
काठमाडौँ । फुटबलको विश्व महासंग्राम मानिने फिफा विश्वकप २०२६ आज सुरु हुँदै छ । पहिलो खेल सहआयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे सुरु हुनेछ । विश्वकपको औपचारिक उद्घाटन भने नेपाली समयअनुसार बिहीबार राति ११ः१५ बजे हुनेछ । ४ वर्षको प्रतीक्षापछि आयोजना हुन लागेको यस संस्करणले विगतका विश्वकपभन्दा धेरै दृष्टिले नयाँ इतिहास रच्ने अपेक्षा गरिएको छ । पहिलो पटक ३ राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा प्रतियोगिता आयोजना गरिरहेका छन् भने सहभागी टोलीको संख्या पनि ३२ बाट बढाएर ४८ पु¥याइएको छ ।
विश्वकप फुटबललाई खेलकुदको मात्र नभई विश्वव्यापी सांस्कृतिक र सामाजिक पर्वका रूपमा पनि हेरिन्छ । १ महिनाभन्दा बढी सञ्चालन हुने प्रतियोगिताले विभिन्न भाषा, संस्कृति र भूगोलका मानिसलाई एउटै भावनात्मक सूत्रमा बाँध्ने काम गर्नेछ । विश्वकपले मनोरञ्जन मात्र प्रदान गर्दैन, पर्यटन, व्यापार, सञ्चार तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत नयाँ उचाइमा पु¥याउने विश्वास गरिएको छ । सन् २०२६ को विश्वकपको सबैभन्दा ठुलो विशेषता यसको आकार हो । पहिलो पटक ४८ टोली सहभागी हुने भएकाले खेलको संख्या पनि उल्लेखनीय रूपमा बढेको छ । यसअघि ६४ खेलमा सम्पन्न हुने प्रतियोगिता अब १०४ खेलसम्म विस्तार भएको छ । सहभागी टोलीको वृद्धिसँगै नयाँ राष्ट्रहरूलाई विश्वकपमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त भएको छ ।
यस पटक प्रतियोगिताका खेलहरू उत्तर अमेरिकाका १६ विभिन्न सहरमा हुनेछन् । अमेरिका, क्यानडा र मेक्सिकोका प्रमुख रंगशालाहरूमा हुने खेलले स्थानीय अर्थतन्त्रमा ठुलो योगदान पु¥याउने अपेक्षा गरिएको छ । लाखौँ विदेशी दर्शक र पर्यटकको आगमनले होटल, यातायात, पर्यटन तथा सेवा क्षेत्रमा उल्लेखनीय आर्थिक गतिविधि बढ्ने अनुमान गरिएको छ । समूह चरणको संरचनामा पनि परिवर्तन गरिएको छ । सहभागी ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा ४ टोली रहनेछन् र प्रारम्भिक चरणका खेलबाट नकआउट चरणका लागि टोली छनोट हुनेछन् । यसले प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।
विश्वकप सुरु हुनुअघि नै विभिन्न टोलीलाई उपाधिका प्रमुख दाबेदारका रूपमा हेरिएको छ । सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिना पुनः एकपटक उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ । कप्तान लियोनेल मेसीको नेतृत्व, अनुभवी खेलाडीहरूको साथ तथा सन्तुलित टोली संरचनाले अर्जेन्टिनालाई बलियो दाबेदार बनाएको छ । युरोपेली च्याम्पियन स्पेन पनि उत्कृष्ट फर्ममा रहेको टोली मानिन्छ । पछिल्ला वर्षहरूमा स्पेनले युवा र अनुभवी खेलाडीको सन्तुलित संयोजन निर्माण गरेको छ । त्यसैगरी फ्रान्स, इंग्ल्यान्ड, पोर्चुगल र ब्राजिललाई पनि विश्वकप जित्न सक्ने टोलीको सूचीमा राखिएको छ ।
फ्रान्सले तेस्रो विश्वकप उपाधिको लक्ष्य राखेको छ भने इंग्ल्यान्डले सन् १९६६ यता दोस्रो उपाधिको खोजी गरिरहेको छ । पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डोको अनुभव महत्वपूर्ण रहनेछ । विश्वकप इतिहासकै सर्वाधिक सफल टोली ब्राजिल भने छैटौँ उपाधि जित्ने लक्ष्यसहित प्रतिस्पर्धामा सहभागी हुँदै छ । जर्मनी, नेदरल्यान्ड्स, बेल्जियम, क्रोएसिया र मोरक्कोजस्ता टोलीलाई पनि कमजोर आक्न सकिँदैन । पछिल्ला विश्वकपमा अप्रत्यासित नतिजा निकाल्दै आएका यी टोलीले परम्परागत शक्तिशाली राष्ट्रलाई चुनौती दिन सक्ने क्षमता राख्छन् ।
विश्वकप इतिहासमा सबैभन्दा सफल राष्ट्र ब्राजिल हो । ब्राजिलले हालसम्म ५ पटक विश्वकप जितेको छ । जर्मनी र इटालीले ४–४ पटक, अर्जेन्टिनाले ३ पटक तथा फ्रान्स र उरुग्वेले २÷२ पटक सफलता हात पारेका छन् । यी उपलब्धिले विश्व फुटबलमा ती राष्ट्रहरूको दीर्घकालीन प्रभाव र निरन्तरताको प्रमाण प्रस्तुत गरेको फुटबलका जानकारहरूको भनाइ छ । प्रत्येक विश्वकपमा नयाँ टोलीहरू उदाए पनि विश्व फुटबलको शक्ति केन्द्रका रूपमा यी राष्ट्रहरू अझै स्थापित छन् ।
विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी जर्मनीका मिरोस्लाभ क्लोसे हुन् । उनले ४ विश्वकपमा गरी कुल १६ गोल गरेका थिए । ब्राजिलका रोनाल्डो १५ गोलसहित दोस्रो स्थानमा छन् भने जर्मनीका गेर्ड मुलर र फ्रान्सका जस्ट फोन्टाइन पनि सर्वाधिक गोलकर्ताको सूचीमा छन् । हाल सक्रिय खेलाडीमध्ये अर्जेन्टिनाका मेसीले विश्वकपमा उल्लेखनीय गोल गरिसकेका छन् ।
उनले आफ्नो लामो अन्तर्राष्ट्रिय यात्रामा विश्व फुटबलमा विशिष्ट स्थान निर्माण गरेका छन् । फुटबल इतिहासका महान् खेलाडीमध्ये मानिने मेसीका लागि यो विश्वकप विशेष महत्वको छ । उनले छैटौँ पटक विश्वकपमा सहभागिता जनाउँदै नयाँ कीर्तिमान कायम गर्ने अवसर पाएका छन् । सन् २००६ मा पहिलो पटक विश्वकप खेलेका मेसीले त्यसयता अर्जेन्टिनालाई निरन्तर नेतृत्व प्रदान गर्दै आएका छन् । सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकप जिताउन सफल भएका मेसीलाई यस पटक पनि टोलीको प्रेरणास्रोतका रूपमा हेरिएको छ । धेरै विश्लेषकले यो उनको अन्तिम विश्वकप हुन सक्ने अनुमान गरेका छन् ।
फिफाले विश्वकपमा सहभागी टोलीहरूका लागि ठुलो पुरस्कार राशि घोषणा गरेको छ । विजेता टोलीले करोडौँ डलर प्राप्त गर्नेछ भने उपविजेता र अन्य उच्च स्थान हासिल गर्ने टोलीहरूले पनि उल्लेखनीय रकम पाउनेछन् । विश्वकपको आर्थिक प्रभाव पुरस्कार रकममा मात्र सीमित हुँदैन । प्रतियोगिताका कारण पर्यटन, प्रसारण अधिकार, विज्ञापन, खेल सामग्री बिक्री तथा आतिथ्य क्षेत्रमा अर्बौँ डलर बराबरको कारोबार हुने अनुमान गरिएको छ । आयोजक राष्ट्रहरूका लागि विश्वकप आर्थिक अवसरको ठुलो माध्यम बनेको छ ।
आधुनिक प्रविधिको प्रयोग विश्वकपको अर्को आकर्षण बनेको छ । भिडियो सहायक रेफ्री (भिएआर) प्रणालीले खेल सञ्चालनलाई थप निष्पक्ष बनाउने अपेक्षा गरिएको छ । रेफ्रीका निर्णयहरूको पुनरवलोकन गर्न सकिने भएकाले विवादास्पद निर्णयहरू कम हुने विश्वास गरिएको छ । यसका अतिरिक्त समय व्यवस्थापन, खेलाडी परिवर्तन तथा घाइते खेलाडीको उपचारसम्बन्धी केही नयाँ नियम पनि लागू गरिएको छ । खेललाई छिटो, व्यवस्थित र निष्पक्ष बनाउन यस्ता नियम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
उत्तर अमेरिकाका केही सहरमा गर्मीयाममा उच्च तापक्रम हुने भएकाले खेलाडीहरूको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै विशेष व्यवस्था गरिएको छ । प्रत्येक हाफमा विश्रामको समय प्रदान गरिने भएको छ, जसले खेलाडीलाई पानी पिउन, आराम गर्न तथा प्रशिक्षकसँग रणनीतिक छलफल गर्न अवसर दिनेछ । नेपालले विश्वकपमा सहभागिता जनाउने लक्ष्यसहित दशकौँदेखि प्रयास गर्दै आए पनि हालसम्म अन्तिम चरणमा पुग्न सफल भएको छैन । नेपालले विभिन्न विश्वकप छनोट प्रतियोगितामा सहभागिता जनाउँदै अनुभव बटुलिरहेको छ ।
तीनै देशमा भव्य उद्घाटन समारोह, साकिरा र बर्ना ब्वाय मुख्य आकर्षण
विश्वकपको उद्घाटन समारोह यस पटक अझ भव्य र बहुराष्ट्रिय स्वरूपमा हुँदै छ । सहआयोजक ३ वटै देश मेक्सिको, क्यानडा र अमेरिकामा छुट्टाछुट्टै सांगीतिक कार्यक्रमसहित प्रतियोगिताको औपचारिक सुरुआत गरिने फिफाले जनाएको छ । मेक्सिको सिटीमा हुने उद्घाटन समारोहमा विश्वप्रसिद्ध कलाकार साकिरा र बर्ना ब्वाय मुख्य आकर्षण रहनेछन् । उनीहरूले विश्वकपको आधिकारिक गीत ‘डाई डाई’ को पहिलो सार्वजनिक प्रस्तुति दिनेछन् । यो कार्यक्रम मेक्सिको र दक्षिण अफ्रिकाबीच हुने उद्घाटन खेलको करिब ९० मिनेटअगाडि आयोजना गरिनेछ । उक्त समारोहमा अलेजान्द्रो फर्नान्डेज, बेलिन्दा, ड्यानी ओसियन, जे बाल्भिन, लिला डाउन्स, लस एन्जलस अजुल्स, माना र टायलालगायत अन्तर्राष्ट्रिय कलाकारको पनि प्रस्तुति रहनेछ ।
त्यसैगरी, क्यानडाको टोरन्टोमा शुक्रबार हुने उद्घाटन समारोहमा अलानिस मोरिसेट र माइकल बबल प्रमुख आकर्षण रहनेछन् । सोही दिन क्यानडाले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ । अमेरिकाको लस एन्जलसमा हुने उद्घाटन समारोहमा केटी पेरी, लिसा, रेमा, अनिता र फ्युचरले प्रस्तुति दिनेछन् ।
त्यसपछि आयोजक अमेरिकाले पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ । तीनै देशका उद्घाटन कार्यक्रम इटालीका प्रख्यात निर्माता मार्को बालिचको निर्देशनमा तयार पारिएको फिफाले जनाएको छ । सबै समारोह खेल सुरु हुनुभन्दा करिब ९० मिनेटअघि सुरु गरिनेछ, जसले दर्शकलाई सांगीतिक र सांस्कृतिक अनुभव प्रदान गर्नेछ । यसैबीच, फिफाले विश्वकप २०२६ को आधिकारिक गीत ‘डाई डाई’ मार्फत् शिक्षा क्षेत्रमा सहयोग गर्ने उद्देश्यसहित करिब १० करोड अमेरिकी डलर संकलन गर्ने लक्ष्य राखेको छ । त्यस्तै, विश्वकप फाइनलको हाफटाइम शोमा साकिरासँगै माडोना र बिटिएसले पनि प्रस्तुति दिने तय भएको छ ।
प्रतिक्रिया