बिपी कोइराला : अग्रणी समाज सुधारक

राजेन्द्र गौतम

लेखकीय सत्ता स्थापना गर्ने प्रवृत्त नाम हो – विश्वेश्वरप्रसाद कोइराला । राजनीतिमा बिपी कोइरालाको छवि प्रजातान्त्रिक समाजवादको प्रवर्तक हो । लेखन र राजनीतिलाई एकसाथ पर्गेल्ने सामथ्र्य नै बिपी विविधता हो । बिपी विचार हो, बिपी चिन्तन र चेतनाको पुञ्ज हो । नकि, कसैको भजन गाउने यन्त्रमानव । यी बिपी कोइरालाका कर्मका कुरा हुन् । हरेक मानिसको जन्म, नाम र कर्म आपसमा जोडिएर आउने विषय हुन् । उसो भए उनको नाम कसरी विश्वेश्वर रह्यो । यो आलेखमा उनको नाम कसरी विश्वेश्वर रह्यो – ज्योतिषशास्त्रका आधारमा केलाउने सामान्य प्रयास गरिएको छ ।

विश्वेश्वरप्रसाद कोइरालाको जन्म १९७१ भदौ २४ गते भारतको वनारसमा भएको हो । एक शब्दमा भन्ने हो भने वनारसमा जन्मिएकाले उनको नाम विश्वेश्वर रह्यो । यो पूर्ण तर्क होइन । यसलाई सिद्ध गर्ने केही आधार छन् । ज्योतिषशास्त्रीय मतअनुसार ग्रह नक्षत्रहरूको गतिअनुसार उनको जन्म २७ नक्षत्रमध्ये पहिलो अश्विनी (चू, चे, चो, ला)को पहिलो पाउमा भएको मानिन्छ । जसअनुसार उनको नाम ‘चू’ अक्षरबाट सुरु हुनेमध्ये एक चूडामणि राखिएको थियो ।

वनारसमा शिवको प्रसिद्धमध्येको एक (संसारको प्रसिद्ध) विश्वनाथको मन्दिर छ । विश्वनाथको मन्दिर नजिक वनारसमा जन्मिएका बालक विश्वनाथ वा विश्वनाथका प्रसाद हुन् भन्ने ठानेर उनको नाम विश्वेश्वर राखिएको हो भन्ने मत छ । विश्वेश्वर स्वयं विश्वनाथ हुन् । विश्व जोडिएकैले उनी यही नामले (विश्वेश्वरप्रसाद कोइराला) विश्वमै प्रसिद्ध भए ।
पहिलो नक्षत्रमा जन्मिएको मानिस विश्वमा प्रसिद्ध हुन्छ भन्ने शास्त्रीय मत पनि छ । यद्यपि, यो सर्वस्वीकार्य मत होइन र यसमा मतऐक्यता छैन । नाम जसरी र जे रहे पनि उनका अनुयायीले थुप्रै उपमा दिएका छन् र पुकार्छन् । त्यहीमध्येका हुन् – जननायक र महामानव । जन, जनताको अगुवा वा अग्रणी भएकाले जननायक भन्न सकिन्छ । तर, महामानव भन्न सकिन्न, मिल्दैन । यसका केही आधार छन्, केहीमध्येको एक आधार यहाँ प्रस्तुत गरिएको छ । आज अग्रणी समाज सुधारक बिपी कोइरालाको ४४औँ स्मृति दिवस । यही सन्दर्भ जोडेर बहस गर्न वाञ्छनीय हुन्छ । आज बिपीका हजारौँ अनुयायीले उनलाई महामानव भनेर पुकार्छन्, पुकारिन्छ । सामान्य चेतले नै भन्छ – यो सरासर गलत छ । मानव महामानव हुँदैन, महान् पुरुष हुन सक्छ । पुज्य व्यक्ति हुन सक्छ । त्यसैले बिपीलाई ‘सुपरम्यान’ बनाउने गल्ती नगरौँ ।

जर्मन दार्शनिक नित्सेको दर्शनअनुसार विकासात्मक संघर्षका निम्ति उत्सर्जित एक उच्चमानव (सुपरम्यान) हुन्छ । त्यसैलाई आधार मान्ने हो भने पनि बिपीलाई महामानव भन्न हुन्न, सकिन्न । उत्सर्जितको अर्थ नै त्यागिएको, उत्सर्जन गरिएको हुन्छ । त्यसैले नित्सेको दर्शन बिपीलाई सुपरम्यान बनाउनु हुन्न । नेपाली शब्दकोशलाई आधार मान्ने हो भने पनि बिपी महान् पुरुष, अवश्य नै पुज्य व्यक्ति हुन् । वैचारिक मतका आधारमा ठुला मानिस भन्नेमा सहमत हुन सकिन्छ । तर, परमात्मा र विष्णुका रूपमा लिनहुन्न, स्वीकार्ने गल्ती गर्नुहुन्न । बिपी सामान्य मानिस हुन्, उनी कर्मले महान् बनेका हुन्, महामानव होइन ।

अब पनि बिपीलाई महामानव भन्ने चेतसँगै ल्याप्प हुने हो भने त्यो मर्दवाद हो । समर्थन गरेजस्तो गर्ने, यथार्थ कुरा बाहिर नल्याउने, विरोध नगर्ने, अलौकिक भन्ने चेतले बिपीलाई महामानव भनिएको हो, यो नगर्नु नै राम्रो । वनारसमा जन्मिएको र विश्वनाथ मन्दिरसँग नामको प्रसंग जोडिएकैले मानवलाई देवत्करण पनि गरिनुहुन्न ।

राजनीतिसँगै साहित्यको कोणबाट हेर्ने हो भने पनि बिपी हरदृष्टिले अग्रणी समाज सुधारक हो । बिपीका हरकृतिमा परिवर्तनको चेत छ । अन्तस्करणको चेत प्रत्येक कृतिमा छ । जहाँ मनोविज्ञानको पाटो उत्तिकै सशक्त र बेजोड छ । त्यसकारण पनि बिपी अग्रणी सुधारक हो, महामानव होइन । विकासात्मक संघर्षका निम्ति उत्सर्जित एक उच्च मानव (सुपरम्यान) किमार्थ होइन । बिपीलाई महामानव भन्ने गम्भीर भुल सच्याऊँ ! यो नै बिपीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।

प्रजातान्त्रिक समाजवादको प्रवर्तक र प्रतिपादकलाई आत्मरतिका खातिर महामानवको पगरी जरुरत हुन्न । ऊ कर्मले जन्मान्तर जीवित रहन्छ । मुलुकमा प्रजातन्त्र स्थापनार्थ कठोर संघर्ष गर्ने कोही छ भने बिपी कोइराला नै हुन् । पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेर पनि सर्वस्वहरणसहित निर्वासन, वर्षौंसम्मको नजरबन्द र कारावास सहज पचाउनु फराकिलो चेतको उपज हो । २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा प्रधानमन्त्री बनेका बिपी ६८ वर्षमा २०३९ साउन ६ मा यो धराबाट भौतिक रूपमा विलुप्त भएका थिए । महामानव होइन, अग्रणी समाज सुधारक बिपीप्रति हार्दिक श्रद्धासुमन !

प्रतिक्रिया