वेल्डिङबाट सिर्जना

हिजो वेल्डिङ अत्यन्तै विशिष्ट र विषेश पेसा थियो, तर वेल्डिङ प्रविधि र उपकरणहरूको विकाससँगै, अब वेल्डिङलाई प्रत्येक घरपरिवार र प्राविधिकहरूले हाते औजारको रूपमा प्रयोग गर्न सक्नुपर्छ । यसले हाम्रो वरपरको प्रत्येक फलामको टुक्राको उत्तम प्रयोग सुनिश्चित गर्दछ र हामीलाई अहिलेको तीव्र रफ्तारको औद्योगिक संसारको दौडमा सक्षम राख्नेछ ।

डा. भोला थापा -प्रध्यापक, नेहा यादब, – मेकानिकल इन्जिनियरिङ विभाग, काठमाडौँ विश्वविद्यालय

आज हामी धातुको प्रयोगबिनाको संसारको कल्पना पनि गर्न सक्दैनौँ र यदि हामीसँग धातुहरूको उपयोग गर्न धातु जोड्ने प्रक्रिया छैन भने धातुहरूको मात्र उपयोगिता नहुन पनि सक्छ । फोर्ज वेल्डिङ सबैभन्दा पुरानो ज्ञात धातु–जोड्ने प्रविधि हो, जुन प्राचीन इजिप्टमा २००० ईसापूर्वमा सुरु भएको थियो । यसमा धातुका टुक्राहरूलाई खप्टेर लगभग पग्लने (सेतो–तातो) तापक्रममा तताउने र हथौडाले तीव्र दबाब लागू गरी परमाणुहरूलाई एकै ठाउँमा मिलाएर एकल, ठोस टुक्रा बनाइन्छ ।

हाम्रो समाजमा मित्रताको धेरै महत्वपूर्ण स्थान छ । मित लगाउने परम्परा दुई मानवलाई मित्रताको माध्यमबाट जोड्ने प्रक्रिया हो । मित लगाउन अगेनो वा मकलको आगो अगाडि २ व्यक्तिको टाउको ठोक्काउने गरिन्थ्यो । त्यसको जोड वा सम्बन्ध नजिकैको नाताभन्दा पनि बलियो मानिन्थ्यो र त मितको मृत्युमा जुठो बार्ने चलन थियो । ताप र दबाबले मानिसलाई त जोड्न सक्छ भने, त्यसरी नै लोहारले फलाम पनि जोडेको हामीले गाउँघरमा देखेको हुनसक्छ । आजकल मित लगाउने चलन छैन । फेसबुक फ्रेन्डको चलन छ । सम्बन्ध कति बलियो हुन्छ थाहा छैन, उता ताप र दबाबको प्रयोगबाट धातु जोड्ने प्रक्रिया पनि बिस्तारै हराउँदै छ । मित लगाउने र फोर्ज वेल्डिङ दुबै हराउँदै जानुमा कारक विद्युत् हो । विद्युतीय सामाजिक सञ्जालले मित हरायो, इलेक्ट्रिक वेल्डिङले फोर्ज वेल्डिङलाई ओझेलमा पार्यो । बयल गाडाको पैंयामा फलामको पाता हाल्न अझै फोर्ज वेल्डिङ प्रयोग हुन्छ । कलात्मक ढाँचाका तरबारहरू फोर्ज वेल्डिङकै सिद्धान्तबाट आज पनि निर्माण गरिन्छ । प्राचीन कालिगढहरूले दिल्लीको प्रसिद्ध फलामको स्तम्भजस्ता विशाल संरचनाहरू निर्माण गर्न साना फलामलाई एकसाथ जोड्न फोर्ज वेल्डिङ गर्थे ।

आधुनिक इन्जिनियरिङ, विशेष गरी मेकानिकल इन्जिनियरिङ, प्रक्रियाबिना कल्पना गर्न सकिँदैन । यो सबैभन्दा कुशल, प्रभावकारी र किफायती धातु जोड्ने प्रक्रिया हो । वेल्डिङलाई प्रायः औद्योगिक प्रक्रियाको रूपमा मात्र हेरिन्छ । पग्लेको अबस्थाको फलाम नांगो आँखाले हेर्न गाह्रो हुने हुँदा, कडा कालो सिसाले हेर्दा, सूर्य ग्रहणको झझल्को दिन्छ । वेल्डिङ कार्यको दौरान निस्कने झिल्काले पोल्न त पोल्छ, तर कार्यशालामा उडिरहेका चिंगारीहरू र उब्जिएको प्रकाशले प्रकृतिको चट्याङको दृश्यको झझल्को दिन्छ । वेल्डिङ एउटा जोडाइ मात्र होइन, यो पदार्थको नियन्त्रित रूपान्तरण हो, जहाँ ताप, बिजुली र मानवीय उद्देश्य मिलेर टुक्रा धातुहरूलाई स्थायी रूपमा एक बनाउँछन् । समयसँगै यो प्रक्रिया केवल इन्जिनियरिङको आवश्यकता पूरा गर्ने साधन मात्र रहेन, बरु कलात्मक सृजनाको माध्यम पनि बन्यो । यही प्राविधिक र सिर्जनात्मक गुणका कारणले वेल्डिङले आधुनिक समाजमा विशेष स्थान पाएको छ ।

इन्जिनियरिङमा फास्टनरको भूमिका

मितको परम्पराले सम्बन्घ जोडने बाहेक धेरै प्राकृतिक जोडाइको अनुभव हामीसँग छ । बाँसका डाँडी र कागजलाई जोड्न भर्सेको भात चोरेर भागेको बालक्रिडा होस् वा व्यावहारिक प्राकृतिक गँुदहरू हुन, जोडाइ हाम्रो अभिन्न अंग हो । कपडालाई धागोले सिलाउन जानेकैले हामी आज विकसित प्राणीको वर्गमा पर्छौं । अन्यथा बाँदर र हामीमा के नै फरक छ र ? खानेकुरा त हाम्रो खासै फरक छैन । आधुनिक मानव जाति भनिने हाम्रो लाज त त्यही जाबो फस्नरले त जोगाइदिएको छ ।

वेल्डिङको विकास हुनु अघि धातुहरू जोड्नका लागि फास्टनरहरू प्रमुख माध्यम थिए । बोल्ट, नट, स्क्रु र विशेष गरी रिभेटले विभिन्न संरचनाहरूलाई जोड्ने काम गर्थे । औद्योगिक क्रान्तिको समयमा पुल, जहाज र ब्वायलर जस्ता विशाल संरचनाहरू हजारौँ रिभेट प्रयोग गरेर निर्माण गरिन्थे । यद्यपि, यस्तो विधिमा केही सीमितताहरू थिए । फास्टनरहरूले संरचनाको वजन बढाउँथे, प्वाल बनाउँदा धातु कमजोर हुन्थ्यो, र जोडहरू पूर्णरूपमा चुहावट–रहित हुँदैनथे । साथै, यो प्रक्रियामा धेरै श्रम र समय लाग्थ्यो । यी समस्याहरूले इन्जिनियरहरूलाई थप बलियो, हल्का र स्थायी समाधानको खोजतर्फ उन्मुख गरायो, जसको परिणामस्वरूप इलेक्ट्रिक वेल्डिङको विकास भयो ।

इलेक्ट्रिक वेल्डिङअघिका धातु जोड्ने विधिहरू

आधुनिक इलेक्ट्रिक वेल्डिङको विकास हुनुअघि धातुहरू जोड्ने विभिन्न परम्परागत विधिहरू प्रचलनमा थिए । फोर्ज वेल्डिङ सबैभन्दा पुरानो प्रविधि हो, जसमा धातुलाई अत्यधिक तापमा तताएर नरम बनाइन्छ र त्यसपछि बल प्रयोग गरी जोडिन्छ । यो विधि कालिगढहरूले औजार र हतियार निर्माणमा व्यापक रूपमा प्रयोग गर्थे । त्यसैगरी, ब्रेजिङ र सोल्डरिङ जस्ता विधिहरूमा कम पग्लिने बिन्दु भएका फिलर धातु प्रयोग गरिन्थ्यो, जसले दुई धातुहरूलाई आपसमा बाँध्ने काम गथ्र्यो । यद्यपि, यी विधिहरू भारी संरचनाका लागि आवश्यक बल प्रदान गर्न सक्षम थिएनन् । अन्य मेकानिकल इन्टरलकिङ विधिहरू पनि प्रयोग गरिन्थे, तर ती स्थायित्व र विश्वसनीयताको दृष्टिले सीमित थिए । परापूर्वकालदेखि नै तामा र पित्तलबाट घरायसी भाँडाकुँडा बनाउने सफलता मेकानिकल इन्टरलकिङ, सोल्डरिङ र ब्रेजिङ प्रक्रियाको प्रयोगको उदाहरण हो । यसको लागि ताप उत्पन्न गर्न विभिन्न किसिमका ग्यासहरू पनि प्रयोग हुन्छ । यी सबै विधिहरूले वेल्डिङको आधार तयार गरे तापनि, आधुनिक इन्जिनियरिङका लागि पर्याप्त थिएनन् ।

हामीले अभियान चलाइरहेको हाइड्रोजन प्रविधिले पनि वेल्डिङलाई पुनः परिभाषित गर्दै छ । परम्परागत ग्यास सिलिन्डरहरूमा भर नपरिकन वेल्डिङ गर्न हाइड्रोजन वेल्डिङ प्रविधिको विकास हुँदै छ । इलेक्ट्रोलाइसिस प्रक्रियामार्फत पानीबाट सिधै हाइड्रोजन र अक्सिजन उत्पादन गरेर औद्योगिक प्रयोनजका लागि सफा र सही ज्वाला प्रदान गर्न यो सम्भव छ । यो पनि एक नवप्रवर्तन हो र यसका धेरै उपयोगिता छन् ।

इलेक्ट्रिक वेल्डिङ प्रविधिको विकास

१९औँ शताब्दीको सुरुआतमा वैज्ञानिकहरूले दुई इलेक्ट्रोडबीच उत्पन्न हुने अत्यन्त उज्यालो र उच्च तापयुक्त, धातुलाई तुरुन्तै पगाल्न सक्ने ‘इलेक्ट्रिक आर्क’ पत्ता लगाए । सन् १८८० ताका विकास भएको कार्बन आर्क वेल्डिङले पहिलोपटक वेल्डिङलाई औद्योगिक प्रयोगतर्फ लैजान मद्दत गर्यो, जसमा कार्बन इलेक्ट्रोड प्रयोग गरेर धातुहरू जोडिन्थे । २०औँ शताब्दीको प्रारम्भमा मेटल इलेक्ट्रोड प्रयोग गर्ने आर्क वेल्डिङ प्रविधि विकास भयो, जसले वेल्डिङलाई अझ प्रभावकारी बनायो । यसमा इलेक्ट्रोड आफैँ पग्लिएर फिलर मेटलको रूपमा काम गर्न थाल्यो, जसले जोडाइलाई बलियो र स्थिर बनायो । त्यसपछि विकास भएको ‘सिल्डेड मेटल आर्क वेल्डिङ’ले तातो वेल्ड क्षेत्रलाई वायुमण्डलीय अशुद्धताबाट जोगाइ वेल्डिङको गुणस्तरमा उल्लेखनीय सुधार ल्यायो ।

बिजुलीको प्रयोगले केवल नयाँ प्रविधिहरू मात्र जन्माएन, यसले वेल्डिङलाई व्यापक रूपमा प्रयोग गर्न पनि सम्भव बनायो । धातु जोड्न आवश्यक समय, श्रम र ठुलो संरचनात्मक व्यवस्थामा सुधार आई छिटो, सस्तो र प्रभावकारी रूपमा गर्न सकिने भयो । यही कारणले उद्योग, निर्माण, रेलमार्ग, जहाज र अटोमोबाइलमा वेल्डिङले महत्वपूर्ण स्थान लिन थाल्यो ।

यस विकासक्रममा अर्को महत्वपूर्ण परिवर्तन भनेको वेल्डिङ प्रक्रियाको वैज्ञानिक अध्ययन हो । धातुको तापक्रममा कारण तन्कने र खुम्चने तथा रेसुडियल स्ट्रेसका साथै माइक्रोस्ट्रक्चरमा हुने रूपान्तरण जस्ता विषयहरू अध्ययनले वेल्डिङलाई केवल अनुभवमा आधारित कामबाट गणना, परीक्षण र मानकमा आधारित प्रक्रियामा रूपान्तरण गर्यो ।

दोस्रो विश्वयुद्धको समयमा छिटो र ठुलो मात्रामा उत्पादन गर्नुपर्ने आवश्यकताले वेल्डिङ प्रक्रियाका नयाँ प्रविधि र सुधारहरूलाई प्रेरित गर्यो । युद्धपछिका वर्षहरूमा ग्यास मेटल आर्क वेल्डिङ र ग्यास टंगस्टन आर्क वेल्डिङजस्ता प्रविधिहरू विकास भएर वेल्डिङ कार्यलाई नयाँ स्तरमा पुर्यायो ।

विद्युतको आविष्कारले वेल्डिङलाई केवल सम्भव मात्र बनाएको होइन, यसलाई आधुनिक इन्जिनियरिङको मेरुदण्ड बनाएको छ । रोबोटिक र स्वचालित प्रणालीको वेल्डिङमार्फत अटोमोबाइल उत्पादनले फड्को मारेको छ । वेल्डिङ प्रक्रियामा लेजर र प्लाज्मा प्रविधिको प्रवेशले म्यानुफ्याक्चरिङ प्रोसेसलाई नयाँ उचाइमा पुर्याएको छ । वेल्डिङ केवल प्रक्रिया मात्र नभई, एक पूर्ण वैज्ञानिक, औद्योगिक र सृजनात्मक प्रणालीमा रूपान्तरण भएको छ ।

धातुमा कलात्मक अभिव्यक्तिको माध्यमः वेल्डिङ


औद्योगिक र इन्जिनियरिङ उपयोगिताबाहेक वेल्डिङको प्रभावशाली पक्ष धातुमा कलात्मक अभिव्यक्ति हो । वेल्डिङ जब धातुमा भावनाको भाषा बन्छ, तब यो एउटा शुद्ध प्राविधिक सीपबाट मजबुत सिर्जनात्मक शक्तिमा रूपान्तरण हुन्छ । कलाकारका लागि वेल्डिङ केवल दुई धातुका टुक्राहरू जोड्ने प्रक्रिया होइन, यो विचार, स्मृति र अनुभूतिलाई स्थायी स्वरूप दिने एउटा माध्यम हो ।

धातुमा काम गर्नु आफैँमा चुनौतीपूर्ण हुन्छ । यो कठोर, चिसो र अनियन्त्रित देखिन्छ । तर वेल्डिङको माध्यमबाट कलाकारले यही कठोरतालाई नरम, लचिलो र जीवन्त बनाइदिन्छ । एउटा फालिएको फलामको टुक्रा कलाकारको स्पर्शपछि जैविक आकृति वा अमूर्त भावनात्मक संरचनामा रूपान्तरण हुन सक्छ । यही रूपान्तरण प्रक्रियामा वेल्डिङको जादु लुकेको हुन्छ ।

वेल्डिङ कला विशेष गरी मूर्तिकलमा व्यापक रूपमा प्रयोग हुन्छ । सार्वजनिक स्थलहरूमा राखिएका विशाल धातु मूर्तिहरू, स्मारकहरू, पार्कहरूमा सजाइएका कलाकृतिहरू – यी सबैमा वेल्डिङको महत्वपूर्ण भूमिका हुन्छ । यस्ता संरचनाहरू केवल दृश्य सौन्दर्यका लागि मात्र नभई सांस्कृतिक, ऐतिहासिक वा सामाजिक सन्देश बोकेका हुन्छन् । उदाहरणका लागि युद्ध स्मारकहरू, औद्योगिक विकासका प्रतीकहरू वा मानव संघर्ष र उपलब्धिको कथा बताउने मूर्तिहरू, यी सबैमा वेल्डिङले फोर्जिङ, कास्टिङ जस्ता मेटल प्रोसेसिङ कार्यलाई संरचनात्मक मजबुतीसँगै भावनात्मक गहिराइमा पुगी पूर्णता दिन्छ । वेल्डिङलाई कला बनाउने प्रक्रियामा ‘ताप’ र ‘नियन्त्रण’को गहिरो सम्बन्ध हुन्छ । त्यसैले वेल्डिङ कार्य संसारमै उत्कृष्ट सीप माग गर्ने र उच्च पारिश्रमिक भएको पेसा हो । वेल्डेड इन्जिनियरिङ बस्तुको फेलियरको कारण हुनसक्ने दुर्घटना र वेल्डिङ कार्यको दौरान वेल्डरको स्वास्थ्यमा हुने असरको कारण वेल्डिरको विभिन्न तहको लाइसेन्स हुन्छ । त्यसैले वेल्डर र कलाकारको सीप र दक्षता एउटै व्यक्तिमा हुनु अवसर हो । वेल्डर त तालिमबाट धेरै तयार गर्न सकिएला, तर कलाकारीताको मुख्य अंश त जन्मजात नै ल्याउनु पर्छ । तथापि कलाकारमा वेल्डरको ज्ञान र सीपले दक्षता बढाउनुका साथै सम्भावित दुर्घटनाबाट बचाउँछ ।

यसरी, वेल्डिङ कला र इन्जिनियरिङबीचको पुल हो । यसले एकातिर संरचनात्मक मजबुती र कार्यक्षमता सुनिश्चित गर्छ भने अर्कोतिर मानवीय भावना, कल्पना र सृजनात्मकता अभिव्यक्त गर्छ ।

वेल्डिङ नै थ्रिडी प्रिन्टिङको जननी

थ्रिडी प्रिन्टिङको सञ्चालनको सिद्धान्त इलेक्ट्रिक आर्क वेल्डिङसँग धेरै मिल्दोजुल्दो छ । दुवै प्रक्रियामा सामग्रीलाई तह–तहमा थप्दै संरचना निर्माण गरिन्छ, जहाँ सामग्री पगाल्न र तह तहमा जमाउन तापको नियन्त्रण अत्यन्त महत्वपूर्ण हुन्छ । वेल्डिङलाई पनि एडेटिभ म्यानुफ्याक्चरिङको एउटा रूप मान्न सकिन्छ । यही सिद्धान्तको प्रयोग गर्दै सिधै धातुका जटिल कलात्मक वस्तुहरू निर्माण सम्भव भएको छ ।

रिभेटिङको युग : पसिना, शक्ति र मानवीय सहनशीलताको कथा


वेल्डिङको विकास हुनुअघि, विशाल फलामका संरचनाहरू निर्माण गर्ने प्रक्रिया पूर्ण रूपमा मानवीय शक्ति, सहनशीलता र निपूर्णतामा निर्भर थियो । यसको सबैभन्दा प्रभावशाली उदाहरण जुन १८८७ देखि १८८९ को बीचमा भएको फ्रान्स, पेरिसको आइफेल टावरको निर्माण हो । यस संरचनामा करिब १८ हजारभन्दा बढी फलामका टुक्राहरू र लगभग २५ लाख रिभेट प्रयोग गरिएको थियो ।
रिभेटिङ प्रक्रिया आफैँमा अत्यन्त कठिन र जोखिमपूर्ण थियो ।

रिभेटलाई भट्टीमा रातो हुने गरी तताउने, त्यसलाई चिम्टाले समातेर स्थानमा राख्ने र ठुलो हथौडाले प्रहार गरेर त्यसलाई स्थायी रूपमा जडान गर्ने । यो केवल इन्जिनियरिङको कार्य मात्र थिएन, यो मानवीय गाह्रो श्रमको उदाहरण थियो । प्रत्येक रिभेटले केवल दुई धातुहरूलाई मात्र जोडेको थिएन, यसले हजारौँ कामदारहरूको श्रम, तालमेल र साहसलाई पनि जोडेको थियो । वेल्डिङको विकासले यस्तो श्रमकार्यलाई प्रतिस्थापन गरेको छ ।

लिबर्टी जहाजहरू : वेल्डिङको विफलता र त्यसबाट प्राप्त ज्ञान


दोस्रो विश्वयुद्धको समयमा संयुक्त राज्य अमेरिकाले अत्यन्त छिटो गतिमा कार्गो जहाजहरू निर्माण गर्नुपर्ने आवश्यकता पर्यो, जसलाई लिबर्टी जहाजहरू भनिन्थ्यो । यी जहाजहरू परम्परागत रिभेटिङको सट्टा वेल्डिङ प्रयोग गरेर छोटो समयमा बनाइएका थिए ।

तर प्रारम्भिक चरणमा एउटा गम्भीर समस्या देखा पर्यो । केही जहाजहरू कुनै स्पष्ट कारणबिना नै अचानक चिरा परेर टुक्रिन थाले, कतिपय त समुद्रमै दुई भागमा विभाजित भए । अनुसन्धानले यो समस्या ‘ब्रिटल फ््याक्चर’का कारण भएको थाहा भयो । चिसो समुद्री तापक्रममा प्रयोग गरिएको फलाम पर्याप्त लचिलो थिएन, र वेल्डिङका कारण उत्पन्न भएका सूक्ष्म चिराहरू तीव्र रूपमा फैलिन्थे ।

यो घटनाले इन्जिनियरिङको इतिहासमा महत्वपूर्ण पाठ सिकायो । सामग्री विज्ञान, विशेषगरी फ््याक्चर मेकानिक्स र धातुको तापक्रम–व्यवहार सम्बन्धी अध्ययन, यसपछि तीव्र रूपमा विकसित भयो । साथै, वेल्डिङ डिजाइन, गुणस्तर नियन्त्रण र परीक्षण विधिहरूमा व्यापक सुधार गरियो । विफलताबाट सिकिएको यो पाठले वेल्डिङलाई अझ सुरक्षित र विश्वसनीय बनायो, जसले भविष्यका बिशाल संरचनाहरूको विकासमा निर्णायक भूमिका खेलेको छ ।

वेल्डिङलाई कलात्मक आधार बनाउने प्रसिद्ध कलाकारहरू


आधुनिक कला संसारमा डेभिड स्मिथ, रिचर्ड सेरा, जुलियो गोन्जालेज, एन्थोनी कारो, इसामु नोगुचीजस्ता कलाकारहरूले वेल्डिङलाई आफ्नो सिर्जनात्मक अभिव्यक्तिको मुख्य माध्यमका रूपमा प्रयोग गरेको पाइन्छ । यी कलाकारहरूले स्टिल प्लेट, फलामका रड, स्क्र्याप धातु र औद्योगिक सामग्रीहरूलाई वेल्ड गरेर विशाल मूर्तिकला, अमूर्त संरचना र सार्वजनिक कला स्थापना निर्माण गरेका छन् । डेभिड स्मिथ वेल्डिङ इलेक्ट्रोडलाई चित्रकलाको ब्रस जस्तै प्रयोग गर्थे । रिचर्ड सेराले विशाल स्टिल प्लेटहरूलाई वेल्ड गरेर बनाएका स्मारकहरू केवल हेर्नका लागि मात्र होइन, भित्र हिँडेर अनुभव गर्न सकिन्छ ।

नेपालमा परम्परागत धातुबाट मूर्ति कास्टिङ गर्नेबाहेक धातुमा काम गर्ने कलाकारहरूको संख्या सीमित छ । कलाकार विशाल सारु मगर धातुमा काम गर्न मन लागे पनि धेरै खर्चिलो भएको कारण ढुंगा, काठ, मिश्रितजस्ता माध्यममा काम गर्ने धारण व्यक्त गर्छन् । काठमाडौँ विश्वविद्यालयको परिसरमा समेत कलाकार भुवन थापाले वेल्डिङ प्रविधि प्रयोग गरेर बनाएका धेरै कलाकृतिहरू देख्न सकिन्छ । कलाकार लालकाजी लामा र अगम श्रेष्ठले पनि वेल्डिङ प्रयोग गरेर फलामसँग सम्बन्धित अमूर्त मूर्तिकलाहरू बनाइरहेका छन् । नेपाल ललितकला प्रतिष्ठानका पूर्वउपकुलपति लालकाजी लामाले इन्जिनियरहरूलाई कलाकारसँग मिलेर काम गर्न प्रस्ताव गरेका थिए किनभने इन्जिनियरहरूलाई धातुका गुणहरू बारे बढी थाहा हुन्छ र उनीहरूलाई उत्पादन प्रक्रियाको पनि ज्ञान हुन्छ । आजकल हाम्रो अभियान कलाकार र इन्जिनियरहरूबीच सेतु बन्नु भएको छ । धातु र वेल्डिङ कलाको क्षेत्रमा कलाकारहरूको सीमितताका कारण, हामी यी क्षेत्रमा नयाँ कलाकारहरूका लागि अवसर देखिराखेका छौँ ।

स्क्र्याप मेटल कला र अपसाइक्लिङ आन्दोलन : कबाडीबाट सौन्दर्यसम्म

वेल्डिङले केवल नयाँ संरचना निर्माण गर्ने सारथीको रूपमा मात्र सीमित भूमिका खेल्दैन, यसले फालिएका र ‘अनुपयोगी’ ठानिएका धातुहरूलाई पुनः अर्थ दिने बस्तुको रूपमा नवजीवन दिनेछ । ‘अपसाइक्लिङ’ भन्ने अवधारणाले स्क््याप सामग्रीलाई फेरि प्रयोग मात्र गर्ने होइन, त्यसलाई अझ उच्च मूल्य र सौन्दर्य भएको वस्तुमा रूपान्तरण गर्ने अभियानलाई जनाउँछ । यस सन्दर्भमा स्क््याप मेटल कला एउटा यस्तो क्षेत्र हो जहाँ इन्जिनियरिङ, शिल्पकला र भावनात्मक अभिव्यक्ति एकै ठाउँमा मिसिन्छन् ।

पुराना गाडीका पुर्जाहरू, बिग्रिएका मेसिनका गियरहरू, फलामका पाइप, चेन, नट–बोल्ट आदिजस्ता औद्योगिक फोहोर, यी सबै सामान्यतया कबाड मानिने वस्तुहरू हुन् । तर कलाकारको दृष्टिमा यी ‘कच्चा सामग्री’ हुन् । उदाहरणका लागि, पुराना चेन र स्प्रोकेटहरू प्रयोग गरेर जनावरका आकृतिहरू बनाइन्छ, गाडीका पिस्टन र क्र्यांकशाफ्टहरू प्रयोग गरेर मानव आकृतिका मूर्तिहरू बनाइन्छन्, र पुराना औजारहरूलाई जोडेर अमूर्त कला सिर्जना गरिन्छ । विश्वका धेरै सहरहरूमा स्क््याप मेटलबाट बनेका विशाल सार्वजनिक मूर्तिहरू राखिएका छन्, जसले केवल सौन्दर्य मात्र होइन, दिगोपनको सन्देश पनि दिन्छन् ।

स्क्र्याप मेटल कलामा प्रायः कलाकारले पहिले एउटा अवधारणा वा आकृति मनमा बनाउँछ, त्यसपछि त्यससँग मिल्ने धातुका टुक्राहरू खोज्छ । कहिलेकाहीँ प्रक्रिया उल्टो पनि हुन्छ – उपलब्ध स्क्र्यापलाई हेरेर नै कलाकारले त्यसमा सम्भावित आकृति ‘देख्छ’ र त्यसलाई मूर्त रूप दिन थाल्छ । त्यसपछि धातुहरूलाई काट्ने, घोट्ने, आकार मिलाउने र अन्ततः वेल्डिङ गरेर जोड्ने काम गरिन्छ । वेल्डिङ यहाँ केवल प्राविधिक प्रक्रिया मात्र होइन, यो एउटा ‘रेखाचित्र बनाउने’ जस्तै हो जहाँ कलाकारले धातुका टुक्राहरूलाई जोड्दै आफ्नो कल्पनालाई त्रि–आयामिक रूप दिन्छ । स्क्र्याप मेटलका मूर्तिलाई सामान्यतया फिनिसिङ नगरी कच्चा बनावटमै राख्नाले कलाकृतिलाई फरक पहिचान दिन्छ । धातुमा रंग प्रयोग गर्ने भन्दा प्राकृतिक खियाको सतह नै कलाको भागको रूपमा राख्ने गरिन्छ, जसले समय र प्रकृतिको प्रभावको प्रतिनिधित्व गर्छ ।
स्क्र्याप मेटल कला दिगोपनको दृष्टिले पनि अत्यन्त महत्वपूर्ण छ ।

विश्वभर बढ्दो औद्योगिक फोहोर र वातावरणीय समस्यालाई कला अभ्यासले पुनः परिभाषित गरेको छ । यसले ‘फोहोर’ भन्ने अवधारणा सापेक्षिक हो – सही दृष्टि र सीप भएमा त्यही वस्तु सौन्दर्य, अर्थ र मूल्यले भरिएको कलाकृतिमा रूपान्तरण हुन सक्छ । स्क्र्याप मेटललाई कलाकृतिमा रूपान्तरण गर्नाले भट्टीमा पगालेर पुनः प्रयोगको तुलनामा वायुमण्डलमा कार्बनडाइअक्साइड उत्सर्जन कम हुन्छ ।

यसरी स्क्र्याप मेटल कला केवल एउटा कलात्मक अभ्यास मात्र होइन, यो एउटा दर्शन पनि हो जहाँ परित्यक्त वस्तुहरूलाई पुनःजीवन दिइन्छ, र जहाँ वेल्डिङ केवल जोड्ने प्रविधि नभई सिर्जनाको भाषा र प्राण बन्छ ।

हिजो वेल्डिङ अत्यन्तै विशिष्ट र विषेश पेसा थियो, तर वेल्डिङ प्रविधि र उपकरणहरूको विकाससँगै, अब वेल्डिङलाई प्रत्येक घरपरिवार र प्राविधिकहरूले हाते औजारको रूपमा प्रयोग गर्न सक्नुपर्छ । यसले हाम्रो वरपरको प्रत्येक फलामको टुक्राको उत्तम प्रयोग सुनिश्चित गर्दछ र हामीलाई अहिलेको तीव्र रफ्तारको औद्योगिक संसारको दौडमा सक्षम राख्नेछ । चाहे त्यो अन्तरिक्ष प्रविधि होस्, चिकित्सा प्रविधि वा सूचना प्रविधि, हामीलाई थाहा हुँदैन कि संसारमा अर्को विकास के हुँदै छ र त्यसमा वेल्डिङ कसरी प्रयोग गरिनेछ ।

प्रतिक्रिया