मुस्ताङमा घरपझोङ गाउँपालिकाको आफ्नै डोजर

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको सदरमुकामस्थित घरपझोङ गाउँपालिकाले एक्साभेटर (जेसिबी) डोजर खरिद गरेको छ । हिउँद तथा बर्खायाममा हुन सक्ने मनसुनजन्य प्राकृतिक विपद्को व्यवस्थापन तथा भौतिक पूर्वाधार निर्माणलगायतका कार्यमा उपयोग गर्नेगरी घरपझोङ गाउँपालिकाले डोजर खरिद गरेको हो ।

चालु आर्थिक वर्ष २०८२–८३ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाले रु ६५ लाख मूल्य बराबरको एक्साभेटर (जेसिबी) डोजर उपकरण किनेको अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए ।

गाउँपालिकासँग डोजरलगायतका उपकरण नहुँदा विपद् प्रतिकार्य तथा भौतिक निर्माणमा ठूलो खर्च हुने गरेकाले त्यस्ता कार्यमा उपकरण परिचालन गर्दा लाग्ने खर्च घटाउन डोजर किन्नुपरेको अध्यक्ष लालचनले बताए ।

बर्खायाममा नदी कटान तथा बाढी पहिरोका कारण भौतिक संरचना क्षति हुने गरेको र हिउँदयाममा हिमपातका कारण सडक अवरुद्ध हुने गरेकाले पालिकाले आफैँले डोजर व्यवस्थापन गरेको जनाएको छ । यसअघि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकालाई भारत सरकारले अनुदान सहयोगमा डोजर उपहार दिएको थियो ।

प्रतिक्रिया