आयुर्वेद उपचार पद्धति कति प्रभावकारी ?

काठमाडौँ । रोगका प्रकार र जटिलता बढ्दै जाँदा उपचारका विकल्प पनि विस्तार हुँदै गएका छन् । स्वास्थ्य समस्या लामो समयसम्म निको नभएपछि वा उपचारमा धेरै खर्च हुँदा धेरै मानिस वैकल्पिक उपचार पद्धतितर्फ आकर्षित हुने गरेका छन् । नेपालमा परम्परागत रूपमा प्रयोग हुँदै आएको आयुर्वेद पछिल्लो समय पुनः चर्चामा आएको छ । एकातिर यसलाई प्राकृतिक, सुरक्षित र दीर्घकालीन समाधान दिने उपचार प्रणालीका रूपमा हेरिन्छ भने अर्कोतिर यसको प्रभावकारिता र वैज्ञानिक आधारबारे प्रश्न उठाउनेहरू पनि छन् । नेपालमा उपचार पद्धतिलाई मुख्यतः आधुनिक चिकित्सा (एलोप्याथी) र आयुर्वेद गरी २ धारमा बुझ्ने गरिन्छ ।

आधुनिक चिकित्सा तत्काल परिणाम दिने, वैज्ञानिक अनुसन्धानमा आधारित र आपत्कालीन उपचारका लागि प्रभावकारी मानिन्छ । यद्यपि दीर्घकालीन रोग, जीवनशैलीजन्य समस्या तथा मानसिक तनाव व्यवस्थापनमा आयुर्वेदको भूमिका बढ्दै गएको स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन् । आयुर्वेदमा विश्वास गर्नेहरूको संख्या बढ्दै जाँदा आयुर्वेदिक औषधिको बजार पनि विस्तार भइरहेको छ । जडीबुटीमा आधारित औषधि, चूर्ण, काढा, तेल, ट्याब्लेट तथा विभिन्न स्वास्थ्यवद्र्धक उत्पादनहरूको माग बढेको व्यवसायीहरू बताउँछन् । विशेषगरी मधुमेह, उच्च रक्तचाप, जोर्नी दुःखाइ, अनिद्रा, तनाव, पाचन समस्या तथा अन्य नसर्ने रोगका बिरामीहरू आयुर्वेदिक उपचारतर्फ आकर्षित भएका छन् ।

रस औषधि किन विवादमा आउँछ ?

आयुर्वेदिक औषधिबारे चर्चा हुँदा सबैभन्दा बढी बहस हुने विषय ‘रस औषधि’ हो । आयुर्वेद विज्ञहरूका अनुसार रसशास्त्र आयुर्वेदको महत्वपूर्ण र प्राचीन शाखा हो, जसमा धातु, खनिज, पारा, गन्धक तथा केही विषाक्त पदार्थलाई विशेष प्रक्रिया अपनाएर औषधिमा रूपान्तरण गरिन्छ । सामान्यतया आयुर्वेदिक औषधि भन्नासाथ धेरैले जडीबुटीबाट बनेका औषधि मात्र बुझ्ने गर्छन् । तर आयुर्वेदमा काष्ठ औषधि र रस औषधि दुवैको प्रयोग हुने बताइन्छ । काष्ठ औषधि जडीबुटी तथा वनस्पतिबाट तयार गरिन्छ भने रस औषधिमा धातु तथा खनिज पदार्थको प्रयोग हुन्छ ।

आयुर्वेदका जानकारहरूका अनुसार पारा, गन्धक, स्वर्ण, रजत, अभ्रक, फलामजस्ता पदार्थलाई प्रत्यक्ष रूपमा प्रयोग गरिँदैन । तिनलाई विभिन्न जडीबुटी, दुध, गोमूत्र, काढा लगायतका माध्यमबाट पटक–पटक शोधन तथा संस्कार गरेर मात्र औषधिको रूपमा प्रयोग गरिन्छ । यस प्रक्रियाले विषाक्तता हटाउने र शरीरले सजिलै ग्रहण गर्न सक्ने बनाउने विश्वास गरिन्छ । यद्यपि धातु तथा खनिज पदार्थ प्रयोग हुने भएकाले कतिपय मानिसमा रस औषधिप्रति आशंका रहने गरेको चिकित्सकहरू बताउँछन् । ‘धातुजन्य पदार्थले कलेजो वा मिर्गौलामा असर गर्छ’ भन्ने धारणा आममानिसमा पाइन्छ । तर आयुर्वेद चिकित्सकहरू उचित शोधन र चिकित्सकीय निगरानीमा प्रयोग गरिएका रस औषधि सुरक्षित हुन सक्ने दाबी गर्छन् ।

औषधि प्रयोगमा सावधानी आवश्यक

विशेषज्ञहरूका अनुसार कुनै पनि औषधि पूर्ण रूपमा सुरक्षित वा जोखिमरहित हुँदैन । औषधिको प्रभाव त्यसको मात्रा, बिरामीको अवस्था, रोगको प्रकृति र प्रयोग विधिमा निर्भर गर्छ । स्वास्थ्य विज्ञहरू भन्छन्, ‘चिकित्सकको सल्लाहबिना आयुर्वेदिक वा एलोप्याथिक जुनसुकै औषधि सेवन गर्दा समस्या उत्पन्न हुन सक्छ । सही रोग पहिचान, उचित मात्रा र आवश्यक निगरानीबिना औषधि प्रयोग गर्दा लाभभन्दा हानि हुने सम्भावना रहन्छ ।’

आयुर्वेदिक औषधि प्राकृतिक भएकाले जति खाए पनि असर गर्दैन भन्ने धारणा पनि गलत भएको चिकित्सकहरू बताउँछन् । त्यसैगरी आधुनिक औषधि मात्र प्रभावकारी हुन्छ र आयुर्वेदले कुनै काम गर्दैन भन्ने निष्कर्ष पनि वैज्ञानिक दृष्टिले उचित नहुने उनीहरूको भनाइ छ ।

के आयुर्वेदले परिणाम दिन समय लाग्छ ?

आमरूपमा आयुर्वेदिक उपचारले रोग निको पार्न धेरै समय लाग्छ भन्ने धारणा प्रचलित छ । तर विशेषज्ञहरूका अनुसार यो धारणा सबै अवस्थामा लागू हुँदैन । रोगको प्रकृति, बिरामीको अवस्था तथा औषधिको संयोजनअनुसार परिणामको गति फरक हुन सक्छ ।

आयुर्वेद चिकित्सकहरूका अनुसार सही निदान, उपयुक्त औषधि, जीवनशैली सुधार तथा योग–ध्यानजस्ता अभ्यासलाई सँगै अपनाउँदा अपेक्षाकृत छोटो समयमा पनि सकारात्मक परिणाम देखिन सक्छ । विशेषगरी पाचन समस्या, निद्रा समस्या, तनाव व्यवस्थापन तथा केही दीर्घकालीन रोगमा आयुर्वेद उपयोगी हुन सक्ने उनीहरूको भनाइ छ ।

विश्वभर बढ्दो रुचि

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का विभिन्न अध्ययनले परम्परागत तथा पूरक उपचार पद्धतिप्रति विश्वव्यापी आकर्षण बढिरहेको देखाएका छन् । विभिन्न देशमा योग, ध्यान, हर्बल औषधि तथा परम्परागत उपचार प्रणालीलाई पूरक स्वास्थ्य सेवाका रूपमा अपनाउने प्रवृत्ति विस्तार हुँदै गएको छ । विशेषज्ञहरूका अनुसार योग र ध्यानले तनाव, चिन्ता तथा अनिद्रा कम गर्न सहयोग पु¥याउने विषयमा विभिन्न वैज्ञानिक अध्ययनहरू सार्वजनिक भइसकेका छन् । यसले मानसिक स्वास्थ्य सुधारका साथै दीर्घकालीन रोगको जोखिम व्यवस्थापनमा पनि सहयोग पु¥याउन सक्छ ।

कस्तो छ नेपालमा आयुर्वेदको सम्भावना ?

नेपाल जडीबुटीको धनी देशका रूपमा परिचित छ । हिमाल, पहाड र तराईका विभिन्न क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीका कारण आयुर्वेदिक औषधि उत्पादनको ठुलो सम्भावना रहेको जानकारहरू बताउँछन् । पछिल्ला वर्षहरूमा आयुर्वेदिक उत्पादनको आन्तरिक बजार विस्तार हुनुका साथै निर्यातको सम्भावना पनि बढ्दै गएको छ । आयुर्वेद चिकित्सक, जनस्वास्थ्यकर्मी तथा मनोविद् डा.प्रकाश ज्ञवालीका अनुसार सबै रोगको उपचार एउटै चिकित्सा प्रणालीबाट सम्भव हुँदैन। त्यसैले बिरामीको आवश्यकता र रोगको प्रकृतिअनुसार आयुर्वेद तथा आधुनिक चिकित्सालाई परस्पर पूरक रूपमा प्रयोग गर्न सकिन्छ ।

त्यस्तै नेपाल आयुर्वेद औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष सुमनप्रसाद पाण्डेयका अनुसार नसर्ने रोगहरूको व्यवस्थापनमा आयुर्वेदिक उपचार प्रभावकारी देखिएको छ । उनले यस सम्बन्धमा विभिन्न अध्ययन तथा अनुसन्धानबाट सकारात्मक संकेत प्राप्त भएको दाबी गरे ।

स्वास्थ्य क्षेत्रका विज्ञहरू भने आयुर्वेद र आधुनिक चिकित्साबीच प्रतिस्पर्धा भन्दा पनि समन्वय आवश्यक रहेको बताउँछन् । उनीहरूका अनुसार वैज्ञानिक अनुसन्धान, गुणस्तरीय उत्पादन, प्रभावकारी नियमन र जनचेतना अभिवृद्धिमार्फत आयुर्वेदलाई अझ विश्वसनीय बनाउन सकिन्छ । यसरी अघि बढ्नसके मानसिक स्वास्थ्यदेखि नसर्ने रोगसम्मका चुनौतीको दीर्घकालीन समाधान खोज्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

०००

आयुर्वेद नसर्ने रोगका लागि बढी प्रभावकारी : डा. प्रकाश ज्ञवाली, आयुर्वेद चिकित्सक, जनस्वास्थ्यकर्मी तथा मनोविद्

डा. प्रकाश ज्ञवाली, आयुर्वेद चिकित्सक

नेपालमा आयुर्वेद उपचार पद्धतिको इतिहास लामो छ । आधुनिक संरचनाभित्र आयुर्वेद सेवाको विकास भने सिंहदरबार वैद्यखाना स्थापनापछि व्यवस्थित रूपमा सुरु भएको मानिन्छ । सुरुआती चरणमा शासक वर्गको स्वास्थ्य सेवामा केन्द्रित रहे पनि अहिले आयुर्वेद उपचार देशभर विस्तार भइसकेको छ । संघीय सरकारदेखि स्थानीय तहसम्म आयुर्वेद सेवाको सञ्जाल रहेको र वैकल्पिक चिकित्सा पद्धतिमध्ये नेपालमा सबैभन्दा व्यापक पहुँच भएको प्रणाली आयुर्वेद नै हो ।

पछिल्ला वर्षहरूमा आयुर्वेद उपचारप्रति नेपालीहरूको आकर्षण उल्लेखनीय रूपमा बढेको छ । यसको प्रमुख कारण रोगको स्वरूपमा आएको परिवर्तन हो । विगतमा सरुवा रोगहरू प्रमुख स्वास्थ्य समस्या थिए भने अहिले नसर्ने रोगहरू ठुलो चुनौतीका रूपमा देखा परेका छन् । मधुमेह, उच्च रक्तचाप, मुटु रोग, गठिया, मोटोपना, मानसिक तनाव तथा अन्य दीर्घकालीन रोगका बिरामीको संख्या निरन्तर बढिरहेको छ । नेपालमा नसर्ने रोगको भार तीव्र रूपमा बढिरहेको छ । कुल जनसंख्याको ठुलो हिस्सा कुनै न कुनै नसर्ने रोगबाट प्रभावित छ भने अस्पतालमा उपचारका लागि पुग्ने अधिकांश बिरामी पनि यिनै रोगसँग सम्बन्धित हुन्छन् ।

नसर्ने रोगको उपचार दीर्घकालीन हुने भएकाले बिरामीले लामो समयसम्म औषधि सेवन गर्नुपर्ने, जीवनशैली परिवर्तन गर्नुपर्ने तथा नियमित स्वास्थ्य निगरानीमा बस्नुपर्ने अवस्था हुन्छ । यस्ता रोगको व्यवस्थापनमा आधुनिक चिकित्सा पद्धति महत्वपूर्ण भए पनि सबै समस्याको समाधान एउटै विधिबाट सम्भव नहुन सक्छ । यही कारणले धेरै मानिस वैकल्पिक तथा पूरक उपचारको खोजीमा आयुर्वेदतर्फ आकर्षित हुने गरेका छन् । विशेषगरी रोगको सुरुआती अवस्थामै उपचार गर्दा राम्रो परिणाम प्राप्त हुने विश्वासले पनि आयुर्वेद सेवाप्रति रुचि बढेको पाइएको छ ।

आयुर्वेद उपचारबारे समाजमा केही स्थापित धारणाहरू छन् । धेरै मानिसले आयुर्वेदिक उपचार महँगो हुन्छ र रोग निको हुन धेरै समय लाग्छ भन्ने विश्वास गर्छन् । तर, यो धारणा सबै अवस्थामा सही छैन । रोगको प्रकृतिअनुसार उपचारको अवधि फरक–फरक हुन्छ । केही सरुवा रोग निश्चित अवधिमा निको हुन्छन् भने दीर्घकालीन नसर्ने रोगहरूको उपचार र व्यवस्थापनका लागि लामो समय आवश्यक पर्न सक्छ । उदाहरणका लागि मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, गठिया तथा ग्यास्ट्रिकजस्ता रोगहरू दीर्घकालीन प्रकृतिका हुन्छन् । यस्ता रोगको उपचार आधुनिक वा आयुर्वेदिक जुनसुकै प्रणालीबाट गरिए पनि बिरामीले लामो समयसम्म स्वास्थ्य व्यवस्थापनमा ध्यान दिनुपर्ने हुन्छ ।

कतिपय अवस्थामा उपचार पद्धतिभन्दा पनि रोगको प्रकृतिले नै समय निर्धारण गर्छ । त्यसैले आयुर्वेद उपचार ढिलो हुने र आधुनिक चिकित्सा छिटो हुने भन्ने निष्कर्ष सधैँ सही नहुन सक्छ । आयुर्वेद सेवामा आउने धेरै बिरामीहरू लामो समयदेखि विभिन्न रोगबाट पीडित रहेका र अन्य उपचार पद्धतिबाट अपेक्षित सुधार नपाएका व्यक्तिहरू हुने गरेको छ । धेरैजसो बिरामी दीर्घकालीन स्वास्थ्य समस्या बोकेर आयुर्वेद अस्पताल वा चिकित्सककहाँ पुग्ने गरेका छन् । उपचारमा लागेको समय र खर्चको तुलना गर्दा धेरै अवस्थामा आयुर्वेद र आधुनिक चिकित्सा प्रणालीबीच ठुलो अन्तर नहुन सक्छ । तर रोगको प्रकृति, बिरामीको अवस्था र उपचारको उद्देश्य फरक हुने भएकाले दुवै प्रणालीलाई प्रतिस्पर्धीभन्दा पनि पूरक रूपमा बुझ्न आवश्यक छ ।

आयुर्वेदिक औषधिको चर्चा हुँदा रस औषधिबारे विभिन्न प्रश्न उठ्ने गरेका छन् । धातु तथा खनिज पदार्थ प्रयोग गरिने भएकाले कतिपय मानिसमा यसबारे डर र आशंका रहेको पाइन्छ । आयुर्वेदमा प्रयोग हुने पारा, गन्धक, अभ्रक वा अन्य धातुजन्य पदार्थलाई प्रत्यक्ष रूपमा प्रयोग गरिँदैन । ती पदार्थलाई निश्चित विधिअनुसार शोधन तथा संस्कार गरेपछि मात्र औषधि निर्माणमा प्रयोग गरिन्छ । शोधन प्रक्रियाले औषधीय प्रयोगका लागि आवश्यक गुण कायम राख्दै अवाञ्छित तत्व हटाउने उद्देश्य राख्छ । औषधिको गुणस्तर सुनिश्चित गर्ने जिम्मेवारी सम्बन्धित नियामक निकायको हो । गुणस्तरीय उत्पादन र चिकित्सकीय सल्लाहअनुसार प्रयोग गरिएका आयुर्वेदिक औषधिले बिरामीलाई लाभ पु¥याउने विश्वास आयुर्वेद क्षेत्रमा रहेको छ ।

क्यान्सरजस्ता गम्भीर रोगको पूर्ण उपचार आयुर्वेदबाट मात्रै सम्भव छ भनेर दाबी गर्नु उचित हुँदैन । यद्यपि क्यान्सरको उपचार गराइरहेका बिरामीको जीवनस्तर सुधार गर्न, भोक बढाउन, कमजोरी कम गर्न तथा शरीरको क्षमता जोगाइराख्न आयुर्वेदिक उपचार सहयोगी हुन सक्छ । किमोथेरापी वा अन्य उपचारपछि देखिने केही समस्याको व्यवस्थापनमा आयुर्वेदले सहायक भूमिका खेल्न सक्छ । तर यसलाई मुख्य उपचारको विकल्पका रूपमा प्रस्तुत गर्नु भने गलत हुन्छ । आयुर्वेद विशेषगरी युरिक एसिड, गठिया, पुराना वाथसम्बन्धी समस्या, पेट तथा पाचनसम्बन्धी रोग, कलेजोका केही समस्या तथा जीवनशैलीजन्य रोगको व्यवस्थापनमा उपयोगी देखिएको छ ।

त्यसैगरी महिलाको महिनावारीसम्बन्धी समस्या, केही स्त्रीरोग तथा दीर्घकालीन स्वास्थ्य समस्यामा पनि आयुर्वेद र आधुनिक चिकित्सा पद्धतिलाई सँगसँगै प्रयोग गर्दा राम्रो परिणाम प्राप्त हुन सक्ने मेरो अनुभव छ । पायल्स, फिस्टुलाजस्ता समस्यामा सुरुआती अवस्थामै उपचार सुरु गरिए प्रभावकारी परिणाम प्राप्त हुने बताइन्छ ।

आयुर्वेदिक औषधि शास्त्र र विज्ञानका आधारमा बन्छ : सुमनप्रसाद पाण्डेय, निवर्तमान अध्यक्ष, नेपाल आयुर्वेद औषधि उत्पादक संघ

सुमनप्रसाद पाण्डेय

नेपालमा आयुर्वेदिक औषधिको प्रयोग र लोकप्रियता दुवै बढिरहेका छन् । आममानिसले आयुर्वेदिक औषधि भन्नासाथ जडीबुटी, रुखका जरा, पात तथा वनस्पतिबाट बनेका औषधि सम्झिने गर्छन् । तर आयुर्वेद औषधि निर्माणको क्षेत्र यसभन्दा धेरै व्यापक रहेको छ । आयुर्वेदमा प्रयोग हुने काष्ठ औषधि जडीबुटी तथा वनस्पतिमा आधारित हुन्छन् । त्रिफला, अश्वगन्धा, ब्राह्मी, विभिन्न चूर्ण तथा काढाहरू यसका उदाहरण हुन् । नेपालमा उत्पादन हुने धेरै आयुर्वेदिक औषधि यिनै वनस्पतिजन्य सामग्रीमा आधारित छन् । तर आयुर्वेदमा रस औषधिको पनि महत्वपूर्ण स्थान छ । यसमा पारा, गन्धक, स्वर्ण, रजत, अभ्रक, फलाम तथा अन्य खनिज पदार्थ निश्चित विधिबाट प्रशोधन गरी प्रयोग गरिन्छ ।

यिनै सामग्रीको प्रयोगका कारण कतिपय मानिस आयुर्वेदिक औषधिप्रति सशंकित हुने गरेको पाण्डेय स्वीकार गर्छन् । आयुर्वेदमा प्रयोग हुने धातु तथा खनिज पदार्थलाई कच्चा अवस्थामा प्रयोग गरिँदैन । शास्त्रले निर्दिष्ट गरेका प्रक्रिया र वैज्ञानिक विधिअनुसार शोधन तथा संस्कार गरेपछि मात्र ती पदार्थ औषधि निर्माणमा प्रयोग गरिन्छ । यस प्रक्रियाले अवाञ्छित तत्व हटाउने र औषधीय गुणलाई उपयोगी बनाउने उद्देश्य राख्छ । आयुर्वेदिक औषधि निर्माण पनि निश्चित मापदण्ड, शास्त्रीय सिद्धान्त र वैज्ञानिक प्रक्रियामा आधारित हुन्छ । त्यसैले आयुर्वेदिक औषधिलाई केवल घरेलु उपचार वा परम्परागत ज्ञानको परिणाम मात्र ठान्नु उचित हुँदैन ।

नसर्ने रोगको व्यवस्थापनमा आयुर्वेदिक औषधिको भूमिका महत्वपूर्ण रहेको छ । जीवनशैलीजन्य रोगहरूको संख्या बढ्दै गएका कारण आयुर्वेदिक उपचारप्रति आकर्षण पनि बढिरहेको छ । नेपालमा आयुर्वेदिक औषधि उत्पादनको पर्याप्त सम्भावना छ । जडीबुटीको उपलब्धता, परम्परागत ज्ञान तथा बढ्दो बजार मागका कारण स्वदेशमै ठुलो मात्रामा औषधि उत्पादन गर्न सकिने अवस्था छ । आवश्यक प्रविधि, जनशक्ति, प्रयोगशाला तथा सरकारी सहयोग विस्तार गर्नसके नेपालले आन्तरिक मागको ठुलो हिस्सा स्वदेशी उत्पादनबाट पूर्ति गर्न सक्ने विश्वास छ । आयुर्वेद नेपालको स्वास्थ्य प्रणाली, औषधि उद्योग र जडीबुटी अर्थतन्त्रलाई एकैसाथ सुदृढ बनाउन सक्ने क्षेत्र हो । त्यसका लागि गुणस्तर, अनुसन्धान तथा नियमनलाई थप मजबुत बनाउन आवश्यक छ ।

प्रतिक्रिया