मोरङमा छात्राहरुलाई दुर्व्यवहार गर्ने दुई जना शिक्षक र एक सवारी चालक पक्राउ

काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं। १० खोस्रानीमा रहेको सुकुना माध्यमिक विद्यालयका शिक्षकहरूले विद्यार्थीमाथि दुर्व्यवहार गरेको घटनामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शिक्षकहरूको दुर्व्यवहारविरुद्ध विद्यार्थीहरूले प्रदर्शन गर्ने तयारी गरिरहेको बुझिएपछि घटनाको अनुसन्धानका क्रममा संलग्न देखिएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्नेहरूमा सुन्दरहरैँचा नगरपालिका– १० बस्ने ४० वर्षीय प्रदिप भट्टराई (सवारी चालक), वडा नं. २ बस्ने ३० वर्षीय किशोरलाल गच्छदार र वडा नं. १२ बस्ने ३५ वर्षीय अविरल मास्के रहेका छन् । उनीहरूलाई यही असार ४ गते आइतबार नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार उक्त घटनामा अनुसन्धानका क्रममा अन्य व्यक्तिहरूको समेत संलग्नता खुलेमा कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने छ ।

साथै, घटना संवेदनशील रहेको र अनुसन्धान जारी रहेकाले यस सम्बन्धमा सामाजिक सञ्जालहरूमा अनावश्यक टिकाटिप्पणी नगर्न समेत प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ ।

प्रतिक्रिया