लैंगिक अल्पसङ्ख्यक समुदायले उठायो विविधता, समानता र पहिचानको मुद्दा

काठमाडौं । यौनिक तथा लैंगिक अल्पसङ्ख्यक समुदायले शनिबार काठमाडौंमा ‘नेपाल प्राइड परेड’ आयोजना गर्दै आफ्नो पहिचान, अधिकार र समानताको पक्षमा आवाज उठाएका छन् । शान्ति बाटिकाबाट सुरु भएको गौरव र्‍याली विभिन्न नारासहित खुलामञ्च पुगेको थियो, जहाँ सहभागीहरूले सांस्कृतिक प्रस्तुति तथा सम्बोधनमार्फत आफ्नो समुदायका मुद्दा उठाएका थिए ।

इन्द्रेणी झण्डा, विभिन्न प्लेकार्ड तथा सन्देशसहित आयोजित परेडमा यौनिक तथा लैंगिक अल्पसङ्ख्यक समुदायका सदस्यहरू, मानवअधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा समर्थकहरूको सहभागिता रहेको थियो । सहभागीहरूले समान अधिकार, भेदभावको अन्त्य, सुरक्षित जीवन तथा सामाजिक स्वीकार्यताको माग गरेका थिए ।

विश्वभर जुन महिनालाई ‘प्राइड मन्थ’का रूपमा मनाइन्छ। सन् १९६९ मा अमेरिकाको स्टोनवाल घटनापछि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार आन्दोलनले गति लिएको मानिन्छ । त्यसयता विश्वका विभिन्न देशहरूमा प्राइड परेड तथा गौरव यात्रा आयोजना हुँदै आएका छन् ।

नेपालमा पनि पछिल्ला वर्षहरूमा प्राइड परेड नियमित रूपमा आयोजना हुँदै आएको छ। यसले यौनिक तथा लैंगिक विविधताको सम्मान, समावेशी समाज निर्माण तथा समुदायका अधिकारप्रति जनचेतना अभिवृद्धि गर्न योगदान पुर्‍याउँदै आएको आयोजकहरूको भनाइ छ ।

कार्यक्रमका सहभागीहरूले संविधानले सुनिश्चित गरेको समान अधिकारको पूर्ण कार्यान्वयन, विभेदरहित वातावरण र समुदायप्रति सम्मानजनक व्यवहार सुनिश्चित गर्न सरकार तथा समाजको ध्यानाकर्षण गराएका छन् । प्राइड परेडलाई विविधता, स्वतन्त्रता र समानताको उत्सवका रूपमा मनाइएको थियो ।–तस्विर नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया