
काठमाडौँ । नेपालको पहिलो महिला फ्रेन्चाइज भलिबल लिग एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को तेस्रो संस्करण असोजमा दोस्रो साता हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्सले प्रेस विज्ञप्ती सार्वजनिक गर्दै तेस्रो संस्करण तेसो संस्करण असोज ८ देखि १७ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना हुने जनाएको छ । सहभागि फ्रेन्चाईज टिम र सरोकारवालाहरुसँगको छलफलपछि तेस्रो संस्करणको मिति तय गरेको पनि आयोजकले जनाएको छ ।
पछिल्लो समय नेपालमा महिला भलिबलको क्रेजको बढिरहेको र दसैँअगाडि हुने यस लिगमा दर्शकलाई चाडपर्वको खेलको मनोरञ्जन पनि एक साथ दिने आयोजकको विश्वास छ । एसियाकै पहिलो महिला भलिबल भलिबल फ्रेन्चाइज लिगको रूपमासमेत रहेको यस लिगले नेपालको महिला भलिबलको विकासमा ठुलो सहयोग पुग्ने आयोजकको विश्वास छ । यसअघि २ संस्करण भव्य रूपमा सम्पन्न भएपछि तेस्रो संस्करण अझ बृहत् र परिष्कृत रूपमा सञ्चालन गर्ने आयोजकले जनाएको छ । यसअघि पहिलो संस्करण काठमाडौँमा र दोस्रो पोखरामा आयोजना भएको थियो ।
तर केही प्राविधिक कारणले बीचमा स्थगित भएकोले काठमाडौँमै दोस्रो संस्करणको बाँकी खेलसहित फाइनल सम्पन्न भएको थियो । कर्णाली यशविसले पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो । दोस्रो संस्करणमा कर्णाली यशविसहित ललितपुर क्विन्स, काठमाडौँ स्पाइकर्स, मधेस युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाले प्रतिस्पर्धा गरेका थिए । एभरेस्ट महिला भलिबल लिगका टेक्निकल डिरेक्टर जगदीश भट्टले तेस्रो संस्करण भव्य हुने बताए ।
‘एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण गत वर्षभन्दा अझ भव्य र उत्कृष्ट हुनेछ । किनभने नेपालको महिला भलिबल अहिले एफआइभिबी विश्व वरीयतामा पनि समावेश छ, एसियाको शीर्ष १० वरीयतामा पुगेको छ र जापानमा हुजे एसियन गेम्समा पनि छनोट भएको छ,’ भट्टले भने, ‘यसपटक काठमाडौँमै लिग हुँदै छ । यो लिगले खेलाडीहरूले आर्थिक रूपमा पनि केही आर्जन गर्नेछन् । यसले गर्दा पनि यो लिगले नेपालको महिला भलिबल विकासमा ठुलो सहयोग पुग्छ ।’ राखेपको कभर्डहलमा स्तरोन्नतिपछि काभा महिला भलिबल प्रतियोगितादेखि राष्ट्रिय स्तरका अन्य प्रतियोगिताहरू पनि आयोजना भइसकेको र यसपटक काठमाडौँमै लिग आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया