
काठमाडौँ । लेखक तथा साहित्यकार खुसीराम डौलियाद्वारा लिखित २० कृतिको एकैपटक विमोचन गरिएको छ । मस्र्याङ्दी वाङमय प्रतिष्ठानले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्राध्यापनसँगै साहित्य क्षेत्रमा लागेका सुन्दरबजार नगरपालिका–९ फेदीकुना, लमजुङका डौलियाका विभिन्न विधाका २० कृति एकैपटक विमोचन गरिएको हो । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा डौलियाका १८ र डौलिया प्रकाशक रहेको अनन्तविजय डौलिया र विष्णु गुरुङ (प्यासी) का १–१ कृति गरी कुल २० वटा पुस्तक एकैसाथ सार्वजनिक गरिएको हो ।
विमोचन गरिएका कृतिमा कविता, कथा, नियात्रा, उपन्यास र जीवनीलगायत रहेका छन् । साहित्यकार डौलियाका विमोचन गरिएका कृतिमा सुगन्ध (कथा संग्रह), हलेसीदेखि मुक्तिनाथ (यात्रा संस्मरण), बाध्यता (सामाजिक उपन्यास), बस्तीभित्रका हस्तीहरू (संक्षिप्त जीवनी), पर्खालभित्र (कविता संग्रह), अन्तरमनका आवाज÷धुन (कविता संग्रह), जीवनको परिभाषा (कविता संग्रह) छन् । यस्तै, अन्त्यहीन यात्रा, प्रशान्तका छाल, अन्तिम संकल्प, बाटो भुलेको यात्री, मौन आकाश, अस्तित्व, उज्यालोको खोजी, रित्तो सहर, उपहार, सम्बन्ध र जलेको मन (कविता संग्रह) रहेका छन् । अनन्तविजय डौलियाको बालसाहित्य दोस्ती र विष्णु गुरुङ (प्यासी)को कवितासंग्रह वनपाखाका फूल रहेका छन् ।
उक्त कृतिको संयुक्त राष्ट्रसंघका पूर्वराजदूत प्राडा जयराज आचार्य, प्राडा विद्यानाथ कोइराला, प्राडा भागवत ढकाल, प्राडा भागेश्वरी पंगेनी र मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेलगायतले विमोचन गरे । कार्यक्रममा संयुक्त राष्ट्रस.घका पूर्वराजदूत प्राडा आचार्यले गण्डक क्षेत्र साहित्य र लोकसंस्कृतिको धनी भएको बताए । उनले मस्र्याङ्दी नदी जस्तै साहित्यकार डौलियाका कृति बहेको भन्दै खुसी व्यक्त गरे । नेपाली साहित्यको इतिहासमा यति धेरै कृति एकैपटक सार्वजनिक हुनु आफैँमा एउटा महŒवपूर्ण उपलब्धि भएको उनको भनाइ छ ।
साहित्यकार डौलियाको यसअघि प्रतिक्षा (लघुउपन्यास), समयका छाल (कविता संग्रह), मातृभूमि (कवितासंग्रह), समयको बेग (कविता संग्रह), समयको आवाज (कविता संग्रह), समुन्द्रपारी (यात्रा संस्करण), सुखद मिलन (उपन्यास), डौलिया वंशावली र सीमित आकाश (कविता संग्रह) प्रकाशन भइसकेका छन् । डौलियाले २०७१ मा ३ वटा र २०८१ मा ६ वटा कृति प्रकाशनमा ल्याएका थिए । सोमबार विमोचन भएका कृतिसहित साहित्यकार डौलियाको कृतिको संख्या २९ पुगेको छ ।
प्रतिक्रिया