २०७९–१२–२३ र २०८० –०२–१२ गतेको मितिमा सूचना प्रकाशित गर्दा सौर्य दैनिकको लोगो र मास्टरहेड दुरुपयोग भएकोमा प्रा.लि.ले गम्भीर आपत्ति प्रकट गरेको हो ।

अख्तियारले लामो अनुसन्धानपछि सौर्य दैनिकको आधिकारिक अभिलेख र प्रेस काउन्सिलको अभिलेखमा पनि सो सूचना प्रकाशित भएको नदेखिएकोले सौर्य दैनिकबाहेक त्यसमा संलग्न अन्यलाई २०८२–०२–२० गते विशेष अदालतमा मुद्दा दायर गरेकोले कहीं कतै कुनै पनि हिसाबले सौर्य दैनिकको संलग्नता नरहेको पुष्टी भएको पनि प्रालिले उल्लेख गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन् कुमार पौडेलद्वाारा जारी विज्ञप्तिमा, ‘उल्लेखित मितिमा प्रकाशित भनिएका सूचनाहरु प्रेस काउन्सिल नेपालको मिति २०७९ चैत २३ को पत्र अनुसार प्रकाशन भएको नदेखिएको र उक्त पत्रिकाको पत्रिका व्यवस्थापन प्रणालीको (PDF) अभिलेख हेर्दा उल्लेखित मितिका कुनै पनि पृष्ठमा बोलपत्र आव्हान र खरिद आशयको सूचना प्रकाशित भएको नदेखिएको’ उल्लेख गरिएको छ । २०८२–०२–२० गते जारी अख्तियारको विज्ञप्तिमा सूचना विवरण लुकाउने कलुषित मनसायसाथ सार्वजनिक तवरमा वितरण प्रयोजनार्थ प्रकाशित नै नगरेको सौर्य दैनिक पत्रिकाको सक्कल भनिएको पत्रिकाको प्रति साथै राखी झुट्टा विल भरपाई लगायतका कागजातहरुको आधारमा रू ३,१६,४१०।– टाईम्स रिपब्लिक मिडिया प्रालिलाई भुक्तानी दिएको, टाईम्स रिपब्लिक मिडिया प्रा.लि.ले बोलपत्र र आशयको सूचना प्रकाशनको लागि डच मिडिया प्रालिलाई मौखिक दिएको र डच मिडिया प्रालिले उक्त सूचना प्रभाव दैनिकका प्रबन्ध निर्देशकलाई प्रकाशन गर्न दिई भुक्तानी लिएको पुष्टि भएको हुँदा उक्त कार्यमा संलग्न देहायका प्रतिवादी उपर देहाय बमोजिम सजायको मागदावी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ ।’

अख्तियारले यो प्रकरणमा तिलाठी कोईलाडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रकुमार यादव, लेखा हेर्ने सह–लेखापाल शत्रोहन दास, टाईम्स रिपब्लिक मिडिया प्रालिका संस्थापक भुषणकुमार सिंह, डच मिडिया प्रा.लि.का निर्देशक रवि अर्याल तथा प्रभाव राष्ट्रिय दैनिकका प्रबन्ध निर्देशक कृष्णबहादुर कार्कीसँग जनही ३ लाख १६ हजार ४ सय १० विगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया