
बयलगाडा चढेर अमेरिका पुगिन्न
‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ यो भनाइ कुनै बेला राजनीतिक रूपमा अति नै प्रख्यात थियो । यो भनाइ सही नै भए पनि यसलाई ब्यंगको रूपमा पनि प्रस्तुत गरिएको थियो । हामीलाई पनि डर छ, आजको भाषामा कतै हामीले उठान गरिरहेको विषयमा ट्रोल त हुने होइन । संसार एआई र स्मार्ट मेटेरियलको कुरा गरिरहँदा, भनिएला, तथाकथित बौद्धिक मानिएका विश्वविद्यालयका विद्वान त ‘माटाका भाँडाबाट समृद्धिको सपना देख्छन्’ ।

हालसालै काठमाडौंको प्रतिष्ठित विद्यालय युलेन्स स्कुलको ‘ग्रयाजुएसन सेरेमोनी २०२६’आयोजना भएको थियो । यो विद्यालय जेनजी आन्दोलनका दौरान अबोध विद्यार्थीकै आँखाअगाडि जलेर खरानी भएको थियो । समारोहमा प्रिन्सिपल एकता राणाको सम्बोधनमा पीडा र रोदन झल्कन्थ्यो । दीक्षान्त समारोहका मुख्यवक्ता प्रसिद्ध अर्थोपेडिक सर्जन डा.चक्रराज पाण्डेले पनि विद्यार्थीहरूलाई आफ्नो जीवनका कठिन कथाहरू सुनाएर निराश नहुन प्रेरित गरे । प्रतिनिधि विद्यार्थीहरू अन्वध्या मल्ल, आर्य बुढाथोकी, उद्रिती सुवेदी र रुसिल भण्डारीले स्कुल खरानी हुँदा उनीहरूले महसुस गरेको भावना र उनीहरूले कसरी त्यस्तो चुनौती, प्रतिकूलता वा परिवर्तनबाट छिट्टै पुनःस्थापना र पुनः उठ्ने क्षमताको आत्मविश्वास प्राप्त भयो भन्ने कुरा प्रस्तुत गरे । उनीहरूले भविष्यमा यसै समूहबाट ६–७ ओस्कर विजेता र सफल उद्यमीहरू जन्मने आशा गरिरहेका थिए । समारोहको समापनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षको हैसियतमा डा.भोला थापाले विद्यार्थीहरूको हौसला बढाउँदै भन्नुभयो, ‘हामी पनि हाम्रो माटो बोकेर मंगल ग्रहसम्म यात्राको संकल्प गरौँ भन्दै माटोबाटै बन्ने सिरामिक्सको महत्व अन्तरिक्ष यानमा कति हुन्छ भन्ने हामीलाई थाहा छ । त्यसैले त आधुनिक विज्ञानलाई पछ्याउँदै, पितृको अस्तु माटोको घैँटोमा राखेर कुरी बसेका छौँ मंगल ग्रह जस्तै ग्रहहरूमा विसर्जन गर्न ।’
कुमालेहरूले त माटाका भाँडा पोल्ने भन्थे । पोट्री व्यवसायमा यसलाई किन ‘फाइरिङ’ भनेको होला ? फाइरिंंग अन्तरिक्ष विज्ञानमा रकेट उडाउन झोसिने पहिलो आगो हो । हाम्रा रैथाने कुमालहरू माटोका भाँडाहरू पोल्ने काममा मात्र सीमित हुनु हुन्न । उनीहरू पनि इन्जिनियरिङ ज्ञानसहित ‘फाइरिङ’ गर्न सक्षम हुनुपर्छ । आगो बाल्नुपर्छ । त्यही सपना बोकेर, काठमाडौँ विश्वविद्यालयले ‘ब्याचलर अफ क्राफ्ट्स एन्ड डिजाइन’ कार्यक्रममार्फत दाङ, गढवाका सविता कुमाल, जसमिता थारू कुमाल र ज्ञानबहादुर थारू कुमालहरूलाई सिरामिक्स विज्ञान पढाउँदै आएको छ । सिरामिक्स भनेको धातु जस्तो, हथौडा प्रहार गर्दै उपयोग गर्ने होइन । यसलाई प्रेम, हेरचाह र सोच चाहिन्छ, ताकि हामी यसमा सुन्दर आकार दिन सकौँ । सिरामिक्सले हथौडाको चोटबाहेक कठोर वातावरणलाई सम्हाल्न सक्छ । यो माटोलाई सुनको मूल्यको बनाउने विधा हो, कलादेखि प्रविधिसम्म ।

एड्भान्स्ड सिरामिक्स : लुकेको प्रविधि
विकासको इतिहास पल्टाउँदा भेटिने सिरामिक्स यस्तो पदार्थ हो, जसले ढुंगे युगदेखि अन्तरिक्ष युगसम्म यात्राको साक्षी मात्र बनेको छैन, बरु हरेक मोडमा सभ्यतालाई नयाँ गति दिएको छ । इनअर्गानिक र गैरधातु पदार्थहरूलाई उच्च तापक्रममा पोलेर बनाइने कडा र टिकाउ वस्तु नै सिरामिक्स हो । विज्ञानको नजरमा यो केवल माटो मात्र होइन, यो सिलिकन, अक्सिजन, आल्मुनियम, कार्बन र नाइट्रोजन जस्ता तत्वहरूको रासायनिक संगम हो, जसलाई आगोको प्रचण्ड तापले नयाँ र अविनाशी रूप दिन्छ । हामीले दैनिक जीवनमा प्रयोग गर्ने माटाका भाँडाकुँडा र टायलभन्दा निकै भिन्न यो अत्याधुनिक प्रविधिलाई एड्भान्स्ड सेरामिक्स भनिन्छ । अत्यधिक ताप, घर्षण र रासायनिक प्रतिक्रिया खप्न सक्ने यो विशेष सामग्री आधुनिक उद्योगहरूको मेरुदण्ड बनेको छ ।
मेकानिकल इन्जिनियरिङमा सिरामिक्सको प्रयोग
मेकानिकल इन्जिनियरिङमा अत्यधिक तापक्रम, तीव्र घर्षण र रासायनिक प्रतिक्रिया हुने ठाउँहरूमा धातुको विकल्पका रूपमा आधुनिक सिरामिक्स सामग्रीको प्रयोग अपरिहार्य मानिन्छ । विशेष गरी हवाइजहाजका जेट इन्जिन र विद्युत् उत्पादन गर्ने ग्यास टर्बाइनहरूमा सिलिकन कार्बाइड र जिरकोनिया जस्ता उच्च गुणस्तरका सिरामिक्स उत्पादनहरू प्रयोग गरिन्छ । यी सामग्रीहरूलाई टर्बाइनका ब्लेडहरूमा ‘थर्मल ब्यारियर कोटिङ’को रूपमा प्रयोग गरिन्छ, जसले भित्र उत्पन्न हुने तापलाई सिधै झेलेर भित्री धातुको संरचनालाई पग्लिनबाट जोगाउँछ र इन्जिनको कार्यक्षमता बढाउँछ । यसका साथै, जलविद्युत् टर्बाइनका ब्लेडहरूमा पानीमा बगेर आउने बालुवा र ढुंगाका कणहरूको निरन्तर प्रहारका कारण तीव्र गतिमा खिइने ठुलो समस्या हुन्छ । यस प्राविधिक चुनौतीको समाधानका लागि टर्बाइनका ब्लेडहरूमा टङ्स्टन कार्बाइड र क्रोमियम अक्साइड जस्ता अत्यन्तै कडा सिरामिक्सको ‘हाई–भेलोसिटी अक्सिजन–फ्युल’ प्रबिधिबाट कोटिङ गरिन्छ । यस कोटिङले बालुवाको कडा घर्षणलाई रोकेर ब्लेडको धातुलाई सुरक्षित राख्छ र टर्बाइनको आयु बढाउँछ । त्यसैगरी, मेकानिकल वर्कसपहरूमा फलाम तथा अन्य कडा धातुहरू काट्न सिलिकन नाइट्राइड र आल्मुनियम अक्साइडबाट बनेका कटिङ औजारहरू प्रयोग गरिन्छ । यी उच्च तापक्रम सहन सक्ने औजारहरू अत्यधिक घर्षणका कारण रातो–तातो हुँदा पनि यिनको काट्ने धार र कठोरता कति पनि कमि हुँदैन । तीव्र गतिमा चल्ने मेसिन र गाडीका इन्जिनहरूमा सिलिकन नाइट्राइडबाट निर्मित बल बेरिङहरू प्रयोग गरिन्छ, जसमा लुब्रिकेसनको आवश्यकता पर्दैन र नखिई लामो समयसम्म क्रियाशील रहन्छन् ।

इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स इन्जिनियरिङमा सिरामिक्सको क्रान्तिकारी प्रयोग
इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स इन्जिनियरिङको क्षेत्रमा विद्युत् प्रवाह नियन्त्रण, ऊर्जा भण्डारण, सेमिकन्डक्टर प्रणाली र ध्वनि रूपान्तरणमा आधुनिक सेरामिक्स सामग्रीको भूमिका अद्वितीय छ । प्रसारण लाइन र ट्रान्सफर्मरहरूमा उच्च पोरसेलिन र आल्मुनियम अक्साइड जस्ता सामग्रीहरूले उत्कृष्ट विद्युत् इन्सुलेटरको काम गर्छन् । क्यापासिटरहरूमा बेरियम टाइटानेट र क्याल्सियम टाइटानेट जस्ता फेरोइलेक्ट्रिक सेरामिक्स प्रयोग गरिन्छ, जसको उच्च विद्युत् सञ्चय गर्ने क्षमताले गर्दा आणविक ध्रुवहरू तीव्र रूपमा ध्रुवीकृत भई अत्यधिक चार्ज भण्डारण हुन्छ । स्पिकर र सूचक यन्त्रहरूमा लेड जिरकोनेट टाइटानेट जस्ता पिजो इलेक्ट्रिकसेरामिक्सले कम्पन र ध्वनिलाई सिधै विद्युतीय संकेतमा रूपान्तरण गर्छन् । साथै, इन्टिग्रेटेड सर्किट बोर्डहरूमा आल्मुनियम नाइट्राइड र बेरिलियम अक्साइड जस्ता सेरामिक्सका आधार र प्याकेजिङ सामग्रीको रूपमा प्रयोग हुँदा यसको उच्च ताप सञ्चालन क्षमता र न्यूनतम विद्युत् शक्तिले प्रणालीलाई सुरक्षित राख्छ । सुरक्षा प्रणालीहरूमा सिलिकन कार्बाइड र ग्यालियम नाइट्राइड जस्ता उन्नत सेमिकन्डक्टर सिरामिक्सले परम्परागत सिलिकनभन्दा बढी भोल्टेज र तापक्रम सहन सक्छन् । वायरलेस उपकरणमा निश्चित तरंगको फ्रिक्वेन्सी स्थिर राख्न रेजोनेटर र चुम्बकीय शक्ति प्रवाहका लागि चुम्बकीय फेराइट्स प्रयोग गरिन्छ । यसरी उच्च विद्युत् रेसिस्टन्स, ऊर्जा भण्डारण, ताप व्यवस्थापन र तरंग रूपान्तरण गर्ने प्राकृतिक गुणका कारण आधुनिक विद्युतीय प्रविधिमा सिरामिक्स एक अपरिहार्य आधार बनेको छ ।
कम्प्युटर इन्जिनियरिङ र सेमिकन्डक्टर प्रविधिमा सिरामिक्स
कम्प्युटर इन्जिनियरिङ, हार्डवेयर डिजाइन र अत्याधुनिक डाटा प्रशोधन प्रणालीको विकासमा सेरामिक्स सामग्रीको प्रयोग व्यापक र बहुआयामिक छ । कम्प्युटरको डाटा भण्डारण र मेमोरी उपकरणहरूमा फेराइट्स जस्ता फेरोम्याग्नेटिक सिरामिक्सको प्रयोग हुन्छ, जसले बाहिरी ऊर्जाबिना नै डाटालाई चुम्बकीय रूपमा स्थायी र सुरक्षित राख्छन् । त्यसैगरी, तीव्र गतिको इन्टरनेट र नेटवर्किङका लागि प्रयोग गरिने फाइबर केबलहरूमा अत्यधिक शुद्ध सिलिका काँच प्रयोग गरिन्छ, जसले प्रकाशको गतिमा डाटालाई बिना कुनै अवरोध सञ्चार गराउँछ । यसका साथै, सुपरकम्प्युटर र क्वान्टम कम्प्युटरको अत्याधुनिक अनुसन्धानमा इट्रियम बेरियम कपर अक्साइड जस्ता विशेष सिरामिक्सहरू प्रयोग गरिन्छ, जसले अत्यधिक चिसो तापक्रममा सुपरकन्डक्टरको रूपमा काम गर्दै शून्य विद्युत् प्रतिरोधका साथ अविश्वसनीय गतिमा गणना गर्न मद्दत गर्दछन् ।

केमिकल इन्जिनियरिङ र सिरामिक्स उत्पादन
केमिकल इन्जिनियरिङ नयाँ र उन्नत सिरामिक्सहरूको आविष्कार र प्रशोधन गर्ने विधा हो । केमिकल इन्जिनियरहरूले आल्मुनियम, सिलिकन, जिरकोनियम र टाइटानियम जस्ता तत्वहरूका अक्साइड, नाइट्राइड र कार्बाइडहरूलाई निश्चित अनुपातमा मिसाएर नयाँ सिरामिक्स तयार पार्छन् । यस प्रक्रियामा ‘सोल–जेल’ प्रविधि र ‘केमिकल भेपर डिपोजिसन’ जस्ता उन्नत रासायनिक विधिहरू प्रयोग गरिन्छ, जहाँ तरल रासायनिक घोल वा ग्यासहरूलाई सानो आणविक तहमा नियन्त्रण गर्दै अत्यधिक शुद्ध र बलियो सिरामिक्स बनाइन्छ । सिरामिक सामग्रीहरू स्वभावैले निष्क्रिय हुने भएकाले यिनलाई कडा एसिड र बेस रसायनहरू भण्डारण गर्ने ट्यांकी, रियाक्टर र पाइपलाइनहरूको भित्री तहमा सुरक्षा कवचको रूपमा प्रयोग गरिन्छ । सिरामिक्सलाई विभिन्न क्षेत्रमा प्रयोग गर्नुअघि एक्स–रे डिफ्राक्सन’ प्रविधिद्वारा सामग्रीको भित्री आणविक संरचनाको जाँच गरिन्छ, उच्च दबाब दिएर भार थेग्ने क्षमता नापिन्छ र लामो समयसम्म कडा तेजाबमा डुबाएर यसको रासायनिक प्रतिरोध क्षमताको प्रमाणीकरण गरिन्छ । यसरी प्रमाणित भएका सिरामिक्सले रसायन उद्योगमा फोहोर पानी फिल्टर गर्ने पोरस सिरामिक मेम्ब्रेनदेखि लिएर औषधि उत्पादन गर्ने भाँडाहरू सम्मका वस्तुहरू बनाई मानव जीवनलाई अझ सुरक्षित, दिगो र सहज बनाउन ठुलो योगदान दिएका छन् । केमिकल इन्जिनियरिङमार्फत प्रमाणित र विकसित भएका यस्ता उन्नत सामग्रीहरू केवल रसायन उद्योगमा मात्र सीमित नरही इन्जिनियरिङका अन्य विभिन्न विधाहरूमा व्यापक रूपमा प्रयोग गरिन्छन् ।
बायोमेडिकल इन्जिनियरिङ
बायोमेडिकल इन्जिनियरिङ र चिकित्सा क्षेत्रमा मानव शरीरका अंगहरूको प्रत्यारोपण र स्वास्थ्य उपचारमा सिरामिक्स सामग्रीको प्रयोगले ठुलो क्रान्ति ल्याएको छ, जसलाई चिकित्सा विज्ञानमा ‘बायोसिरामिक्स’ भनिन्छ । जैविक रूपमा पूर्ण निष्क्रिय रहने आल्मुनियम अक्साइड र जिरकोनियम अक्साइड जस्ता सिरामिक्स, जसलाई उच्च खिइने प्रतिरोधात्मक क्षमता र कठोरताका कारण कृत्रिम जोर्नी हिप इम्प्लान्ट र घुँडाको जोर्नी प्रत्यारोपणमा प्रयोग गरिन्छ । जैविक रूपमा सक्रिय रहने ‘हाइड्रोक्सिएपिटाइट’ र क्याल्सियम फास्फेट जस्ता सिरामिक्स, जसको रासायनिक संरचना मानव हड्डीसँग मिल्ने भएकाले यसलाई हड्डी भाँच्चिएको ठाउँमा भर्न वा कृत्रिम हड्डी र दाँतको जरा बनाउन प्रयोग गरिन्छ । यो सिरामिक मानव शरीरभित्र पुगेपछि प्राकृतिक हड्डीका कोशिकाहरूसँग टाँसिएर नयाँ हड्डी पलाउन मद्दत गर्दछन् । ‘बायोग्लास’ जस्ता सिरामिक्स, जसले शरीरभित्र बिस्तारै पग्लिँदै प्राकृतिक तन्तु र हड्डीलाई चाँडो निको हुन ऊर्जा दिन्छन् र आफ्नो काम सकिएपछि शरीरमै विलीन हुन्छन् । यी बाहेक, दन्त चिकित्सामा दाँतको क्याप, क्राउन र ब्रेसेज बनाउन पोरसेलिन र लिथियम डिसिलिकेट जस्ता सिरामिक्स व्यापक रूपमा प्रयोग गरिन्छ, किनभने यिनको रङ प्राकृतिक दाँतसँग मिल्नुका साथै यिनले चपाउँदा उत्पन्न हुने अत्यधिक दबाबलाई सजिलै सहन सक्छन् । यसरी मानव शरीरले अस्वीकार नगर्ने, खिया नलाग्ने र हड्डीसँग मिसावट हुन सक्ने अद्वितीय जैविक गुणका कारण बायोसिरामिक्सले लाखौँ मानिसको जीवनलाई दीर्घायु र पीडामुक्त बनाउन महत्वपूर्ण योगदान पु¥याएको छ ।

अन्तरिक्ष अभियान र ऊर्जा प्रविधिमा साम्राज्य
सिरामिक्सको क्षमता केवल पृथ्वीमा मात्र सीमित छैन; यसले मंगल ग्रह र अन्तरिक्ष अभियानहरूलाई समेत सम्भव बनाएको छ । नासाको स्पेस सटलमा प्रयोग गरिएको ‘एलआई–९००’ नामक सिरामिक टायल यति अद्भुत छ कि यसलाई भट्टीमा १ हजार २६० डिग्री सेल्सियसमा रातो हुने गरी तताए पनि बाहिर निकाल्ने बित्तिकै नांगो हातले समात्न सकिन्छ । पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्दा १ हजार ५०० डिग्री सेल्सियसभन्दा माथि पुग्ने तापक्रमबाट अन्तरिक्ष यानलाई जोगाउन नासाले विशेष थर्मल प्रोटेक्सन टाइल्स प्रयोग गर्छ, जुन कडा र हलुका गुणका कारण सेनाको बुलेटप्रुफ ज्याकेट र ट्यांकहरूको भित्री कवचमा समेत प्रयोग गरिन्छ । त्यस्तै, मंगल ग्रहमा पठाइएका ‘स्पिरिट’ र ‘अपर्चुनिटी’ रोभरहरूलाई त्यहाँको माइनस १०० डिग्रीको घातक चिसोबाट जोगाउन संसारकै सबैभन्दा हलुका सिरामिक सामग्री ‘सिलिका एरोजेल’ को प्रयोग गरिएको थियो, जसलाई वैज्ञानिकहरू ‘फ्रोजन स्मोक’ पनि भन्छन् । अझ अचम्मको कुरा, मंगल ग्रहको वायुमण्डलबाट अक्सिजन बनाउने नासाको ‘मोक्सी’ यन्त्रको मुख्य मुटु नै विशेष ‘सोलिड अक्साइड सिरामिक’ बाट बनेको छ । यसरी प्राचीन कालमा ओडारको माटोबाट सुरु भएको सिरामिक्सको यात्रा आज ब्रह्माण्डका अन्य ग्रहहरूसम्म पुगिसकेको छ ।
सिरामिक्स कोटिङ प्रविधि
आधुनिक इन्जिनियरिङमा धातु र प्लास्टिक जस्ता सामग्रीको बाहिरी सतहलाई सुरक्षित, बलियो र टिकाउ बनाउन सेरामिक्सको प्रयोग एउटा अत्याधुनिक सतह प्रविधिको रूपमा गरिन्छ । यसमा मुख्यतः सिलिकन डाइअक्साइड, टाइटानियम डाइअक्साइड, आल्मुनियम अक्साइड, जिरकोनियम अक्साइड र क्रोमियम अक्साइड जस्ता उच्च गुणस्तरका सामग्रीहरू प्रयोग गरिन्छ । सतहलाई रसायन वा बालुवाको प्रहारबाट सफा र खस्रो बनाएपछि रासायनिक वाष्पीकरण, घोल–जेल वा तापीय छर्कने जस्ता उच्च तापमान प्रविधिद्वारा सेरामिक्सको पातलो आणविक तह चढाउने गरिन्छ । यस प्रविधिको प्रयोग बहुआयामिक छ; जसले सवारी साधनमा हिलो–पानी र सूर्यको किरण प्रतिरोधी कडा सुरक्षा कवच बनाउँछ भने उड्डयन क्षेत्रमा हवाइजहाज र रकेटका इन्जिनलाई अत्यधिक तापक्रमबाट पग्लिन दिँदैन । साथै, यसले औद्योगिक मेसिन र औजारहरूमा घर्षण कम गर्ने, पानीजहाजलाई नुनिलो पानीको खियाबाट जोगाउने, शल्यक्रियाका औजारहरूलाई कीटाणुरहित बनाउने र भान्साका नटाँसिने भाँडाहरूलाई आगो प्रतिरोधी राख्ने काम गर्छ । यसरी अत्याधुनिक लेप प्रविधिको रूपमा सेरामिक्सले विभिन्न क्षेत्रका संरचनाहरूलाई वर्षौंसम्म नयाँ, मजबुत र सुरक्षित राख्न मद्दत गरिरहेको छ ।

सिरामिक्सका कमजोरी र क्यान्सरजन्य जोखिम
उच्च ताप प्रतिरोधी र कडा भए तापनि सिरामिक्स सामग्रीका केही गम्भीर प्राविधिक कमजोरी तथा स्वास्थ्य जोखिमहरू रहेका छन् । यसको सबैभन्दा ठुलो अवगुण भनेको यसको अत्यधिक ‘ब्रिटलनेस’ हो; धातुहरू जस्तो लचकदार नहुने र कडा आणविक बन्धन हुने भएकाले बाहिरी धक्का वा दबाब पर्दा सिरामिक्स नबांगिइकन सिधै फुट्ने वा यसमा अचानक चिरा पर्ने गर्दछ । मेकानिकल इन्जिनियरिङमा फटिग फेलियरको समस्या झेल्नुपर्छ । यस प्रक्रियामा सामग्रीभित्र रहेका अदृश्य ससाना प्वाल वा धाँजाहरू क्रमिक रूपमा फैलिँदै जान्छन् र अन्ततः कुनै पनि पूर्वसंकेतबिना नै संरचना अचानक भाँचिन्छ । मौसमको दृष्टिकोणबाट हेर्दा, अत्यधिक चिसो वातावरणमा सिरामिक्स झन् बढी कठोर र ‘ब्रिटल’ बन्दछ, जसले गर्दा यसको धक्का थेग्ने क्षमता अझ घट्छ; साथै चिसो र तातोको तीव्र उतारचढावका कारण यसमा ‘थर्मल शक’ अर्थात् तापीय धक्का उत्पन्न भई सामग्री चटचटी फुट्ने ठुलो जोखिम हुन्छ ।
सिरामिक्सको गम्भीर स्वास्थ्य पक्ष यसको ‘कार्सिनोजेनिक’ अर्थात् क्यान्सरजन्य गुणसँग जोडिएको छ । सिरामिक्स उत्पादन गर्ने कारखाना, खानी वा निर्माण क्षेत्रमा काम गर्दा काँचो माटो, सिलिका र क्वाट्र्ज जस्ता कच्चा पदार्थहरू काट्ने, पिस्ने वा चिल्लो पार्ने क्रममा अत्यन्तै मसिना धूलाका कणहरू हावामा उड्छन् । जब कामदारहरूले श्वासप्रश्वासको माध्यमबाट यी सूक्ष्म सिलिकाका कणहरू निरन्तर फोक्सोभित्र लिन्छन्, तब ती कणहरू फोक्सोको तन्तुमा स्थायी रूपमा अड्किन्छन् । यसल फोक्सो सुन्निने र श्वासप्रश्वासमा गम्भीर अवरोध ल्याउने रोग निम्त्याउँछ, जसले कालान्तरमा फोक्सोका कोशिकाहरूमा अस्वाभाविक परिवर्तन गराई फोक्सोको क्यान्सर गराउँदछ ।

सिरामिक्सको कमजोरीका कारण अन्तरिक्षयान दुर्घटना
सन् २००३ मा नासाको कोलम्बिया अन्तरिक्षयान पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्ने क्रममा भएको भयानक दुर्घटनाको मुख्य कारण सिरामिक्सको प्राविधिक कमजोरी थियो । उडानका क्रममा इन्धन ट्यांकीबाट खसेको एउटा सानो टुक्राले यानको पखेटामा रहेको सुरक्षात्मक कार्बन–सिरामिक्स प्यानलमा प्वाल पारिदिएको थियो । सेरामिक्स सामग्रीहरू अत्यधिक तापक्रम सहन सक्षम भए पनि धातु जस्तो लचकदार नहुने र बाहिरी धक्का पर्दा सहजै फुट्ने स्वभावका हुन्छन् । पृथ्वीमा फर्किने क्रममा त्यही सानो प्वालबाट १६०० डिग्री सेल्सियसभन्दा बढी तातो ग्यास यानभित्र पस्यो, जसले भित्री धातुको संरचना पगालेर सम्पूर्ण यानलाई आकाशमै खरानी बनाइदियो । यस ऐतिहासिक दुर्घटनाले वैज्ञानिकहरूलाई ठुलो पाठ सिकाएको छ र आज पनि उनीहरू सेरामिक्सको यो कमजोरी सुधार्न निरन्तर अनुसन्धानमा जुटिरहेका छन् ।

माटोको फ्रिजः प्रकृति र प्रविधिको अनुपम संगम
घैँटोको शीतल पानी पिउँदै गर्दा धेरैलाई लाग्न सक्छ – के माटोको पनि आधुनिक फ्रिज जस्तै सामान राख्ने दराज होला र ? तर विज्ञान र रैथाने ज्ञानको मिश्रणले आज यो कुरालाई सम्भव तुल्याएको छ । भारतको गुजरातका एक परम्परागत कुमाले मनसुखभाइ प्रजापतिले बिना कुनै बिजुली र मेसिनरी, केवल शुद्ध माटोबाट संसारकै पहिलो वास्तविक ‘माटोको फ्रिज’ (मिट्टिकुल) को अविष्कार गरेका छन् । आधुनिक फ्रिज जस्तै ढोका र तलाहरू भएको यो विशेष माटोको फ्रिजको माथिल्लो भागमा पानी भरिन्छ । त्यो पानी माटोका साना छिद्रहरू हुँदै भित्तामा फैलिन्छ र वाफ बनेर उड्ने क्रममा भित्रको सम्पूर्ण तातोपनालाई बाहिर तानिदिन्छ । नतिजास्वरूप, यसले बिना कुनै हानिकारक ग्यास वा बिजुलीको बिल, भित्रको तापक्रमलाई १० देखि १५ डिग्रीसम्म घटाएर सागसब्जी, फलफूल र दूधलाई ताजा राख्छ । यो ग्रामीण प्रविधि आज वातावरण र मानव स्वास्थ्य दुवैका लागि प्रकृतिले दिएको एक उत्कृष्ट उपहार सावित भएको छ । यसले के प्रमाणित गर्छ भने, रैथाने सीप र परम्परागत प्रविधिलाई आधुनिक आवश्यकताअनुसार परिमार्जन गर्ने हो भने ठुला कर्पोरेट कम्पनीहरूको एकाधिकार रहेको आधुनिक बजारलाई सजिलै कब्जा गर्न सकिन्छ । स्थानीय स्रोत–साधनको बुद्धिमानी प्रयोग, शून्य प्रदूषण र उपभोक्ताको स्वास्थ्य अनुकूल विशेषताका कारण यस्ता स्वदेशी उत्पादनले विश्वव्यापी बजारमा व्यावसायिक रूपमा स्थापित हुने प्रचुर सम्भावना बोकेका छन् ।
सकारात्मक र भविष्य–उन्मुख
विगतमा दाङ गडवामा नाफा परियोजना, भक्तपुरमा जिटिजेड परियोजना जस्ता सिरामिक्सको प्रवद्र्धनका केही परियोजनाहरू थिए जसमा माटोको भाँडा निर्माणमा केही नयाँ प्रविधि भित्र्याइएको थियो । तर सिरामिक्सप्रविधि संसारमा धेरै अगाडि बढिसकेको छ । संसारभर प्रयोगशालाहरूको होडबाजी चलिरहेको छ । नेपाललाई पनि सिरामिक्सटाइल उत्पादनमा आत्मनिर्भर बनाउन अर्बौं लगानी भइसकेको छ । यसको लाभ इन्जिनियर र कलाकारले पनि लिन सक्नुपर्छ । यसको आधार स्तम्भ विज्ञान, प्रविधि र नवप्रवर्तन पनि हो । काठमाडौँ विश्वविद्यालयमा नर्बेले हाइड्रो टर्बाइनमा प्रयोग गर्ने अत्याधुनिक सिरामिक्सकोटिङको परफरमेन्स टेस्ट गरेको अनुभव छ । एड्भान्स्डसेरामिक्स केवल प्रयोगशालामा सीमित वैज्ञानिक आविष्कार मात्र होइन, यो मानव सभ्यतालाई प्रविधिको नयाँ उचाइमा पु¥याउने भरपर्दो वाहक पनि हो । नेपाल जस्ता देशहरूले पनि यस प्रकारका अत्याधुनिक प्रविधि र सामग्रीको विकास र प्रयोगमा समयमै ध्यान दिनु जरुरी छ । विश्व बजारमा तीव्र गतिमा फैलिरहेको यो प्रविधिलाई सही ढंगले आत्मसात गर्नसकेमा यसले हाम्रो परम्परालाई सम्बर्धन गर्दै औद्योगिक र आर्थिक विकासमा नयाँ आयाम थप्ने निश्चित छ ।
प्रतिक्रिया