मुगुमा जातीय छुवाछुत दिवस : मेयर भामको घाँटीमा दमाहा बाजा

मुगु । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा मुगुको छायाँनाथ रारा नगरपालिकामा बिहिबार सन्देशमूलक कार्यक्रम सम्पन्न गरिएको छ । दिवसलाई औपचारिकतामा सीमित नराखी व्यवहारमै समानताको सन्देश दिन नगर प्रमुख विष्णुकुमार भामले दलित समुदायले परम्परागत रूपमा बजाउँदै आएको दमाहा आफ्नै घाँटीमा बोकेर बाजा बजाएपछि कार्यक्रम विशेष चर्चाको विषय बनेको छ ।

छायाँनाथ रारा नगरपालिका दलित हेल्प डेस्कको आयोजनामा सदरमुकाम गमगढी बजारमा प्रभातफेरी, सडक बहस तथा सांस्कृतिक कार्यक्रमसहित दिवस मनाइएको हो । प्रभातफेरीमा नगर प्रमुख भाम स्वयं दमाहा घाँटीमा झुण्ड्याएर दलित समुदायका कलाकारहरूसँगै बाजा बजाउँदै सहभागी भएका थिए ।

उनीसँगै जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, नागरिक समाज, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । गमगढी बजार परिक्रमा गरिएको प्रभातफेरीले जातीय विभेद अन्त्य, सामाजिक समानता, मानव अधिकार र सामाजिक न्यायको पक्षमा सशक्त सन्देश दिएको सहभागीहरूले बताएका छन् ।

कार्यक्रममा दलित समुदायका कलाकारहरूले दमाहा लगायत परम्परागत बाजागाजा बजाउँदै सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए । साथै पञ्चेबाजा, हुड्के नाच, ढाल नाच तथा हरिनो नाचको आकर्षक प्रस्तुति पनि गरिएको थियो । स्थानीय कला, संस्कृति र सामाजिक एकताको सन्देश बोकेका ती प्रस्तुतिहरूले कार्यक्रममा थप रौनकता थपेका थिए ।

सदियौँदेखि दलित समुदायको पहिचान र जीविकोपार्जनसँग जोडिएको दमाहा बाजा नेपाली समाजका विभिन्न संस्कार, पर्व तथा उत्सवको अभिन्न अंग रहँदै आएको छ । तर, ती बाजा बजाउने समुदाय भने लामो समयसम्म जातीय विभेद र छुवाछुतको पीडा भोग्न बाध्य भएको यथार्थलाई उजागर गर्दै नगरपालिकाले यस वर्षको दिवसलाई प्रतीकात्मक र सन्देशमूलक बनाउने प्रयास गरेको जनाएको छ ।

प्रभातफेरीपछि आयोजित सडक बहस कार्यक्रममा जातीय विभेदका कारण समाजमा सिर्जना हुने असमानता, यसको अन्त्यका लागि आवश्यक पहल तथा समावेशी समाज निर्माणका उपायबारे छलफल गरिएको थियो । सहभागीहरूले कानुनी रूपमा छुवाछुत दण्डनीय अपराध भए पनि व्यवहारमा अझै विभिन्न स्वरूपमा विभेद कायम रहेकाले चेतना र व्यवहार परिवर्तन आवश्यक रहेको धारणा राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विष्णुकुमार भामले जातीय भेदभाव तथा छुवाछुत कुनै एक समुदायको मात्र नभई समग्र समाजको समस्या भएको बताए । उनले विभेदमुक्त समाज निर्माणका लागि सबै नागरिकले आफ्नो सोच र व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

दमाहा बाजा कुनै जात विशेषको मात्र होइन, यो हाम्रो साझा संस्कृति हो,’ उनले भने, ‘यसलाई सम्मान गर्नु भनेको संस्कृति र यसलाई संरक्षण गर्दै आएका समुदायप्रति सम्मान प्रकट गर्नु हो ।’
नागरिक समाजका अगुवा रूपबहादुर मल्लले नगर प्रमुख भामले दमाहा बोकेर बाजा बजाएको दृश्यले समाजलाई विभेद अन्त्यका लागि व्यवहारिक सन्देश दिएको बताए । समानताको कुरा भाषणमा मात्र होइन, व्यवहारमा पनि देखिनुपर्छ भन्ने सन्देश आजको कार्यक्रमले दिएको उनको भनाई छ ।

त्यस्तै, नगर कार्यपालिका सदस्य बलराम सहानीले यस वर्षको दिवसले औपचारिक कार्यक्रमभन्दा माथि उठेर सामाजिक रूपान्तरणको सन्देश दिएको बताए । मेयर स्वयं दमाहा बोकेर दलित समुदायसँगै उभिनु समानता, सम्मान र सहअस्तित्वको बलियो उदाहरण हो भएको उनले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, नागरिक समाजका अगुवा र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

सहभागीहरूले नेपाल सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको भए पनि समाजमा अझै केही हदसम्म विभेदका अवशेष विद्यमान रहेको उल्लेख गर्दै यस्ता कुसंस्कार अन्त्य गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।

नगर प्रमुख भामले देखाएको सक्रियता र प्रतिबद्धता प्रशंसनीय रहेको भन्दै दलित अगुवाहरूले विभेदमुक्त समाज निर्माणका लागि यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । यसै बिच छायाँनाथ रारा नगरपालिकाले निकट भविष्यमा नगरपालिकालाई छुवाछुतमुक्त घोषणा गर्ने लक्ष्यसहित दलित समुदायको हकअधिकार संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यसअन्तर्गत नगरपालिकाले दलित नीति तथा दलित ऐन, २०८० जारी गरी कार्यान्वयनमा ल्याएको छ । नगरपालिकाले आर्थिक रूपमा कमजोर तथा न्यून आयस्रोत भएका दलित नागरिकहरूको जीवनस्तर सुधार र मानवीय हित प्रवद्र्धन गर्ने उद्देश्यले दशैं भत्ताको व्यवस्था समेत गरेको जनाएको छ ।

प्रतिक्रिया