
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ । फिफा विश्वकप २०२६ को उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जाने तयारीमा रहेका उनीहरूलाई अध्यागमन कार्यालयले रोक लगाएर फर्काएको हो । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पत्रका आधारमा उनीहरूको विदेश यात्रा रोकिने निर्णय कार्यान्वयन गरिएको हो । तिवारीले भने, ‘खेलकुदका कार्यक्रमका लागि विदेश जान नदिनु भन्ने राखेपको पत्र प्राप्त भएको थियो । सोही आधारमा उनीहरूलाई विमानस्थलबाट फर्काइएको हो ।’
यसअघि राखेपले एन्फा अध्यक्ष नेम्वाङ, पदाधिकारी, सदस्य तथा कर्मचारीसहित २४ जनाको विदेश यात्रा रोक फुकुवा गर्न अस्वीकार गरेको थियो । अध्यक्ष नेम्वाङ र महासचिव राईसहितको टोलीले सोमबार फिफा र एएफसीको पत्र लिएर राखेप सदस्य सचिव राम चरित्र मेहतालाई भेटी रोक हटाउन आग्रह गरेको थियो । तर सदस्य सचिव मेहताले हालको अवस्थामा रोक फुकुवा गर्न नसकिने स्पष्ट जबाफ दिएका थिए । मेहताका अनुसार यदि विदेश जानै पर्ने हो भने पदबाट राजीनामा दिएर जान सकिने विकल्प मात्र रहेको बताइएको छ । उनले सरकारको निर्णय कार्यान्वयन गर्न बाध्य रहेको पनि स्पष्ट पारे ।
सरकारले यसअघि नै निर्वाचनसम्बन्धी निर्देशनहरू पालना नगरेको भन्दै एन्फा नेतृत्वमाथि विदेश यात्रा प्रतिबन्ध लगाएको थियो । गत ११ वैशाखको निर्णयअनुसार अध्यक्ष नेम्वाङ, उपाध्यक्षहरू तथा केन्द्रीय सदस्यसहित २४ जनालाई कालोसूचीमा राखी विदेश जान रोक लगाइएको हो । रोक लगाइएका सूचीमा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षहरू तथा केही केन्द्रीय सदस्यहरू पनि समावेश छन् । त्यस्तै ४ कर्मचारी—महासचिव राई, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, कोषाध्यक्ष रविन्द्र जोशी र प्रवक्ता सुरेश शाहसमेत विदेश यात्रा गर्न नपाउने सूचीमा परेका छन् ।
यद्यपि केही पदाधिकारीहरूलाई यसअघि पनि रोकका बाबजुद विदेश गएको घटनाले विवाद सिर्जना गरेको थियो । सरकार र एन्फा नेतृत्वबीच निर्वाचन प्रक्रिया र प्रशासनिक विषयमा लामो समयदेखि तनाव रहँदै आएको छ । हालको घटनासँगै एन्फाभित्रको नेतृत्व विवाद फेरि सतहमा आएको छ भने विश्व फुटबलको ठुलो प्रतियोगिता विश्वकप २०२६ सुरु हुने बेला नेपाली फुटबल प्रशासन फेरि चर्चामा आएको छ ।
प्रतिक्रिया