पोखरामा आफ्नै सासूमाथि चक्कु प्रहार गर्ने ज्वाइँ पक्राउ

पोखरा । प्रहरीले पोखरामा आफ्नै सासुमाथि चक्कु प्रहार गरेर घाइते बनाउने ज्याइँलाई पक्राउ गरेको छ । महानगरपालिका–१७ राममन्दिर नजिकै लेनदेनको विषयलाई लिएर आफ्नै सासूमाथि चक्कु प्रहार गर्ने ज्वाइँलाई कास्की प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लमजुङ मध्यनेपाल नगरपालिका– २ घर भएका ४३ वर्षीय ध्रुवराज अधिकारीलाई घटनास्थलमा प्रयोग भएको एक थान चक्कुसहित नियन्त्रणमा लिइएको हो ।

गत असार ३ गते अपराह्न करिब ४ः११ बजेको समयमा पोखरा–१७ बिरौटा बस्ने ४७ वर्षीया मुना तिवारीलाई उनकै ज्वाइँ अधिकारीले लेनदेनको विवादमा चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट तिवारीको पेट, ढाड र छातीमा चोट लागेको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाउनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरी उपचारका लागि पोखराकै नोबेल अस्पताल पठाएको थियो । त्यहाँ प्राथमिक उपचार पश्चात् थप उपचारका लागि उनलाई मणिपाल शिक्षण अस्पताल पठाइएको र घाइतेको अवस्था हाल मध्यम रही उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अधिकारीविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले बताए ।

प्रतिक्रिया