
काठमाडौँ । सन् २०२६ को फिफा विश्वकप फुटबल सुरु भएको छ । मेक्सिकोको मेक्सिको राजधानी सिटीस्थित एस्टाडियो एजटेका रंगशालामा नेपाली समयअनुसार आज (बिहीबार) राति ११ः१५ बजे २३औँ संस्करणको विश्वकपको उद्घाटन भएको हो ।
विश्वकपको उद्घाटन समारोह यसपटक अझ भव्य र बहुराष्ट्रिय स्वरूपमा भएको छ । सहआयोजक ३ वटै देश मेक्सिको, क्यानडा र अमेरिकामा छुट्टाछुट्टै सांगीतिक कार्यक्रमसहित प्रतियोगिताको औपचारिक सुरुआत गरिने फिफाले जनाएको छ । पहिलो उद्घाटन भने मेक्सिकोले बिहीबार गरेको हो । मेक्सिको सिटीमा भएको उद्घाटन समारोहमा विश्वप्रसिद्ध कलाकार साकिरा र बर्ना ब्वाय मुख्य आकर्षण रहेका थिए । उनीहरूले विश्वकपको आधिकारिक गीत ‘डाई डाई’ को पहिलो सार्वजनिक प्रस्तुति दिए ।
यो कार्यक्रम मेक्सिको र दक्षिण अफ्रिकाबीच हुने उद्घाटन खेलको करिब ९० मिनेटअगाडि आयोजना गरिएको थियो । उक्त समारोहमा अलेजान्द्रो फर्नान्डेज, बेलिन्दा, ड्यानी ओसियन, जे बाल्भिन, लिला डाउन्स, लस एन्जलस अजुल्स, माना र टायलालगायत अन्तर्राष्ट्रिय कलाकारको पनि प्रस्तुति रहेको थियो । यस उद्घाटनपछि मध्यराति १२ः४५ बजे सहआयोजक मेक्सिको र दक्षिण अफ्रिकाले पहिलो खेल खेलेका थिए । त्यसैगरी, क्यानडाको टोरन्टोमा शुक्रबार हुने उद्घाटन समारोहमा अलानिस मोरिसेट र माइकल बबल प्रमुख आकर्षण रहनेछन् । सोही दिन क्यानडाले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ । अमेरिकाको लस एन्जलसमा हुने उद्घाटन समारोहमा केटी पेरी, लिसा, रेमा, अनिता र फ्युचरले प्रस्तुति दिनेछन् । त्यसपछि आयोजक अमेरिकाले पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।

विवादरहित हुन सकेको छैन विश्वकप
यो संस्करण इतिहासकै सबैभन्दा ठुलो विश्वकप हो । प्रतियोगिताबाट करिब १३ अर्ब अमेरिकी डलर बराबरको राजस्व उठ्ने अनुमान गरिएको छ । तर प्रतियोगिता सुरु हुनुअघि नै टिकट मूल्य अत्यधिक भएको भन्दै आलोचना तीव्र बनेको छ भने अमेरिकाको कडा अध्यागमन नीतिका कारण खेलाडी, रेफ्री र समर्थकहरूलाई भिसासम्बन्धी समस्या भएको रिपोर्ट सार्वजनिक भएको छ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले मेक्सिको सिटीमा प्रतियोगिताको उद्घाटन अवसरमा बोल्दै आलोचनालाई अस्वीकार गरेका छन् । उनका अनुसार टिकट मूल्यमा विविधता राखिएको र केही खेलका लागि ६० डलरसम्मका सस्तो टिकट उपलब्ध गराइएको छ भने केही प्रिमियम टिकटको मूल्य ३० हजार डलरसम्म पुगेको छ । औसत टिकट मूल्य ५०० डलरभन्दा कम रहेको भन्दै उनले यसलाई अमेरिकी खेलकुद घटनामध्ये तुलनात्मक रूपमा सुलभ भएको दाबी गरे ।
भिसा विवादबारे टिप्पणी गर्दै इन्फान्टिनोले सोमाली रेफ्री ओमार आर्टनको घटनालाई ‘दुर्भाग्यपूर्ण’ भनेका छन् । सुरक्षा चिन्ताका कारण उनलाई अमेरिकामा प्रवेश अनुमति नदिइएको र उनी प्रतियोगितामा सहभागी नहुने फिफाले पुष्टि गरेको छ । अमेरिकी विदेश मन्त्रालयले उनलाई ‘आतंकवादी संगठनसँग सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क रहेको’ आरोप लगाएको थियो ।
इन्फान्टिनोले भिसा तथा सुरक्षासम्बन्धी सबै परिस्थितिमा फिफाको पूर्ण नियन्त्रण नहुने स्पष्ट पार्दै ती घटनालाई लिएर तत्काल आक्रोश व्यक्त गर्नु सधैँ समाधान नभएको बताए । उनले इरानको सहभागितालाई लिएर उठेका प्रश्नबारे पनि टिप्पणी गर्दै विभिन्न राजनीतिक तनावका बाबजुद इरानले विश्वकप खेल्न पाउनु फिफाका लागि उपलब्धि भएको उल्लेख गरे । हाल इरान र अमेरिका बीचको सैन्य तनाव जारी रहे पनि प्रतियोगितामा सहभागिता सुनिश्चित गर्न सम्भव भएको उनको भनाइ थियो । फिफा प्रमुखको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध पनि चर्चामा रहेको छ । इन्फान्टिनोले ट्रम्पको समर्थनबिना अमेरिकामा विश्वकप आयोजना गर्न कठिन हुने धारणा राखेका छन् । ट्रम्पले भने प्रतियोगिताका केही खेलमा सहभागी हुने योजना रहेको बताएका छन् । खेल मैदानतर्फ भने उद्घाटन खेलमा ८५ हजार दर्शक अट्ने एस्टाडियो एजटेकामा दक्षिण अफ्रिकाले घरेलु टोली मेक्सिकोको सामना गरेको थियो । यसअघि दक्षिण अफ्रिकाका प्रशिक्षक ह्युगो ब्रुसले घरेलु समर्थकहरूको अत्यधिक आवाजलाई चुनौतीका रूपमा लिएर खेलमा ध्यान केन्द्रित गर्न आफ्ना खेलाडीहरूलाई आग्रह गरेका थिए ।
प्रतिक्रिया