नाचघरको ५४औँ वार्षिकोत्सव : २ लाख पुरस्कारको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता हुँदै

काठमाडौं । घाटाको इतिहास सच्याउँदै इतिहासमै पहिलो पटक २९ लाख रुपैयाँ खुद नाफा कमाएर नयाँ कीर्तिमान रचेको सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले यसपटक आफ्नो ५४औँ जन्मोत्सव निकै भव्य र संगीतमय शैलीमा मनाउने भएको छ ।

महाप्रबन्धक किरण बाबु पुनको सफल नेतृत्वमा नयाँ ऊर्जा पाएको संस्थानले असारको ३, ४ र ५ गते आफ्नो मेगा हलमा देशैभरिका दोहोरीका ‘बाघ’ हरूलाई एउटै मञ्चमा उतार्दै छ ।

नेपाली लोक जीवनको मुटु मानिने दोहोरी गीतको संरक्षण र पुस्तान्तरणका लागि आयोजना हुन लागेको यो राष्ट्रिय प्रतियोगितामा भिड्न देशभरिका २५ वटा सशक्त समूहले कम्मर कसिसकेका छन् ।

स्वस्थ र निष्पक्ष प्रतिस्पर्धाबाट छानिने भाग्यमानी विजेताले नगद २ लाख रुपैयाँसहित संस्थानको आधुनिक स्टुडियोमा गीत रेकर्ड गर्ने ऐतिहासिक अवसर र ६ महिनाको विशेष कला प्रशिक्षण पाउने संस्थानले जनाएको छ । त्यस्तै, उपविजेताले १ लाख र अन्य उत्कृष्ट विधाहरूमा जनही २५ हजार रुपैयाँ पुरस्कारको वर्षा हुने बताइएको छ ।

यो महाभिडन्तलाई अझ रोचक र वजनदार बनाउन निर्णायकको कुर्सीमा लोक गायनका हस्तीहरू दुर्गा रायमाझी, चन्द्र शर्मा र राधिका हमालसहितको टोली बस्ने छ । कार्यक्रमलाई आफ्नै मौलिक र रसिलो शैलीमा अगाडि बढाउन चर्चित गायक बद्री पंगेनी र गायिका मञ्जु पौडेलले उद्घोषणको कमान्ड सम्हाल्ने छन् ।

दिग्गज संगीतकर्मी नारायण रायमाझीको प्रमुख आतिथ्यतामा समुद्घाटन हुने यस महोत्सवमा लोकदोहोरीका बादशाह राजु परियार, राजु ढकाल र देवी घर्तीको विशेष सांगीतिक प्रस्तुतिले दर्शकलाई झुमाउने छ ।

वि.सं. २०१६ सालमा जन्मिएको राष्ट्रिय नाचघरले आफ्नो ६७औँ र सांस्कृतिक संस्थानको ५४औँ स्थापना दिवसको अवसरमा असार ५ गते विजेताहरूलाई सम्मान गर्दै यो ऐतिहासिक उत्सवको सुखद समापन गर्ने संस्थानले जनाएको छ ।

प्रतिक्रिया