बालयौन दूराचारमा अमेरिकी अदालतबाट पनि दोषी ठहर भए केनेथ जोसेफ

काठमाडौं । नेपालमा बालयौन दूराचारमा ९ वर्ष कैद सजाय काटेर अमेरिका फर्किएका ५८ वर्षीय केनेथ जोसेफ कुम्ब्सलाई अमेरिकाको संघीय अदालतले नेपालमा गरेको कसुरमा दोषी ठहर गरेको छ । अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयले शुक्रबार आफ्नो वेवसाइटमा कुम्ब्सलाई दोषी ठहर गरेको जानकारी सार्वजनिक गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नेपालमा सजाय काटेर फर्किएका निजलाई अमेरिकी कानुन प्रवर्तन निकायले सेप्टेम्बर २०२५ मा पक्राउ गरेको थियो । कुम्ब्सन त्यसबेलादेखि हिरासतमा छन् । निजविरुद्ध अक्टोबर २८ मा अमेरिकी अदालतले सजाय सुनाउने तयारी गरेको अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयले जनाएको छ ।

बालकहरूको यौन शोषण गर्न संगठित रूपमा सिण्डिकेट सञ्चालन गरी दुर्गम गाउँहरूबाट बालक सहरमा ओसारपसार गरी विदेशी बालयौन दूराचारीलाई उपलब्ध गराउने गिरोह सञ्चालन भएको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान सुरू गरेको थियो ।

विसं २०७३ भदौ २४ गते ठमेलस्थित याम्बु होटलबाट सो ब्यूरोबाट खटिएको प्रहरीले केनेथ जोसेफ कुम्ब्स र बालयौन दूराचारका निम्ती निजलाई सहयोग गर्ने काठमाडौं स्वयम्भूका २१ वर्षीय लुच्चे भन्ने बुद्ध पुतवारलाई पक्राउ गरेको थियो ।

जिल्ला अदालत काठमाडौंको २०७४ वैशाख १० गतेको फैसलाले कुम्ब्सलाई ९ वर्ष र पुतवारलाई चार वर्ष कैद सजाय ठहर भएको थियो । अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयलको सूचनामा कुम्ब्सले सन् २०१६ मा नेपाल बस्दा होटलमा आठ जना बालबालिकामाथि यौन दुर्व्यवहार गरेको र ती यौनजन्य कार्य गर्नका लागि कुम्ब्सले बल प्रयोग, जबरजस्ती नशालु पदार्थ सेवन गराउने र बालकबालिकालाई पैसाको प्रलोभनमा पार्ने जस्ता उपाय अपनाएको उल्लेख गरेको छ ।

कुम्ब्सले खिचेको पीडितको तस्बिरहरू निजका इलेक्ट्रोनिक उपकरणबाट बरामद गरिएको अमेरिकी सार्वजनिक मामिला कार्यालयले जनाएको छ । नेपालस्थित अमेरिकी दूतावास, केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय र नेपालको गैरसरकारी संस्था नयाँ पाइलाबाट अनुसन्धानमा सहयोग प्राप्त भएको अमेरिकी सार्वजनिक मामिला विभागले जनाएको छ ।

प्रतिक्रिया