
काठमाडौं । प्रहरीले काठमाडौंको गोंगबुस्थित मित्रनगरमा रहेको माउन्टेन एक्सेल्सिभा होटलको कोठाभित्र एक महिला मृत अवस्थामा फेला परेको घटनामा संलग्न रहेको अभियोगमा दुई जना युवकलाई पक्राउ गरेको छ ।
गएको साउन ३ गते बिहान करिब ११ बजे होटलको चौथो तलास्थित ४०४ नम्बर कोठाको काठको बक्स पलङभित्र महिलाको शव रहेको सूचना पाएलगत्तै जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले गरेको प्राविधिक विश्लेषण र प्रारम्भिक अनुसन्धानका आधारमा मृतक महिला कैलालीको धनगढी उपमहानगरपालिका–०७ स्थायी घर भई हाल काठमाडौंको माछापोखरी बस्ने २५ वर्षीया निशा सुनार रहेको खुलेको छ ।
घटनापछि फरार रहेका शंकास्पद व्यक्तिहरूको खोजतलास गर्ने क्रममा प्रहरीले दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ स्थायी घर भई हाल चक्रपथ बस्ने २७ वर्षीय रमेश बुढा र जुम्लाको चन्दननाथ नगरपालिका–०२ घर भई काठमाडौं बस्दै आएका ३८ वर्षीय दान बहादुर शाहीलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया