सबैको भर सरकार, सबै नै सरकारका आधार

सरकार, सरकारका मन्त्री र तिनैका कोटरीमा घेराबन्दी गरेर बस्ने कथित सहजकर्ता वा सल्लाहकारहरूले राष्ट्रको ढुकुटी डकारेर गर्ने हुंकार नै ‘जान्नेलाई छान्ने’ राम्रो कुराको तात्पर्य हो भने त्यो काइतेबाहेक अर्को कुरा हुन सक्दैन ।

उपेन्द्र प्रेमी

विगतको ३६ वर्षे कालखण्डलाई ‘भागबन्डाको राजनीतिक समयचक्र’ मानियो । कर्मचारी प्रशासन, सुरक्षा संयन्त्र, विभिन्न आयोग, संवैधानिक निकाय तथा न्यायिक अंगसम्म ठुला–साना दल र तिनका नेता–उपनेताहरूको कोटा भागबन्डामा नियमित–सरुवा–बढुवा–स्थापन–विस्थापन गरिने त्यस प्रकारको शैली–शृंखलालाई ‘भागबन्डे पद्धति’ को संज्ञा दिइयो ।

हो, त्यो अवधि पार्लियामेन्टमा कोही–कसैको कुनै दलको स्पष्ट बहुमतीय आकृति थिएन । ७–८ दललाई बाँडचुँड गरेर सरकार सञ्चालन गर्नुपर्ने पनि परिस्थिति थियो, त्यो अवधिमा । त्यसैले ‘भागशान्ति जयनेपाल’ गर्नुपर्ने र भोगभाग मिलाउनुपर्ने अवस्था रह्यो । तर स्थिति अहिले बदलिएको छ । देशभरि घन्टीको दुन्दुभि बजेको छ । एकमना सरकार बनेको छ । एक जना मात्र स्वतन्त्र सांसदलाई बुजो लगाएर रास्वपा नामको एउटै दललाई एकांकी चल्ने–चलाउने अवसर प्राप्त छ ।

अब अन्य बन्डाबाजीमा चल्नुपर्ने खण्ड छैन । भागबन्डाको सट्टा अबन्डाको अवस्था आइपुग्दा पनि अहिले उही खालको हानथाप, तेरो–मेरो, यताको–उताको भन्ने ढाँचाकोे गतिविधि किन देखिएको छ ? मनमनको यो प्रश्न मननीय छ । दलदलको खलबलमा हिजोअस्तिका साढे ३ दशक नातावाद, आफन्तवाद र दलवादमा व्यतीत भयो । दलदलका कार्यकर्ता, नेता–नेताका नातागोताले मौका पाए । त्यो समय – राम्राहरू पाखा परे, हाम्राहरू नै प्रायः अघि सरे ।
अब यस प्रकारको पक्षपात, दलीय कृपा, आफ्ना कार्यकर्ताको सम्पोषण हुँदैन भन्ने बाजा बज्यो, घन्टी घन्कियो ।

नवयुवा जमातले १० महिनाअघि गरेको विद्रोह, आन्दोलन र खबरदारीले अब नेपालमा राम्रा मान्छेहरू, योग्य–कुशल पात्रहरू राज्यबाट हट्ने छैनन्, अब हाम्रा मान्छेहरू मात्र छानिने छैनन् भन्ने आशाको दियो जग्मगाएजस्तो पनि भयो । अब ‘जान्नेलाई छान्ने’ भन्ने भरोसाको भावमैत्री पनि जोडतोडका साथ आयो । अब नेताका मान्छे हुन नसकेकाहरूले योग्यता भएर पनि काम नपाउने अवस्था रहन्न, ती जाग्रत, कुशल, होनहार, पठित–अपठित जो–कोहीले पनि देश छोडेर विदेश भौतारिनु पर्दैन भन्ने नारा निकै उरालियो ।

कक्षा १२ कै आसपास विदेशतिर लाग्ने हो भन्ने भावना राखेका र विदेश पसेर सास्ती भोगेकाहरूमा राजनीतिको बुढो पुस्ता तथा पुरानो दलको मैमत्ता किनारा लागेपछि, ‘हाम्रा दिन फिर्छन्’ भन्ने अभिलाषा पनि निकै जागेर आयो । हाम्रा आफन्त हैन, अब राम्रा समस्तको युग फर्कन्छ भन्ने त्यो अवधारणा जो आयो, त्यो निकै उत्साहको विषय रह्यो । वस्तुतः राज्यले अपनाउनुपर्ने नीति, विधि र स्थिति पनि हो त्यो । सक्ने, सही, योग्य पात्रहरूले योग्यताअनुरूप स्वदेशमै काम–दाम पाए भने हाम्रा छोराछोरी, नातिनातिनी हाम्रै समीप रहन्छन्, यही धर्तीलाई सिँगार्छन् भन्ने नेपाली बा–आमा, बाजे–बज्यैको मन पनि हर्षातिरेकले प्रफुल्लित बन्यो ।

त्यही भएरै हो, हल्ला नगरी ‘चुपचाप घन्टी छाप’ को लहर चल्यो । त्यो लहर राम्रै रहरको लहर थियो, रेकारको प्रहर थिएन । ‘योग्यम् योग्याय’ को आदर्श, निःस्वार्थ र निष्पक्ष विवेकपूर्ण औचित्य एवं आफन्तवादका विरुद्ध, अहंवादका विरुद्ध त्यो सर्वथा राम्रो सिद्धान्त थियो । देश, समाज सबैका निम्ति, मेरो–तेरो छैन, हामी सबैको र हाम्रो भन्ने त्यो नेपालवाद अर्थात् ‘हाम्रो होइन राम्रो’ को गतिलो नीति हो ।

जान्नेलाई छान्ने

अब जान्नेलाई छानिन्छ, सक्नेलाई ल्याइन्छ, गतिलालाई अघि सारिन्छ, अशक्त र अगतिलालाई हटाइन्छ भन्ने खालको त्यो अभिप्राय सर्वथा उपयुक्त हो । त्यस्तो वाचा–करारमा चुनावताका आएको कुरा चित्ताकर्षक नै हो । जान्ने मान्छे यथा–यथा स्थानमा बस्ने हो भने देश बन्छ, देशवासीको आसन, रासन र जीवन–गुज्रानको स्थिति पनि माथि उठ्छ । तर जान्ने र बुझ्ने को हो ? यसको मापन के हो र त्यसको निर्धारक अंगप्रत्यंग वा निर्णयकर्ताको निर्णय कसले गर्ने हो, त्यसको कुनै स्पष्टता छैन ।

सरकार, सरकारका मन्त्री र तिनैका कोटरीमा घेराबन्दी गरेर बस्ने कथित सहजकर्ता वा सल्लाहकारहरूले राष्ट्रको ढुकुटी डकारेर गर्ने हुंकार नै ‘जान्नेलाई छान्ने’ राम्रो कुराको तात्पर्य हो भने त्यो काइतेबाहेक अर्को कुरा हुन सक्दैन । समाजमा देखिनुपर्यो, सरकारले जान्नेलाई छान्यो । तर अहिलेसम्म को–को के–केमा नजान्ने रहे र नयाँ आएका निमित्त बिल्लाधारी वा नियुक्त पात्रहरू को कति दक्षता, विशिष्टता वा मर्यादा–क्रमिकताको आधारमा जान्ने छानिए, ठहरिए ? कुनै स्पष्ट परिभाषा छैन ।

हिजो भागबन्डामा निर्धारित हुने थिए भने आज एकमना मियाका आफ्नै विविध पात्रको खुसामदीमा अदलीय अबन्डाको आधार–आग्रहबाट त्यो हुन्छ भने त्यो कसरी पारदर्शी एवम् सही ठहरिने ? आफूखुसी छान्ने अनि जान्नेलाई ल्यायौँ भनेर गर्व गर्ने कुरा एकात्मक विधि–व्यवहारबाट परिपुष्ट हुन सक्दैन । कुन नजान्ने ? को त्योभन्दा अधिक जान्ने ? यसको निक्र्योल कसले गर्ने ? त्यसको पत्यार–आधार ? त्यसको जिम्मेवारी कसमा ? कुरा स्पष्ट छैन । त्यसैले आवेदक, आवेदन लिने अनि मनलाग्दी छान्ने अनि जान्नेलाई छानियो भनेर गर्व गर्ने कुरा उति गुणग्राही हो ? विचारणीय कुरा हो ।

अहिलेको संसद् र मौजुदा सरकारलाई नियाल्दा फटााफट काम गर्ने, कामैबाट केही देखाउने गतिमा देखिन्छ । तर पनि ढंगढाँचा र प्रक्रिया वाञ्छित तवरले चलेको छैन भन्ने धेरैको सिकायत छ । राष्ट्रिय स्वतन्त्र पार्टी र यसबाट बनेको एकमना सरकारको दर्शन एवं दृष्टिकोण के हो भन्ने कुतूहललाई शान्त पार्न केही खुलासाको पोको केही खोलिए पनि त्यो अझै पूर्णतामा छैन ।

कताकता काइते शैली त्यसबाहिर छ, केही तुस त्यसभित्र छ भन्ने विश्लेषकहरूमा अझै संशयभाव रहेको पाइन्छ । पुराना नेता, पुरानो प्रथा–पद्धतिप्रति तिरस्करण एकातर्फ देखिन्छ भने अर्कातर्फ पुराना कुरालाई अनुसरण गर्ने प्रवृत्ति पनि पाइन्छ । प्रधानमन्त्री र मन्त्रीहरूका अभिव्यक्तिबाट सिद्ध हुन्छ, उहाँहरू आफ्नो कमजोरीलाई छोपछाप गर्नका निम्ति ‘यो पहिलेदेखि बिग्रिएको, बिगारिएको हो’ भन्ने कुरा अघि सार्नुहुन्छ ।

अर्थमन्त्री, गृहमन्त्री र कतिपय सांसदहरू अलिक खुलेरै पहिलेलाई तिरस्कारको तीर तेस्र्याउनुहुन्छ । आउने प्रत्येक सरकार एउटा निरन्तरताको र विरासती पाराको गतिमान् अंग हो । अझ – स्थायी मानिने कर्मचारीतन्त्र त विधि–पद्धतिमुताबिक अघि बढ्ने संयन्त्र हो । तर पुराना सरकार, पुराना कर्मचारी, पुराना दलहरूबाट कायम भएको प्रदेश, स्थानीय सरकार तथा अन्य कतिपय अंगप्रत्यंगउपर प्रायः गरी कटाक्षभाव नै वर्तमानमा बारम्बार प्रकट हुने गर्छ ।

संघीय वा केन्द्र सरकार तथा सर्वोच्च विधायिकी संस्था प्रतिनिधिसभाका सत्तादलीय सांसदहरूले प्रकट गर्ने त्यस प्रकारको कटुभाव, आक्षेपलाई कतिपयले गैरजिम्मेवार र अनुत्तरदायी चरित्र मान्दछन् । एकातर्फ स्थिति अहिले यो छ भने अर्थात् २०२२ सालदेखि २७ साल हुँदै स्थगनमा रहेको राष्ट्रिय सेवा दलजस्ता कानुनी बाटो खोज्ने विगतका राम्रा विधि–पद्धतिलाई फेरि सम्झेर ल्याउने कुराले ‘राम्राको अनुसरण’ भन्ने सही नीति पनि अहिले अँगालिएको देखिन्छ । तिरस्कार र अनुसरण यी दुवै पाटोलाई कतिपयले राम्रो बाटो ठान्छन् भने कतिपय त्यसलाई नराम्रो मान्छन् । कुन बाटो र कुन पाटोबाट कहाँ पुगिने हो भन्ने कुरा हेर्दै जाने विषय हो ।

राम्रो ‘म’ मेरो राम्रो

हाम्रो वर्णमालाको प–वर्गको अन्तिम अक्षर ‘म’ । त्यसको उच्चारण र विशेषता नै राम्रो । अक्षरारम्भको त्यो शैशव चरणमा पढिन्छ, पढाइन्छ ‘राम्रो म’ भनेर । राजनीति र शासनसत्ताको सन्दर्भमा हाम्रा नेता, अगुवाले पनि बराबर मच्चाउने, भन्ने, बर्बराउने वर्ण–वाक्य– त्यही ‘राम्रो’ । हरेकलाई मनै राम्रो लाग्छ, वर्ण–बनोटमा ‘म राम्रो’ पनि देखिन्छ । अनि आफूलाई राम्रो मान्नु मानवीय गुण पनि हो तर कुरा त्यही हो, राम्रो गरी देखिनुपर्यो, राम्रो राम्ररी लेख्न, देख्न, देखिन र देखाउन सक्नुपर्यो, अन्यथा, त्यो ‘मपाईंवाद’, मैमत्तावाद वा भद्दा भएर बिग्रन्छ ।

त्यसै गरी हामीकहाँ प्रचलित, परिवर्तित राजनीति र सत्तासीनताका नेता तथा शासक–प्रशासकहरूले सदैव दाबी गर्ने अर्को कुरा हो, मेरो राम्रो । राजनीतिलाई सेवा मान्ने हो र शासन–प्रशासनको जिम्मेवारीलाई ‘राज्यधर्म’ ठान्ने हो भने ‘मेरो मात्र राम्रो, अरूको सबै नराम्रो’ मान्नु हुँदैन । ‘सर्वे भद्राणि पश्यन्तु’ अर्थात् सबैलाई राम्रो देख्नु राजकाजको धर्म हो । समभाव, समन्याय, सही दृश्य–दृष्टि र सौन्दर्यबोध, विवेक र पारखको नैतिक नीति शासन–प्रशासनको आवश्यकीय गुण हो ।

हिजोकाहरूले आफन्तवाद, अति ममत्व र निकै नै नातागोता निकटताको नीति अँगाले भन्दैमा परिवर्तन, क्रम भंग र नवीनता भन्दै आएकाहरूले पनि त्यही खालको अभ्यास दोहोर्याउनु ठीक होइन । चुनावको बेलामा ‘त्यो नराम्रो, राम्रो म’ भने पनि सत्ताको शीर्ष स्थानमा र राष्ट्रिय जिम्मेवारीमा आएपछि त्यस्तो मेरो–तेरो, राम्रो–नराम्रोको कुरो छोड्नुपर्छ । मेरोलाई राम्रो मानेर काखमा राख्ने, अरूहरू योग्यातियोग्यलाई नराम्रो ठानेर पाखामा पन्छाउने प्रवृत्तिबाट सरकार र संयन्त्र मुक्त हुनुपर्छ । अझ राम्रोलाई, सहीलाई सदर भन्ने वाचा–वचन गरेर उच्च आसनमा आएकाहरूले त त्यसको पूरापूर पालना गर्नैपर्छ ।

हो, नेपालको राज्यसत्तामा हिजोअस्ति संयुक्त, मिलीजुली, दलदलको अवस्थिति हुन्थ्यो । त्यस्तोमा आ–आफूले आ–आफ्नो भाग–भोग खोज्थे, झगडा गर्थे, अनि भागबन्डा गरेर सरकार चलाउनुपर्ने लफडा हुन्थ्यो । अहिले सिंगै नेपाललाई एउटै ढिक्कामा हेर्नुपर्ने र कुनै बन्डाबाजी वा लफडाबाजी नहुने स्थिति छ । यो स्थितिमा पनि आफ्नै थर, गोत्र, मातापिता एवम् राम्रोभन्दा हाम्रो प्यानल–च्यानलको कामकुरो हुन थाल्यो भने त्यो कसरी राम्रो ?

अबन्डाको यो स्थितिमा झगडा हुनु, फन्दा, झमेला हानथाप र तानातान गर्नै हुँदैन । उचित ठाउँमा यथोचित मान्छे आओस्, जो–कोही जतासुकैको होस्, योग्यतापूर्वक आएको वा ल्याएको मान्छेले सही कार्य सम्पादन गरोस्, त्यस्तो सहभाव सरकारको हुनुपर्छ, अनि मात्रै सत्ता र सत्तासीन दलको वर्चस्व बढ्छ । अबन्डाको विद्यमान सत्ताभित्र पनि – भाग पाउने, भाग नपाउने भन्ने खालको यो पक्ष र ऊ पक्षको अवस्था कताकता अहिले पन्पिँदै गएको कतिको अनुभूति छ, त्यो सर्वथा अनुचित हो ।

सत्तामा शिष्टता र विशिष्टता

सत्ता राजनीतिक दाउपेच, टिकाउ, भ्रम र कोरा आश्वासन, नारा तथा हुँदो नहुँदो सञ्चाल फैलाएर प्राप्त हुने हो भनेर मानिन्छ । सत्ताको त्यही सोझो बाटो हिँड्ने राजनीति नेपालभित्र पनि छ । तर यो टिकाउ भइरहने र सधैँभरि विकाउमा चलिरहने सही बाटो होइन । यो कुरा वर्तमानका सत्ताधारीहरूले पनि बुझ्नुपर्दछ । सत्तासँग शिष्टता र विशिष्टता सँगै गाँसिएर रहनुपर्छ । शिष्ट र विशिष्ट जब बनिन्न – सत्ता त्यहाँ अडिन्न । त्यो आफैँ उम्लेर पोखिन्छ । जनसमाज त्यस्तो सत्ताबाट स्वतः नै तर्कन्छ ।

जनमत कोही–कसैउपर आउनु भनेको मैमत्ता शक्ति प्राप्त हुनु होइन, अब शिष्ट, विशिष्ट गतिविधि हासिल होला कि भन्ने आशा–अभिलाषा निर्वाचनमा हुने मतदानको मूल कुरा हो । सत्ता प्राप्तिपछि जब त्यो शिष्टता, विशिष्टता सत्तासीनहरूबाट कायम हुँदैन र जब मतको महमा सत्ता मनमौजी बन्छ – तब सत्ताको जग हल्लिन्छ, खल्बलिन्छ । लाग्छ, अहिलेको राजकाजी सत्ता, अहिलेको बहुमतले उन्मत्त दायाँ पंक्तिको संसद्– कताकता शिष्टता र विशिष्टताको सीमारेखाभित्र छैन ।

‘सर्वत्र म छु – सर्वत्रतामा मलाई देख’ भन्ने गीताको सन्देश हो, बुद्धले व्यक्ति र वस्तु सबैलाई आत्मतुल्य ढंगले हेर भन्ने बुद्धि बताए । राजनीति र राजकाजमा पनि व्यक्तिवादिता वा त्यो राज्यधर्मको शिष्टता तथा विशिष्टता हो । अहिले पनि अरूका कुरालाई बेठिक र आफ्नै कोटरीभित्रका कामकुरा नै ठिक हो भनी ठान्ने अशिष्टता हावी देखिन्छ । मन्त्रिपरिषद्को कार्यालय दिनहुँजसो नीति र स्थितिको डंका पिट्दछ । नानाथरी दस्तावेज ल्याउँछ र भन्छ, नानाथरी वेग लगाउँछ ।

सही व्यक्तिको छनोट, मूल्यांकन, निर्धारण वा व्यवस्थापन छनोट समिति खडा गरेर वा दरखास्त मागेर हुने होइन । योग्य, सही सत्पात्र अर्थात् सबैले मानेको, चिनेको ‘कमन पर्सनालिटी’ दरखास्त हाल्दै हिँड्दैन । त्यस्ता सत्पात्रको खोजी त सरकार आफैँले घरघर गएर गर्नुपर्छ, त्यस्तासित सविनय आग्रह गर्नुपर्छ; सही व्यक्तित्वलाई राजकाजका विविध क्षेत्रमा ल्याएर भर्नुपर्छ । त्यसमा राजनीति, निर्वाचनीय मत–मताहारको अर्थात् घन्टे, मुन्डे वा कार्यकर्ताको कुनै बिल्ला विशेषको दृष्टिकोण हुन्न । हो – त्यो सत्ताको शिष्टता हो, विशिष्टता हो र त्यो नै आजको नेपाली समाजको आकांक्षा हो ।

प्रतिक्रिया