संस्कार फेरिए तर छुवाछुतको कुसंस्कार फेरिएन

आधुनिकता र बदलिँदो समयले विगतको परम्परा, संस्कार हटे पनि छुवाछुत नहटेकोमा चाहिँ उनमा गहिरो खुलदुली छ । उनले भने, ‘नचाहिने संस्कार आफैँ भित्रियो, समय बदलियो तर परिवर्तन हुनै पर्ने कुसंस्कार सोच फेरिएन ।’

झापा । उमेरले ७० को सन्निकट रहेका पदमलाल लोहारको जवानी आरनमै बित्यो । भाती चलाउँदै र घन ठोक्दै उनले ५५ बर्ष बिताए । पदमलालले बनाएका सामान उपल्लो जातका लागि सधैँ चले । खेतबारी, करेसा, भान्सा र पूजाकोठासम्मै पुगे । पदमलालकै हातले हालेको पाइन चल्यो । तर, उनले छोएको पानी कहिल्यै चलेन । पदमलालले नेपाली समाजमा व्याप्त जातीय विभेद र छुवाछुतको भेद खोले, ‘राम्रो जति खस – बाहुनलाई, नराम्रो जति कामी – दमाईलाई ।’ यो भनाइले २ वटा भाव एकसाथ उजागर गर्छ । पहिलो – जातीय अहंकार नै समाजमा जरो गाडेर बसेको विभेदको जड हो । दोस्रो – दलित समुदाय बहिष्करणको मार र भार खेप्न विवस छ ।

पूर्वी पहाडी जिल्ला पाँचथरको सुवादिनमा २०१६ सालमा जन्मेका पदमलाल १२ वर्षको हुँदा झापा झरे । तैपनि उनी सहर पसेनन्, बजारदेखि अलिक परै बसे । छुवाछुतकै कारण उनी सहर बजार नपसेकाचाहिँ होइनन् । आर्थिक अवस्था र परिस्थितिले परपरै पारेको हो । उनी पहाडबाट आएदेखि नै अर्जुनधारामा बसे । पहिला बजारको नजिक थिए । अहिले अलिक पर सरेका छन् । पदमलालले आफू पर सर्नुको कारण खोले, ‘अलिक सस्तोमा यही १ कठ्ठा जग्गा किनेँ, घर बनाएँ, यही बसेँ ।’ अर्जुनधारा नगरपालिका–७ नारायणचोक नजिक आरन थापेर बसेका उनले त्यही पेसाबाट कमाए, जग्गा किने, घर बनाए । झापा झरेदेखि आरनमै काम गरेका उनले यो पेसा बुबा टीकारामबाट सिकेका हुन् । आरन चलाउनु पदमलालको पुस्तौनी पेसा हो । उनका बाउबाजे पहाडमा पनि त्यही पेसा गर्थे । पदमलाल खुले, ‘बाउबाजेले आरन चलाएरै जिन्दगी चलाए, मेरो पनि जीवन यसमै बित्नेभो ।’

१४ वर्षअघि उनीमाथि बज्रपात आइलाग्यो । बुबा बितेको १४ दिनमा पत्नीको पनि मृत्यु भयो । उनी अहिले छोरा बुहारीसँग छन् । तर, उनको पेसा कहिल्यै परिवर्तन भएन, अब हुँदैन पनि । उनका छोरा हरिप्रसादले यो पेसा गर्दैनन् । हरि गाडी चलाउँछन् । ‘छोरो यतापट्टी लाग्दै लागेन, उसलाई मतलब पनि छैन’ पदमलालले भने, ‘कालोमैलो हुने काम नगर्नुस्, धुलो–धुँवा हुन्छ, बिरामी परिन्छ भन्छ, चलाउन त परै जाओस् मन लगाएर आरनतिर हेर्दा पनि हेर्दैन ।’ आफूहरू विभेदमा पर्नुको कारण धुलोमैलो पनि भएको पदमलालको बुझाइ छ । ‘कोइला खेलायो, कालोमैलो भइयो, यो काम गर्दा धुलोमैलै र फोहोरी देखिन्छ ’ उनले भने, ‘काम गरेर फोहोरी देखिएकै कारण विभेदमा परिएको होला नत्र त मान्छे त उस्तै हुइन्छ नि ! हाम्रो खुन चल्छ तर पानी चल्दैन ।’

जातीय छुवाछुत विरुद्धको राष्ट्रिय दिवस हरेक वर्ष जेठ २१ गते पर्छ । मुलुक जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा भएको २० वर्ष बितेको छ । तैपनि समाजमा जातीय छुवाछुत कायमै छ । तत्कालीन व्यवस्थापिका संसद्ले २०६३ जेठ २१ मा नेपाललाई जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । हरेक जेठ २१ लाई ऐतिहासिक दिनको रूपमा सम्झे पनि व्यावहारिक कार्यान्वयनमा सरकार र समाज चुकेको पदमलालको बुझाइ छ । उनले भने, ‘हाम्रो सीप र श्रम चल्छ तर पानी चल्दैन ।’ यद्यपि, उनले यसलाई नेपाली समाजमा विद्यमान संकीर्ण कुसंस्कारको तुषको रूपमा अथ्र्याए । उनले कथित माथिल्लो र तल्लो जातमा मात्रै होइन, दलित–दलितबीच पनि छुवाछुत कायम रहेको रहस्य खोले ।
हँसिया, चुलेसी, खुर्पा बनाउनु पदमलालाको दैनिकी हो । बर्खा लागेपछि कोदालो, फरुवामा धार लगाउने, बिँड हाल्ने, फाली – करुवा बनाउने काम पनि त्यत्तिकै हुन्छ । तिनै समान उद्याउनु, अर्जाप्नु पदमलालको जीवन चलाउने आधार हो । दैनिक हजार, १२ सय कमाइ हुने उनले सुनाए । हिउँदमा खासै काम नहुने बताएका पदमलाल कैँची, छिनो, सनासो, अलिहोत्रो, ठेला, लिमै, भाती, डुँडसँग खेल्छन् । उनका साथी यिनै हुन् । यिनलाई घरमा कसैले सघाउँदैन् । घर नजिक आरन थापेका पदमलालले सुनाए, ‘बुहारीको समय नातीनातिना र आफ्नो हेरचाह गर्दैमा बित्छ ।’ आफूलाई समयमा खाजा, खाना, चिया नै दिनु बुहारीको दैनन्दिनको काम भएको उनले बताए ।

सुनका गरगहनाबाहेक सबै सामान बनाउने सीप भएका पदमलाल विगतमा खुकुरी, करुवा, मानापाथी, गाग्री, खड्कुला, कमण्डलुसमेत बनाउँथे । ‘त्यो बेलाचाहिँ राम्रो कमाइ हुन्थ्यो’ पदमलालले विगत खोले । त्यही कमाइले उनले २०५२ सालतिर ५५ हजार रुपैयाँमा १ कठ्ठा जग्गा किने । त्यही जग्गामा टिनको १ तले घर बनाए । घरको गारो लगाउने मिस्त्रीले ३ हजार ५०० र टिन लगाउन २ हजार ५०० लिएको उनले बिर्सेका छैनन् । उनले भने, ‘करुवा काटेको पैसाले घर बनाएको हुँ, जेजति कमाएको छु, त्यो सबै आरनबाटै कमाएको हुँ ।’

आरन थापेको केही वर्षसम्म सामान्य काम गरेका उनले ३०÷३५ सालतिर तामा, पित्तलका गाग्री, खड्कुला बनाए । त्यसबेला राम्रो कमाइ हुन्थ्यो । १ किलोको गाग्री, खड्कुलो १ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको बताएका उनले ३–४ किलोसम्मका सामान बनाएर बेचेको विगत सुनाए । अहिले हँसिया ७–८०० रुपैयाँसम्ममा बिक्री हुने गरेको बताए । एउटा हँसियाको मूल्य ४०० रुपैयाँभन्दा तल नहुने पदमलालको भनाइ छ । ‘अहिले समय फेरियो, पहिलाको जस्तो सामान बनाउन केही आउँदैन, सबै सामान रेडिमेट, बनेकै आउँछन्,’ पदमलालले चिन्ता व्यक्त गरे, ‘आधुनिकतासँगै आरन पेसा संकटमा प¥यो, अब केही वर्षपछि आरन देख्न नै पाइन्न, घरेलु तथा ठुला उद्योग, कलकारखानामा सबैखाले औजार बनिहाल्छ्न्, आरनको दुःख कसले गर्छ ?’ ।

उनले जेजति सामान बनाउँछन् गाडीको पत्ती र कवाडीबाट बनाउँछन् । फलाम प्रशस्तै पाए पनि कोइलाको समस्या रहेको उनले बताए । ‘खाना – खोले पकाउने, रक्सी पार्ने भट्टीबाट यसो अलिअलि कोइला ल्यायो काम चलायो,’ उनले भने, ‘जंगल छिर्न पाइन्न, कुकाठको कोइला हुँदैन, अब आरन पेसा खासै लामो समय चल्दैन ।’ आरनमा पहिला भातीको प्रयोग हुने भए पनि अहिले मेसिन पाइने बताए । उनले भने, ‘मेसिनलाई ५ हजार जति पर्छ । कालो नहुने भएकोले त्यसकै प्रयोग बढेको छ, पुरानो भाती त हराइसकेको छ ।’ आधुनिकता र बदलिँदो समयले विगतको परम्परा, संस्कार हटे पनि छुवाछुत नहटेकोमा चाहिँ उनमा गहिरो खुलदुली छ । उनले भने, ‘नचाहिने संस्कार आफैँ भित्रियो, समय बदलियो तर परिवर्तन हुनै पर्ने सोच फेरिएन ।’

दलित समुदायको राजनीतिक चेत

पूर्वसहकर्मी कल्पना कडरियाको सहयोगमा आरन खोज्दै जाँदा पदमलाल आरनको छेवैमा बसेर मोबाइल चलाइरहेका थिए । सुरुआतमा उनले गफिन खास उत्सुकता देखाएनन् । गफकै क्रममा नजानिँदो पाराले खुलेका पदमलालले कुरा खुस्काए, ‘खगेन्द्र सुनुवार साङ्ली लगाएर कराएको मोबाइलमा देख्छु, गर्नचाहिँ केही गर्दैनन् होला ।’ पदमलाल लेख्न, पढ्न जान्दैनन् । उनको भनाइमा साउँ अक्षर चिन्छन्, कनिकुथी आफ्नो नामसम्म लेख्छन् । तर, राजनीतिक रूपमा निक्कै सचेत र सजग छन् । उनले भने, ‘एमालेको हेलिकोप्टर उड्यो, कांग्रेसको पैसा जल्यो, देशमा घण्टी बज्यो ।’ उनले भने, ‘कुनैबेला झापा जिल्ला, लालकिल्ला नै बनाएको हो, खोइ ! अहिले त घण्टी बज्यो !

दलित भित्रकै भेद

नेपाली समाजमा उपल्लो जाति र दलित समुदायमा मात्रै भेदभाव र विभेद सीमित छैन । पदमलालले दलित–दलितबीच पनि विभेद रहेको खुलासा गरे । आफूहरू बीचमा पनि भातपानी नचल्ने र बिहेबारी नहुने गरेको उनले सुनाए । बाहुन–खसको चुल्होमा उनीहरू मात्रै जाँदैनन्, बाहुन–खसलाई पनि दलितको चुल्होमा जाने अनुमति हुँदैन । घरभित्र पस्नु र चुल्होचौकामा जानुलाई उपलब्धि मान्न नहुने मत राखेका पदमलालले भने, ‘सबैको खुन एउटै हो, खुन चल्छ तर, पानी चल्दैन ।’ कोही बिरामी हुँदा अस्पताल गएर दिएको खुनले मान्छे बाँच्छ, तर त्यही मान्छेले छोएको पानी नखानुचाहिँ उदेकलाग्दो भएको उनले टिप्पणी गरे । यसलाई उनले विभेदको नमुना भने ।

पहिला–पहिला गाउँघरतिर उपल्लो जातिका मानिस मर्दा मलामी जानसमेत दलितलाई प्रतिबन्ध रहेको विगत पदमलालले सुनाए । जन्ती जाने चलनचाहिँ धेरै पहिलादेखि नै रहेको पदमलालले बताए । ‘बाटोमा उपल्लो जातको कोही भेटिँदा हामीले बाटोमुनिबाट हिँड्नुपथ्र्यो’ उनले भने, ‘त्यसैले हामीलाई बाटोमुनिको जात भनिन्थ्यो ।’

पदमलालले आफ्नो घरको पूजाकोठा अहिले पनि खस–आर्यलाई मात्रै होइन, बिहे गरेका छोरीचेली र ज्वाइँचेलालाई छुट नभएको बताए । ‘हाम्रो पूजा गर्ने ठाउँमा कोही जानु हुँदैन, चुल्होमा पनि जानु हुँदैन,’ उनले भने, ‘वायुको पूजा र कुलको पूजा गर्दा यो नियम अझै पनि कायमै छ, त्यो दिन बिहे गरेका छोरीचेली र ज्वाइँचेलाले हाम्रो घर टेक्न हुँदैन ।’ त्यस्तो पूजामा काटेको बोकाको मासु दाजुभाइले मात्रै खाने र अरूलाई दिन नहुने चलन रहेको उनले सुनाए । ‘यो मासु खाएर हात धोएको पानी पनि बाहिर फाल्न हुँदैन, निश्चित ठाउँमा हात धुने चलन छ, मासु खाइ नसकिए त्यही खाल्डो खनेर गाड्ने चलन थियोे, अरूलाई दिन हुँदैन ।’ अहिले त्यो पूजा र त्यसो गर्ने चलन हराउँदै गएको पदमलालले बताए ।

रुढ धर्मसंस्कार, जातीय विभेद, छुवाछूत, पेसा व्यवसायका बारेमा अहिले जे मान्यता र किंवदन्ती छन्, ती सबै यही समाज र चेतनाको उपज हो । यसले कसैको पनि हित गर्दैन । यस्तो कुसंस्कार र रूढ परम्परा भत्काउनै पर्छ भन्नेमा उपल्लो जात र दलित समुदाय कसैको पनि विमति छैन । यद्यपि, यो कुप्रथा अहिले पनि उन्मूलन भएको छैन । कसैको घरमा पस्दा ठुलो र नपस्दा सानो नभइने मत राखेका पदमलालले भने, ‘अहिले पनि कति ठाउँमा दमाइको हातको पानी चल्दैन, सार्की र कामीबीच दालभात चल्दैन ।’ प्याकप्याक पर्दा खुन चल्ने तर सहज अवस्थाना पानी नचल्ने विभेदकारी व्यवहार तत्काल अन्त्य हुन जरुरी छ । आआफ्नो विचार हो भनेर बस्न कसैले नहुने निष्कर्ष उनले सुनाए ।

प्रतिक्रिया