जावलाखेलको चिडियाखानाका जीवजन्तुमा बर्ड फ्लु देखिएपछि दर्शकहरुका लागि बन्द

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाका जीवजन्तुमा बर्ड फ्लु देखिएपछि दर्शकहरुका लागि अनिश्चितकालका लागि बन्द गरिएको छ । चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरूमा बर्ड फ्लुको संक्रमण देखिएपछि व्यवस्थापनले आकस्मिक रूपमा चिडियाखाना बन्द गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखानाले आज (शुक्रबार) एक सूचना जारी गर्दै आम सर्वसाधारण दर्शकहरूको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै आजैका मितिदेखि लागू हुने गरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिडियाखाना बन्द गरिएको जनाएको छ ।

चिडियाखाना प्रशासनका अनुसार केही दिनयता संकास्पद रूपमा मरेका वा बिरामी परेका पक्षीरजीवजन्तुको नमूना परीक्षण गर्दा बर्ड फ्लु संक्रमण पुष्टि भएको हो। संक्रमण थप फैलन नदिन र सर्वसाधारणमा यसको जोखिम कम गर्न चिडियाखाना परिसरलाई सिल गरी जैविक सुरक्षाका उपायहरू अपनाउन लागिएको छ ।

सूचनामा भनिएको छ, ‘जीवजन्तुहरुमा बर्ड फ्लु संक्रमण देखिएकाले आम सर्वसाधारण दर्शकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै आज मिति २०८३ साल आषाढ ५ गते देखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरिएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछौँ ।’ चिडियाखाना बन्द हुनुपुगेको अप्रत्याशित असुविधाप्रति प्रशासनले दर्शकहरूसँग क्षमाप्रार्थीसमेत व्यक्त गरेको छ ।

प्रतिक्रिया