
काठमाडौं । एसियन खेलकुद पुरुष क्रिकेट छनोटअन्तगर्तको आज भइरहेको फाइनल खेलमा हङकङले नेपाललाई जितका लािग १८९ रनको लक्ष्य दिएको छ । सिंगापुरस्थित सिंगापुर राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८८ रनको योगफल बनाएको हो ।
हङकङका लागि अशुङ्मन रथले सर्वाधिक ८० रनको योगदान दिए । उनले ४५ बलमा ६ चौका र ६ छक्काको सहयोगमा ८० रनको अर्धशतकीय इनिङ खेलेका हुन् । त्यस्तै सहिद वासिफले २८ बलमा सात चौका र तीन छक्काका साथ ५५ रन बनाउँदै आउट भए भने शिव माथुरले २१ बलमा २६ रन बनाए ।
बलिङतर्फ नेपालका लागि शेर मल्लले चार विकेट लिए । त्यसैगरी करण केसीले दुई विकेट लिए भने सन्दीप लामिछानेले एक विकेट झारे । नेपालले सेमिफाइनल खेलमा ओमानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । यता हङकङले भने मलेसियालाई पाखा लगाउँदै फाइनलमा पुगेको हो । यी दुवै राष्ट्र आगामी सेप्टेम्बरमा जापानमा आयोजनामा हुने एसियन खेलका लागि छनोट भइसकेका छन् ।
यसैबीच, दीपेन्द्र सिंह ऐरीले आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरमा आजकै खेलमार्फत १०० खेल पूरा गरेका छन् । सन् २०१८ जुलाई २९ तारिखमा नेदरल्याण्ड्सविरुद्ध लण्डनको लड्समा पहिलो टी–२० आई खेलेका उनले आज भएको हङकङविरुद्धको खेलमा १०० खेल पूरा गरेका हुन् ।
अहिले नेपालले हङकङविरुद्ध एक विकेटको क्षेतिमा जवाफी ब्याटिङ गरिरहेको छ । आशिफ शेख शून्य रनमा आउट भएका छन् भने ओपनर कुशल भुर्तेल र रोहित पौडेलले ब्याटिङ गरिरहेका छन् ।
प्रतिक्रिया