बिपीको वैचारिक आयाम : राजनीतिमा समाजवाद, साहित्यमा मनोविज्ञान

राजनीतिक विचारक र विशिष्ट आख्यानकार बिपी कोइरालाले नेपाली राजनीतिमा लोकतान्त्रिक समाजवाद तथा परराष्ट्र नीति र साहित्यमा सामाजिक मनोविज्ञानको बलियो जग बसाल्नुभयो । वर्तमान परिवेशमा राष्ट्रियता, मेलमिलाप र रूपान्तरणका लागि उहाँका ती कालजयी विचार र सिद्धान्त अझै उत्तिकै सान्दर्भिक देखिन्छन् ।

राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूल्य र वैचारिक आधारलाई आत्मसात गर्ने परिपाटी आमजनमानसको पहिलो छनोटमा रहेको छ । त्यसको प्रथम संवाहक राजनीतिक दल नेपाली कांग्रेस हुनुपर्दछ । राजनीतिक मियोलाई माथिका तीन आधारभूत मान्यतासँग समीपको सम्बन्धसेतु जोड्ने व्यक्तित्व बिपी कोइराला हुनुहुन्थ्यो । उहाँ राजनीतिलाई संस्करित जीवन पद्धतिका रूपमा स्थापित गर्ने उच्चकोटिका नेता र विचारक हुनुहुन्थ्यो । बिपी कोइराला राजनीतिक र सार्वजनिक जीवनमा बिपी, बिपीबाबु र सान्दाजुका पर्यायका रूपमा चिनिनुभयो ।

नेपाली साहित्यिक फाँटमा विश्वेश्वरप्रसाद कोइरालाका नामले सम्झिने, बोलिने र पढिने उच्चकोटिका स्रष्टाका रूपमा उहाँलाई लिइन्छ । विशेषतः बिपी कोइरालालाई बुझ्नुपर्दा राजनीतिमा उहाँ प्रजातान्त्रिक समाजवादी नेता र विचारक हुनुहुन्थ्यो । साहित्यिक धरातलमा आख्यान साहित्यिक विधामा सामाजिक मनोविज्ञानको द्वन्द्वात्मक पक्षलाई मिहीन विश्लेषण गर्ने अग्रज स्रष्टाका रूपमा आमजनमानसले सम्झन्छन्, बुझ्छन् र मनन गरी आएका हुन् ।

नेपाली साहित्यको आख्यान विधाको उन्नयनमा साहित्यकार कोइरालाको महत्वपूर्ण योगदान रह्यो । विशेषतः आख्यान साहित्यमा कोइरालाले कलम चलाउनुभयो । नितान्त फरक धारको आख्यान साहित्यको सिर्जनात्मक खुबी र तार्किक विश्लेषणका तुलनीय गुण आख्यानकार कोइरालामा स्पन्दन गर्न सकिन्छ । साहित्यकार कोइरालाका सिर्जनामा उपन्यास, कथा, आत्मवृत्तान्त लगायतका सिर्जनात्मक कृतिले नेपाली साहित्यिक आकाशलाई उदार र चमकशील बनायो । राजनीतिक, सामाजिक तथा अन्तरमनका आत्मगत भाव, आरोह–अवरोह तथा मनोवैज्ञानिक द्वन्द्वात्मक पक्षलाई साहित्यकार कोइरालाले तार्किक तथा विश्लेषणात्मक ढंगबाट सिर्जनामार्फत आमपाठकलाई पस्किनुभयो ।

नेपाली साहित्यमा सामाजिक मनोविज्ञानको धारलाई सिर्जनाका माध्यमबाट उजिल्याउने अग्रज स्रष्टा कोइराला नै हुनुहुन्थ्यो । उपन्यासकार तथा आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाका जनजिब्रोमा रहेका कृतिमा उपन्यास विधातर्फ हिटलर र यहुदी, तीन घुम्ती, नरेन्द्रदाइ, सुम्निमा, बाबु, आमा र छोरा अनि कथानक धारतर्फ श्वेतभैरवी, दोषी चश्मा तथा आत्मकथा विधामा जेल जर्नल, आत्मवृत्तान्त फेरि सुन्दरीजल लगायतका विविध सिर्जनाले नेपाली साहित्यिक क्षेत्रमा नवीनतम धारको उद्बोध तथा सिर्जनात्मक मौलिकताका साथ पाठकको मन जित्न सफल छन् ।

साहित्यको सामाजिक मनोविज्ञानको फाँटमा साहित्यकार कोइराला अग्रज स्रष्टाका रूपमा उभिनुभयो नै । साथै राजनीतिक विषयवस्तुलाई आर्थिक, सामाजिक, सांस्कृतिक तथा महिलावादका केही फरक आयामलाई पनि द्वन्द्वात्मक मनोविश्लेषण गर्नु कोइरालाको मौलिक विशेषताका रूपमा लिन सकिन्छ । आफ्ना कृतिहरूमार्फत साहित्यकार कोइरालाले ‘ठुलो मान्छे होइन, असल मान्छे’ हुनुपर्दछ, ‘साहित्यमा सम्राट पनि नांगिन्छन्’ जस्ता सारभूत सन्देश प्रवाह गर्नुभयो ।

वैचारिकता, मानवता, सहिष्णुता, सामाजिक–सांस्कृतिक मिलापका कथानक भावपरक तथा मर्मस्पर्शी रहेका छन् । धार्मिक सहिष्णुता, वर्गीय तथा लैंगिकताका सवालमा कोइरालाले आफ्ना कृतिमार्फत सूक्ष्म विश्लेषण गर्नुभयो । समकालिक सामाजिक, आर्थिक, सांस्कृतिक पक्षलाई आफ्ना कृतिका पात्र र घटनामार्फत मिहीन विश्लेषण गर्ने क्षमता साहित्यकार कोइरालामा भेटिन्छ ।

२००७ सालको ऐतिहासिक प्रजातान्त्रिक आन्दोलन दिल्ली सम्झौतामा टुंगिएपछि गठित आन्दोलनकारी शक्ति नेपाली कांग्रेस, राणाशाही पक्षीय तथा राजा त्रिभुवनका मान्छेहरू सम्मिलित त्रिपक्षीय सरकारको गठन र मुलुक सञ्चालन राजनीतिक आरोह–अवरोहका स्मरणीय पाटा हुन् । यस्तै, २०१७ सालको पुस १ गतेको राजा महेन्द्रको पश्चगामी कदम पश्चातको अत्यन्त विषम परिस्थितिजन्य अवस्थामा भारत निर्वासनकाल तथा २०३३ पुसमा राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिएर बिपी कोइराला लगायतका शीर्ष नेताको नेपाल आगमन यसका जीवन्त बिम्ब हुन् ।
२०३६ सालको विद्यार्थी आन्दोलन र तत्पश्चातको जनमत संग्रह, जसको परिणामले करिब आधाआधी जनमत प्रजातन्त्र र बहुदलीय शासन पद्धतिप्रतिको जनमतका रूपमा विश्लेषण गर्न सकिन्छ । २०४२ सालको सत्याग्रह र २०४६ सालको ऐतिहासिक जनआन्दोलनले नेपालमा बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनःस्थापना लगायतका बहुआयामिक महत्व र प्रभाव बोकेका तिथिमिति रहे ।

यतिबेला जनताका हक–अधिकार स्थापित गर्ने र संघीय लोकतान्त्रिक शासन व्यवस्थाको संस्थागत विकासको अभियानमा मुलुक दिशाबोध गरिरहेको छ । विधिको शासन, मानवअधिकारको संरक्षण, बहुलवादी समाजको सुदृढीकरण र जनजीविकाका सवालमा नेपाली कांग्रेसले आफ्ना नीति तथा कार्यक्रमलाई अघि बढाउने दिशामा बिपी विचारलाई केन्द्रमा राखेर अघि बढेमा बिपीप्रति सच्चा सम्मान हुनेछ ।

नेपाली कांग्रेसले ६ साउनमा ४४औँ बिपी स्मृति दिवस मनाउँदै रहँदा बिपीका विचार र आदर्शको मार्गमा अघि बढ्नु कांग्रेसीजन र सिंगो राष्ट्रको हितमा रहन्छ । उहाँमा भएका निजत्वले राजनीतिक विचार र नेतृत्वका हिसाबले समाजवादी तथा साहित्यिक व्यक्तित्वका फरक पाटाका अग्रज स्रष्टाका रूपमा राजनीति र साहित्यिक फाँटमा फैलिएका छन् । विचारका आत्मा र विश्वबन्धुत्वको सन्देश राजनीतिक सिद्धान्त र साहित्यिक सिर्जनामा बग्रेल्ती भेटिन्छन् । आजका तथा भावी पुस्ताले अनुसरण र त्यसै अनुसारको व्यवहार गर्नु समयले मागेको छ ।

नेपाली कांग्रेसका आधारभूत सिद्धान्त राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई कुन हद र कस्तो वैचारिक धरातलमा अवलम्बन गर्दै छन् ? आमनागरिक र मूलतः कांग्रेसीजनका अपेक्षाको आर्थिक, सामाजिक विकास र जनसरोकारका जल्दाबल्दा विषयलाई केन्द्रमा राखेर रूपान्तरण र शुद्धीकरण अभियानले नवीन आयामतर्फ दिशाबोध गर्नुछ । बिपीका विचार र कांग्रेसको सैद्धान्तिक मियो सधैँ राष्ट्रियता र उदार समाजवाद केन्द्रित आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक रूपान्तरण नै हो । जसको निरन्तरता मुलुक र कांग्रेसकै हितमा रहेको कुरा अनुभवले पुष्टि गरेकै हो ।

राष्ट्रियता र मेलमिलापको सवालमा बिपीले भन्नुभए झैँ मुलुकको सार्वभौमिकता र राष्ट्रियताको सुदृढताका लागि आजको परिवेशमा त्यो नै निर्विकल्प भएको विचारको स्पष्ट पैरवीको थप पुष्ट्याइँ गरिरहनु नपर्ला । उदार समाजवादी नीति तथा त्यसै नीतिको जगमा उभिएको आर्थिक विकास र सामाजिक रूपान्तरणका कार्यक्रमलाई प्रथम जननिर्वाचित बिपी कोइरालाको सरकारले प्राथमिकताका साथ लागू गर्ने कार्य ग¥यो । जनताबीच बिपी कोइरालाका विकासका नीतिगत कार्यक्रमका जगमा उठेको सामाजिक, सांस्कृतिक, आर्थिक परिवर्तनका कार्यले मुलुकको विकासमा नयाँ आयाम सुरुआत गर्न सकेको थियो ।

उहाँको नेतृत्वको सरकारले बिर्ता उन्मूलन र जग्गाको हदबन्दी जस्ता युगान्तकारी र प्रगतिशील कार्य अघि बढायो नै । तर हठात् बीपी कोइरालाको लोकप्रिय सरकार राजा महेन्द्रको राजनीतिक महत्वाकांक्षा, शक्ति आर्जन र प्रयोगका उभारले निर्लिप्त भई २०१७ पुस १ को गैरप्रजातान्त्रिक कदमका कारण अवसान गरियो । जसको परिणाम स्वरूप दलविहीन चरित्रको निर्दलीय पञ्चायतको नाममा देश पुनः राजनीतिक स्वतन्त्रताको शून्यतातरफ विमुख भयो । बिपीको आदर्श र विचारधारामा प्रहारका शृंखला पञ्चायती व्यवस्थाको नाममा निस्तेज तथा तेजोबध गर्ने कार्यले करिब ३ दशकसम्म निरन्तरता पायो ।

नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको सहकार्यमा जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको अगुवाइमा २०४६ सालको ऐतिहासिक जनआन्दोलनपश्चात मात्र मुलुकमा बहुदलीय व्यवस्थाको पुनःस्थापना सफल हुन सक्यो । लोकतान्त्रिक समाजवादले आफ्नो स्पष्ट वैचारिक आधार खडा गर्ने क्रममा धेरै आरोह–अवरोहलाई पार गर्दै आएको छ । लोकतान्त्रिक समाजवादरूपी नदी प्रवाहमा शनैःशनैः काल्पनिक समाजवाद, वैज्ञानिक समाजवाद, फेबियन समाजवाद तथा विकसित आधुनिक समाजवाद जस्ता समाजवादी धारहरू मिसिएका छन् ।

जसको धरातलमा वैचारिक दार्शनिक आधार र स्वरूप निर्माण भएको छ । पाश्चात्य जगतका समकालिक चिन्तक सेन्ट साइमन, चाल्र्स फोरियर तथा बेलायती समाजवादी चिन्तक रोबर्ट ओवेनले सर्वहारा वर्गको उन्मुक्ति र उत्थानका लागि पुँजीपति वर्ग र श्रमिक वर्गका बीचमा हितको संरक्षण हुन सक्ने वैचारिक आधार प्रस्तुत गरे ।

लोकतान्त्रिक समाजवादको सारभूत पक्ष वर्ग समन्वयको आधार समाजवादी चिन्तक र विचारकले तयार गरेका हुन् । लोकतान्त्रिक समाजवादले तेस्रो विश्वका अल्पविकसित तथा विकासोन्मुख देशमा राजनीतिक व्यवस्थाको आधार र आर्थिक–सामाजिक रूपान्तरणमा काम ग¥यो । सन् ९० को दशकपछिको नवउदारवादी आधुनिकीकरण र त्यसका आर्थिक, वित्तीय पक्षलाई नेपालको आर्थिक विकासमा सन्तुलित प्रयोगलाई लोककल्याणकारी राज्य अवधारणासँग सामीप्यता दिने दिशामा गरिएको प्रयासले सार्थकता पाउन नसकिरहेको अवस्था छ । समूल आर्थिक–राजनीतिक इतिहासको विश्लेषणका पाटालाई नियाल्दा उदार समाजवादी विचारका नीति तथा कार्यक्रमले नेपाली जनताको आर्थिक उत्थान, सामाजिक रूपान्तरण तथा विकासका लागि कुनै न कुनै रूपमा योगदान दिने प्रयास गरे पनि सन्तोषजनक भने छैन ।

नेपालमा लोकतान्त्रिक समाजवादको अभ्युत्थानमा बिपी कोइरालाको नेतृत्वदायी भूमिका दक्षिण एसिया तथा सिंगो एसियाका लागि मार्गदर्शक हुन सक्यो । जसले गर्दा उहाँलाई नेपाली कांग्रेसका अग्रणी नेतामा मात्र स्थापित नगरी दक्षिण एसियाको अग्रज लोकतान्त्रिक समाजवादी नेताको रूपमा उभ्यायो । बिपी कोइरालाले आफ्नो प्रजातान्त्रिक सरकारको नेतृत्वका समयमा कुशल परराष्ट्र नीति अवलम्बन गर्नुभएको थियो । उहाँको कार्यकालमा देशले असंलग्न परराष्ट्र नीतिलाई निर्देशक सिद्धान्तका रूपमा लियो । जसको फलस्वरूप नेपालले २ ठुला छिमेकी भारत तथा चीन लगायतका विश्वका मित्रराष्ट्रहरूसँग यसै नीतिका आधारमा कूटनीतिक सम्बन्ध स्थापना र विस्तार गर्न सक्यो ।

पछिल्लो समयमा नेपाली कांग्रेसले बिपीले अवलम्बन गरेको समाजवादी नीति तथा राजनीतिक कार्यक्रमलाई कार्यान्वयन तहमा के कत्तिको न्याय गर्न सकेको छ भन्ने कुरा गम्भीर बहसको विषय रहेको आमबुझाइ छ । नेपाली कांग्रेस अहिले गहन वैचारिक र भावनात्मक एकताको खोजीमा छ । अग्रजको सम्मान र युवाको अभियानलाई समन्वयात्मक र सन्तुलित ढंगबाट अघि लैजानु नेतृत्वको चुनौती र खुबीको अग्निपरीक्षा पनि हो । लोकतन्त्रको मियोका रूपमा हामीले बुझेको र चिनेको, भोगेको कांग्रेसले नेतृत्वदायी भूमिकाको गरिमा राख्नेमा आशावादी रहन सकिन्छ ।

समाजवादी आर्थिक विकासको मोडल लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा अझ सान्दर्भिक छ । उन्नति र समृद्धिको अचुक अस्त्र भनेकै गरिब, निमुखा तथा सीमान्तकृत समुदायका जनताको आर्थिक विकास तथा सामाजिक–सांस्कृतिक रूपान्तरण हो । विकासको प्रतिफलको समन्यायिक र समतामूलक वितरण हो ।

प्रतिक्रिया