सामाजिक समतावादको यात्रा नै राजनीतिक भविष्य

देशका ९५ प्रतिशत रोजगारहीन, वचतविहीन, काम गरेर बाँच्ने, गरिब र कंगालको आर्थिक र सामाजिक मुक्ति हो, जुन कुरा वर्तमान विकृत पश्चिमी उदारवाद र निर्वाचन प्रणालीबाट संभव छैन । अतः नेपालले आफ्नै मौलिक सांस्कृतिक र सभ्यतामा विकास भएका सिद्धान्तलाई समेत समेटेर नागरिक सर्वोच्चताको सिद्धान्त बोक्न सक्ने सामाजिक समतावादको विकास गर्नु आवश्यक छ ।

डा. युवराज संग्रौला

बुद्धको शिक्षा केवल ध्यान गर्ने र मोक्ष (निर्वाण) खोज्ने मानिसको शास्त्र मात्र होइन, अर्थशास्त्र, समाजशास्त्र, इतिहास, राजनीति र न्यायशास्त्रका बारेमा खोजिनीति गर्ने, प्रश्न गर्ने र कार्यमूलक सूत्र वा सिद्धान्त बनाउने विज्ञहरूको समाज, राजनिती र अर्थतन्त्रको बारेमा बुझ्ने र समाजलार्ई समसामयिक बाटोतर्फ अगाडि बढाउने ज्ञान पनि हो । अझ दर्शनशास्त्रका क्षेत्रमा त बौद्ध दर्शन विज्ञान, तर्क र बोधलार्ई एकै सूत्रमा बाँधेर समाजका समस्याको निदान खोज्ने र मानिसको समावेशी समता निर्माण गर्ने भरपर्दो विधिकै जग पनि हो, जुन विधिको सहायताले आज नेपालमा ‘समाजमा सबैको समान सहभागिता, समावेशिता र महासमता निर्माण गर्ने एउटा मौलिक र समसामयिक राजनीतिक प्रणालीको निर्माणका मार्ग बन्न सक्छ ।’

संसार आज कहाँबाट कहाँ पुग्यो आर्थिक र प्राविधिक विकासका दृष्टिकोणबाट ? यो प्रश्न नै आफैँ एउटा उत्तर हो । तर संसारले आज समाजका समस्याहरू सम्बोधन गर्न प्रतिपादन गरेका सिद्धान्तहरूको खोजी गर्दा एउटै मात्र दृष्टि प्रयाप्त हुँदैन । विचारहरू पनि अनेक छन्, विवादहरूको पनि डंगुर छ । त्यसैले बुद्धले प्रतिपादन गरेको ‘सुख खोज्ने नाममा लम्पट नबन, र त्यागका नाममा अभावले नमर’ बरु बीचको मार्ग (मझिमपद) हिँड भन्ने सिद्धान्तमा आसन बाँधेर समाजका समस्याहरूको विचरण गर्न सकिन्छ । बुद्धको यो मान्यताले ‘महासमता’ (ग्रान्ड इक्विटी) मा आधारित सामाजिक संरचना निर्माणको मार्गप्रति प्रेरित गर्छ । बुद्धको यो सिद्धान्त नै माक्र्सले परिकल्पना गर्न खोजेको ‘सोसियलिजम’को सटिक मान्यता हो, जसले आममानिसको समान स्वतन्त्रता, सुख समृद्धिप्रति समान पहँुचको अवसर र राज्य एउटा सेवक हो, मालिक होइन भन्ने मान्यता अगाडि सार्दछ । यो मान्यताले ‘भाग्यवाद (भाग्यले नेता बनाएको भन्ने देवत्ववाद), व्यक्तिवाद (व्यक्तिका क्षमता र सामथ्र्य भिन्न हुन्छन् तसर्थ सक्नेलार्ई रोक्नु हुन्न र प्रतिस्पर्धालार्ई प्रेरित गर्नुपर्छ मान्यता), अतिउपभोगवाद (हेडोनिजम) र शासन गर्ने र शासित हुने (शासनवाद) का विरुद्धमा सामाजिक आर्थिक समस्याहरूको निवारण गर्ने ‘समतावाद’ को मार्ग अगाडि सार्दछ । यो नै समाजवाद हो, जसले मूलतः स्रोत साधनको समावेशी समतामूलक वितरण प्रणालीको वकालत गर्दछ । ‘समतावादले’ हरेक कुरा व्यक्तिवादी होइन सामुदायिक हुनुपर्छ भन्ने सिद्धान्त अगाडि सार्दछ, जसको अंग्रेजी अनुवाद ‘सोसाइटिजम’ वा कम्युनल (सामुदायिक भाव बोक्ने) शब्दबाट उत्पत्ति भएको ‘कम्युनिस्ट’ हुन्छ । तर नेपालमा समाजवाद भन्ने शब्द ‘सोसाइटिजम’ बाट आएको होइन, ‘सोसियलिजम’ बाट ल्याइएको हो । ‘सोसियल’ शब्द प्रक्रियासँग जोडिएको छ अवधारणामूलक सिद्धान्तसँग होइन । अतः नेपाली सामाजिक परिवेशमा हुर्किएको सामुदायिकता, समावेशी र समता जनाउने शब्द जनाउने सैद्धान्तिक मान्यता त ‘समतावाद’ । र, अंग्रेजी शब्द ‘सोसियलिजम’को अर्थ नेपाली सभ्यता र ऐतिहासिकतामा ‘सामाजिक समतावाद’ हुन्छ । नेपाली समाजमा हुर्किएका खस, मगरात, नेवा, किराँत, मिथिला र थारू सभ्यताले व्यक्तिवाद होइन, सामुदायिकताको सम्बद्र्धन गर्दछन् । हाम्रा चाडहरू, संस्कृति, बस्ती, व्यवसाय, सामाजिक कल्याणका र परिवारका आधारभूत मान्यताले व्यक्तिवाद होइन सामुदायिकता बोक्दछन् । युरोपमा स्केन्डेनिभियाका संस्कृतिले पनि सामुदायिक सोच व्यक्त गर्दछन्, परिणामस्वरूप उनीहरूको ‘डेमोक्रेसीको’ जग सामजिक समतामा हुर्किएको छ । जस्तै नेपालमा बाहुन, क्षेत्री, नेवार, लिम्बु, राइ, मगर, गुरुङ, तामाङ, थारू सबै जातिमा विवाह ‘दुई व्यक्तिका बीचमा होइन दुई परिवारका बीचमा हुन्छ ।’ अतः बेहुला र बेहुली पति र पत्नी हुनुभन्दा पहिला उनीहरूका आमा, बुबा, सम्धी सम्धिनी हुन्छन् । नेपालमा राजनीति प्रणालीको निर्माण गर्दा यी ऐतिहासिक सिद्धान्त र सांस्कृतिक आधारहरूको बेवास्ता गर्दै ‘उदारवाद र समाजवाद‘का गफमा राज्यका नीति र संस्थाहरू निर्माण गरिए ।

माथि भनियो, नेपालको मानवीय र सामुदायिक राजनीतिक प्रणालीको जग निर्माणका लागि बुद्ध दर्शन हामिसँग छ । महासमताको बुद्ध दर्शनबाट अगाडि बढ्दा हामी पुग्ने लक्ष्य ‘वैदिक दर्शनको ‘तत्वम असि’ (सबै मानिसको उत्पत्तिको तत्व एकै हो वा सबै मानिसको प्राण एकै हुन्छ) र ‘सर्भे भवन्तु सुखिना सर्भे सन्तुनिरामया’ (सबै सुखी भए मात्र सबै ढुक्क हुन्छन्, न्याय हुन्छ र शान्ति हुन्छ) ले अभिनिश्चित गरेका छन र मुन्धुमले मार्ग बताउँछ । त्यो हो, प्रकृतिको रक्षा गर नत्र प्रकृतिले नै नास गर्छ ।

तर यी सिद्धान्तहरूलार्ई नेपाली वर्तमान राजनीतिले युरोपेली ज्ञान प्रणालीमा मात्र सीमित रहँदा कहिल्यै ध्यान दिएन । परिणामस्वरूप, हाम्रो राजनीतिले क्रान्तिका नाममा व्यक्तिको हत्या, सम्पति डैकिती र निहत्थामाथि आतंक र ‘जेनजी आन्दोलनमा मानव संहार मात्र होइन, असीमित हिंसा र आगजनी पनि जन्मायो । हाम्रो राजनीतिक प्रणाली पूर्णतः असफल भयो । हाम्रो राजनीतिको चार भित्ताभित्र कुण्ठित दिमागलार्ई सभ्यता र संस्कृतिमा राजनीतिको जग निर्माण गर्नुपर्ने आवश्यकताप्रति कुनै चासो भएन । तर आफ्नो दायाँ बायाँ र अगाडि पछाडि हेर्नेहरूलार्ई भने नेपाली नागरिकका परिवर्तनका चाहनाहरूको लोभलाग्दा शृंखला छन् ।

परिवर्तनले मानिसलार्ई उन्नत जीवन दिनुपर्छ । बुद्ध भन्छन्, ‘यो जगतका हरेक सिर्जना वा बस्तुहरू परिवर्तनशील छन् किनकि तिनीहरूको सिर्जनामा कुनै कारणको भूमिका छ । तिनीहरूका चरित्र पृथक छन् किनकी तिनीहरूको उत्पति र उदविकास कुनै खास परिस्थितिसँग आवद्ध (कन्डिसन्ड) छन् । तिनीहरूको उत्पत्ति जस्तै तिनीहरूको विलयको पनि कारण छ र त्यो पनि परिस्थितिमै पूर्वबन्धित छ ।’ यो ज्ञानलार्ई ‘अस्थायीत्वको सिद्धान्त (Doctrine of impermanence)’ भनिन्छ । यो सिद्धान्तले भन्छ, परमार्थ सत्य केही छैन, केवल एक ‘अस्थायित्वको सिद्धान्तबाहेक ।’ हरेक वाद, प्रतिवाद, विचार, सिद्धान्त र शूत्रहरू परिवर्तनशील छ, किनकि तिनका उत्पति र विलयका परिस्थितिहरू (कन्डिसन) नै स्थिर रहँदैनन् । यसको अर्थ राजनीति प्रणाली र सिद्धान्त पनि स्थायी हुँदैन । तर, नेपालमा लोकतन्त्रको चर्चा गर्नेले ‘यो समाजको चरित्र त परिस्थिति अनुरूप राजनीतिक प्रणालीको निर्माण गर्नुपर्छ र त्यसलार्ई क्रमिक ढंगले परिवर्तनको मार्गमा हिँड्न दिनुपर्छ भन्ने कहिल्यै सोचेनन् । बरु, उनीहरूले वादका मन्त्र जप्दै नेताको देवत्वकरण गरे ।’

चिनियाँ दर्शनमा ‘दाओ दे जिङ’ (प्रकृतिको बाटो) ले भन्छ, ‘उत्पत्ति र विलय त प्रकृतिका स्वास्वत नियम नै हुन् । हरेक बस्तु, जीव वा निर्जीव, उत्पत्ति भएपछि विलय हुन्छ किन यसको भित्री सार (यिन) र बाहिरी स्वरूप (याङ्ग) परिवर्तनकै नियम हुन, वा ती एक अवस्थाबाट अर्को अवस्थामा रूपान्तरण गर्ने माध्यम हुन् ।’ यसले भन्छ ‘सार र स्वरूप दुवै रूपान्तरण हुन्छन्, त्यसैले हिजोको कोही बालक आज वयस्क हुँदा उसको बालकको विलय भइसकेको छ ।’ अझ, परिस्थितिको परिवर्तनको क्रम पनि स्वाधीन होइन पराधिन (डिपेन्डेन्ट) नै छ किनकि यो ‘यो सापेक्षताको नियमबाट मुक्त छैन ।’ त्यसैले उँट मात्र मरुभूमिमा बाँच्छ, हात्ती बाँच्दैन । हाम्रो राजनीतिले यो सत्यलार्ई आत्मसात गरेन । यसले युरोपली सिद्धान्तहरूको अन्धाधुन्द अनुकरण ग¥यो, त्यो पनि यान्त्रिक ढंगले । आज देश यिनै सैद्धान्तिक र संस्थागत असफलताको कारणले निरीह बनेको छ । समाज विगठनको संघारमा छ । समाजले परिवर्तनको माध्यमबाट उदविकासको मार्ग समात्न सकेन ।

समाज पनि अस्थयित्वकै नियमअनुसार चल्नुपर्छ

समाजका प्रवृत्ति र चरित्रहरू बदलिन्छन् भन्ने कुरा सत्य हो । माक्र्स भन्छन्, ‘उत्पादनका ढाँचामा आएका परिवर्तनले नै दासयुग, सामन्त युगमा, सामन्त युग पुँजीवादमा बद्लियो र यो समाजवादतिर जान्छ ।’ यहाँ समाजवाद भनेको पुँजीमाथिको एकाधिकारको समाप्ति हो, र स्रोत र अवसरको समुचित समतामूलक वितरण प्रणालीलार्ई राज्य सञ्चालनको नीतिमा परिणत गर्नु हो । तर नेपालको राजनीति प्रणालीले बुझेको कुरा यो होइन । यस मान्यताको पानसबाट हेर्दा राजनीति परिवर्तित समयको आवश्यकता सम्बोधन गर्ने समाजको ढाँचामा आवद्ध (कन्डिसन्ड) उन्नतिको प्रणाली हो ।

१९औँ र २०औँ शताब्दीका उत्पादन परिस्थितिले देखाएअनुसार, उन्नतिको क्रम त समाजवादतिरै छिटो छिटो जानुपर्ने हो, तर, २१औँ शताब्दीमा आइपुग्दा परम्परागत उत्पादनको ढाँचा मात्र होइन, उत्पादनको शिल्प पनि बदलिएको हुँदा जुन तरिकाले पुँजीवादले समाजवादतर्फको यात्रामा अग्रसर हुने प्राकल्पना माक्र्स र एंगेल्सले गरेका थिए, उनीहरूको परिकल्पना ‘२०औँ शताब्दीको पछिल्लो र २१औँ शताब्दिको सुरुमा आएको उत्पादनको सोत, साधन, औद्योगिक ढाँचा, प्रयोग भएको प्रविधि र खपतका ढाँचामा आएका परिवर्तनले संभव देखिएन । आज मानिसले आफ्नो चुल्होमा पकाएर खानेभन्दा व्यावसायिक बजारका चुल्होमा पाकेको खाना खाने आदत विकास भएको छ । मानिस होइन उद्योगमा रोबोटको हालिमुहाली स्थापित भएको छ । अतः परम्परागत शोषणको ढाँचामा पनि परिवर्तन भएको छ । यस युगमा एउटा धनि मानिस गरिब मानिसको शोषणभन्दा ‘हिजोका उपनिवेशवादी र साम्राज्यवादी देशहरूले गरिब देशहरूको शोषण गरिरहेका छन्, चाहे मानव स्रोतको होस् वा प्राकृतिक संपदाको । परिणामस्वरूप हाम्रा घरका चुल्हाहरूलार्ई म्याकडोनल्ड, किफसी आदिले निष्क्रिय बनाइरहेका छन् । हाम्रा भाँडा बनाउने, लुगा सिलाउने, जुत्ता बनाउने शिल्पीहरू अनेक नामका धनी देशका बहुउद्देश्यीय कम्पनीबाट विस्थापित भएका छन् । अर्थात उत्पादनका साधान र श्रमका ढाँचामा ठुलो परिवर्तन आएको छ । र, समाजवादी सिद्धान्तहरूमा पनि परिवर्तन आउनुपर्ने कुरा समय र समाजका सापेक्षित यथार्थले देखाएका छन् । हाम्रा चुल्हाहरू निष्क्रिय भएबाट हाम्रा भाँडाकुँडा बनाउने शिल्पीका व्यवसायहरू धाराशायी भए भने, काँसका थालहरू प्लास्टिकका प्लेटले विस्थापित भए । माक्र्स र एंगेल्स जीवितै भए, यो समयको सापेक्षितताको कारणले ल्याएको परिस्थितिलार्ई बुझ्थे र राजनीतिक अर्थशास्त्रका सिद्धान्तहरूको सत्यतामा परिमार्जन गर्थे होला । तर, आजका भारत र नेपालजस्ता देशमा हुर्किएका स्युडो माक्र्सवादीहरूले ‘उत्पादनका साधन, विधि र शिल्पमा आएको परिस्थितिको परिवर्तनलाई कतै देख्न सकेनन र परिवर्तनको आवश्यकता पनि देखेनन् । र, समाजवादको यात्रालार्ई मौलिक सापेक्षताको विरुद्धमा लाग्न बाध्य बनाएका छन् । मानिसका सोचमा आएको ज्ञानको नवप्रवर्तन र समाजले आफ्नो भूगोल र वातावरणमा बाँच्न बनाएका सापेक्षित सामाजिक संस्थाको विरोध गर्दै, स्युडो माक्र्सवादीले ‘सबैलार्ई धनी होइन सबैलाई गरिब बनाउने तिकडमलार्ई समाजवाद मानेका छन् ।’

परिवर्तनका पछाडि परिस्थिति छ, र परिस्थिति पनि मौलिक सापकेक्षताबाट निर्देशित छ भन्ने बैज्ञानिक चेतनाका विरुद्ध नेपालमा त उनीहरू ‘आफूलार्ई धर्मविरोधि बताउँदै, भौतिकवादको समर्थकका नाममा बाबुआमाको क्रिया नगर्ने मानिसको रूपमा खडा भए पनि पुराण लगाएर पैसा कमाउने र मन्दिर बनाएर भ्रष्टाचार गर्ने मतितिर लागेको हामीले देखेका छौँ ।’

माक्र्सवाद अवैज्ञानिक हो वा परम्परागत समाजवादी वितरण प्रणालीको अर्थशास्त्र असामयिक भएको हो ?

केही नेपाली र भारतीय बौद्धिक भनिनेहरू माक्र्सवादको समसामयिक सान्दर्भिकता समाप्त भएको तर्क वा दावी गर्न थालेका छन् । यिनीहरूको विगत हेर्ने हो भने ‘मूलतः यी बौद्धिक भनिएकाहरू कर्मचारीतन्त्रीय माक्र्सवादी थिए, र भारत र नेपालमा माक्र्सवादी राजनीतिको उन्नयन भई निर्वाचन प्रणालीबाट सत्तामा पुग्ने अवसरको प्रयोग हुँदा, आफूलार्ई अर्थशास्त्री र राजनीतिकशास्त्री देखाएर सत्ताको दोहन गर्ने दोग्ला मानिस बनेका थिए । तर समाज भने उनीहरू माक्र्सवादी थिए भन्ने भ्रममा रही रह्यो । अर्कातिर सत्तामा पुगेका केही आफूलार्ई सर्वहारा र वामपन्थी परिभाषा गर्ने राजनीतिककर्मीहरू थिए, जसले सत्ताको दोहनका लागि आफ्नो खास अनुहार लुकाएर छद्म अनुहार ओडेर राजनीतिमा आएका थिए । यिनीहरूले सत्तामा पुगेर चरम मोज गरे । अर्का एकथरी थिए, जो माक्र्सवादीका नाममा ‘किताब रटान गर्ने’ रोबोर्ट मानिस थिए । अझ पछिल्लो समयमा त स्वयं नैतिकहीन र राजनीतिक चिन्तनहीनहरू पनि समाजवादी नामको दुकान खोलेर राजनीतिक दोहनमा सरिक भए । तेसो भए माक्र्सवादलार्ई कसरी बुझ्ने होला त ? माक्र्सवादका दुईपक्ष स्पष्ट छन् ।

(१) माक्र्सवाद अन्य थुप्रै समाजशास्त्रीय तथा अर्थशास्त्रीय बिज्ञान जस्तै एक विज्ञान हो, जसले समाजमा मानिसको चेतना विकास, उत्पादनसँग समाजको सम्बन्ध र मानिस र उत्पादन प्रणालीबीचको बस्तुगत अध्ययन गर्छ । यसका व्याख्याहरू स्पस्ट छन् । समाजमा वर्ग छ र मानिसहरूबीचका सम्बन्धहरू वर्गका पृथकताले निर्माण गर्छन् । वर्गहरू परिवर्तनशील छन् र सम्बन्धहरू पनि तेहीअनुसार बदलिन्छन् । विज्ञानका रूपमा समाजको वर्गीय चरित्रको ब्याख्या गर्दा माक्र्सवादी चिन्तनले सामाजिक सापेक्षित यथार्थलार्ई ध्यान दिन्छ । अर्थात आफ्नो समाजको वर्गविश्लषणमा माक्र्सवादी चिन्तनको प्रयोग गर्दा माक्र्सवादीहरू सामाजिक सापेक्षित यथार्थलार्ई हेर्छन् । त्यसैकारण, माओ र चिनियाँ नेताहरूले बोल्सेभिक क्रान्तिले चिनियाँ सामाजिक यथार्थता बोक्दैन भन्ने निष्कर्ष निकाले । माओले भने ‘माक्र्सवाद धनुसबाट हान्ने बाण हो जसको दिशा लक्षित बस्तु (टार्जेट)ले निर्धारण गर्दछ । त्यो लक्षित बस्तु चिनियाँ समाजको यथार्थ स्थिति हो ।’ यस अर्थमा माक्र्सवाद वर्गको विश्लेषणमा प्रयोग गरिने एउटा ‘टर्च लाईट’ हो, जसलार्ई बालेर वर्गको अस्तित्व पहिचान गर्न सकिन्छ ।

(२) दोस्रो पक्ष हो, माक्र्सवाद समाजवादी वितरण प्रणालीको राजनीति रणनीति हो, जसको सापेक्षित ढाँचा समाजमा विद्यमान उत्पादन सम्बन्धले निर्माण गर्छ । यी दुई वैज्ञानिक सत्यमा शंका गर्ने ठाउँ छैन, भलै यसको प्रयोगमा कोही सहमत होला नहोला । गोठमा गाई, होइन भैँसी पाल्छु भन्न पाइन्छ । तर, भैँसी पाल्छुभन्दा गाईको उन्मूलन भयो भन्ने अर्थ लगाउन मिल्दैन । सामाजिक विज्ञानका रूपमा माक्र्सवाद वस्तुगत ज्ञान हो जो वैश्विक छ । तर राजनीति प्रणालीका रूपमा यो नागरिकहरूको सहमतिमा आधारित समाजिक सम्झौताले तय गर्ने विषय हो । एउटा लोककथा छ । ‘एक जनाले माछा खाएछ, र काँडा (हाड) छोडेछ । एक जना आफूलार्ई जानकार मान्नेले भनेछ, काँडा बाँकी नै भएबाट उसले माछा खाएको भन्न मिल्दैन ।’ यो तर्कलार्ई कुतर्क भानिन्छ ।

माक्र्सवादको प्रयोग गर्ने कुनै राजनीति प्रणाली असफल भयो भन्नुको तात्पर्य माक्र्सवाद उन्मूलन भयो भन्ने तर्क गर्नु गलत हुन्छ । नेपालमा यसको प्रयोग गलत ढंगले भयो । यसका ३ वटा मूलकारण छन् ।

(१) नेपालमा माक्र्सवादको प्रयोग गर्नेहरू ‘समालोचक प्रश्नकर्ता (क्रिटिकल थिंकर) हुन चाहेनन्, पुरेत जस्तै घोकन्ते भए । परिणामस्वरूप, उनीहरूले नेपाली समाजको वर्गीय यथार्थता खोजेनन् र सापेक्षित यथार्थलाईै स्वीकार गर्न नै चाहेनन् ।

(२) सापेक्षित यथार्थतालार्ई स्वीकार्न इन्कार गर्दा उनीहरूले समाजको लामो उदविकासको क्रममा विकास भएका ऐतिहासिक सिद्धान्तहरू र मानवीय संस्कृतिका पक्षहरू बोक्न इन्कार गरे । माक्र्सले ‘रिलिजन’ अफिम हो भन्दा ‘युरोपको मोनोथेइस्ट रिलिजन (एक देउतावादि पूजापन्थ) राजनीतिमा दखल राख्न चाहने चर्च प्रणालीलार्ई भनेका थिए न कि चीनमा प्रयोग हुने शब्द ‘थियान्दी र दक्षिण एसियामा प्रयोग हुने धर्मलार्ई होइन ।’ धर्मको अर्थले दर्शन, कर्तव्य, कर्मकाण्ड र मानवीय सेवालार्ईसमेत जनाउँछ । यस अर्थमा माक्र्सवाद नेपालमा मानवीय सकारात्मक सांस्कृतिक र ऐतिहासिक सिद्धान्तमाथिको निरपेक्ष प्रहारको संयन्त्रका रूपमा खडा भयो, आज यही मूलकारणले नेपालमा कम्युनिस्ट, सर्वहारा वा वामपन्थी भनिएको राजनीतिक धारासायी भएको छ । र, केही हिजो यसको ओत लागेर स्वार्थ सिद्ध गर्नेहरू नयाँ सत्ताको सेवामा लाग्ने आकांक्षासहित आफ्नो दिग्भ्रमित मति होइन माक्र्सवादको पतन भयो भन्ने भाष्यको कथन गर्दै छन् ।

नेपाली नागरिकले माक्र्सवादी चिन्तनको सकारात्मक पक्ष नै देख्न पाएनन् :

विगतमा एउटा जमाना थियो, जहाँ मानिसले तर्कलार्ई स्वीकार गथ्र्यो, तर्कमा सत्य छ भन्ने ठानी नैतिकताको पालना गथ्र्यो । मानव इतिहासले के देखाउँछ भने, जब तर्क नैतिकतासँग गाँसिन्छ, मानिसले आफ्नो कर्तव्य पालनालार्ई नै मुख्य सिद्धान्त मान्छ । त्यसताका द्वन्द्वको अन्त गर्ने यो एउटा बेचुक उपाय थियो । गान्धीले यसको प्रयोग गरे, अहिंसाको सिद्धान्तका रूपमा । मन्डेलाले पनि यसको प्रयोग गरे द्वन्द्व होइन सद्भावको सिद्धान्तका रूपमा । मार्टिन लुथरकिङ्गले पनि यो प्रयोग गरे । आज पनि तर्कलाई स्वीकार गर्ने, सत्यको खोजी गर्ने र नैतिकताको पथमा हिँड्ने मानिस छन् । तर, आम समाजको नियन्त्रण भने क्रमशः सीमित उद्देश्यहीन ‘सुखवादीहरू’ (हेडोनिस्ट) र निरपेक्षवादी (ग्लोबलिस्ट एनार्किस्ट)हरूका हातमा जाँदै छ र द्वन्द्वहरू निर्माण गर्दै छ । यसले सापेक्षित संस्कृति र विवेकलार्ई मान्दैन, र अनुभवको सार्थकता इन्कार गर्छ उनीहरूलार्ई तर्कको कुनै अर्थ छैन ।

‘बाहिर हेर्दा विद्वान र आत्मअराजकवादीको भएका मानिसहरू’ परिवर्तनका नाममा जन्मिएको भिडवादलाई वैधानिकता दिन्छन् सामाजिक यथार्थ यही नै हो भन्दै । अराजकवादी भिडका मान्यतालाई युगको परिवर्तनले ल्याएको आधुनिक सिद्धान्त हो भन्ने मान्छन्, यिनीहरू । यस अर्थमा मानवीय दर्शनको पराजय हुने खतरा पैदा भएको छ । नयाँ दर्शनको खोजी भइदिएको भए नयाँले पुरानोलाई आराम दिन्थ्यो र नयाँ मान्यताको विकास हुन्नथ्यो होला, र समाजको परिवर्तन समाज सल्ल बग्थ्यो होला । तर नयाँ दर्शनको खोज छैन, पुरानोलाई बिनामूल्यांकन फ्याँकिँदै छ । यस्तो समयमा समाज फन्फनी अराजकताको अघिपछि घुम्छ, र मानिसका लागि चरम दुःख निम्त्याउँछ । तर, नेपालमा यो अवस्था आउनमा आफूलाई ‘वामपन्थी वा समाजवादी’ भन्ने स्युडो (आफ्नो ज्ञान नभएको विज्ञानका नाममा अन्धविश्वासको फन्दामा बाँधिएको) मानिसहरूको ठुलो भूमिका छ । किन समाजवादी वितरण प्रणालीप्रति नेपाली समाजको मोह निर्माण हुन सकेन ? जबकि सामाजिक सम्बन्धको आधारभूत चरित्र त नेपाली समाजका सबै समुदायमा ‘सामुदायिक भावनामै बनेको देखिन्छ ।’ यसको उत्तर खोज्न नेपालमा आयात भएको आफूलाई वामपन्थी भन्नेहरूले आयात गरेको ‘सांस्कृतिक र सभ्यता विरोधि’ राजनीतिक प्रवृत्तिलाई हेर्नुपर्छ, जसले ‘कम्युनिस्ट राजनीतिका नाममा नागरिकलाई राष्ट्रका जग वा आधारभूत मानिस नमानी केही सीमित स्युडो मानिसको दलतन्त्र’ स्थापित गर्नमा आमनागरिकको मनोवैज्ञानिक शोषण गर्ने काम ग¥यो । क्रान्तिका नाममा नागरिकमाथि उत्पीडन थप्यो र ‘सामाजिक सद्भाव’ भत्काउने काम पनि ग¥यो, निरन्तर तीन दशकसम्म ।

कम्युनिस्ट, वामपन्थी र सर्वहारा शब्दहरूको सांस्कृतिक बहिष्करण

किन भारत र नेपालमा ‘कम्युनिस्ट पार्टी’ को शासन प्रणाली क्रमशः विचलन र विसर्जन हुँदै गयो भन्ने प्रश्नबाट यो छलफल सुरु गरौँ । अर्को तरिकाले भन्ने हो भने ‘किन शिक्षित युवाहरू क्रमशः समाजवादी अर्थतन्त्रका सिद्धान्तहरूबाट विमुख भए ?’ यी प्रश्नले निकै धेरैलाई छोएको छ आज, र धेरैलाई मुर्छित पनि पार्ने छ, रिसले । किनभने छलफलले आफूलाई ‘वामपन्थी’ भनी मालिक बनेकाहरूलाई घोचपेच गर्नेछ । तैपनि यस बारेमा बहस आवश्यक छ । आज नेपालको राजनीतिक धरातलमा नयाँ पुराना जो सुकै नेता हुन् उनीहरूका लागि ‘माक्र्सवाद र लेनिनवादका सम्बन्ध र छलफलमा ‘पार्टीका नेताबाहेक अरूले बोल्नु र सोच्नु हुन्न भन्ने संकीर्ण सोच जताततै व्याप्त छ । त्यसैले यस सम्बन्धमा पनि छलफल गरौँ ।

सोभियत युनियनको पतन भएपछि, विश्वमै माक्र्सवाद र लेनिनवादका सार्थकताका बारेमा ब्यापक छलफल र बहस सुरु भएको हो । तर, छलफल ‘पश्चिमी संकथन’ समाजवादको पतन भयो भन्ने कुरामा केन्द्रित हुन पुग्यो, र एसियाली विद्वानहरू पनि यही संकथनको दलदलमा अल्मलिए । यसको असर चीनमा पनि निकै ठुलो थियो । त्यसैले यसको निराकरण चीनमा सन् १९९० तिरै भयो । चिनियाँ बौद्धिक जगतले पश्चिमी संकथनलाई बर्खास्त गर्दै मौलिक वा सापेक्ष यथार्थतामा उभिएर समाजवादको बहस अगाडि ल्यायो, जस्लाई तंग सियाओपिङले बस्तुबजारको अवधाराणा र मौलिक संस्कृति र चिनियाँ इतिहासले स्थापित गरेका सिद्धान्त (थियन्सिया––आकासका मुनि सबै समान छन्) भन्ने मान्यतासँग जोडेर चिनियाँ विशेषताको समाजवादको अवधारणा अगाडि ल्याए र त्यसलाई माओविचारधाराको उन्नत ब्याख्याको परिभाषा पनि दिए । यसरी चीनले आफ्नो समाजावादी ढाँचालाई आफ्नै मौलिक सभ्यता र लामो बौद्धिक इतिहाससँग जोड्यो । समाजवादलाई समाजको सापेक्षित यथार्थतामा हेर्नुपर्छ भन्ने सिद्धान्त माओले नै सूत्रपात गरेका थिए । सन् १९९० ताका नै जापानिज कम्युनिस्ट पार्टीका ‘तत्कालीन अध्यक्षले चाइनिज एकेडेमी अफ सोसियल साइन्समा एक ब्याख्यान दिए र के तर्क राखेभने समाजवाद एउटा राजनीतिक दर्शनको रूपमा पतन भएको होइन, समाजवाद कार्यान्वयन गर्ने सोभियत राज्य प्रणालीको संरचनाको मात्र पतन भएको हो ।’

यो संकथनलाई चीनले स्वीकार ग¥यो । उसबेला माओले नै नेपाल, इन्डोनेसिया, भारत र अफ्रिकी देशका नेताहरूलाई के भनेका रहेछन् भने ‘चिनियाँ क्रान्तिका बारेमा खुब पढ्नुहोस्, तर आफ्नो देशको क्रान्तिचाहिँ आफैँ रणनीति बनाएर गर्नुहोस् ।’ उनले नक्सालवाडी क्रान्तिका चारु मजुम्दारलाई यो सुझाव बडा स्पष्टता साथ दिएका रहेछन् । माओले चिनियाँ क्रान्तिमा सोभियत युनियनको ‘कम्युनिस्ट इन्टरनेसनल’मार्फत बोल्सेभिक क्रान्तिको नकल गर्न दिएको दबाब बर्खास्त गर्दै, सन् १९३१ पछि चियांग्सिमा चियाङ काइसेकले गरेको घेराबन्दी तोडदै लङ मार्चको दौरानमा चुन्नि बैठकद्वारा यो दवाबलाई बर्खास्त गर्दै, क्रान्तिको नेतृत्व आफूले लिएका थिए । तर नेपालमा भने अनेक घगडान कम्युनिस्ट नेताले ‘चीनमा पानी पर्दा नेपालमा छाता ओड्ने रणनीति अपनाए र संशोधनवादका नाममा एकले अर्कोलाई ‘गद्दार बनाउन’ कहिल्यै छोडेनन् ।

उनीहरूको एउटा मान्यता के विकास भएछ भने ‘माक्र्सवाद औषधिको फर्मुला हो अतः जुन कारखानामा बनाए पनि उही औषधि उही हुन्छ । नेपाली सभ्यता, संस्कृति र इतिहासले निर्माण गरेका सिद्धान्त, धर्म र नैतिक ज्ञान माथि प्रहार गर्नु उनीहरूको पहिलो रणनीति बनेको रहेछ । पृथ्वीनारायण शाहले राष्ट्रको एकीकरण गर्ने जस्तो महान कामगरे पनि उनला शत्रु नै ठान्दा रहेछन् उनलाई बिस्तारवादी भन्दारहेछन् । राजा महेन्द्रको ‘रास्ट्रको स्वाधीनता’ प्रतिको अडानलाई पनि उनिहरूले असल देख्न सकेनन् । राजनीति– सैद्धान्तिक विरोध एउटा कुरा हो, तर उनको राष्ट्रप्रतिको अडानका कारणले उनलाई वर्ग शत्रु ठान्ने मान्यता पूर्णत यान्त्रिक थियो । उनीसँगको विरोध त राजनीति व्यवस्थाप्रतिको विरोध थियो । जतिबेला जापानले चीनमाथि आक्रमण गरी चीनलाई आफ्नो कब्जामा लिने साम्राज्यवादी युद्ध सुरु ग¥यो, माओले राजनीतिक विरोधि च्यांङ्ग काइसेकसंग संयुक्त मोर्चा बनाइ युद्ध लडे । माओले प्रष्ट भने ‘साम्राज्यवादका विरुद्ध लड्ने पुँजीवादी सत्ता पनि राष्ट्रियहितका दृष्टिकोणबाट मित्र शक्ति नै हो । अतः भारतले लागू गरेको सुरक्षा छाताको रणनीतिविरुद्ध लड्ने महेन्द्रलाई उनको राजनीतिक विरोध गरे पनि राष्ट्रियहितका दृष्टिकोणबाट उनी मित्र शक्ति किन हुन सकेनन् ?’ राजा वीरेन्द्रको शान्ति क्षेत्रको प्रस्ताव पनि स्वीकार गरेनन्, कांग्रेसले जस्तै । अर्थात नेपालका कम्युनिस्टले ‘समाजको भूराजनीतिक सापेक्षित यथार्थतालाई’ त्यागेर अन्य मुलुकका क्रान्तिको नक्कलको बिगुल बजाए र सत्ता प्राप्त गर्न छल बितन्डाका कुनै उपाए छोडेनन् । यस सम्बन्धमा केही सन्दर्भलाई उठाउनुपर्छ, जतिसुकै गाली किन नगरुन् ।

चिनियाँ इतिहासको करिब २५०० वर्ष लामो इतिहाससँग नेपालको इतिहासको तुलना गर्दा नेपालले समानान्तर सभ्यता निर्माण गरेको छ भन्न सकिन्छ । चिनियाँ कम्युनिस्ट पार्टी (गोङ्ग छांङ्गदान युयान–आमनागरिक र कामदार संगठन) ले सम्राटहरूले शासन गरेको इतिहासमा गौरव गर्न सक्छ भने नेपालका ‘कम्युनिस्टले’ इतिहासप्रति विष वमन गर्नुपर्ने कारण के होला ?’

चीनमा कम्युनिस्ट पार्टीलाई ‘गोङ्ग छाङ्ग दान’ भनिन्छ । ‘गोङ्गको’ भाववादि अर्थ आममानिस र ‘छाङ्ग’को अर्थ कामगरी खाने भन्ने हुन्छ । उनीहरू फ्रेन्च र रसियन ‘प्रोलिटरियट’ शब्द प्रयोग गर्दैनन् । कम्युनिस्ट पार्टी उनीहरूले अन्तर्राष्ट्रिय पहिचानका लागि मात्र प्रयोग गर्ने शब्द हो । चिनियाँ नागरिकले हाल शासन गरिरहेको दललाई ‘गोङ्ग छाङ्ग दान’ भनेर चिन्छन् र यी शब्दहरू उनीहरूका भाषाबाट सिधै उनिहरूका भावनामा जोडिन्छन् । र नागरिकहरूले यो पार्टी आफूसँग नैसर्गिक ढंगले जोडिएको स्वामित्व अनुभूति गर्छन् । तर नेपालका लालबुझक्कड नेताले राखेको कम्युनिस्ट शब्दले पार्टीको अर्थ नेपाली नागरिकका दिमागमा भावनात्मक ध्वनिमा परिणत भई अपनत्व निर्माण गर्दैन । त्यसैले नेपाली सर्वसाधारणले यो पार्टी हाम्रो समुदायको घर हो भन्ने कहिल्यै बुझेनन् । अतः नागरिकले ‘घाम पार्टी’ ‘तारा पार्टी’ भनेर चिनिदिए । त्यसैगरी ‘प्रोलिटरियट’ लाई ‘सर्वहारा’ भन्दिए, जसको अर्थ नेपाली सांस्कृतिक वा भाषिक भावका धरातलमा सकारात्मक र मानवीय हुँदैन । यो शब्दले गालीको भाव वा हेयको भाव बोक्छ । अर्थात जेसुकै खायर पनि बाँच्न बाध्य मानिस भन्ने अर्थ मात्र हुँदैन, बरु गोबर, हिलो र दिसा खाने पनि हुन्छ । त्यसैकारण गाउँका मानिसले फटाहम फोहोरी मानिसलाई जो असभ्य छ गाली गर्दा ‘सर्वहारा’ भनेर दुत्कार्ने गर्छन् । ‘कम्युनिस्ट’ लाई गरिब र कामदार र उनीहरूका हितैसी जनाउन होइन ‘सर्वहारा’को नकारात्मक भावमा आममानिसले बुझिदिए । अतः ठुलठुला विद्रोहमा साथ दिँदा आमनागरिक ‘जनसंगठन’का सदस्यको रूपमा होइन, बेइमानी गर्ने र शोषणगर्नेका विरुद्ध विद्रोहीका रूपमा जोडिए । अतः आममानिसले कम्युनिस्टलाई चीनमा जस्तो ‘सकारात्मक भावनाका अर्थमा नलिई, विद्रोही, भत्काउने, हिंस्रक, हरेक कुराको विरोधी, र संस्कृति र सनातन मान्यताविरोधी जत्था हो भन्ने ठाने ।’

चिनियाँ ‘गोङ्ग छाङ्ग दान’ लाई नागरिकले सकारात्मक भावनाका रूपमा स्वीकार गरे । कन्फुसियसले भनेको, मन्सियसले भनेको, साङ याङ, चुवाङ्जु, हुइ स, चुग ल्याङ्ग, ताइचुले आदिले भनेको असल मान्छेको रूपमा गोङ्ग छाङ्ग दानका नेतालाई लिए र यी दार्शनिकले भनेका सिद्धान्त र गोङ्ग छाङ्ग दानले बोकेका सिद्धान्तमा भिन्नता देखेनन् । परिणामस्वरूप, गोङ्ग छाङ्ग दान चिनियाँ संस्कृति र सभ्यामा घुलित हुन सक्यो । तर नेपाली वामपन्थीले ‘भनेको कम्युनिस्ट शब्द्को भावनात्मक अर्थ’ नेपालीका दिमागमा कहिल्यै पसेन, पस्ने कुरा पनि थिएन । गरिब नागरिक वा कामदार श्रमिक पार्टी भनेको भए ‘यो पार्टीले के गर्छ भन्ने’ आमनेपालीले बुझ्ने थिए होला । त्यसैले एमाले ‘घाम वा सूर्य पार्टी भयो । माओवादी तारा पार्टी भयो । कांग्रेस रुख पार्टी भयो ।’ भोट माग्दा पनि ‘घामले न्यानो दिन्छ ।’ ‘रुखले शीतल दिन्छ’ भनेको यही कारण हो । ‘कम्युनिस्ट’ आममानिसको साथी संगठन हो भन्ने कुरा नागरिकका दिमागमा कहिल्यै पसेन, किनकि यो शब्द नेपाली समाजको उपज थिएन, नेपाली संस्कृतिसँग यसले मायाप्रिति लगाउन पनि सकेन ।

कम्युनिस्ट र संस्कृतिको सन्दर्भको अझै कुरा गरौँ । कम्युनिस्ट भनेको नेपालमा बुझिने शब्द ‘वामपन्थी’ हो । बेलायतमा वामपन्थ भनेको ‘स्थापित वा कायम रहेको संस्थाको वा परम्मरागत राजनीतिक मान्यताको ‘विरोध गर्ने’ समूह हो । यसले स्थायीत्वको विरोध गर्छ । समाजवाद एउटा आर्थिक सामाजिक न्याय वितरण प्रणालीसँग वामपन्थ अवधारणाको कुनै सम्बन्ध छैन । स्केन्डिनेभियन देशहरूको सामाजिक संरचना नै सामुदायिक सामाजिक न्यायसंग आवद्ध छ । तर त्यहाँका समाजवादीले आफूलाई वामपन्थी भन्दैनन् । सेक्सपियरको हेनरी नामक नाटकमा ‘डिक द बुचर’ नामको एउटा पात्र छ जो राज्यको विरोध गर्छ तर आफैँ ऊ तानाशाहीको पक्षधर छ । यो असामाजिक तत्व वामपन्थी हो । तेही कारण ‘बेलायतमा टोरी विरोधि राजनीति वामपन्थ हो । अमेरिकामा ट्रम्प विरोधी राजनीतिलाई वामपन्थी भन्छन् । ट्रम्प ‘समलिंगी र महिलावादी’लाई वामपन्थी भन्छन् । तेसो हो भने, बाइडेनको पार्टी र एमाले तथा माओवादी पार्टीमा के भिन्नता हो त ? पश्चिमी मापदन्डमा यी दुवै वामपन्थी पार्टी हुन् । अर्थात, वामपन्थ ‘नेपाली भाषा र नेपाली संस्कृतिले चिनेको शब्द र अवधारणा होइन ।

नेपाली संस्कृतिमा वामपन्थ भनेको ‘देब्रेपन्थ वा बाटो जनाउने शब्द हो ।’ नेपाली संस्कृति र सभ्यतामा ‘देब्रे सर्व स्वीकार्य अवधारणा होइन ।’ त्यसैले ‘उल्लु, झगडालु, र सबैको मित्र नहुने सदाबहार विरोधीलाई, देब्रे मति भएको मान्छे ठानिन्छ ।’ आची पुस्ने हात देब्रे हो । भात खाने हात दाहिने हो । पूजा गर्ने हात दाइने हो । दाहिनेबाट फन्का लगाउनु नियम हो, देब्रेतिर फन्का लगाउनु अलच्छिनी पारा हो । अर्थात देब्रे अपवाद हो, नियमित कुरा होइन । त्यसैले ‘कम्युनिस्ट शब्दको नेपाली भाव नभएर तथा वामपन्थी शब्द नेपाली संस्कृतिमा अपाच्य भएका कारणले समाजवाद सामाजिक समतावादका रूपमा ‘नेपाली संस्कृतिको सापक्षित अवधारणा हुँदाहुँदै पनि हुर्किने वातावरण नै पाएन ।’ नेपालको ‘स्युडो माक्र्सवादी चिन्तनले माक्र्सवाद र समाजवाद दुवैलाई बालुवामा रोपेको सुन्तला बनाइदियो । अतः नेपालमा असफल भएको समाजवादको अवधारणा होइन, असफल भएको त ‘स्युडो माक्र्सवादी चिन्तन बोकेका नेता र उनका गोठ वा पार्टी हुन् ।’

अब यी स्युडोले गरेको वर्गीय विश्लेषण पनि हेरौँ । हाँसो उठ्छ । बोल्सेभिक क्रान्तिको नक्कल गर्न मिल्दैन भन्ने टुंगोमा पुगेको गोङ्ग छाङ्ग दानले चिनियाँ समाजको वर्गीय विश्लेषण गर्दा ‘चिनियाँ समाजको वर्गीय चरित्रलाई ‘वान फङ्ग्जियान’ र राष्ट्रिय आर्थिक चरित्रलाई ‘वान छ मिन्दि’ भन्यो । यी दुवै शब्दले ‘चीनको सापेक्षित यथार्थता जनाउथे ।’ देश स्वतन्त्र थियो । आफ्नै सेना र सम्राट थिए । आफ्नो भूमिका र उसको अधिकार पनि थियो । तर त्यति हुँदाहुँदै पनि ‘चीनमा ८ ओटा देशको हस्तक्षेप थियो । उनीहरूका आवास र ब्यापार क्षेत्रमा उनीहरूकै कानुन थिए र सेनाका टुकुडी पनि थिए । उनीहरू ‘चिनियाँ नागरिकलाई अफिम बेचेर घन कमाउँथे ।’ यो अवस्था उपनिवेश पनि होइन । स्वाधीनता पनि होइन । दुवैको केही तत्व मिसिएको छ भन्ने अर्थमा ‘चिनियाँ समाजमा विकसित अवधारणामा ‘वान छ मिन्दि’ भनियो । त्यसैगरी गाउँका सामन्त जसको आफ्नै सेना, अदालत, करप्रणाली र जेलसमेत थियो, तिनले नागरिकलाई ऋण दिएर खेती गराउँथे । तर सांवा र ब्याज तिर्दा किसान रित्तै हुन्थे (यो प्रचलनको जरो लि जियान प्रणालीमा थियो, जसले ठुलाले सानालाई थिचोमिचो गर्ने अधिकार छ भन्ने सामन्ती सोचको पक्षपोषण गथ्र्यो, र बाओ जियान अर्थात लोककल्याणकारी शासनको विरोध गथ्र्यो) । फेरि ऋण लिएर बाँच्थे र फेरि खेति गर्थे । यो चक्र सयौँ वर्षदेखि चलिरहेको थियो । यो पूर्ण सामन्तवाद पनि थिएन र सामन्तवाद नभएको पनि थिएन । पूर्ण सामन्तवाद थिएन किनकि खेती नगर्न किसान स्वतन्त्र थिए । तर उनीहरूसँग अरू काम नभएबाट खेती गर्न बाध्य हुन्थे । सन् १९१०÷२० का दशकमा चीनमा रेल पनि आइसकेको थियो । उद्योग पनि खुलेका थिए । र, सहरीकरण पनि ब्यापक भएको थियो । सहरीया गरिबको संख्या धेरै भइसकेको थियो । यो अवस्थालाई चिनियाँ समाजले ‘वान फंङ्गजियान’ भन्यो । यी अवस्थाको कुनै सन्दर्भ नेपालीसापेक्ष यथार्थसँग मिल्दैनन् ।

तर ‘कम्युनिस्ट इन्टरनेसनल‘ को सदस्य ‘गोङ्ग छाङ्ग दान’ ले आफ्नो दस्तावेजको अनुवाद गर्नुपर्ने भयो । तब यसले ‘गोङ्ग छाङ्ग दान’ लाई कम्युनिस्ट पार्टी, ‘वान फङ्गजियानलाई ‘सेमि फ्युडल’ र ‘वान छ मिन्दि’ लाई ‘सेमिफ्युडल’ भनिदियो ।

भारतीय कम्युनिस्ट पार्टीले यिनै शव्दलाई ‘बामपन्थी दल, अर्ध सामन्तवाद र अर्ध उपनिवेशवाद भनी भारतीय विश्लेषण अगाडि ल्याए । तर भारत त पूर्ण उपनिवेश थियो । जबकि समाजपूर्ण सामन्तवादी थियो । जात प्रथा थियो । मानिस जमिनदारका रैती थिए । नेपालको सामाजिक अवस्था पनि उस्तै थियो । तर नेपाल निरंकुश राणाशाहीका अधिनमा पूर्ण स्वतन्त्र देश थियो । सन् १९२३ मा त भारतमा उपनिवेश लादेर बसेको बेलायतले त सन्धि नै गरेर ‘स्वतन्त्र देश मान्यो ।’

तर नेपालमा कैयौँ कम्युनिस्ट पार्टी त आज पनि नेपाललाई ‘अर्ध सामन्ती र अर्ध उपनिवेशि’ नै लेखेर बसेका छन् । अतः नेपालमा ‘यिनै गलत धारणाका कारण नागरिक सर्वोच्चता कायम गर्ने सामाजिक समतावादको मान्यता विकासै हुन पाएन ।’

आजको युगले ‘माक्र्सवाद’लाई राजनीति अर्थशास्त्र र ‘समाजको विकास वा उदविकास’ को ऐतिहासिक भौतिक विश्लेषणको एउटा विज्ञान मान्दामान्दै पनि, यसकै मान्यताअनुसार ‘समाजको संरचनामा’ हुने सापेक्षिताको विरोध गर्दैन । अतः समाजवादको ‘कुनै समाजबाट हाँगा ग्राफ्टिङ वा लेयरिङ’ गरेर अर्को समाजमा रोप्न सकिन्न भन्ने नबुझेकै कारणले नेपालमा समाजवादको दुर्नाम भयो । अब त उपेन्द्र यादवको पार्टीको नाम पनि समाजवादी भयो । र समाजवादलाई ‘एउटा पिचास बनाइयो ।’

वर्तमान युगले समाजको रूपान्तरणमा आकाश जमिनको भिन्नता देखेको छ । वर्तमान विश्व आफ्नो इतिहासको पृष्ठभूमि, उदविकास भएको इतिहास र संस्कृति र तिनले विकास गरेका महान सिद्धान्तहरू, आफ्नो सभ्यताको जगमा आफ्ना राजनीति प्रणालीको विकास गरिरहेका छन् । एउटा तथ्य समाजशास्त्र र राजनीतिकशास्त्र दुबैले के स्थापित गरेका छन् भने ‘समाजवाद होस् वा पश्चिमी उदारवाद’ को जग इतिहासले निर्माण गरेका सिद्धान्त, सांस्कृतिक विरासत, भूगोल र भूराजनीति र सभ्यतालाई विस्थापित गरेर निर्माण गर्न सकिन्न । तेही कारण चीनको समाजवाद र स्केन्डिनेभियाको समाजवादमा पृथकता छ । चीनको २ हजार वर्ष पुरानो इतिहास ‘नागरिकलाई विभाजित गर्ने’ सामाजिक र राजनीतिक संस्थाको विरोधमा खडा भएको छ । तर चीनमा समाजवाद त्यहाँको बुद्धधर्म, कन्फुसियसवाद र दाओवादसँग घुलमिल भएको छ । उता फ्रान्सको उदारवाद र बेलायती उदारवादमा केही कुरा मिल्दैनन् । यदि त्यसो हो भने, नेपाली समाजवाद पक्षधरले ‘मौलिक समाजवादको सोच विकास गर्न किन सकेनन् ?’ यो प्रश्नले गहिरो अनुसन्धान माग गर्दछ । तर एउटा उद्घाटित तथ्य के हो भने ‘नेपालका समाजवादका अभियान्ताहरूले बौद्धिकलाई दलभित्र सधैँ दुत्कारे र पाखा खेदे । र, अनुसन्धानलाई पूर्ण बन्देज लगाए ।’

स्वयं ‘समाजवाद शब्द पनि विवादरहित छैन । सोसियल+इज्म ले समाजवाद बोक्दैन । सोसियल प्रक्रियासँग जोडिएको विशेषता हो । त्यसो हो भने ‘नेपाली भाषामा सामाजिकीकरणवाद भन्नुपर्ने हुन्छ ।’ समाजवाद भन्न त ‘सोसाइटिजम’ भन्नुपर्ने हो । समाजवादलाई ‘समानवितरणवाद’ को सिद्धान्तका रूपमा ग्रहण गरिएको हो भने ‘यसको सही अर्थ ‘समतावाद’ हुन्छ, र राजनीति अर्थशास्त्रको उत्पादनका साधनको समान वितरण प्रणालीको सिद्धान्तका रूपमा ग्रहण गरिएको हो भने ‘सामाजिक समतावाद‘ भन्नुपर्ने हुन्छ ।

यी अवधारणागत मान्यताहरूमा परिवर्तन नगरी ‘नेपालमा समाजवादको गफ गर्नेहरूमा सुधारको गुन्जाइस छैन । हो, उपेन्द्र यादवको समाजवादकै अर्थमा ‘कम्युनिस्ट पार्टी बनाएर सूर्य र ताराको पूजा गर्ने मन्दिरहरू निर्माण गर्न सकिन्छ ।’ तर, चाहिएको सिद्धान्त त ‘ देशका ९५ प्रतिशत रोजगारहीन, वचतविहीन, काम गरेर बाँच्ने, गरिब र कंगालको आर्थिक र सामाजिक मुक्ति हो, जुन कुरा वर्तमान विकृत पश्चिमी उदारवाद र निर्वाचन प्रणालीबाट संभव छैन । अतः नेपालले आफ्नै मौलिक सांस्कृतिक र सभ्यतामा विकास भएका सिद्धान्तलाई समेत समेटेर नागरिक सर्वोच्चताको सिद्धान्त बोक्न सक्ने सामाजिक समतावादको विकास गर्नु आवश्यक छ ।

प्रतिक्रिया