उमेरलाई चुनौती दिँदै रोनाल्डो–मेसीदेखि माड्रिच र रिमसम्म

विश्वकपमा इतिहास रच्ने लक्ष्यसहित मैदानमा अनुभवी खेलाडीहरू,

काठमाडौँ । फुटबल खेलाडीहरूको करियर सामान्यतया ३० वर्षको आसपास उत्कर्षमा पुग्छ र त्यसपछि उनीहरूको शारीरिक क्षमता क्रमशः घट्न थाल्छ भन्ने मान्यता लामो समयदेखि रहँदै आएको छ । तर आधुनिक खेल विज्ञान, अनुशासित जीवनशैली र अदम्य इच्छाशक्तिको सहायताले केही खेलाडीहरूले यस मान्यतालाई चुनौती दिइरहेका छन् । आगामी सन् २०२६ मा उत्तर अमेरिकामा आयोजना हुने फिफा विश्वकपमा यस्ता धेरै अनुभवी खेलाडीहरू सहभागी हुने अपेक्षा गरिएको छ, जसले उमेरको सीमालाई पार गर्दै नयाँ इतिहास रच्ने प्रयास गरिरहेका छन् ।

अमेरिकी राष्ट्रिय टोलीका डिफेन्डर टिम रिम यसका एक प्रमुख उदाहरण हुन् । कतारमा सन् २०२२ मा सम्पन्न विश्वकपमा ३५ वर्षको उमेरमा सहभागी भएका रिमले त्यसपछि अर्को विश्वकप खेल्ने सम्भावना निकै कम रहेको सोचेका थिए । तर उनले आफूलाई शारीरिक र मानसिक रूपमा अझै सक्षम बनाउने प्रयास जारी राखे । रिमका अनुसार उनी सधैँ आफ्ना सीमाहरूलाई चुनौती दिन चाहन्थे । उनी भन्छन्, ‘मेरा लागि यो आफ्नै क्षमताको सीमा परीक्षण गर्ने यात्रा हो । म कति टाढासम्म जान सक्छु भन्ने कुरा प्रमाणित गर्न चाहान्छु ।’

हाल ३८ वर्ष पुगेका रिमलाई हालै आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अमेरिकी टोलीको कप्तान नियुक्त गरिएको छ । यससँगै उनी अमेरिकी विश्वकप टोलीका इतिहासकै सबैभन्दा पाका आउटफिल्ड खेलाडी बनेका छन् । घरेलु भूमिमा हुने विश्वकपमा कप्तानी गर्ने अवसरलाई उनले आफ्नो जीवनको सबैभन्दा ठुलो सम्मानमध्ये एक बताएका छन् । रिम मात्र होइनन्, आगामी विश्वकपमा विश्व फुटबलका अन्य चर्चित अनुभवी खेलाडीहरू पनि सहभागी हुने सम्भावना छ । पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो ४१ वर्षको उमेरमा पनि सक्रिय छन् । यस्तै क्रोएसियाका लुका मोड्रिच र बोस्निया एन्ड हर्जगोभिनाका एडिन जेको ४० वर्षका छन् भने जापानका युटो नागाटोमो ३९ वर्ष पुगेका छन् । अर्जेन्टिनाका लियोनल मेस्सी पनि चाँडै ३९ वर्षका हुनेछन् ।

विशेषज्ञहरूका अनुसार आधुनिक खेल विज्ञानले खेलाडीहरूको करियर लम्ब्याउन महत्वपूर्ण भूमिका खेलेको छ । विगतमा खेलपछिको आराम भन्नाले केही समय विश्राम गर्ने वा साथीहरूसँग समय बिताउने बुझिन्थ्यो । तर अहिले खेलाडीहरू अत्याधुनिक उपचार र पुनःस्थापना प्रक्रियाको प्रयोग गरिरहेका छन् । लिम्फेटिक ड्रेनेज, क्रायोथेरापी, रेड–लाइट थेरापी, विशेष फिटनेस कार्यक्रम तथा पोषण व्यवस्थापन जस्ता प्रविधिहरू खेलाडीहरूको दैनिक जीवनको हिस्सा बनेका छन् । यसका अतिरिक्त, शरीरका विभिन्न जैविक संकेतहरू मापन गर्ने आधुनिक उपकरणहरू पनि व्यापक रूपमा प्रयोग भइरहेका छन् । हृदयगतिको भिन्नता, मांसपेशीमा अक्सिजनको मात्रा, हार्मोनको उतारचढाव तथा शरीरमा हुने सूजनसम्बन्धी तथ्यांकहरू नियमित रूपमा संकलन गरिन्छ ।

यी तथ्यांकहरूले खेलाडीको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी दिन्छन् र प्रशिक्षण कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पु¥याउँछन् । तर विशेषज्ञहरू भन्छन् कि खेल विज्ञान मात्र सफलता र दीर्घायुको आधार होइन । क्रोएसियाको जाग्रेब विश्वविद्यालयका किनेसियोलोजी प्राध्यापक भ्लाट्को भुसेटिचका अनुसार खेलाडीको लामो करियरका लागि धेरै पक्षहरू मिलेर काम गर्नुपर्छ । उनले क्रोएसियाली स्टार लुका मोड्रिचसँग दशकभन्दा बढी समयदेखि व्यक्तिगत प्रशिक्षकको रूपमा काम गरिरहेका छन् । उनका अनुसार स्वस्थ जीवनशैली, राम्रो शारीरिक बनावट, मोटर सीप, नयाँ कुरा सिक्ने क्षमता, ऊर्जा उत्पादन गर्ने शारीरिक क्षमता, मानसिक बल, बुद्धिमत्ता तथा आर्थिक–सामाजिक स्थिरता गरी ८ महत्वपूर्ण पक्षहरूले खेलाडीको दीर्घकालीन सफलतामा प्रभाव पार्छन् ।

भुसेटिचका अनुसार उमेर बढ्दै जाँदा खेलाडीहरूलाई प्रेरणा कायम राख्नु सबैभन्दा कठिन पक्षमध्ये एक हो । किनभने उमेरसँगै शरीरको पुनःस्थापना प्रक्रिया सुस्त बन्छ, चोट लाग्ने सम्भावना बढ्छ र उत्कृष्ट प्रदर्शनका लागि थप मिहिनेत गर्नुपर्छ । धेरै खेलाडी ३० देखि ३५ वर्षको उमेरपछि यही कारण खेलबाट टाढा हुन थाल्छन् । उनका अनुसार मोड्रिच अझै सक्रिय रहनुको प्रमुख कारण पैसा होइन, बरु आफूलाई निरन्तर उत्कृष्ट बनाउने चाहना र फुटबलप्रतिको प्रेम हो । ‘उनी अझै बालबालिकाले बालुवामा खेल्ने उत्साहका साथ फुटबल खेल्न चाहन्छन्,’ भुसेटिच भन्छन् । फुटबल प्रदर्शनसम्बन्धी विशेषज्ञ बेन रोजेनब्लाटले पनि पछिल्ला २ दशकमा खेल विज्ञान र स्वास्थ्य संस्कृतिमा आएको सुधारले खेलाडीहरूको करियर लम्ब्याउन ठुलो योगदान दिएको बताउँछन् ।

उनका अनुसार अहिले प्रशिक्षण तालिका वैज्ञानिक आधारमा तयार गरिन्छ जसले चोटको जोखिम घटाउनुका साथै प्रदर्शनमा सुधार ल्याउँछ । रोजेनब्लाटका अनुसार करियर लामो बनाउन कुनै चमत्कारी उपाय छैन । नियमित प्रशिक्षण, पर्याप्त निद्रा, सन्तुलित आहार, पर्याप्त पानी सेवन र प्रभावकारी पुनःस्थापना प्रक्रिया नै यसको मुख्य आधार हुन् । उनी भन्छन्, ‘धेरैजसो समय सफलताको रहस्य साधारण तर नियमित अभ्यासमा लुकेको हुन्छ ।’ टिम रिमले पनि उमेरसँगै खेल्न अझ कठिन हुँदै गएको स्वीकार गर्छन् । उनले पिलाटेस, रेड–लाइट थेरापी तथा पर्याप्त निद्राले आफ्नो प्रदर्शन कायम राख्न मद्दत गरेको बताए । उनका अनुसार सबैभन्दा ठुलो चुनौती भनेको परिवारबाट लामो समय टाढा बस्नुपर्ने अवस्था हो ।

यद्यपि, उनी आफ्ना ३ सन्तानका लागि प्रेरणादायी उदाहरण बन्न चाहन्छन् । ‘म उनीहरूलाई लक्ष्य निर्धारण गर्ने, संघर्ष गर्ने, हार नमान्ने र नेतृत्व क्षमता विकास गर्ने सन्देश दिन चाहन्छु,’ उनले भने । खेलाडीहरूको दीर्घायुमा सम्बन्ध र वातावरणको पनि ठुलो भूमिका रहेको अध्ययनहरूले देखाएका छन् । इंग्लिस प्रिमियर लिग क्लब ब्रेन्टफोर्डका प्रशिक्षक प्याडी होगबेनका अनुसार अनुभवी खेलाडीहरू सफल हुनका लागि क्लबभित्रको सहयोगी वातावरण, नेतृत्व क्षमता तथा सकारात्मक सम्बन्ध अत्यन्त आवश्यक हुन्छ । उनका अनुसार युवा खेलाडीको बजार मूल्य प्रायः बढी हुने भएकाले क्लबहरू कहिलेकाहीँ अनुभवी खेलाडीलाई प्राथमिकता दिन हिच्किचाउँछन् । तर नेतृत्व क्षमता, भावनात्मक परिपक्वता र टोलीलाई मार्गदर्शन गर्ने गुण भएका खेलाडीहरू अझै पनि टोलीका लागि महत्वपूर्ण सावित हुन्छन् ।

होगबेनका अनुसार सफल खेलाडीहरूमा आत्मविश्वास र सिक्ने चाहनाबीच सन्तुलन हुनु आवश्यक छ । ‘आफू उत्कृष्ट छु भन्ने विश्वास राख्दै पनि निरन्तर सिक्ने मानसिकता कायम राख्न सक्ने खेलाडीहरू नै लामो समयसम्म सफल हुन्छन्,’ उनले भने । उमेर बढ्दै जाँदा खेलाडीहरूले आफ्नो खेल शैली पनि परिवर्तन गर्छन् । पहिलेको जस्तो तीव्र गति कायम राख्न नसके पनि उनीहरू अनुभव, रणनीतिक सोच र खेल पढ्ने क्षमताको प्रयोग गरेर प्रभावकारी बन्छन् । टिम रिमका अनुसार अहिले उनी खेलको विकासक्रमलाई छिटो बुझ्न र मैदानमा सही निर्णय लिन सक्षम भएका छन् । विशेषज्ञहरूका अनुसार भविष्यमा उपलब्ध विशाल तथ्यांकहरूलाई एकीकृत गरी खेलाडीको सम्पूर्ण अवस्थाको विश्लेषण गर्ने प्रणाली विकास भएमा खेलाडीहरूको करियर अझ लम्बिन सक्छ । यसले प्रशिक्षक तथा क्लब व्यवस्थापनलाई खेलाडीको वास्तविक क्षमता र आवश्यक सुधारका क्षेत्रबारे स्पष्ट जानकारी दिनेछ ।

टिम रिमका अनुसार सफल र दीर्घकालीन करियरका लागि सुरुआती चरणमै सही बानी बसाल्नु अत्यन्त आवश्यक हुन्छ । ‘मैले धेरै खेलाडीहरूलाई करियरको अन्तिम समयमा आएर मात्र अनुशासित दिनचर्या अपनाउन खोजेको देखेको छु, तर त्यतिबेला धेरै ढिलो भइसकेको हुन्छ,’ उनले भने । विश्वकप २०२६ मा रोनाल्डो, मेसी, मोड्रिच, रिमजस्ता अनुभवी खेलाडीहरूको सम्भावित सहभागिताले फुटबल जगतमा नयाँ उत्साह थपेको छ । उनीहरू केवल खेलाडी मात्र होइनन्, उमेरलाई चुनौती दिने दृढ इच्छाशक्ति, अनुशासन र समर्पणका प्रतीक बनेका छन् । ( एजेन्सीको सहयोगमा)

प्रतिक्रिया