
मुगु । नेपालको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल नजिक रहेको रारा विमानस्थल (ताल्चा) मा २३ वर्ष बितिसक्दा पनि सुविधासम्पन्न टर्मिनल भवन र कन्ट्रोल टावर सञ्चालनमा आउन सकेको छैन । विमानस्थल स्थापना भएदेखि नै यात्रु, कर्मचारी तथा स्थानीयवासीले आधारभूत पूर्वाधार अभावका कारण विभिन्न समस्या भोग्दै आएका छन् । २०६० साल वैशाख ३ गते पहिलो पटक रारा विमानस्थलमा परीक्षण उडान गरिएको थियो । कच्ची धावनमार्गमा सफल अवतरणपछि स्थानीयवासीले विमानको स्वागत गरेका थिए र त्यसयता नियमित हवाई सेवा सञ्चालन हुँदै आएको छ । तर, २ दशकभन्दा बढी समय बितिसक्दा पनि विमानस्थलको सेवा प्रवाह अझै काठको अस्थायी टहराबाट सञ्चालन भइरहेको छ ।
स्थानीय यात्रु दधिराम कुमाईका अनुसार विमानस्थलमा व्यवस्थित यात्रु प्रतीक्षालय, सुरक्षा व्यवस्था तथा आवश्यक सुविधा नहुँदा यात्रुले सास्ती खेप्नुपरेको छ । उनले तत्काल आधुनिक टर्मिनल भवन सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन् । रारा (ताल्चा) विमानस्थलमा नेपाल एअरलाइन्स, समिट एअरलाइन्स, तारा एअरलाइन्स र सिता एअरलाइन्सले उडान भर्दै आएका छन् । विमानस्थल परिसर अहिले पनि खुला अवस्थामै छ । छाडा पशुचौपाया, कुकुर तथा सर्वसाधारणको सहज आवतजावत भइरहँदा विमानस्थलको सुरक्षा कमजोर बनेको छ ।
नेपाल पत्रकार महासंघ मुगु शाखाका संस्थापक अध्यक्ष विनोदकुमार मल्लले विमानस्थलको पूर्वाधार निर्माण र सुरक्षाका विषयमा सञ्चारमाध्यमले पटक–पटक समाचार प्रकाशन तथा प्रसारण गरे पनि सम्बन्धित निकायबाट प्रभावकारी सुनुवाइ नभएको बताए । २०७२ सालमा ५७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र गरिएको थियो । त्यसपछि विमानस्थललाई थप व्यवस्थित बनाउने लक्ष्यसहित नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ मा करिब ९ करोड रुपैयाँ विनियोजन गरी ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सनसँग २ वर्षभित्र टर्मिनल भवन निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो । तर, सम्झौता भएको सात वर्ष बितिसक्दा पनि भवन पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।
भवनको संरचना निर्माण भए पनि फिनिसिङ तथा आवश्यक व्यवस्थापनको काम पूरा नभएकाले प्रयोगमा ल्याउन नसकिएको जनाइएको छ । निर्माण कार्यमा भएको ढिलाइका कारण यात्रु र कर्मचारी दुवै प्रभावित भएका छन् । रारा विमानस्थल ताल्चाका प्रमुख नवलकिशोर चौहानले टर्मिनल भवन पूर्ण सञ्चालनमा नआउँदा कर्मचारीले समेत जोखिम मोलेर सेवा दिनुपरेको बताए । उनका अनुसार विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा आवश्यक सुरक्षा पूर्वाधारको अभावले थप चुनौती सिर्जना गरेको छ । मानवअधिकारको दृष्टिबाट सुरक्षित र सम्मानजनक यात्रा नागरिकको आधारभूत अधिकारसँग जोडिएको विषय हो ।
विमानस्थल परिसरमा पर्याप्त घेराबार नहुनु, पशुचौपायाको निर्बाध प्रवेश हुनु तथा यात्रु सुरक्षाका न्यूनतम मापदण्ड पूरा नहुनुले नागरिकको सुरक्षित आवागमनको अधिकारमाथि प्रश्न उठाएको सरोकारवालाहरूको भनाइ छ । स्थानीयवासीले सम्बन्धित निकायलाई विमानस्थलको अधुरो टर्मिनल भवन तत्काल सम्पन्न गरी सञ्चालनमा ल्याउन, प्रभावकारी घेराबार निर्माण गर्न तथा सुरक्षा व्यवस्थामा सुधार गर्न आग्रह गरेका छन् । अन्यथा सुरक्षा जोखिमका कारण भविष्यमा कुनै पनि बेला दुर्घटना निम्तिन सक्ने चेतावनी उनीहरूले दिएका छन् ।

मुगु
प्रतिक्रिया