जहिल्यै संक्रामक रोग बोकेर आउँछ बर्खा !

१ सातामै १८ सयभन्दा बढी प्रभावित

हरेक वर्ष वर्षायाम सुरु भएसँगै देशभर मौसमजन्य संक्रामक रोगका बिरामीहरू पनि बढ्ने गरेका छन् । थेगी नसक्नु गर्मी र वर्षा हुँदा मौसमजन्य रोगहरू बढ्ने गरेको पाइन्छ । हरेक वर्ष गर्मी र वर्षामा हुने संक्रामक रोगका कारण धेरै मानिस प्रभावित हुने र मानवीय क्षतिसमेत हुने गरेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको महामारी तथा रोग नियन्त्रण महाशाखा(इडिसिडी) ले सार्वजनिक गरेको पछिल्लो एक साताको निगरानी बुलेटिनअनुसार देशभर विभिन्न सरुवा रोग तथा स्वास्थ्य समस्याका १ हजार ८१५ बिरामी दर्ता भएका छन् । यसले पनि विभिन्न सरुवा रोग बढ्दो छ भन्ने देखाउँछ ।

महाशाखाकाको पछिल्लो रिपोर्टअनुसार यस अवधिमा तीव्र झाडापखाला (एक्युट ग्यास्ट्रोएन्टराइटिस) का बिरामी सबैभन्दा बढी भेटिएका छन् । एक सातामै सबैभन्दा बढी झाडापखालाका बिरामी देखापरेका हुन् । यो अवधिमा ८६१ जना झाडापखालाका बिरामी देखिए । त्यसपछि इन्फ्लुएन्जा जस्तो लक्षण देखिने रोग (इन्फ्लुएन्जा लाइक इलनेस) का ४४२ जना तथा गम्भीर श्वासप्रश्वास संक्रमण (सिभियर एक्युट रेस्पिरेटरी इन्फेक्सन) का ४१३ जना बिरामी देखिएको रिपोर्ट छ ।

महाशाखाको बुलेटिनअनुसार डेंगुका ५५, ¥यालसहितको ज्वरोका १६, स्क्रब टाइफसका ११, इन्फ्लुएन्जाका ७, पीलियासहितको ज्वरोका ६ तथा कालाजारका ४ बिरामी फेला परेका छन् । झाडापखालाका बिरामीमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा ४६५ जना दर्ता भएका छन् । लुम्बिनीमा १२७, मधेसमा ७३, सुदूरपश्चिममा ६८, गण्डकीमा ५९, कोसीमा ४२ र कर्णालीमा २७ जना बिरामी भेटिएका छन । झाडापखालाका बिरामीमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा ४६५ जना दर्ता भएका छन् । लुम्बिनीमा १२७, मधेसमा ७३, सुदूरपश्चिममा ६८, गण्डकीमा ५९, कोसीमा ४२ र कर्णालीमा २७ जना बिरामी भेटिएका छन् ।

यसैगरी, इन्फ्लुएन्जा जस्तो लक्षण भएका बिरामीमध्ये सुदूरपश्चिम प्रदेशमा २२२ जना फेला परेका छन्, जुन सबैभन्दा धेरै हो । बागमतीमा ११७, कोसीमा २८, लुम्बिनीमा २५, कर्णालीमा २४, गण्डकीमा १४ र मधेसमा १२ जना बिरामी रिपोर्ट भएका छन् । डेंगु संक्रमण पनि निरन्तर देखिइरहेको छ । साताभरि ५५ डेंगु संक्रमित भेटिएकामध्ये कोसी प्रदेशमा १७, लुम्बिनीमा १५, बागमतीमा १०, गण्डकीमा ६, मधेसमा ४ र सुदूरपश्चिममा ३ जना रहेका छन् । कर्णाली प्रदेशमा भने डेंगुको कुनै बिरामी रिपोर्ट भएको छैन ।

महाशाखाको तथ्यांकले वर्षायाम सुरु भएसँगै पानीजन्य तथा सरुवा रोगको जोखिम बढिरहेको संकेत गरेको छ । विशेषगरी झाडापखाला, श्वासप्रश्वाससम्बन्धी संक्रमण र डेंगुका घटना निरन्तर देखिएकाले सरसफाइ, सुरक्षित खानेपानीको प्रयोग र लामखुट्टेको नियन्त्रणमा विशेष ध्यान दिन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले कुनै पनि असामान्य जनस्वास्थ्य घटना, एकैपटक धेरै व्यक्ति बिरामी परेको अवस्था वा पशुपक्षीमा अस्वाभाविक रोग तथा मृत्यु देखिएमा निःशुल्क हेल्लो स्वास्थ्यमा जानकारी गराउन पनि अनुरोध गरेको छ ।

००००

गर्मी र वर्षायाममा हुनसक्ने स्वास्थ्य समस्या

गर्मीसँगै वर्षा पनि सुरु हुँदै छ । अझ तराईमा अत्यधिक गर्मी बढेको छ । विज्ञका अनुसार यो समयलाई सरुवा रोगको मौसम पनि मानिन्छ । यस्तो बेला दूषित खाना र पानीसँग जोडिएका सरुवा रोगको जोखिम बढी हुनेगर्छ । गर्मी र वर्षातको मौसम सुरु भएसँगै टाइफाइड ज्वरो, हेपाटाइटिस, स्क्रब टाइफस, लेप्टोस्पाइरोसिस, झाडापखाला, आउँ जस्ता रोग देखापर्ने विज्ञ बताउँछन् ।

बढ्दो गर्मीमा पानी पर्दा लामखुट्टेको संख्या वृद्धि हुने र लामखुट्टेले सार्ने खालका औलो, डेंगु जस्ता रोगको संक्रमण पनि देखिने गर्छ । यस्तो बेला स्वास्थ्य समस्याहरू देखा नपर्दै सचेत हुन सकियो भने त्यसबाट बच्न सकिन्छ । नेपालमा प्रायः समस्या चर्किएपछि सामाधान खोजिने गर्छ । जुन, समस्या मान्छेको पहुँचभन्दा निकै बाहिर गएको अवस्था हुन्छ । तर, अहिले नै विज्ञहरूले आउन सक्ने समस्याबाट बच्न र सचेत रहन केही उपाय सुझाएका छन् ।

झाडापखाला÷आउँः गर्मीसँगै वर्षात् हुँदा पानीका स्रोतहरू दूषित हुने भएकाले मान्छे तथा जनावरका दिसा–पिसाब साथै अन्य पानीका स्रोत दूषित हुन सक्छन् । त्यस्तो पानी हामीले सिधै पिउँदा झाडापखाला, आउँ जस्ता रोग देखा पर्छन् । मान्छे तथा जनावरको दिसामा पाइने ‘कोलिफर्म’ कीटाणुले आउँ मासी पर्न सक्छ । सडेका, गलेका, बासी तथा झिँगा भन्किएका जस्ता दूषित खानाबाट पनि झाडापखाला लाग्न सक्छ । त्यसैले पिउनेपानीमा बढी ध्यान दिनुपर्ने विज्ञको सुझाव छ ।

बारम्बार दिसा लाग्ने, पेट दुख्ने, बान्ता हुने, शरीर गल्ने जस्ता लक्षण देखिने दिसा गर्दा रगत देखापर्ने, पूरै दिसा ननिस्किएको जस्तो महसुस हुने लक्षण पनि देखापरे झापापखालाको संकेत हुने विज्ञहरू बताउँछन् । यो समस्या निम्तिन नदिन पिउने पानीलाई उमालेर वा फिल्टर गरेर प्रयोग गर्नुपर्छ । पानीका मुहानहरू सफा राख्ने, ताजा खाना खाने, बासी खाने र खुल्ला ठाउँमा दिसा–पिसाब गर्नुहुन्न ।
झाडापखाला लागेपछि शरीरमा पानीको कमी हुने भएकाले पुनर्जलीय झोल बनाएर पटक–पटक पिउनुपर्छ । निरन्तर पखाला लागिरहेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर उपचार गर्नुपर्ने विज्ञको सुझाव छ । यस्तै अदुवा, लसुन र ज्वानोको प्रयोगले पाचन प्रणालीलाई बलियो बनाउने भएकाले एक गिलास पानीमा एक चम्चा ज्वानो भिजाएर पिउँदा पेट सफा हुन्छ ।

टाइफाइडः टाइफाइड ‘साल्मोनेला टाइफी’ जीवाणुले हुने रोग हो, जुन दूषित पानी वा खानाबाट सर्छ । वर्षायाममा खानपानमा ध्यान नदिँदा यो रोगको सम्भावना बढ्छ । विज्ञका अनुसार टाइफाइट भएमा निरन्तर ज्वरो आउने, अत्यधिक पसिना आउने, जाडो हुने, थकान, पेट दुख्ने, खान रुचि नहुने, कब्जियत वा पखाला लाग्ने, वान्ता हुन्छ । अझ केही दिनपछि छातीको तल्लो भाग र पेटमा राता बिबिराहरू देखिन सक्छ ।

यस्तो बेला स्वच्छ खानेकुरा खाने र स्वच्छ पानी पिउने गर्नुपर्छ । फलफूल र तरकारीलाई राम्ररी धोएर खानुपर्छ र शौचालय सफा राख्नुपर्छ । टाइफाइडविरुद्धको खोप लगाउने पनि यसबाट बच्ने उपाय हो । धेरै दिनसम्म ज्वरो आएमा स्वास्थ्य संस्थामा जाँच गराउनुपर्छ ।

डेंगुः डेंगु एडिस जातको पोथी लामखुट्टेले सार्ने गर्छ । पछिल्ला दिनमा यो रोग बढिरहेको छ । प्रायः वर्षायाम सकिनै लाग्दा भदौ, असोजमा यसको प्रकोप धेरै देखिने गरेको छ । गत वर्षहरूमा नेपालका विभिन्न ठाउँमा यो प्रकोपकै रूपमा देखा परिरहेको छ । डेंगु पैmलने समय कुरेर बस्ने होइन, नियन्त्रणका लागि अहिलेदेखि सावधानी अपनाउनुपर्ने विज्ञको सुझाव छ ।

विज्ञहरूका अनुसार उच्च ज्वरो आउने, जोर्नी तथा शरीर दुख्ने, टाउको दुख्ने, शरीरमा रातो दाग देखिने र गम्भीर अवस्थामा भएमा शरीरका विभिन्न भागबाट रक्तस्राव हुने समस्या भएमा डेंगु भएको हुन सक्छ । त्यसैले लामखुट्टेको नियन्त्रण र लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने मुख्य उपाय हो । घर वरपर पानी जम्न नदिने, ड्रम तथा अन्य भाँडाहरूमा लामो समयसम्म पानी जमाएर नराख्ने, राति सुत्दा झुलको प्रयोग गर्ने र लामखुट्टे भगाउने क्रिम लगाउने, साँझपख बाहिर हिँड्दा बाहुला भएको कपडा लगाउने गर्नुपर्छ ।

मलेरियाः औलो अर्थात मलेरिया पनि लामखुट्टेले सार्ने रोग हो । एनोफिलिस जातको लामखुट्टेले मलेरिया सार्ने गर्छ । यसको मुख्य लक्षण भनेको ज्वरो नै हो । अन्य लक्षणमा जाडो हुने, पसिना आउने, टाउको दुख्ने, वाकवाकी र बान्ता हुने, हाडजोर्नीहरू दुख्ने हुन्छ । डेंगुजस्तै यसमा पनि लामखुट्टेको टोकाइबाट बच्ने र लामखुट्टेको नियन्त्रणमा ध्यान दिनु आवश्यक छ । मलेरियाको शंका लागेमा समयमै स्वास्थ्य संस्था गएर उपचार गराउनुपर्छ ।

हेपाटाइटिसः गर्मीको मौसममा देखिने रोगको भिडमा अर्को हो, हेपाटाइटिस । विज्ञका अनुसार विभिन्न खालका हेपाटाइटिसहरूमध्ये हेपाटाइटिस ‘ए’ र ‘ई’ भाइरल संक्रमण, दूषित पानी र खानाबाट सर्छ । यो संक्रमणले कलेजोलाई असर गर्छ र जन्डिसको समस्या निम्त्याउँछ । यसका लक्षणहरूमा आँखा र छाला पँहेलो हुने, पिसाब गाढा पहेँलो हुने, थकान र भोक नलाग्ने हुन् । यसबाट बच्नका लागि बाहिरको खाना र बासी खाना खानु हुँदैन । फलफूल र तरकारीलाई राम्ररी धोएर खाने, मदिरा सेवन नगर्ने, पिउने पानीको शुद्धतामा ध्यान दिने र प्रशस्त झोल कुरा खानुपर्छ ।

लेप्टोस्पाइरोसिसः लेप्टोस्पाइरा नामक जीवाणुका कारण लाग्ने रोग हो यो । यो संक्रमित पशु तथा मुसाबाटसमेत यो सर्ने गर्छ । विशेष गरी जनावरहरूको दिसा–पिसाबहरू मान्छेले पिउने पानीमा मिसिएर वा कुनै माध्यमबाट मानिसको नाक, आँखा वा मुखमा जीवाणु प्रवेश गर्दा लेप्टोस्पाइरोसिस संक्रमण हुन्छ ।

यसको लक्षण ज्वरो आउने, टाउको दुख्ने र मांसपेशी दुःखाइ हुने, शरीर गल्ने लक्षण देखिन्छ । गम्भीर अवस्थामा मिर्गौला र कलेजो बिग्रने, मेनिन्जाइटिस वा श्वासप्रश्वासको समस्या देखिने र बिरामीको मृत्यु पनि हुन सक्छ । त्यसैले पानी उमालेर तथा शुद्धीकरण गरेर मात्र पिउनुपर्छ । काँचै खाने तरकारी तथा फलफूलहरू सफा पानीले पखालेर मात्रै खानुपर्छ । जनावरको फोहोर सफा गर्दा तथा हिलोमा काम गर्दा जुत्ता पञ्जा लगाएर काम गर्न र माटोमा काम गरेपछि राम्रोसँग साबुन पानीले हातखुट्टा धुनुपर्छ ।

००००

जोखिम बढेको छ, जारको पानी बुझेर मात्रै प्रयोग गरौँ – डा.शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ

डा.शेरबहादुर पुन,

गर्मी बढेर वर्षात सुरु भएसँगै झाडापखला बढेको छ । टेकुमा उपचार गर्न आउने बिरामीको संख्या पनि अहिले बढ्दो छ । नेपालीहरू सामान्य झाडावान्ता भएकै कारण अस्पताल आउँदैनन् । झाडावान्ता भएर उपचार गर्न मानिस अस्पताल नै आएपछि रोग बढेछ भनेर बुझ्नु पर्छ । गाह्रो भएपछि मात्रै अस्पताल आउने गरेको पाइन्छ । अहिले भर्ना भएर उपचार गराउने बिरामी बढ्दै छन् ।

झाडावान्तालाई सामान्य रूपमा लिन हुँदैन । अहिले झाडावान्तासहित वर्षातमा हुने संक्रमणजन्य रोग बढ्दो छ । यसका लागि नागरिक आफैँ पनि सचेत हुनपर्छ । मुख्य कुरा भनेको खानपान नै हो । पानी प्रयोग गर्दा दूषित छ छैन यकिन गर्नुपर्छ । खाने कुरा पनि लामो समय राखेको, बासी खानु भएन । यसका साथै सरसफाइमा विषेश ध्यान दिनुपर्छ । खानेकुरा र पानीमा विषेश ध्यान दिनु आवश्यक छ । यस्तै बाहिरको खाना पनि खानु भएन । हामीले खाएकै खानाका कारण रोग लाग्न सक्ने भएकाले सचेत हुनपर्छ ।

काठमाडौँमा धेरैजसो जारको पानी प्रयोग हुन्छ । तर, बजारमा पाइने जारको पानी सबै शुद्ध छ भन्न सकिन्न । बजारमा धेरै प्रकारका जारको पानी पाइन्छ । आफूले प्रयोग गर्ने पानी कति शुद्ध र सुरक्षित भन्ने बारेमा बुझेर मात्रै प्रयोग गर्नुपर्छ । यो मौसममा बजारमा पानीको माग बढ्ने र आपूर्ति कम हुँदा सुरक्षित पानी कम पाइन्छ । त्यसैले हामीले आफ्नो खानपानमा ख्याल गरेनौँ भने स्वास्थ्य बिग्रने मात्रै होइन, त्यसले दुःखद् परिणाम पनि ल्याउन सक्छ ।

नेपालमा हरेक वर्ष झाडावान्ता हैजा जस्ता समस्याले मानवीय क्षति हुने गरेको छ । यसमा जिम्मेवार निकायले बेलैमा सचेत भएर सावधानी अपनाउनुपर्ने हुन्छ । तर, हामीकोमा भने समस्या आएपछि मात्रै तात्ने अवस्था छ । समस्याले छोपेपछि मात्रै त्यसको सामाधान खोजेर हुँदैन । एउटा रोगका विषयमा मात्रै होइन, हरेक रोगका बारेमा गरिने तयारीको अवस्था उस्तै छ । नेपालमा कुन मौसममा कुन रोगको जोखिम बढ्छ । अवस्था के छ भन्ने बारेमा सबै जानकार छौँ । तर, जानकार भएर पनि समय अगाबै त्यसबारेमा सोचेको वा हेरेको पाइन्न ।

सरकार मात्रै होइन, नागरिकको तर्फबाट पनि त्यस प्रकारको सावधानी अपनाएको पाइन्न । बजारमा पाइने पानी के कस्तो छ त्यसको अनुगमन र निगमन गर्नुपर्छ । कहीँ कतैबाट लापरवाही भएर समस्या भएको भए दोषीलाई कडा कारबाही गरिनुपर्छ । पानी पिउँदा उमालेर, फिल्टर गरेर पिउनु पर्छ । अरूको मुख ताकेर मात्रै हुँदैन । आफैँ पनि सचेत हुनपर्छ । अबको समय भनेको संक्रमणजन्य रोग बढ्ने समय हो । बजारमा झाडावान्ता, हैजा फैलियो भनेको सुन्नु पहिला नै हामीले सतर्कता अपनाएर खानपानमा ध्यान दिनुपर्छ । नत्र जोखिमको चपेटामा पर्ने सम्भावना हुन्छ ।

प्रतिक्रिया