रहस्यमयी मर्दीको उकालो

(निबन्ध)

अन्नपूर्णा अन्नकी देवी पनि हुन् । नेपालको अन्नपूर्ण हिमालय शृंखलाअन्तर्गत पर्ने चर्चित माछापुच्छ्रे हिमालको शृंखलासँगै जन्मी, सँगै खेलेर हुर्केकी उनैकी बहिनी हुन् मर्दी हिमाल । देवी मानेर भन्यौँ भने माछापुच्छ्रे पनि अन्नपूर्णाकी थुप्रै अग्ली बहिनीमध्येकी एक देवी हुन् ।

पोखरा नजिकैबाट उच्च हिमालतिरको पदयात्रा सुरु गर्न सकिन्छ । मध्य पहाड वा महाभारत शृंखलासँग मित लगाएको पर्वतको धारबाट ३–४ दिन हिँडने बित्तिकै उच्च हिमालय पर्वतसँग शिर ठोकेर मित लगाउन सकिन्छ । पोखरावरपर त्यस्ता हजारौँ पर्वत शृंखला छन् । ती शृंखलाले पदयात्रीको मन पढेर चराको आवाजबाट गीत र झरनाबाट संगीत निकाल्छन् ।

खोला, नाला, भिर, पहरा, कन्दरा, टाकुरा, ओरालो, उकालो र तेर्सो हिँड्दा पूmलकोे सुवास र हरिणको छुनुमुनुले पाइला स्वचालित हुन्छन् । मानव मन प्रकृतिसँग लहसिन्छ । उमेरले चार बिसको ढोका ढकढक्याउन थालेका यात्रीको नसामा बैँश ओर्लन थाल्छ । अन्नपूर्ण र धवलागिरि हिमालय पर्वतका साथसाथै ३ हजारदेखि ८ हजार मिटरभन्दा उच्च हजारौँ चुचुराहरूले स्वागत गर्दा स्वाट्टै उमेर घटेर तन्देरी–तरुनी हुँदारहेछन् पदयात्री ।

चार बिसको उमेर दुर्ई बिसमा झार्ने सयौँ पदयात्रामध्येको एक हो मर्दी हिमाल आधार शिविरको पदयात्रा । यो सुन्दर छ । सजिलो छ । नजिक छ । रमणीय छ । उकालो चढ्दै गर्दा अन्नपूर्णका अगगिन्ति पर्वतीय धार, चेप, हिम नदी, बरफ झरना, जीवजन्तु, वनस्पति र कलात्मक चट्टानले उत्साह, उमंग र माया बर्साउँछन् । मानिसलाई हरिणको पाठो जस्तो फुर्तिलो र नाउरको पाठी जस्तै सुन्दर बनाउने गन्तब्य हो अन्नपूर्ण शृंखलाको मर्दी हिमालको उकालो । त्यतै लागौँ ।

अन्नपूर्णा अन्नकी देवी पनि हुन् । नेपालको अन्नपूर्ण हिमालय शृंखलाअन्तर्गत पर्ने चर्चित माछापुच्छ«े हिमालको शृंखलासँगै जन्मी, सँगै खेलेर हुर्केकी उनैकी बहिनी हुन् मर्दी हिमाल । देवी मानेर भन्यौँ भने माछापुच्छ«े पनि अन्नपूर्णाकी थुप्रै अग्ली बहिनीमध्येकी एक देवी हुन् । माछापुच्छ«े विश्वप्रख्यात छ । यो हिमाल नेपालको पर्यटकीय नगरी, प्रकृतिकी रानी तथा तालैतालको सहर पोखरा नजिकै छ । कालीगण्डकीदेखि मस्र्याङ्दीसम्म फैलिएको अन्नपूर्ण शृंखलाको लामो घारको अग्रभागमा नेपालको झन्डा लिएर उभिएझैँ गरी उभिएको देखिन्छ पोखराबाट माछापुच्छ«े । ३ दिनमा नै मर्दीको आधार शिविरमा पुगिन्छ । हतार गर्न परेन । मर्दी फाँट, जंगल क्याम्प, बादल डाँडातिर स्वाट्टै उक्लनुभन्दा अन्नपूर्ण हिमालय पर्वतबारे गफ गर्दै, लामो सास फेर्दै, हरियाली हेर्दै उकालो चढौँ है त ।

पोखरा पुग्नासाथ ताल, घना हरियो वन, गाउँसहितका २ हजार ५०० मिटरभन्दा अग्ला हिमाच्छादित पर्वतले कसलाई नलोभ्याउलान् र ? उर्वसीले रूप परिवर्तन गरेर ऋषिमुनिलाई लोभ्याएझैँ हिमालयका चुचुराले बिहान सुनमा, दिउँसो चाँदी र गोधूली साँझमा पुनः सुनको शृंगार गरी जगतलाई नै आकर्षित गर्छन् । हामी लोभी मानव त्यो सौन्दर्यबाट बेहोस हुन्छौँ नै । सौन्दर्य निचोर्छौ, तताउँछौँ र पगाल्छौँ ।

मानिसलाई मंगल ग्रहमा पु¥याउने, ‘म सर्वश्रेष्ठ र शक्तिशाली मानव हुँ’ भन्ने भौतिक विकासको अहंका कारण जलवायुमा परिवर्तन भएको छ । त्यसैको कारण लाखौँ वर्ष पुराना बरफ चट्टान पग्लेका छन् । उर्वशीको सौन्दर्य पहिले जस्तो छैन । इसिमोडले दिएको जानकारी अनुसार हिन्दुकुश, काराकोरम र हिमालय पर्वतमा तीव्र गतिमा लाखौँ वर्ष पुराना हिमचट्टान पग्ले, हिमताल बने अनि फुटे । त्यस्तै विज्ञका अनुसार ६०० वर्ष पहिले १० वर्ग किलोमिटर क्षेत्रफलमा रहेको अन्नपूर्ण हिमताल विस्फोट भएको थियो । जुरिक र पी.पी. करनले ‘हिमालय’ पुस्तकमा उल्लेख गरेअनुसार त्यस बाढीले मात्र पोखरा उपत्यकामा ५ क्युसिक किलोमिटर गेगर, माटो, बालुवा, खनिज, ढुंगा थुपारेको थियो । यहाँ यति मात्र भनूँ परिवर्तित जलवायु सम्बन्धमा । अन्नपूर्ण शृंखलाबारे गफ गर्दै मर्दीको उकालोतिरै उक्लौँ न त ।

धवलागिरि, अन्नपूर्ण, दामोदर, मनास्लु, गणेश जस्ता मुख्य शृंखलाका विभिन्न चुचुराहरू गण्डकी प्रदेशमा पर्छन् । यिनले विश्वका पदयात्री र आरोहीलाई चुले निम्तो दिन्छन् । चुनौती पस्कन्छन् । नेपालभित्रै पर्ने ८ हजार मिटरमाथिका धवलागिरि प्रथम (८,१६७ मि.), अन्नपूर्ण प्रथम (८,०९१ मि.) र मनास्लु (८,१६३ मि.) यहीँ उभिएका छन् । अन्य सयौँ चुचुरा यहीँ लामबद्ध छन् । प्राचीन मानव बसोबासको दृष्टिबाट हेर्दा धवलागिरिको काख मगर र अन्नपूर्णको काख गुरुङ आदिबासी जातिको क्रिडाभूमि हो । प्राचीन ऋग्वैदिककालदेखिचाहिँ भौगोलिक विविधता जस्तै जातीय, धार्मिक र सांस्कृतिक विविधताको देश भएको छ नेपाल ।

धवलागिरि र अन्नपूर्णको बीच कालीगण्डकीमा संसारकै सबैभन्दा गहिरो गल्छी मर्दीदेखि पश्चिमोत्तरमा पर्छ । काली गण्डकीलाई शालीग्रामको खानी भएको नदी भनिन्छ । यसको भौगर्भिक, पुरातात्विक, सांस्कृतिक, दार्शनिक र धार्मिक महत्व छ । भूगर्भविद्ले शालीग्रामलाई –प्राचीन तेथीस सागरमा रहेका प्राणीको जीवाश्म भनी प्रयोगशालाबाट प्रमाणित गरेका छन् । पुराणमा त्यसलाई भगवान् विष्णुको रूप भनिएको छ । जगतमा शान्ति स्थापना गर्न देवता, गन्धर्व, किन्नर, किराँत, खसको पालामा ब्रह्मा, विष्णु र शिवले संयुक्त रूपमा मुक्तिनाथमा यज्ञ गरेको वराह पुराणमा उल्लेख छ । संसारकै सबैभन्दा पवित्र पितृतीर्थ कागबेनीमा छ । नेपालविद् टोनी हेगनले कालीगण्डकी उपत्यकालाई संसारकै सबैभन्दा सुन्दर उपत्यका भनेका छन् ।

वैदिक दर्शनको सनातनी हिन्दु धर्मशास्त्रमा उल्लेख गरेअनुसार अन्नपूर्णा शिवका दुर्गा भवानी र गौरी पत्नी भने जस्तै एक हुन् । शैव मिथक अनुसार यस क्षेत्रमा यात्रारत शिवजीले एक दिन भिक्षा पाएनछन् । भोका शिवलाई दुर्गा भवानीले अन्नपूर्णादेवीको रूप लिई भिक्षा दिइछन् । शिव खुसी भई उनलाई अँगालोमा बाँधेछन् । त्यसपछि ती दुई देवी एक भई अन्नपूर्णा अर्ध–नारीश्वर भइछन् । अर्को लोककथाअनुसार मादी र हेम्जाको फाँटमा धानको रास चुलिएझैँ त्यस पर्वतमा आलो हिउँ चुलिइरहने भएकाले यस पर्वतलाई अन्नकी देवी अन्नपूर्णा भनियो । त्यसैले अन्नपूर्ण शृंखला स्वयं अन्नपूर्णादेवीको प्राकृतिक कुटी हो । काठमाडौँ असनमा अन्नपूर्णाको मन्दिर नै छ । मरूटोलको अशोक विनायकलाई अन्नपूर्णादेवीको छोरा भनिन्छ ।

अन्नपूर्ण शृंखलाको पश्चिम सीमा कालीगण्डकी र पूर्वीसीमा मस्र्याङ्दी नदी हो । भूगर्भविद्का अनुसार हिमालयभन्दा मुख्य नदीहरू जेठा हुन् । नेपालका धेरै शृंखला उत्तरी सीमामा छन् । यी दुईको उत्तरमा विशाल हिमाली उपत्यका, गाउँ र हिमालय पर्वतका अनेकन् शृंखला छन् । अन्नपूर्णको मुख्य उत्तरी हाँगो मुक्तिनाथ, मनाङ हुँदै दामोदर हिमालतिर छिरेको छ । दक्षिणी हाँगो भने माछापुच्छ«े र मर्दी हिमालतिर झरेर पूर्वमा लमजुङ हिमालमा पुगेर विश्राम गरेको छ । पोखरादेखि नजिकै रहेका मोदी, मर्दी, सेती, मादी जस्ता नदी र खोलाको स्रोत तिनै अन्नपूर्ण हिमशृंखलाका हिमनदी र हिमताल हुन् । त्यसैले ती देवी भइन् । मर्दी हिमाल माछापुच्छे«को पूर्वदक्षिण डाँडाको धारसँग साँघुरो गरी काटिएर जोडिएको छ । पूर्वी पाखो मर्दी र पश्चिम पाखो मोदी खोलामा पुगेर थपक्क बसेको छ ।

मर्दीको जंगल क्याम्प वा तल्लो क्याम्पमा खाजा त खानु भो नि । बादल डाँडा (३,२५० मि.)मा पुग्न उकालो चढ्दा बल्ल वैंशले सल्याङ–सुलुङ गर्छ । बादल डाँडामा पुग्दा बादललाई घोडा बनाएर कुद्छ मन । उडिरहन्छ फुरुरु बादल सेतो पछ्यौँरा फिँजारेर लोभ्याउँदै । र त यो रहस्यमयी उकालो चढ्दा पाका नरनारीमा बैँस पन्पिन्छ भनेको हुँ ।


एउटा घटना जोडेँ है हिमालकै सन्दर्भमा । एकपटक एकजना प्राध्यापक र म मर्दीको बादल डाँडाबाट उच्च क्याम्प (३,५५०मि.) उक्लँदै थियौँ । उहाँले गफको सुरमा भन्नुभयो ‘हामीले देखेको अन्नपूर्ण शृंखलाको उत्तरमा त तिब्बत छ नि ?’ प्राध्यापक र शिक्षकले भनेको सत्य मानिन्छ । बुद्धले एकपटक भिक्षुलाई ‘तिमीले मैले भनेको कुरा पनि सत्य हो वा होइन भनेर जाँच गर्नुपर्छ । प्रमाणित भएमा मात्र स्वीकार गर्नु । अन्यथा ग्रहण नगर्नु’ भन्नुभएको थियो ।

मेरा मित्र प्राध्यापकको कुराले मलाई अफ्टेरो बनायो । अनि मैले जानेको कुरो भनेँ – ‘गुरु ! अन्नपूर्ण शृंखलाको लामो धारको उत्तरमा भव्य मनाङ उपत्यका छ । त्यस उपत्यकाको उत्तरमा नाउर र हिम चितुवाको मुख्य चरन र बासस्थान रहेको विशाल नार उपत्यका र नार गाउँ छ । नार उपत्यका पार गरेर झन्डै २ दिन उत्तरतिर हिँडेपछि बल्ल नेपालको फु गाउँ पुगिन्छ । त्यसको उत्तर–पश्चिमतिर दामोदर हिमशृंखलाका सयौँ चुचुरा छन् । त्यसको उत्तरी सीमाना पछि मात्र तिब्बत आउँछ ।’ त्यसबेला अन्नपूर्ण दक्षिणले उहाँलाई ‘त्यति पनि थाहा नहुने प्राध्यापक !’ भन्दै चिसो स्याँठ्ले हान्दा मित्र रातोपिरो भएका थिए ।

तर उच्च क्याम्पपछि तीन बीस दस नाघेका मेरा मित्रम फुर्तिए । मैले उनलाई मोदी र मर्दीखोलाको बीचमा नदी किनारबाट उठेको माछापुच्छ«े र त्यसै पर्वतसँग काँध जोड्न पुगेको मर्दी हिमालको जानकारी दिएँ । उनी मुस्काए । त्यही पर्वतको धार त हो जुन मनाङसम्म पुगेर गंगापूर्णसँग मित लगाउँछ । अन्नपूर्ण मुख्य शृंखलाको दक्षिणमा मर्दी हिमाल (५,५८७ मि.), माछापुच्छ«े (६,९९७ मि.) र गन्धर्वचुली (६,२४८ मि.) रहेका छन् । माछापुछ«े हिमालको पूर्व–दक्षिण र मर्दी हिमालको पूर्वी काख मर्दी खोलाको शिर हो ।

पुराण तथा महाभारतमा उल्लिखित स्वर्गको बाटो त्यही हो जुन उच्च क्याम्पबाट मर्दी आधार शिविर (४,५५० मि.) मा उक्लँदा भेटिन्छ । पूर्वको हरियो घना वन र पूmलको सुवासले अमृत दिन्छ । आफ्नैै टाउकाको देब्रे कानतिर रहेको हिउँचुली (६,४४७ मि.) र अन्नपूर्ण दक्षिण (७,२१९ मि.)ले ‘मोदीखोलाको गाढा नीलो पानी, अन्नपूर्ण र माछापुच्छे« हिमनदी देख्यौँ’ भन्दै देब्रे कानको लोती तान्छन् ।

अन्नपूर्ण आधार शिविरबारे चर्चा गर्दा एक जना पर्वतारोहीको सम्झना हुन्छ । अन्नपूर्ण दक्षिणको उत्तरमा फाङ अर्थात बराह चुली (७,६४७ मि.) छ । त्यसकै उत्तरमा अन्नपूर्ण प्रथम (८,०९१ मि.) छ । प्रख्यात पर्वतारोही एनातोली बुखरिभ (रुस)ले विश्वका ८ हजार मिटर माथिका १४ पर्वतहरूमध्ये १० पर्वत चढे । ती पर्वतको १० पटक मात्र नभई १८ पटक चढे । मानिसलाई लाग्ने हिमाल आरोहणको नसा न हो त्यो । २०५४ सालको हिउँदमा अन्नपूर्ण प्रथमको दक्षिणतिरको कठिन फाङ् शृंखलातिरबाट अन्नपूर्ण प्रथम आरोहण गर्ने जिद्दी गरे । आरोहणको क्रममा त्यसै वर्ष पुस १० मा हिमपहिरोमा परी उनको मृत्यु भयो । अन्नपूर्ण आधार शिविर उनको सम्झनामा बनाएको सानो स्तम्भ छ ।
आरोहणकै कुरा गर्दा २०१४ सालमा जिम्मी रोवर्टसको टोलीले माछापुच्छ«े आरोहण प्रयास गरे । असफल भए । हिमवत्खण्डको देवघाट वर्णन श्लोक २२–२४ मा ‘हिमालय देवीदेवताको उत्तमधाम हो र माछापुच्छ«ेको टाकुरा वैकुण्ठजस्तै पवित्र छ । त्यसको शिरमा नर र नारायण दुई ऋषि बस्छन् । गुरुङजातिको लोककथाअनुसार माछापुच्छ«े देवचुली नै हो । यो पर्वत आरोहण बर्जित छ । डा.हर्क गुरुङले आरोहण खुला गरी स्थानीय बासिन्दाले आर्थिक लाभ लिनुपर्छ भन्नुभएको थियो ।

अन्नपूर्ण प्रथम फ्रान्सका आरोही माउरिस हरजोग र लाचनेलले सन् १९५० जुन ३ मा आरोहण गरी ८ हजार मिटरमाथिको पर्वत चढ्ने विश्वको पहिलो व्यक्ति बने । त्यस समय आरोहण सरदारको नेतृत्व आङ् थार्के शेर्पाले गरेका थिए । टोली नेता माउरिसले सँगै चढ्न आग्रह गर्दा थार्केले ‘साहेव चढ्नुहोस् । म सहयोग गर्छु ।’ भनी चढेनन् । खासगरी त्यसबेलासम्म हिमालय पर्वतलाई देवीदेवताको बासस्थान भन्ने धारणा आजभन्दा झन् बलियो थियो । प्रकृतिपूजक आङ् थार्केले हिमालको शिरमा पाइला राख्न चाहेनन् त्यसबेला ।

अन्नपूर्ण प्रथमसँगै उत्तरका काँधमा काँध मिलाएर उभिएका खाङ्सारकाङ (कालो पर्वत) (७,४८५ मि.), सिङ्गु चुली (६,५०१ मि.), थार्पुचुली (टेन्ट पिक) (५,६९५ मि.), तारेकाङ (ग्लेसिएर डोम) (७,०६९ मि.), मनाङ गाउँसँगै जोडिएको जस्तो देखिने गंगापूर्ण तालको दक्षिणमा गंगापूर्ण (७,४५४मि.) र अन्नपूर्ण तेस्रो (७,५५५ मि.) उत्तरतिर फर्केर मनाङ उपत्यका र काङ्ला हिमाललाई हेरिरहेका छन् । तेस्रोको पूर्वमा अन्नपूर्ण चौथो (७,५२५ मि.), अन्नपूर्ण दोस्रो (७,९३७ मि.) र लमजुङ हिमाल (६,९८३ मि.) रहेका छन् । गंगापूर्ण पूर्वका चुचुरा मर्दीबाट देखिदैनन् ।

मर्दी आधार शिविरबाट उच्च शिविरतिर जान सकिन्छ । किनभने मर्दीको उकालोले हाम्रो बुढ्यौँलीपनलाई दुई बीसको वैँशमा झारेको हुन्छ । चार बीसबाट दुई बीसको उमेरमा झरिन्छ भने मर्दीको रहस्यमयी उकालो किन नचढ्ने त ? चढौँ न !

उकालो चढ्दै गर्दा अमृतको रस शरीरभित्र छिराउने भूदृश्य, नदी उपत्यका, वनस्पति र जडिबुटीको सुवासबारे भन्न बिर्सेछु । हामी उक्लँदै गर्ने वन वरपर १५२ प्रजातिका ६७३ चराचुरुंगी पाइएको छ । सदावहार बाक्लो वनमा जडिबुटीसहित जंगली जनावरको बास छ जसले अन्नपूर्णा देवीको रक्षा गर्छन् । सामान्य उकालोमा बिस्तारै, रमाउँदै, चढ्दा–चढ्दै वनस्पतिको सुवास, चराको चिरबिरसहित हिमालय पवर्तलाई अँगालोमा बाँध्न मिल्ने भएकाले मैले तन्देरी बनाउने रहस्यमयी मर्दीको उकालो भनेको हुँ । ४ देखि ५ दिनमा पोखराबाट सुरु गरी पोखरा फर्कन सकिन्छ मर्दी यात्रामा । युवायुवतीका लागि त प्रेम पर्वत नै हो भने पाको उमेरको लागि वैँश ब्युँताउने पदयात्राको गन्तव्य हो मर्दी हिमाल ।

यसको मूल विशेषता के भने करिब १ हजार ५०० मिटरको उचाइदेखि पदयात्रा प्रारम्भ गरी एउटै पहाडको धार हुँदै ४ हजार ५०० मिटरसम्म पुग्न सकिन्छ । विश्वको १०औँ अग्लो शिखर अन्नपूर्ण प्रथमसहित दर्जन बढी हिमाच्छादित पर्वतसँग मित लाउनु र नागबेली परेको नदी उपत्यकमा नृत्य गर्न पाइन्छ । माछापुच्छ्«े र मर्दीको पूर्ण रूपसँगै सेल्फी खिचिन्छ । गुरुङ, मगर, तामाङ, क्षेत्री, बाहुनसहित अन्य जातिको सांस्कृतिक पर्वमा सालै जो को भाकामा नृत्य गर्न सकिन्छ । २ दिनको छोटो यात्रामा नै झरना, सदावहार वन, विभिन्न थरीका पूmलहरू, खर्क र हिमालयका उच्च पर्वतसँग मित र सैना लगाउँदै प्रकृतिमा समाहित हुन पाउनु थप विशेषता हो । त्यसैले १५ वर्षदेखि मर्दी हिमाल पदयात्रा नेपाली र विदेशी सबैको प्रमुख गन्तब्य बनेको छ ।

मर्दी हिमाल (५,५८७ मि.) बृटिस नागरिक बसिल गडफेलोले आरोहण गरेका थिए । मर्दी र माछापुच्छ«े दिदीबहिनीलाई माछापुच्छे«को दक्षिण काखमा ५ हजार २०० मिटरमा रहेको भन्ज्याङले काटेर रेखांकन गरेको छ ।

सयौँ वर्ष पहिले माछापुच्छ«े र मर्दीको काखमा रहेको गुरुङ जातिको पवित्र तीर्थ ‘कता शु’ पुज्निम वराहको तीर्थ गर्न जाँदा १७ जना तीर्थयात्रीको चट्याङमा परी यसै क्षेत्रमा मृत्यु भएको थियो । त्यसको संस्मरणमा ढुंगाको चारपाटे मठ बनाइएको छ यहाँ । अन्नपूर्ण क्षेत्र देवचुलीको नामले पनि गुरुङ जातिमा प्रख्यात छ । यहाँ पञ्चेनी लगायतका बराह रहेका छन् । हिउँ नपर्नु, यात्री हराउनु, बिरामी पर्नुको कारण यस क्षेत्रमा बर्जित मासुको प्रयोग हो भन्ने स्थानीयको धारणा छ ।

धारैधारबाट हिँडनु पर्ने, दुवैतर्फ अग्ला भिर भएको कारण यो पदयात्रामा होसियार हुनुपर्छ । हिउँ परेको अवस्थामा क्र्याम्पोन, स्कि स्टिक, पदयात्रा बुट अनिवार्य चाहिन्छ । साथीसँगै हिँड्नुपर्छ । सेल्फी खिच्दा होसियार हुनुपर्छ । सानो मात्र हेलचेक्र्याईले घाइते हुने र जीवन जोखिममा पर्ने खतरा पनि उत्तिकै हुन्छ ।

सौन्दर्यपान गर्नु भनेको स्वर्ग वा वैकुण्ठ वा वायुलमा पुग्नु हो । यो क्षेत्र देवस्थल हो । देवस्थल भनेको काल्पनिक होइन । पवित्र र पूज्यस्थल हो । त्यसैले वैकुण्ठ भनेको मृत्युपछि पुग्ने स्थान नभई मर्दी हिमालको उकालोजस्तै ठाउँ हो । समग्र नेपाल तीर्थ र देवस्थल हो । देवस्थलको पूजा गर्दा जीवजन्तु, वनस्पति र मानवजातिलाई नै फाइदा हुन्छ । हिउँ पर्छ । जलवायु सन्तुलित हुन्छ । हिमालले सधैँ सुन र चाँदीको श्रीपेच पहिरेर बस्नेछन् । त्यसैले यात्रा गर्दै प्रकृतिको पूजा गरौँ । हामी नेपाली हजारौँ वर्षदेखि बोन, शाक्त, शैव, वैष्णव, सनातनी, बौद्ध सबैका सर्वप्रथम प्रकृतिपूजक हौँ । मर्दी हिमाल प्रकृतिकी छोरी हुन् । ती माछापुच्छ«ेकी प्यारी कान्छी बहिनी हुन् । वैंश फर्काउन, मर्दीको रहस्यमयी उकालो चढ्न पोखरा हेम्जाचोकमा भेटने गरी अहिले बिदा हुन्छु है त ।

प्रतिक्रिया