चितवनमा बालकको अपहरण गरेर २२ लाख फिरौती माग्ने ६ जना भारतीय युवक पक्राउ

काठमाडाैं । प्रहरीले भरतपुर महानगरपालिका– ३ बाट अपहरणमा परेका एक १६ वर्षीय बालकको २४ घण्टाभित्रै सकुशल उद्धार गरेको छ । प्रहरीले अपहरणमा संलग्न रहेका ६ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ भने अन्य दुई जना फरार रहेका छन् ।

प्रहरीका अनुसार गत असार १ गते दिउँसो ४ बजे बालक आफ्नै घरबाट हराएका थिए । सोही राति ११ बजे बालकका बुवाले जिल्ला प्रहरी कार्यालय चितवनमा छोरा हराएको जानकारी गराएका थिए । त्यस लगत्तै मध्यराति १२ बजे अपहरणकारीले बुवाको मोबाइलमा फोन गरी बालकको मुक्तिबापत २२ लाख रुपैयाँ फिरौती माग गरेपछि प्रहरीले तत्कालै विशेष अनुसन्धान सुरु गरेको थियो ।

घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको संयुक्त प्राविधिक तथा स्थलगत समन्वयमा बालकलाई असार २ गते काठमाडौंको नयाँ बसपार्कस्थित ‘होटल फ्यामिली’ को कोठाबाट सकुशल उद्धार गरिएको जनाइएको छ । प्रहरीले उक्त होटलको कोठाबाट पाँच जना र भरतपुरबाट थप ए जना गरी कुल ६ जना अभियुक्तलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।

पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य, बेतिया जिल्ला स्थायी घर भएका १९ वर्षीय सुजित कुमार साह, १८ वर्षीय मोहम्मद साहिद, १८ वर्षीय गोलु कुमार साह, १८ वर्षीय गोलो सोनी, १९ वर्षीय विकि पटेल र १८ वर्षीय सक्षम शर्मा रहेका छन् ।

चितवनका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी चन्द्र भुसन यादवका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि चितवन जिल्ला अदालतबाट म्याद थप गरी अपहरण तथा शरीर बन्धक मुद्दामा विस्तृत अनुसन्धान अघि बढाइएको छ । घटनामा संलग्न भई हाल फरार रहेका मुम्ताज आलम र किड्डु चौहान तथा अपहरणमा प्रयोग भएको भारतीय नम्बर प्लेटको गाडीको खोजी कार्य तीव्रताका साथ भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया