
इतिहास, सम्पदा, परम्परा, समाज र सांस्कृतिक बिम्वहरुको सशक्त प्रस्तुतिसहित एकल प्रदर्शनीमा जुटेका छन् कलाकार कृष्णगोपाल श्रेष्ठ । दरबारमार्गस्थित ग्यालरी १०८ मा जारी प्रदर्शनीमा संस्कृति, प्रकृति, सम्पदा र पुरात्त्वका विषयलाई कलात्मक ढंगले संयोजन गरिएका कलाकृतिमार्फत कलाकारले आफ्नो कलाचेतलाई प्रस्तुत गरेका छन् । विगतका स्मृतिलाई आगतसँग जोड्दै कलाकार श्रेष्ठले ‘आध्यबिम्ब’ शीर्षकमा गरेको प्रदर्शनीले नेपाली समाजको सामाजिक, सांस्कृतिक, प्राकृतिक तथा पुरातात्त्विक पक्षलाई एकसाथ उधिनेको छ । कलाकार श्रेष्ठ भन्छन्, ‘मेरो चित्रमा, मेरो वरपरको वातावरण, समाज, परिवेशले प्रभाव परेको हुन्छ । धार्मिक, सांस्कृतिक पुरातत्विक, सम्पदा मेरो रुचिको विषय पर्दछ ।’ समाजको ऐनाका रुपमा एकजना स्रष्टाले देखेको दृष्टिकोण कलामा प्रतिबिम्बित हुनु समयको अभिलेख पनि हो । यस अर्थमा नेपाली सामाजिक, राजनीतिक तथा सांस्कृतिक इतिहासको साछीका रुपमा उनका कलाकृति आएका छन् ।
प्रदर्शनीमा राखिएका कलाकृतिमा समयचेतसँगै इतिहासदेखि वर्तमानसम्मको युगबोधी विषय मौलिक रुपमा प्रस्तुत भएका छन् । जहाँ हाम्रो कलात्मक चेत र सामाजिक परिवेशको परख गर्न सकिन्छ । उनले प्रकृति, संस्कृति, पुरात्त्व, इतिहास, परम्परा, जनजीवन तथा सामाजिक परिवेशलगायतका विषयलाई कलात्मक रुपमा उधिनेका छन् । मठ–मन्दिर, चैत्य, स्तूपा, देवल आदिलाई कलात्मक रुपमा चित्रण गर्दै कलाकार श्रेष्ठले आफूभित्रको कलाचेतलाई सामाजिकरण गर्ने कोसिस गरेका छन् । उनका कलामा आफ्नै सामाजिक परिवेश र त्यसले पारेका विविध प्रभाव एवं आयामलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।

जीवन र जगतको सौन्दर्य र तिनमा परम्पराका विविध आयामलाई उनिएका उनका कलाको सबल पक्ष भनेको सरलताभित्र नेपाली समाजमा विकास भएको ज्ञान परम्पराको सशक्त प्रस्तुति पनि हो । उनी भन्छन्, ‘यसै विषयमा आधारित बनेर अहिलेसम्म चित्रकारितामा निरन्तर कार्यरत छु । कला, सम्पदा कसरी सुरु भयो ?, स्वर्णकालिन युगमा कला विकास र हालसम्म यसको निरन्तरताको जिज्ञासा र प्रश्नको खोजमा आद्यविम्व शीर्षकमा चित्रकला रचना गरेको छु ।’
अग्रज कलाकार तथा समीक्षक मदन चित्रकारले नेपाली कलाका ऐतिहासिक बिम्बलाई प्रयोग गरी कलाकार श्रेष्ठले कलाकृति रचना गरेको बताए । उनी भन्छन्, ‘प्राचीन तथा सम्पदाका विषय कलामा आएका छन् । यस्तो प्रयोग नेपाली कलामा देखेको छैन । नेपाली कलाका पुराना बिम्बलाई कलाकार श्रेष्ठले नयाँ ढंगले प्रयोग गर्नुभएको छ ।’ उनले कलाकार श्रेष्ठका कलामा परिपक्वतासँगै कलाका सैद्धान्तिक पक्षसमेत कलात्मक रुपमा उजागर भएको सुनाए ।

कला रचनामा विषयवस्तुको प्रस्तुति र शैली विशेष रहन्छ । कलाकार श्रेष्ठले नेपालका पुराना तथा ऐतिहासिक हस्तलिखित ग्रन्थहरूमा रहेका कलाका बिम्बका सूक्ष्म पक्ष, काठ, ढुंगा तथा धातुमा कुँदिएका वा बनाइएका बिम्ब तथा शैली, धार्मिक तथा सांस्कृतिक विषय आदिलाई प्रतीकात्मक ढंगले नयाँ विचार दिने गरी प्रस्तुत गरेका छन् । रङ प्रस्तुति, विषय संयोजन, विचारको तादम्यता, परम्परालाई नयाँ तरिकाबाट प्रस्तुत, सामाजिक, सांस्कृतिक तथा आध्यात्मिक पक्षको गहन उधिनाइ कलाकार श्रेष्ठको बलिया पक्ष हुन् ।
नृत्यकार रमेश राई लेख्छन्, ‘उनका कलाकृतिहरुमा दर्शकले केवल रङ र रेखाहरु मात्रै भेट्टाउँदैन, बल्कि नेपालको ऐतिहासिक, आध्यात्मिक र सांस्कृतिक धरोहरहरुको जीवित स्पन्दनलाई महसुस गर्छन् । सबै कलाकृतिहरुको भिन्नभिन्नै विशिष्ट विषयवस्तु भएता पनि मूल दार्शनिक जरा, कला सिद्धान्त र वैचारिक आधार एउटै साझा सूत्रमा बाँधिएको छ । त्यसैले कलाकृतिको ‘रुप पक्षलाई भन्दा पनि सार पक्ष’ को संश्लेषण गरेर एक दर्शकको चस्माबाट हेरेको छु ।’
उनले श्रेष्ठको समग्र कलाकृतिहरुको मुख्य दार्शनिक जग नेपाली तन्त्र, हिन्दू तथा बौद्ध दर्शनको अद्वैतवादमा आधारित रहेको तर्क गरेका छन् । उनका अनुसार प्रत्येक क्यानभासलाई तल्लो भागमा लौकिक (भौतिक जगत, मानव संसार, भजन मण्डली, मूर्ति, अभिलेख, वास्तुकलाको जग, आदि) र माथिल्लो भागमा अलौकिक (दैवी शक्ति, देवदेवी, अक्षर, मन्त्र, आकाश, त्रयोदशा भुवन, वादल, आदि) गरी दुई भागमा विभाजन गरी कोरियोग्राफिक ढाँचामा सिर्जना गरिएको छ ।

राई थप्छन्, ‘दर्शकलाई समययात्रा गराएर लिच्छविकाल र मल्लकालकालीन परिवेशका समाज र संस्कृतिसम्म लैजाने शक्ति कलाकृतिहरुमा रहेको छ । त्यसैले कला प्रदर्शनीको शीर्षकले सार्थकता पाएको देखिन्छ ।’
कलाकार प्रकाश मिजारले श्रेष्ठका कलामा चिन्तनको गहिराइ गहकिलो रुपमा प्रस्तुत भएको जनाउँदै अध्ययन विषय र धैर्यताको बाँधले प्राचीन नेपाली मौलिक कलादेखिको बिम्व र आजको आधुनिक शैलीसम्मको सम्बन्ध संयोजनको सुन्दर, सुगन्धित, मिठास प्रस्तुतिले कला सिर्जना अद्वितीय र उत्कृष्ट रहेको बताए ।

कलाकार श्रेष्ठले नेपाली पौराणिक कलामा पुराणका विम्व, पात्र, घटना, मिथ संस्कृति र अलौकिक छवि, प्रतीकहरु आकृति रहेको बताउँदै साझा सांस्कृतिक, प्रतीकात्मक, धार्मिक र रचनात्मक प्रक्रिया तथा परम्परा पुख्यौली पुस्तान्तरण पेसाबाट स्वस्फूर्त कलाकृति निर्माण भएका विषय आद्यबिम्व पाइने बताए । उनी भन्छन्, ‘हाम्रा पुर्खाहरुको अनुभव, संस्कार अनेकौं कला हाम्रोसामु उदाहरणका रुपमा छन् । यी विषयमा आधारित भएर यस चित्रकला प्रदर्शनीमा आद्यविम्व शीर्षकमा विभिन्न चित्रहरु रचना गरेको छु ।’
कलामा आफ्नो वरिपरिको वातावरण, समाज र सांस्कृतिक सम्पदाले गहिरो रूपमा प्रभाव पारेको धारणा राख्दै उनी आफ्नो रचनागर्भका विषयमा भन्छन्, ‘ऐतिहासिक सहर साँखु (शंखरापुर) मा हुर्किएपछि, म मठ–मन्दिर, चैत्य, परम्परागत पानीका धारा र अन्य पवित्र सम्पदा स्थलहरूको निरन्तर सम्पर्कमा रहन्थें । बाल्यकालका यी अनुभवहरू प्रेरणाको स्थायी स्रोत बने र आज पनि मेरो कामलाई आकार दिइरहेका छन् ।’

जीवन र जगतका शाश्वत पक्षको बिम्बिकरण गर्दै तिनमा कलात्मक बान्की भर्दै सामाजिकरण गर्ने कलाकार श्रेष्ठको कलाकारितामा देखिएको सचेत पैरवी नेपाली कला जगतका लागि उदाहरणीय कार्य बन्न गएको छ । मिथ, इतिहास, परम्परा, समाज, मानव जीवन, चराचर जगतको अन्तरसम्बन्ध र विकसित सांस्कृतिक तथा सामाजिक परिवेशको गहन प्रस्तुतिको उत्कृष्ट सिर्जनात्मक अभिव्यक्ति कलाकार श्रेष्ठका कलामा भेटिन्छ । यो यात्राले निरन्तरता पाउँदै आगामी दिनमा कृष्णगोपाल श्रेष्ठबाट नेपाली कलामा विशिष्ट पहिचानसहितको परिपक्व उपस्थिति अपेक्षित छ । प्रदर्शनी असार २८ गतेसम्म रहने छ ।
प्रतिक्रिया