एकै पटक १५ हजार कर्मचारी बिदा गर्ने सरकारको तयारी

५५ वर्ष उमेर पुगेका वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने कानुन बनाइँदै

सरकारले यस्तो निर्णय गर्नै सक्दैन । म त यो बाहिरी हल्लामात्रै हो भन्छु । राज्यको लगानी भएको र त्यतिका धेरै प्रशिक्षित कर्मचारीलाई बिदा गर्नु भनेको राज्य सञ्चालनमा नै समस्या निम्त्याउनु हो । अर्कातर्फ यसरी निजामती कर्मचारी संरचना बिथोल्दा अरू कर्मचारीमा पनि त्रास फैलिन्छ । – गोपीनाथ मैनाली, पूर्वसचिव

०००



काठमाडौँ । सरकारले एकै पटक करिब १५ हजार निजामती कर्मचारीलाई बिदा गर्ने तयारी गरेको छ । यसका लागि कानुन मन्त्रालयले निजामती सेवा विधेयकको मसौदामा काम गरिरहेको छ, जसमा एक पटकका लागि कार्यान्वयन हुने गरी छुट्टै प्रावधान राखिएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवा विधेयकको मसौदामा यो व्यवस्था समावेश गरिएको छ भने स्रोतका अनुसार यसबारे बिहीबार कानुन मन्त्रालयमा छलफलसमेत भएको थियो ।


मसौदामा भएको प्रावधानअनुसार ऐन जारीपछि लागू हुने मितिमा ५५ वर्ष उमेर पूरा भएका वा सेवा अवधि ३० पूरा हुने कर्मचारी (एक पटकका लागि) बिदा गर्न लागिएको हो । केही समयभित्रै संघीय निजामती सेवा ऐन ल्याउने तयारीमा रहेको सरकारले अनिवार्य अवकाश योजनाअन्तर्गत राखेको यो नयाँ व्यवस्था पारित भए करिब १५ हजार कर्मचारी बिदा हुनेछन् । हरेक वर्ष २ देखि ३ हजार कर्मचारी अवकाश हुने गरे पनि यस पटक एकै पटक करिब १५ हजार कर्मचारीलाई बिदा गर्ने सरकारले तयारी गरेको हो । यसका लागि करिब २० अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको र त्यसका लागि अर्थ मन्त्रालयले सहमति जनाइएको बताइएको छ । तर, यसबारे अर्थ मन्त्रालयका अधिकारीहरूले भने केही बोल्न चाहेनन् ।

सरकारको यो कदमप्रति कर्मचारी वृत्त भने असन्तुष्ट देखिएको छ । कर्मचारीहरू उक्त प्रावधान ऐनमा नआउने दाबी गरिरहेका छन् । लोकसेवा आयोगले पनि सरकारको उक्त प्रावधान मान्ने देखिँदैन । त्यस्तै, पूर्वसचिव गोपीनाथ मैनाली पनि आफूहरूले सरकारले यसो गर्ने कल्पना पनि नगरेको र यस्तो गल्ती नगर्ला भन्ने पक्षमा रहेको बताउँछन् । ‘सरकारले यस्तो निर्णय गर्नै सक्दैन । म त यो बाहिरी हल्ला मात्रै हो भन्छु । राज्यको लगानी भएको र प्रशिक्षित त्यतिका धेरै कर्मचारीलाई बिदा गर्नु भनेको राज्य सञ्चालनमा नै समस्या निम्त्याउनु हो,’ मैनाली भन्छन्, ‘यसरी निजामती कर्मचारी संरचना बिथोल्दा अरू कर्मचारीमा पनि त्रास फैलिन्छ । यसले सरकारको सुशासन प्रणाली पूर्ण रूपमा भत्किन सक्छ ।’

०००

सके संसद् नत्र अध्यादेशबाटै ऐन ल्याउने तयारी

सरकारले निजामती विधेयक यही बजेट अधिवेशनमा पारित गर्ने तयारी गरेको छ । हाल कानुन मन्त्रालयमा रहेको मसौदा रायसुझावसहित सामान्य प्रशासन मन्त्रालयमा पुगेपछि त्यसलाई आवश्यकताअनुसार मिलाउने र मन्त्रिपरिषद्मा लैजानुपर्ने हुन्छ । यसका लागि केही समय अझै लाग्ने देखिन्छ । तर, निजामती विधेयक मन्त्रिपरिषद्ले सोझै स्वीकृत गर्न सक्ने अवस्था भने छैन । यसका लागि मन्त्रिपरिषद्ले लोकसेवाको रायसुझाव लिनैपर्ने हुन्छ । उता, लोकसेवा आयोग विधेयकका अन्य प्रावधानमा सकारात्मक देखिए पनि अनिवार्य अवकाशको उक्त प्रावधान मान्ने पक्षमा छैन । सरकारले लोकसेवा आयोगको रायलाई बाइपास गर्न सक्ने भए पनि सरकार आयोगसँग भिड्ने पक्षमा छैन । यदि उक्त विधेयक संसद्मा दर्ता नै भए पनि पारित हुन कम्तीमा २ देखि ३ महिना लाग्ने देखिन्छ ।

संसदीय प्रक्रियाबाट विधेयक अघि बढ्दा समय लाग्ने देखिएपछि अध्यादेशबाटै भए पनि ऐन ल्याउने सरकारको तयारी छ । अहिले बजेट अधिवेशन चलिरहेको छ भने असार ८ गते बजेट पारित गर्ने कार्यतालिका छ । त्यसपछिको कार्यसूची तय भएको छैन । यदि संसदीय प्रक्रियाबाट विधेयक पारित गर्न असहज हुने र समय लाग्ने देखिए बजेट पारितपछि अधिवेशन समाप्त गर्ने र अध्यादेशबाटै ऐन ल्याउने सरकारको योजना छ । असारभित्रै कर्मचारीलाई बिदा गर्ने सरकारको तयारी भएकाले अध्यादेश आउने सम्भावना बढी देखिन्छ । यस विषयमा एक पूर्वसचिवले भने, ‘नराम्रो कामका लागि त सरकारले अध्यादेश ल्याइहाल्छ नि !’ नयाँ आर्थिक वर्षदेखि कर्मचारीको तलब वृद्धि हुने भएकाले त्यसको भार कम गर्न पनि आर्थिक वर्ष सुरु हुनुअगावै कर्मचारी कटौती गर्ने सरकारको तयारी छ । सरकारले यसरी कटौती गरिएका कर्मचारीको ठाउँमा नयाँ भर्ना खुलाउनेछैन ।

०००

आवश्यक कानुनको मसौदा पठाउन मन्त्रालयहरूलाई कानुनमन्त्रीको आग्रह

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बनाउनुपर्ने कानुनको मसौदा गर्न मन्त्रालयहरूलाई अनुरोध गरेकी छिन् । बिहीबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र महिला, बालबालिका, लैंगिक तथा यौनिक अपसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीसहित दुवै मन्त्रालयका अधिकारीसँग मन्त्रालयले तयार गर्नुपर्ने विधेयक मसौदाको विषयमा छलफल भएको थियो । सोही क्रममा मन्त्री गौतमले छिटो विधेयक मसौदा गर्न अनुरोध गरेकी हुन् ।

‘संसद्लाई बिजनेस दिन सबै मन्त्रालयले काम गर्नुपर्ने भएकाले छिटो विधेयक मसौदा गरेर पठाउनुस्,’ मन्त्री गौतमले भनिन् । मन्त्रीहरूले तयारी गरिरहेको भन्दै छिटै विधेयकको सूची पठाउने प्रतिबद्धता जनाएका थिए । बैठकमा आगामी आर्थिक वर्षमा मन्त्रालयले संसद्मा पेस गर्ने विधेयकहरूको सूची समयमै अन्तिम गरी पठाउने तथा प्रत्येक विधेयकको स्पष्ट समयरेखा निर्धारण गर्ने विषयमा छलफल भएको थियो । मन्त्री गौतमले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसद्मा पठाउने विधेयकको सूची तयार पार्न अन्य मन्त्रालयसँग पनि छलफल गर्ने तालिका तय गरिएको छ ।

साथै, हतारमा कानुन निर्माण नगरी गुणस्तरीय कानुन निर्माणमा जोड दिनुपर्नेमा पनि छलफल भएको थियो । मन्त्री गौतमले हतार नगरी कानुन निर्माणमा पर्याप्त गृहकार्य गर्दा कार्यान्वयन सहज हुने तथा अस्पष्ट वा परस्पर विरोधाभाषी कानुनले राज्यको समय, श्रमशक्ति र स्रोतको अनावश्यक खर्च गराउने तर्फ ध्यानाकर्षण गराइन् । बजेट प्रस्तुतिपछि तथा मन्त्रालयहरूको पुनर्संरचनाभएपछि विभिन्न नीतिगत विषयमा परिवर्तन आएको सन्दर्भमा विधेयकहरूको हालसम्मको अवस्था, आवश्यकता र सान्दर्भिकताको पुनरावलोकन गर्नुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया