प्रतिपक्षी दलहरुको अवरोधले प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिपक्षी दलहरुले अवरोद्ध गरेपछि आजको प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर भोलि मंगलबारसम्मका लागि स्थगित भएको छ ।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले आज सोमबार सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक विशेष कारणले स्थगित भएको जनाएका हुन् । प्रतिनिधि सभाको अर्को बैठक जेठ २६ गते मंगलबार दिउँसो १ बजे बस्ने भएको छ ।

महासचिव पाण्डेयले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सम्मानीय सभामुखले सभाको बैठक मिति २०८३ जेठ २६ गते मंगलबार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नु भएको बेहोरो माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

आज सोमबार प्रतिनिधिसभाको बैठक सुरु हुने बितिक्कै प्रतिपक्षी दलका सांसदहरुले आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए । उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाहले सीमाको विषयमा दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभामा सांसदसँगको प्रश्नोत्तर कार्यक्रमका क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएका थिए । त्यसलाई लिएर विपक्षी दलले संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।

प्रतिपक्षीले विरोध जारी राखेपछि सभामुख डोलप्रसाद अर्यालले सोमबार दिउँसो १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका थिए । त्यसपछि बैठक बस्ने सकेन । संघीय संसद्का महासचिव पाण्डेयले सूचना टाँस गरेर संसद् बैठक मंगलबारसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन् ।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले नै उक्त विषयमा संसद् बैठकमा पुगेर जवाफ दिनुपर्ने माग राखेका छन् । प्रतिपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) श्रम संस्कृति पार्टीलगायतले धेरै दिनदेखि प्रधामन्त्री वालेन शाहको अभिव्यक्तिप्रति विरोद्ध गर्दै आइरहेका छन् ।

आज प्रतिनिधिसभाको बैठक सुरु हुने वितिक्कै प्रतिपक्षी दलका सांसदहरुले आ–आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए ।

प्रतिक्रिया