
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रतिपक्षी दलहरुले अवरोध गरेपछि स्थगित भएको छ । बैठक सुरु भएसँगै प्रतिपक्षी दलहरुले गत जेठ १९ गते आइतबार प्रधानमन्त्री वालेन शाहले भारतको जमिन नेपालले पनि मिचेको छ भन्दै अभिव्यक्ति दिएपछि प्रतिपक्षी दलहरुले प्रतिनिधिसभाको बैठक अवरोध कायमै राखेका हुन् ।
आज सुरु भएको बैठकमा पनि प्रतिपक्षी दलका सबै सांसदहरू उठेर विरोध गरिरहेपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि स्थगित गरेका हुन् । आजै बसेको सर्वदलीय बैठकमा पनि यसबारे छलफल भएको थियो । बैठकमा सत्ता र विपक्षी दलहरूबीच सहमित जुट्न सकेन ।
बैठकमा सत्तारुढ दलका नेताहरूले भारत भ्रमण र सीमा विवाद लगायतका विषयमा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले बोल्ने प्रस्ताव राखेका थिए । यद्यपि विपक्षी दलहरूले उक्त प्रस्ताव अस्वीकार गरे ।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले नै उक्त विषयमा संसद् बैठकमा पुगेर जवाफ दिनुपर्ने माग राखेका छन् । प्रतिपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) श्रम संस्कृति पार्टीलगायतले धेरै दिनदेखि प्रधामन्त्री वालेन शाहको अभिव्यक्तिप्रति विरोद्ध गर्दै आइरहेका छन् ।
आज प्रतिनिधिसभाको बैठक सुरु हुने वितिक्कै प्रतिपक्षी दलका सांसदहरुले आ–आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए । उनीहरूले प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया