योगको क्षेत्रमा महर्षि पतञ्जलिद्वारा रचित ‘पतञ्जलि योगसूत्र’ एक ऐतिहासिक कोसेढुंगा सावित भएको छ । यस ग्रन्थमा वर्णित अष्टांग योग, सिद्धि, ध्यान र क्रियायोगलाई साधनाका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ ।

नेपाल योगको उत्पत्ति भएको र योग साधनाको विकास भएको पवित्र भूमि अर्थात् गुरु देश हो । आज विश्वव्यापी रूपमा अभ्यास गरिने योग दर्शन र पद्धतिको उद्गमस्थल नेपाल नै हो । पूर्वीय दर्शनका प्रमुख हाँगाहरू, जस्तै – योग दर्शन, सांख्य दर्शन, वेदान्त दर्शन, वैशेषिक दर्शन र पाशुपत दर्शन आदिको विकास यही भूमिमा भएको हो ।
हिमवत्खण्डको यस पावन भूमिमा सभ्यताको विकाससँगै योगको सुरुआत भएको मानिन्छ । योगका प्रवर्तक आदियोगी शिव हुन्, जसले यही हिमालय क्षेत्रमा तपस्या गरेका थिए । उनले योग र ध्यानका अत्यन्तै महत्वपूर्ण ११२ वटा विधिहरू समेटिएको ‘विज्ञान भैरव तन्त्र’ प्रतिपादन गरे । भगवान् शिवले आफ्नी प्रथम शिष्याका रूपमा माता पार्वतीलाई योग र ध्यानका यी गूढ रहस्यहरू सिकाउँदै यस ज्ञानलाई संसारमा भित्र्याएका थिए ।
नेपालमा शिवलाई मुख्य देवताका रूपमा पूजा गरिन्छ र यहाँ उहाँका हजारौँ प्राचीन मन्दिरहरू रहेका छन् । योगको क्षेत्रमा महर्षि पतञ्जलिद्वारा रचित ‘पतञ्जलि योगसूत्र’ एक ऐतिहासिक कोसेढुंगा सावित भएको छ । यस ग्रन्थमा वर्णित अष्टांग योग, सिद्धि, ध्यान र क्रियायोगलाई साधनाका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ । नेपालको अर्घाखाँची जिल्लामा जन्मिएका महर्षि पतञ्जलिलाई योग क्षेत्रको पिता (जनक) का रूपमा सम्मान गरिन्छ ।
अर्कोतर्फ, मिथिला राज्यको राजधानी जनकपुरमा ऋषि अष्टावक्र र राजा जनकबीच भएको दार्शनिक वार्तालापबाट ‘अष्टावक्र गीता’ (महागीता) को जन्म भएको थियो । यसैगरी, हठयोगका प्रणेता मानिने गुरु गोरखनाथको उद्गम भूमि पनि नेपाल नै हो । भाषागत आधारमा हेर्ने हो भने, ‘योगगुरु देश’ नेपालको नामकरण पनि संस्कृत भाषासँग जोडिएको विद्वानहरूको तर्क छ । उनीहरूका अनुसार संस्कृतको ‘नेप’ शब्दमा ‘आलय’ प्रत्यय जोडिएर ‘नेपाल’ शब्द बनेको हो, जसको अर्थ पहाडको फेदी वा सुरक्षित स्थान भन्ने बुझिन्छ ।
संस्कृत भाषामा नेपाललाई ‘नेपाल’ वा ‘नयपाल’ भनिन्छ । यस अनुसार न्यायद्वारा पालन गरिएको देश भएकाले यसको नाम ‘नयपाल’ वा ‘नेपाल’ रहन गएको मानिन्छ । नेपाल नामको व्युत्पत्तिबारे विभिन्न रैथाने तथा छिमेकी भाषाहरूमा फरक–फरक रोचक तर्कहरू पाइन्छन् । किराँती र नेवारी भाषामा ‘ने’ को अर्थ मध्य र ‘पा’ को अर्थ देश वा भूमि हुन्छ । यसरी देशको ‘मध्य पहाडी भागमा अवस्थित देश’ भएकाले यसलाई नेपाल भनिएको मानिन्छ ।
तिब्बती भाषामा ‘ने’ को अर्थ घर र ‘पाल’ को अर्थ ऊन हुन्छ । प्राचीन समयमा यहाँ प्रशस्त भेडापालन गरिने र ऊनको उत्पादन हुने भएकाले यसलाई ‘ऊनको घर’ अर्थात् नेपाल भनिएको तर्क छ । लिम्बु भाषामा काठमाडौँ उपत्यकाको समथर भूमिलाई आधार मानेर ‘नेपाल’ नामकरण भएको विश्वास गरिन्छ । लेप्चा भाषामा ‘ने’ को अर्थ पवित्र र ‘पाल’ को अर्थ गुफा हुन्छ । यसरी ‘पवित्र गुफाको देश’ भन्ने अर्थमा नेपाल नाम रहन गएको हो ।
पौराणिक र वंशावलीगत आधार
नेपालको प्राचीन इतिहास बुझ्न पुराण र वंशावलीहरूलाई महत्वपूर्ण सहायक सामग्रीका रूपमा लिइन्छ । ‘हिमवत्खण्ड’, ‘नेपाल महात्म्य’, ‘पशुपति पुराण’ र ‘स्वयम्भू पुराण’ जस्ता धार्मिक ग्रन्थहरूमा नेपालको महिमा र इतिहासमाथि प्रकाश पारिएको छ ।
पुराणहरूमा वर्णन भए अनुसार, प्राचीन कालमा काठमाडौँ उपत्यका एउटा विशाल दह (जलमग्न) थियो । पानीको निकास भएपछि यो स्थान मानव बसोबासका लागि योग्य भयो । यहाँ बस्ती बसेपछि ‘ने’ नामका मुनिले संरक्षण र पालनपोषण गरेकाले यस देशको नाम नेपाल रहन गयो । मरिची ऋषिका पुत्र नेमुनिले कान्तिपुरको बागमती र विष्णुमतीको दोभान (टेकु दोभान) मा तपस्या गरेका थिए । पौराणिक श्लोकले पनि यसलाई पुष्टि गर्छ ।
नेमिना मुनिना यस्मात् पालितं पुण्य कर्मणा।
क्षेत्रं हिमवतः कुक्षावतो नेपालसंज्ञकम्।।
(अर्थातः हिमालयको काखमा रहेको यस पवित्र क्षेत्रलाई ‘ने’ मुनिले आफ्नो पुण्यकर्मद्वारा पालन गरेकाले यसको नाम नेपाल रहन गयो ।)
केही इतिहासकारहरूका अनुसार नेपालमा प्राचीन कालमा बसोबास गर्ने जातिहरूको नामबाट नै देशको नामकरण भएको हो । प्राचीन वंशावलीहरूमा ‘नेमना गोपालो बभूव’ अर्थात् ‘नेप नामका गोपालहरू थिए’ भन्ने उल्लेख पाइन्छ । त्यसैले ‘नेप’ (गोपाल) जातिले शासन गरेको हुनाले यसलाई नेपाल भनिएको तर्क बलियो छ । अर्कातर्फ, तामाङ र नेवार जातिसँग सम्बन्धित ‘न्यार्वा’ शब्द अपभ्रंश हुँदै ‘नेवा’ र त्यसैबाट ‘नेपाल’ शब्द बनेको विश्वास पनि केही विद्वानहरूको छ ।
लिच्छविकालदेखि मात्र नेपालको प्रमाणित र स्पष्ट इतिहास फेला पर्छ । त्यसअघिको इतिहासका लागि पुराण, वंशावली र जनश्रुति जस्ता कम भरपर्दा स्रोतहरूको सहारा लिनुपर्छ । नेपालमा राजतन्त्रात्मक शासन कहिलेदेखि सुरु भयो भन्ने कुराको यकिन प्रमाण नभए पनि प्राचीन कालमा यहाँ गोपाल, महिषपाल, किराँत र लिच्छवि जस्ता राजवंशहरूले शासन गरेका थिए ।
प्राचीन कालमा काठमाडौँ उपत्यका जलमग्न हुँदा यहाँको पानी कसले बाहिर पठायो भन्नेबारे धार्मिक मतभेद छ । हिन्दु धर्मावलम्बीहरू भगवान् विष्णु वा कृष्णले चोभारको डाँडो काटेर जल निकास गराई बस्ती योग्य बनाएको मान्दछन् । यता बौद्ध पुराणहरूमा महाचीनबाट आएका महामञ्जुश्रीले आफ्ना दुई शक्ति ‘वरदा’ र ‘मोक्षदा’ को सहयोगमा चोभारको डाँडो काटी पानी बाहिर पठाएको उल्लेख छ ।
ड्यानियल राइटद्वारा संकलित वंशावली अनुसार, कलियुगको प्रारम्भमा नेमुनिले गोपाल वंशका ‘भुक्तमान’ (भूमिगुप्त) लाई नेपालको पहिलो राजा बनाएका थिए । यसलाई पुष्टि गर्ने बलिया पुरातात्विक प्रमाणहरू नभए पनि नेपाल राज्यको संस्थापक गोपाल वंश नै हो भन्ने कुरामा प्रायः इतिहासकारहरू सहमत छन् ।
नेपालमा ८ जना गोपालवंशी र ३ जना महिषपालवंशी (भैँसीपालक) गरी जम्मा ११ जना राजाहरूले करिब ६०० वर्ष शासन गरेका थिए । गोपाल र महिषपाल जातिलाई ‘आभिर’ पनि भनिन्छ । हाल काठमाडौँ उपत्यकाको दक्षिण–पश्चिमी भेग (कीर्तिपुर, बलम्बु, थानकोट, टिस्टुङ, पालुङ) मा बसोबास गर्ने नेवार समुदायका ‘गोपाली’ थरका मानिसहरूलाई तिनै प्राचीन गोपाल राजवंशका सन्तति मानिन्छ ।
किराँतकाल
महिषपालहरूको शासनपछि नेपालमा किराँतहरूको शासन सुरु भयो । किराँत वंशका संस्थापक राजा यलम्बर हुन् । यिनले ईसापूर्व लगभग ७०० वर्षअघि नै नेपालमा किराँत शासनको स्थापना गरिसकेको अनुमान गरिन्छ । विभिन्न वंशावली अनुसार यस वंशका २९ देखि ३२ जना राजाहरूले करिब १ हजार वर्षभन्दा बढी समय शासन गरेका थिए ।
नेपालका किराँतीहरू आफूलाई पारुहाङ (शिव) र सुम्निमा (पार्वती) का सन्तति मान्दछन् । उनीहरू मार्सल आर्ट र धनुर्बाण चलाउन अत्यन्तै सिपालु थिए । किराँती राजा ह्युमतीको पालामा भएको महाभारत युद्धमा किराँतीहरूले पाण्डवको पक्षबाट भाग लिएका थिए भन्ने पौराणिक मान्यता छ । नेपालमा शिव (किरातेश्वर महादेव) को आराधना र स्थापनाको सुरुआत पनि किराँतकालमै भएको देखिन्छ ।
किराँतकालकै १४औँ राजा स्थुंकोको शासनकालमा संवतको ऐतिहासिक महत्व बोकेका संवद्र्धक तथा भारतका मौर्य सम्राट अशोक नेपाल भ्रमणमा आएका थिए । उनले काठमाडौँ उपत्यका (विशेष गरी ललितपुर) मा बौद्ध स्तूपहरू निर्माण गराएका थिए ।
साथै, उनले लुम्बिनीमा ‘अशोक स्तम्भ’ स्थापना गराए, जसले गौतम बुद्धको जन्मस्थल नेपाल नै हो भन्ने अकाट्य र ऐतिहासिक प्रमाण विश्वसामु प्रस्तुत गर्दछ । सम्राट अशोककी छोरी चारुमतीले नेपालका क्षेत्रीय राजकुमार देवपालसँग विवाह गरेकी थिइन् । चारुमतीको नामबाट चाबहिल (चारुमती विहार) र देवपालको नामबाट देवपतन (हालको पशुपति क्षेत्रको देउपाटन) भन्ने ठाउँको नाम रहन गएको मानिन्छ ।
लिच्छविकाल र अन्य राजवंश
प्राचीन भारतको गया र पटनाको बीचमा शक्तिशाली मगध र कोशल साम्राज्यको उदय भएपछि, त्यसको उत्तरमा रहेका वैशाली, कपिलवस्तु र कुशीनगर जस्ता साना गणराज्यहरूमाथि आक्रमण भयो । युद्ध र असुरक्षाका कारण त्यहाँका बासिन्दाहरू शरणार्थीका रूपमा नेपाल उपत्यकातर्फ प्रवेश गर्न थाले । तीमध्ये वैशालीका लिच्छविहरूको जमात ठुलो र संगठित थियो ।
लिच्छविहरूले सुरुमा किराँती शासकहरूसँग मिलेर काम गरे र बिस्तारै नेपाली समाजमा घुलमिल भए । सरल स्वभावका किराँतीहरूलाई विस्थापित गर्दै लिच्छविहरूले नेपालको शासन सत्ता आफ्नो हातमा लिए । इतिहासमा गोपाल राजवंशावलीअनुसार सोमवंशी राजा निमिषले किराँतीहरूलाई पराजित गरी शासन सुरु गरेको र पछि सूर्यवंशी लिच्छविहरूको उदय भएको उल्लेख छ । सोमवंशी राजा पशुप्रेक्षदेवले पशुपतिनाथको मन्दिर जीर्णोद्धार गरी सुनको गजुर चढाएको र देउपाटनलाई ‘स्वर्णपुरी’ का रूपमा विकास गरेको वंशावलीमा लेखिएको छ ।
सोमवंशपछि सूर्यवंशी लिच्छवि राजा भूमिवर्माले शासनको बागडोर सम्हाले । यसै वंशका राजा हरिदत्त वर्माले नेपाल उपत्यकाका ४ कुनामा प्रसिद्ध ४ नारायण (चाँगुनारायण, विशंखुनारायण, इचंगुनारायण र शेषनारायण) को स्थापना गराएको मानिन्छ । लिच्छविकालमा मानदेव, अंशुवर्मा जस्ता महान् शासकहरू भए, जसको शासनकाललाई नेपालको इतिहासमा ‘स्वर्णयुग’ भनिन्छ । लिच्छविहरूले नेपालमा लगभग ८०० वर्षसम्म शासन गरेका थिए ।
निष्कर्ष
अतः ऐतिहासिक, धार्मिक र सांस्कृतिक पृष्ठभूमिले स्पष्ट पार्छ कि नेपाल एक सनातन गुरु देश हो । यो अनगिन्ती ऋषिमुनि, साधुसन्त र योगीजनहरूको पावन तपोभूमि तथा योगको वास्तविक उद्गम विन्दु हो । यस भूमिको प्रत्येक कण र यहाँ बस्ने नेपालीहरूको नसा–नसा तथा कोष–कोषमा तिनै महान् ऋषिमुनिहरूका गुण, संस्कार र ज्ञान अवतरित हुँदै आएका छन् । यसै गौरवमय इतिहासका कारण हामी गर्वका साथ भन्न सक्छौँ कि हामी तिनै दिव्य ऋषिमुनि र योगीहरूका सच्चा सन्तान हौँ ।
प्रतिक्रिया