पण्डित पन्तको गुनासो : दलित बस्तीमा कर्मकाण्ड गर्दा ५७५ यजमान छुटे

बैतडी । बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका पण्डित गणेशप्रसाद पन्तले दलित बस्तीमा कर्मकाण्ड गर्दा गैरदलित समुदायका पुर्ख्यौली यजमान छुटेको बताएका छन् । २७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्ड गर्दै आएका पन्तले दलित बस्तीमा कर्मकाण्ड गर्न सुरु गरेपछि बुवा बाजेका पालादेखिका गैरदलित समुदायका पुर्ख्यौली ५७५ यजमान छुटेको बताएका हुन् ।

सांस्कृतिक कुरीति हटाउने अभियान सुरु गर्दा सामाजिक सञ्जालमार्फत आफूमाथि तुच्छ गालीगलौजसमेत हुँदै आएको उनले सुनाए । उनले भने, ‘मलाई सामाजिक सञ्जालमार्फत तुच्छ गाली गरेपनि, म आफ्नो धर्म र कर्मबाट विचलित भएको छैन ।’

प्रत्येक हिन्दुको घर–घरमा वेद, पुराण, शालिग्राम, तुलसीको मठ, शङ्ख–घण्ट र पाञ्चायन देवता स्थापना गराउने योजना रहेको उनले सुनाए । उनले भने, ‘धर्म शास्त्रका आधारमा महिला र पुरुष दुई मात्र जात हुन्छन, अन्य जात हुँदैन । मनुस्मृति आदी विभेदकारी ग्रन्थहरू संशोधन हुनुपर्छ ।’ सबै धार्मिक क्षेत्रहरूमा सबैका लागि समावेशी पूजा–पाठ हुनुपर्ने उनको माग छ ।

बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका पण्डित पन्तले वैदिक विधिबाट दलित बस्तीमा सप्ताह, व्रतबन्ध, विवाह, न्वारन, वास्तुपूजा, गृहप्रवेशलगायत एक सयभन्दा बढी धार्मिक कर्मकाण्ड गरेर सांस्कृतिक कुरीति हटाउने अभियान थालेको बताएका छन् ।

कानुनले समेत अपराध मानेका कुरा धार्मिक अगुवाले हटाउनुपर्नेमा उनको जोड छ । ‘सुदूरपश्चिममा अहिले पनि ब्राह्मणले दलित बस्तीमा गएर न्वारन, विवाह, व्रतबन्ध गर्दैनन् । त्यति मात्र होइन, चिहान घाटमा समेत जातीय विभेद हुने गरेकाले यस्ता कुरीति हटाउने अभियानमा म आफैँ लागेको हुँ । दलितको घरमा धार्मिक कार्य गर्दै भोजन ग्रहणसमेत गर्दै आइरहेको छु ।उनले भने, ‘दलितहरू मा समेत विभेद रहेको छ । त्यो मलाई मन पर्दैन, यो गलत हो । हटाउनुपर्छ। एक दलित समुदायले अर्को दलित समुदायले पानी–भान्सा नचल्ने गरेको मैले देखेको छु ।’

दलित बस्तीमा धार्मिक कुरीति हटाउन पन्तले अहिलेसम्म ३७ वटा सप्ताह, २३ वटा शिवपुराण, २८७ वटा लघुरुद्राभिषेक १८१ महारुद्राभिषेक, न्वारन, व्रतबन्ध, विवाह, ६७५ सत्यनारायण पूजन, ५८३ ग्रह शान्ति, २९ शतचण्डी, ५५ अखण्ड रामायण लगायतका ४ सय एघार ४११ भन्दा बढी कर्मकाण्ड गरिसकेको बताए ।

जिल्लाको प्रसिद्ध श्री वनारसीधाम विश्व नाथ ज्योतिर्लिङ्गका मूल पुजारीसमेत रहेका राजज्योतिषी पण्डित पन्तले यसअघि सांस्कृतिक कुरीति हटाउन आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायका व्यक्तिलाई जनैधारण गराइसकेको र २९९ दलित महिला लाई दुधागो दोरक धारण गरेको बताए ।

आचार्य कृष्ण दमाईँले पशुपति कोटिहोमको व्यासबाट प्रवचनसमेत दिएका थिए । धर्मग्रन्थमा दलित, महिला कसैलाई पनि जातीय र लैङ्गिक हिसाबले विभेद नगरिएको बताउँदै ज्योतिषी पन्तले समाजमा कायम रहेको छाउपडी प्रथा र जातीय विभेद हटाउन धार्मिक अगुवा तयार हुनुपर्ने बताउदै आएका छन् ।

सन्ध्या पूजा गर्दा अहिले पनि अथर्ववेदको उच्चारण गरेर यो दलितको वेद हो, भन्दै भुइँमा पानी खसाल्ने गलत परम्परा रहेको उनको भनाइ छ । अथर्ववेदकै ज्ञानले मोबाइल, रेडियो, टिभी, गाडी र हवाईजहाज बनेको उनको दाबी छ । ‘हामी सबै त्यसको उपभोग गरिरहेका छौँ। तर, त्यही वस्तु निर्माण गर्ने शिल्पकारमाथि विभेद भइरहेका यस्ता कुरीति हटाउनुपर्ने पर्छ,’ उनले भने ।

प्रतिक्रिया