सम्मृद्धि फल्ने प्रेमवृक्ष र रोमान्सको ओसेप

जहाँ ‘फ्याक्ट’लाई भन्दा ‘फिलिङस्’लाई महत्व दिइन्छ त्यहीँबाट बर्बादी तिरको यात्रा सुरू हुन्छ । आजकल रोमान्सलाई प्रेमको दर्जा दिने गरिएको छ । रोमान्स ‘फिलिङस्’ हो र प्रेम ‘फ्याक्ट’ हो । ‘फ्याक्ट’ सत्यको द्वार हो, ‘फिलिङस्’ एक काल्पनिक उत्तेजना हो । त्यसैले रोमान्सले झुटो कल्पनालाई जिन्दगी ठान्छ र प्रेमले जीवनलाई सत्यतिर डोर्याउँछ । अहिले प्रेमलाई रोमान्सले कब्जामा लिएको हुँदा सत्यनिष्ठ हुनुपर्ने व्यक्ति र समाज भावनिष्ठ भएका छन् ।

जन्मदेखि मृत्युसम्मको मानिसको जीवन एक प्रेम कहानी हो । प्रेम कुनै घटना वा प्रकरण होइन, एक निरन्तरता हो । हामीले फेरिरहने सास, धड्किरहने मुटु, सञ्चारित भइरहने रगत, टिकटिक गरिरहने समयको निरन्तरता जस्तै हो प्रेम ।

हामी समान्य अवस्थामा रहेको बेला प्रेमको अनुभूति गरेका हुँदैनौँ । एक सनसनीपूर्ण अवस्थामा मात्र प्रेम थाहा पाउँछौँ । एक खास अद्भूत अनुभवको अवस्थालाई प्रेमको नाम दिन्छौँ । प्रेम हाम्रो इन्द्रियगत उत्तेजना हो भने जस्तो लाग्छ हामीलाई ।

जीवनमा ध्यान दिइयो भने हामीले जे गरेका हुन्छौँ आफ्नो जीवन बचाउन र आफू भित्रको बेचैनी मेटाउन गरेका हुन्छौँ । बजारमा किनमेल गरिने अन्नपात लत्ताकपडा लगायतका यावत कुरा जीवनप्रतिको प्रेमकै कारणले गरिएका हुन्छन् । तर त्यो किनमेललाई प्रेमको मामिला हो भन्यो भने मानिसले खिसिटिउरी गर्छन् ।
प्रेमलाई सन्त कबीरको यो दोहाले प्रष्टसँग बुझाउँछ । दोहा हो –

प्रेम – प्रेम सब कहे, प्रेम ना जाने कोय ।

जा मारग साहब मिले, प्रेम कहावे सोय ।।

अर्थात् प्रेम प्रेम भनेर प्रेमको उच्चारण गर्ने धेरै छन् तर प्रेम के हो भन्ने जानेका हुँदैनन् धेरैले । जहाँ मुक्तिको अवस्था मिल्छ त्यो मुक्तिको अवस्था नै प्रेम हो । प्रेम दिन र लिन सिक्नुपर्छ । निष्काम भएर प्रेम गर्नु प्रेम दिन सिक्नु हो भने कसैले दिएको प्रेममा निष्कामता छ कि छैन भन्ने बुझेर प्रेम निष्काम भए मात्र स्वीकार्नु प्रेम लिन जान्नु हो ।

प्रेममा दुइटा कुरा हुन्छ । एउटा हो वर्तमान स्थिति र अर्को हो पुग्नुपर्ने वा हुनुपर्ने अवस्था । जान्नेवालाले बेचैनीलाई वर्तमान स्थिति र चैनलाई हुनुपर्ने अवस्थामा विभाजन गर्दै बेचैनीलाई प्रेम गर्नेवाला र चैनलाई प्रेमिका नाम राखिदिए । सांसारिक सम्बन्धलाई उचाइ दिन बेचैनी मेटाउने प्रतीक्षामा बसेकालाई अहं र बेचैनी मेटिदिनेलाई आत्माको नाम दिए । बेचैन मन चैनप्रति खिचिनु नै प्रेम हो भनेर प्रेमको परिभाषा गरिदिए । वेचैनी दुःख हो भने चैनमुक्ति हो ।

प्रेम गर्नु ठुलो जिम्मेवारीको कुरा हो । पहिलो प्रेम आफैँलाई गर्नुपर्छ । आफू भनेको अहं हो र अहंले आत्मासँग प्रेम गर्नुलाई आफैँलाई प्रेम गरेको भनिन्छ । भित्रैदेखि शुद्ध हुने अभिलाषाले आफैँसँग प्रेम गराउँछ । आफैँलाई प्रेम गरेपछि प्रेमको बोध हुन्छ । बोध प्राप्त गर्ने कुरा होइन, हुने कुरा हो । बोधका लागि धेरै कुरा जान्नुपर्छ । आफ्नो कर्मको जिम्मेवारी स्वयंले लिनुपर्ने हुँदा धेरै कुरा जान्न बढी नै मिहिनेत गर्नुपर्छ ।

प्रेम सत्यको प्रतीक हो । प्रेम सूक्ष्म हुन्छ । शान्ति र मुक्तिको आकर्षण हो प्रेम । हामी सबै प्रेमका प्यासी छौँ । प्रेमबिनाको जीवन मुटुबिनाको शरीर जस्तै हुन्छ । जीवनको लक्ष्य मुक्ति हो । मुक्ति भनेको आनन्द हो । आनन्द छैन भने जीवन बोझिलो हुन्छ । देहभावकासाथ हाम्रो जन्म हुने भएकाले हामीमा अहं भाव विकसित भएको छ । अहं भाव रहँदासम्म प्रेम हुन सक्दैन । अहं अनुभवमा बाँचेको हुन्छ । अहं हटाउन अनुभवभन्दा माथि उठेर अनुभूतिको तहमा पुग्नुपर्छ । अनुभूतिले प्रेम सिकाउँछ । त्यसैले प्रेम सिक्नुपर्छ भनिन्छ ।

आफ्नो र अरूको चेतना उठाउने कुरा प्रेम हो । हामी अतृप्त चेतना हौँ । अतृप्त चेतना भनेको सामान्य होस हो । हाम्रो सामान्य होसमा भ्रम, विकार र दुःख मिसिएको हुन्छ । सुतेको अवस्थामा दुःख हुँदैन, जागेपछि सामान्य होसले दुःखको अनुभव गर्छ । एक अर्थमा होस भनेको दुःख हो । सत्यले त्यो सामान्य होसलाई हटाएर दुःखबाट मुक्त गर्छ । यसको अर्थ बेहोस गराउने भन्ने होइन होसलाई उचाइमा पुर्याउने हो । उचाइमा पुगेको होस नै बोध हो ।

आफूलाई बिनाबोध प्रेम गरिन्छ तर बोध भएपछि मात्र अरूलाई प्रेम गर्नुपर्छ । चेतनाको स्वभाव भाव होइन बोध हो । अरूको चेतना उठाउन बोधले मात्र संभव हुन्छ । बोध छैन भने आश्रित भइन्छ । प्रेम आत्मनिर्भरता र स्वतन्त्रताको नाम हो । बोध सहितको प्रेम दीर्घायु तथा लाभप्रद हुन्छ । प्रेममा गुणवत्ता हुनुपर्छ । प्रेमको गुणवत्ताले जीवनलाई अमृत बनाउँछ । गुणवत्ता नभएको प्रेमले विषाक्त बन्छ जीवन । प्रेमका लागि आतुरतासँगै प्रेमविरुद्ध सावधानी पनि हुनुपर्छ । प्रेममा एकोहोरिएर आतुरता पनि देखाउने र ज्ञानीले झँै प्रेमको परख गरेर प्रेमप्रति सचेत पनि रहनुपर्छ । प्रेमको परिभाषा के कसरी गरिएको छ भन्ने कुराले फरक पार्छ । आत्मविश्वासको आधारमा प्रेम गर्नु हँुदैन । आत्मविश्वास भनेको अविद्या (अज्ञान) हो । अन्धविश्वासको दोस्रो नाम हो अविद्या । बेफ्वाँकको आत्मविश्वास नै मानिसको मूल समस्या हो ।

आत्मज्ञानको छाया हो प्रेम । प्रेमले होस जगाउने काम गर्छ । आत्मज्ञानबिनाको प्रेम जहर बन्छ । आत्मज्ञानीले अरूले आफूप्रति अन्यायजनक व्यबहार गरे पनि अरूप्रति प्रेमपूर्ण व्यवहार गर्दछ । बाहिरबाट प्रेम नमिलेपछि म पनि किन प्रेम दिउ भन्ने सोचियो भने प्रेम हराउँछ र आफ्नै जीवन बर्बाद हुन्छ भन्ने कुरा आत्मज्ञानीले जानेको हुन्छ । आफ्नो हितको खातिर आफू सदा अरूप्रति प्रेमिल रहनुपर्छ । नत्र आफ्नै जीवन जहर बन्छ ।

अध्यात्मले आत्मज्ञान जगाउँछ । अध्यात्म आफू स्वयंको अधिकतम अध्ययन हो । आफू भनेको अहं हो । अहंलाई जान्नु नै आत्मज्ञानी हुनु हो । अहं अनुभवको पछि लाग्छ । अहं अनुभवको अनुभोक्ता हो र अनुभव गर्न चाहिरहेको हुन्छ । अनुभव इन्द्रियहरूले गर्ने कुरा हो । आत्मज्ञान मन, बुद्धि र इन्द्रियहरू भन्दा परको कुरा हो । आत्मज्ञान सबैसँग हुन्छ तर विचार, भावना, कामना र अनुभवको ढक्कनले ढाकेको हुन्छ । त्यो ढक्कन खोल्ने कुराको नाम हो अध्यात्म ।

चाहे परिवार होस् कि देश जहाँ ‘फ्याक्ट’लाई भन्दा ‘फिलिङस्’लाई महत्व दिइन्छ त्यहीँबाट बर्बादीतिरको यात्रा सुरू हुन्छ । आजकल रोमान्सलाई प्रेमको दर्जा दिने गरिएको छ । रोमान्स ‘फिलिङस्’ हो र प्रेम ‘फ्याक्ट’ हो । ‘फ्याक्ट’ सत्यको द्वार हो, ‘फिलिङस्’ एक काल्पनिक उत्तेजना हो । त्यसैले रोमान्सले झुटो कल्पनालाई जिन्दगी ठान्छ र प्रेमले जीवनलाई सत्यतिर डोर्याउँछ । अहिले प्रेमलाई रोमान्सले कब्जामा लिएको हुँदा सत्यनिष्ठ हुनुपर्ने व्यक्ति र समाज भावनिष्ठ भएका छन् ।

रोमान्सको परिभाषा छैन । मनोहर कहानीको फिल्मी छविलाई रोमान्स भन्ने गरिएको छ । रोमान्समा आजसम्म नपाएको सफलता कोही फरिस्ता वा स्वर्गकी परी आएर वर्षाएको देखाइन्छ । रोमान्सले प्रेमको भ्रूण हत्या गरेर प्रेम जन्मनै दिँदैन ।

रोमान्समा हिंसा हुन्छ । किनकि अरूभन्दा भिन्न भएको कुरामा रोमान्स उत्पन्न हुन्छ । अरूभन्दा अलग देखाउन शिरमा शिरफूल, कानमा झुम्का, आँखामा काजल आदि लगाइन्छ । यही भिन्नता द्वन्द्वको कारण बन्छ । आफूभन्दा भिन्न भएका हुनाले मानिसले पशुपक्षी काटेर खाने गरेको छ । आफूभन्दा भिन्न जाति, धर्म र राष्ट्रियताको मानिसको हिंसा गरिन्छ । रोमान्स भिन्नतामा नै मौलाउँछ ।

पोपले धर्मको आडमा युरोपमा शासन सञ्चालन गरे । विश्वासलाई धर्मको आधार बनाए, धर्मको विरोध गर्नेलाई जिउँदै जलाउने जस्ता अत्याचारी शैली अपनाए । अत्याचारको विरोधमा पुनर्जागरण सुरु गर्दै धार्मिक सत्ताको विरुद्ध कारण खोज्ने अभियान चल्यो । पुनर्जागरणले धर्मको सत्ताबाट जनतालाई स्वतन्त्रता दियो । औद्योगिक युगको प्रारम्भ गर्यो । धर्मको नामबाट सत्ताको स्वाद लिएको सामन्ती वर्गले धर्मको सट्टामा रोमान्सवादी दर्शन अगाडि सारे । अहिले युरोपमा रोमान्सवाद घट्दो क्रममा छ । युरोपमा उत्पत्ति भएर टिक्न नसकेको रोमान्सबाद हाम्रो पूर्वीय संस्कृतिमा सरेर हुर्कंदै गएको छ ।

पात्रताबिनाको प्रेमले प्रेमको बहानामा अत्याचार गर्छ । पात्रता सहितको प्रेम कमजोरलाई सबल बनाउने चिकित्सक सावित हुन्छ । जीवनको गणित त के सामान्य गणित पनि नजान्ने, अरूसँग बोल्ने र व्यवहार गर्ने राम्रो शैलीको नभएको, आफूलाई संयमित गर्न नसक्नेले पनि प्रेममा छौँ भन्छन् । यो पात्रताबिनाको प्रेम हो । रोमान्सलाई प्रेमको जामा पहिराउँदाको दुष्परिणाम हो ।

कुनै बहाना गरेर सत्यसँग हट्नु भ्रम हो । रोमान्सलाई प्रेमको बहाना बनाएर भ्रम सिर्जना गर्दै व्यक्ति र समाजलाई सत्यबाट अलग्याइएको छ । अर्कोतर्फ सबै गर्ने गराउने भगवान् हुन भनेर भगवान्को चाप्लुसी गर्ने आफैँले पुरुषार्थ नगर्ने गैरजिम्मेवार बन्ने गलत संस्कार हुर्काइएको छ ।

रोमान्सको बारेमा आचार्य प्रशान्तको भनाइ छ कि – युरोपको औद्योगीकरणले रोमान्सलाई आम्दानी गर्ने माध्यम बनायो । बेबकुफ बन्न तयार हुनेहरू र बुद्धिमान मानिससमेत रोमान्समा फस्न पुगे । ज्ञान भक्ति र प्रेम पनि रोमान्टिक बनाइएको छ । धार्मिक प्रवचनमा समेत रोमान्स घुसाएर तिमी जे जस्तो भए पनि सर्वशक्तिमान आत्मा हौ, सुखको कल्पना गरे मात्रै सुखी हुन्छौ भनी भ्रममा पारिदिँदा आत्मिक विकास अवरुद्ध भएको छ । शृंगारको सामग्रीमा अत्यधिक खर्च गर्ने बानी पारिदिएर आर्थिक, मानसिक, भावनात्मक, सामाजिक, विकास प्रभावित भई व्यक्ति र समाजलाई पंगु बनाइँदै छ ।

रुमानी गीत सुन्दै नाच्ने सस्तो मनोरञ्जनले भावनात्मक कल्पनाहरू उत्पन्न गराएर रोमान्समा फँसाएको हुन्छ । पश्चिमाहरू सस्तो मनोरन्जनको गहिराइमा पुग्छन् र दलदल देखेर बाहिर निस्कन्छन् । हामी सस्तो मनोरन्जनको बाहिरी सतहमा रमाएर नजरमा कामना बस्यो भने सत्य नजरमा आउँदैन भन्ने भनाई चरितार्थ गर्नेहरू गहिराइमा पुग्दैनन् र फसिरहन्छन् ।

पैसाको कमी र गुणस्तरीय शिक्षाको अभावमा रोमान्स मौलाएको देखिन्छ । किनकि कामना मनमा उठ्छ, मन फ्रिमा मिल्छ, रोमान्सले मनको कल्पना पूरा गर्छ । राम्रो खाना खाने पैसा नहुने गरिबको भान्सामा सस्तो पिरो अमिलो मसलेदार खाना पाक्छ । गरिबले पिरो अमिलो खाएर मानसिक सन्तुष्टि लिन्छन् । देवीबाट शक्ति मिल्छ भन्ने कल्पनामा भाकल गरेर पशुबलि दिन्छन् । पितृ खुसी पारे सन्तान जन्मिने कल्पनामा ऋण लिएरै भए पनि सप्ताह लगाउनेदेखि पितृ खुसी हुने कल्पनामा धामी झाँक्री कहाँ धाएर फसेका छन् ।

अन्धविश्वासी मान्यताले फैल्याएको रोमान्स नयाँ शिक्षा प्रणालीले मात्र नियन्त्रण गर्न सक्छ । समाज, भूगोल, इतिहास, गणित, तर्क, न्याय र आफैँलाई जान्ने आध्यात्मिक शिक्षा र साहित्य शिक्षामा समेट्दै पढाउने शैली अन्तरक्रियामुखि, प्रयोगात्मक र व्यावसायिक बनाएर गरिखाने संस्कृति निर्माण गर्ने खालको हुनुपर्छ । शिक्षाले अन्धविश्वासी मान्यता हटाउने, मानिसलाई आफ्नो मूल स्वरूप चिनाउने र घरघरमा शिव र बुद्ध जन्माएर अहिले जेलाई आत्मा भनिएको छ त्यो अनात्मा हो । जब मानिस असली आत्माबोध के हो भन्ने बुझ्न सक्ने बन्छन् अनि मात्र मानिसले अरूप्रति करुणा राख्दै सत्यलाई चिनेर प्रेम गर्नेछन् ।

शुरुमा राम्रा कुराबाट मान्यता शुरु भएपनि समयक्रममा विकृत भई घातक बनेकाले सुधारको आवश्यकता छ । गल्ति गरेर सुधारको शुरुवात गरिन्छ र अघिल्लो गल्ति भन्दा पछिल्लो गल्तिमा गल्तिको मात्रा कम गर्दै लगिन्छ । सुधारको अन्त्य हुदैन, बाचुन्जेल गरिरहनुपर्छ ।

प्रतिक्रिया