नेपालमा विदेशी पर्यटकको आगमन बढे पनि प्रतिव्यक्ति दैनिक खर्च र अर्थतन्त्रमा यसको योगदान इतिहासकै न्यून स्तरमा झरेको छ । केवल संख्या बढाउने परम्परागत नाराभन्दा छिमेकी मुलुकका विभिन्न उमेर समूहलाई लक्षित गरी विशेष ‘स्किम’ र प्याकेज ल्याउनु अबको मुख्य आवश्यकता हो ।

अहिले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या उत्साहजनक रूपमा बढिरहेको छ । सन् २०२४ मा ११ लाख ४७ हजारभन्दा बढी पर्यटक आएकोमा सन् २०२५ मा त्यो संख्या बढेर करिब ११ लाख ६२ हजार पुगेको छ । यद्यपि, पर्यटक आगमनको यो वृद्धि अनुरूप पर्यटन क्षेत्रबाट हुने वास्तविक विदेशी मुद्रा आर्जन र राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान भने खस्किँदै गएको देखिन्छ ।
पछिल्ला तथ्य–तथ्यांकहरू हेर्दा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा पर्यटनको हिस्सा अपेक्षाभन्दा निकै न्यून छ । पर्यटकको आगमन बढे पनि उनीहरूको दैनिक खर्चको दर विगतका वर्षहरूको तुलनामा झन् घटेको छ । सरकारको पछिल्लो आर्थिक सर्वेक्षणअनुसार सन् २०२४ मा प्रतिव्यक्ति दैनिक खर्च ४०.८४ अमेरिकी डलर रहेकोमा सन् २०२५ मा करिब १९ प्रतिशतले गिरावट आई मात्र ३३.०८ अमेरिकी डलरमा सीमित हुन पुगेको छ । केन्द्रीय इलेक्ट्रोनिक टुरिजम म्यानेजमेन्ट इन्फर्मेसन सिस्टममार्फत आगमन र प्रस्थानको वैज्ञानिक गणना सुरु गरिएकाले यो वास्तविक तथ्यांक बाहिर आएको हो ।
आक्कलझुक्कल बाहेक विदेशी पर्यटकको औसत दैनिक खर्च लामो समयदेखि ५० डलर नाघ्न सकेको छैन । अपवादको रूपमा कोरोना महामारीको बीचमा परेको सन् २०२० मा मात्रै यो खर्च ६५ डलर पुगेको थियो । विगतका विभिन्न आर्थिक वर्षहरूमा पर्यटन क्षेत्रबाट भएको विदेशी मुद्रा आर्जन (करोड रुपैयाँमा) र कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा यसको योगदान प्रतिशत निम्नानुसार रहेको थियो ः
आव २०५९/०६० ः रु.१ हजार १७४.८ करोड (२.४ प्रतिशत)
आव २०६०/०६१ ः रु.१ हजार ८१४.७ करोड (३.४ प्रतिशत)
आव २०६१/०६२ : रु.१०४६.४ करोड (१.८ प्रतिशत)
आव २०६२/०६३ : रु.९५५.६ करोड (१.५ प्रतिशत)
आव २०६३/०६४ : रु.१ हजार १२.५ करोड (१.४ प्रतिशत)
आव २०६४/०६५ : रु.१ हजार ८६५.३ करोड (२.३ प्रतिशत)
आव २०६५/०६६ : रु.२ हजार ७९६.० करोड (२.८ प्रतिशत)
आव २०६६/०६७ : रु.२ हजार ८१३.९ करोड (२.४ प्रतिशत)
आव २०६७÷०६८ : रु.२ हजार ४६१.१ करोड (१.८ प्रतिशत)
आव २०६८÷०६९ : रु.३ हजार ७०.४ करोड (२.० प्रतिशत)
आव २०६९/०७० : रु.३ हजार ४२१.१ करोड (२.० प्रतिशत)
अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा पर्यटनबाट ८३ अर्ब ३९ करोड रुपैयाँ विदेशी मुद्रा आर्जन भएको थियो । तर नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो १० महिना (२०२६ मे सम्म) मा पर्यटन आम्दानी २.२ प्रतिशतले ओरालो लागेर ७४ अर्ब १८ करोड रुपैयाँमा खुम्चिएको छ । पर्यटकको संख्या बढेर बसाइ अवधि औसत १३.३ दिनबाट बढेर १६.३४ दिन पुग्दा पनि आम्दानी घट्नुले नेपाली पर्यटन क्षेत्र गम्भीर मोडमा रहेको संकेत गर्छ । हाल देशको समग्र जिडिपीमा पर्यटनको प्रत्यक्ष योगदान केवल ०.७५ प्रतिशतको आसपास मात्र रहने अनुमान गरिएको छ, जुन इतिहासकै सबैभन्दा न्यून स्तर हो ।
नेपालको जिडिपीमा पर्यटन क्षेत्रको कुल योगदान कुनै समय (विशेष गरी पञ्चायतकालमा) ११ प्रतिशतसम्म पुगेको विज्ञहरूको भनाइ छ । तर, हालैका वर्षहरूमा यो सूचक निकै तल ओर्लिएको छ । राष्ट्रिय तथ्यांक कार्यालय, नेपाल पर्यटन बोर्ड, नेपाल राष्ट्र बैंक र विश्व पर्यटन संगठनको संयुक्त ‘टुरिजम स्याटेलाइट एकाउन्ट’ प्रतिवेदनअनुसार समग्र पर्यटन क्षेत्रको (प्रत्यक्ष र अप्रत्यक्ष) कुल योगदान ३.७७ प्रतिशत मात्र रहेको छ । सोही प्रतिवेदनले पर्यटन क्षेत्रले मुलुकमा ११.५ प्रतिशत रोजगारी सिर्जना गरेको देखाएको थियो ।
यसअघि कोरोना महामारीको समयमा यो योगदान खस्किएर करिब १.६ प्रतिशतमा सीमित हुन पुगेको थियो । वैश्विक परिदृश्यलाई हेर्दा, विभिन्न देशहरूको अर्थतन्त्रमा पर्यटनको हिस्सा फरक–फरक पाइन्छ । महामारीपूर्व कतिपय टापु वा ससाना देशहरूको जिडिपीमा पर्यटन उद्योगको योगदान ५० देखि ५८ प्रतिशतसम्म उच्च देखिन्थ्यो भने औद्योगिक तथा अन्य क्षेत्र सुदृढ भएका मुलुकहरूमा यो योगदान ०.००२ देखि ०.००५ प्रतिशत जस्तो नगन्य मात्रामा पनि छ ।
विश्वका करिब २२० मुलुक तथा क्षेत्रहरूमध्ये कतिपयको अर्थतन्त्र पर्यटनमै आश्रित छ भने कतिपयका लागि यो नगण्य सूचक हो । नेपालको सन्दर्भमा भने पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि हामीले यसको उचित लाभ उठाउन सकेका छैनौँ । सरकार र निजी क्षेत्रले वार्षिक रूपमा ‘यति लाख वा उति लाख पर्यटक भित्याउने’ परम्परागत नारा र कागजी लक्ष्य मात्र तय गरेर पुग्दैन । पर्यटकको संख्यासँगै उनीहरूको खर्च र बसाइ अवधि बढाउन स्पष्ट रणनीति र विशेष ’स्किम’ (योजना) हरू ल्याउनु अपरिहार्य भइसकेको छ ।
अबको बाटो
पर्यटक आकर्षित गर्न र उनीहरूको दैनिक खर्च बढाउन सरकार र निजी क्षेत्र दुवैले स्पष्ट कार्यविभाजन र सहकार्यका साथ विशेष प्याकेजहरू ल्याउनु पर्छ । नेपाल सरकारले रणनीतिक रूपमा निश्चित अवधि वा लक्षित देशका पर्यटकहरूका लागि निःशुल्क भिसा उपलब्ध गराउन सक्छ । होटल, लज, रिसोर्ट तथा होमस्टेहरूले बस्ने र खाने कुरामा विशेष छुट दिनुपर्छ । गुणस्तरीय सपिङ र मनोरञ्जनात्मक स्थलहरू बनाई पर्यटकले खर्च गर्ने वातावरण सिर्जना गरिनुपर्छ ।
यसैगरी ट्रेकिङ, ट्राभल, र्याफ्टिङ, हवाई सेवा, प्याराग्लाइडिङ तथा बेलुनिङ कम्पनीहरूले विशेष गरी छिमेकी मुलुक भारत र चीनका पर्यटकलाई आकर्षित गर्ने गरी सस्तो र गुणस्तरीय प्याकेज ल्याउनुपर्छ । विशेष गरी हाम्रा २ ठुला छिमेकी मुलुकहरू चीन र भारतका विभिन्न उमेर समूह र वर्गलाई लक्षित गरी वर्गीकरण गरेर विशेष प्याकेजहरू बनाउनु बुद्धिमानी हुनेछ ।
६० वर्षभन्दा माथिका उमेर समूह (जस्तै ६० देखि ७० वर्ष, ७० देखि ८० वर्ष र सोभन्दा माथि) का चिनियाँ र भारतीय ज्येष्ठ नागरिक पर्यटकहरूका लागि यातायात, होटल र दर्शन–भ्रमणमा विशेष सहुलियत र स्वास्थ्य सुरक्षा सुनिश्चित गरिएको प्याकेज ल्याउन सकिन्छ । भारत र चीनका विद्यालय तथा विश्वविद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको समूहलाई शैक्षिक वा मनोरञ्जनात्मक भ्रमणका लागि आकर्षित गर्न प्रवेश शुल्क, गाइड शुल्क र आवतजावतमा ठुलो छुटको व्यवस्था गरिनुपर्छ ।
त्यसैगरी १४–१५ वर्षमुनिका बालबालिकासहित आउने परिवारलाई लक्षित गरी बालमैत्री पर्यटन प्याकेज र पर्यटकीय स्थलहरूमा सहुलियत शुल्क निर्धारण गर्न सकिन्छ । हनिमुन प्याकेज ः नवविवाहित जोडीहरूलाई नेपालका शान्त र सुन्दर गन्तव्यहरूमा आकर्षित गर्न विशेष ‘हनिमुन प्याकेज’ डिजाइन गरी प्रचार–प्रसार गरिनुपर्छ । संख्या मात्रै बढाउने परम्परागत ढर्राबाट माथि उठेर जबसम्म हामीले यस्ता लक्षित र योजनाबद्ध कार्यक्रमहरू कार्यान्वयनमा ल्याउँदैनौँ, तबसम्म नेपाली अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान प्रभावकारी रूपमा बढ्न सक्ने देखिँदैन ।
प्रतिक्रिया