
काठमाडौँ । सत्तारुढ रास्वपाको प्रदेश अधिवेशनमा विवाद देखिएको छ । २६ जेठमा सुरु भएको प्रदेश अधिवेशनमा नेतृत्व चयनका विषयमा कुरा नमिलेपछि विवाद सतहमा आएको हो । आगामी असार ७–९ मा पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन गर्न जुटेको रास्वपाले २३ र २४ जेठमा जिल्ला अधिवेशन गरेको थियो । तर, २६ जेठमा सुरु भएको प्रदेश अधिवेशनमा भने गुट–उपगुट देखिएको हो । अधिवेशन सफल भएका प्रदेशमा पनि आन्तरिक किचलो देखिएको छ । बाग्मती प्रदेशको अधिवेशन नै स्थगित भएको छ । २८ जेठका लागि तोकिएको मधेस प्रदेशको अधिवेशन पनि स्थगित गरिएको छ । रास्वपाले सकेसम्म सर्वसम्मत, नसके चुनावी प्रक्रियाबाट नेतृत्व छान्न रोक लगाएको छैन । चुनावी प्रक्रियामा जाँदै गर्दा पनि अस्वस्थ प्रतिस्पर्धा हुने देखिएपछि केही प्रदेशको चुनाव रोकिएको हो ।
२७ जेठमा सुरु भएको कोसी प्रदेशको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । तर, नयाँ नेतृत्व चयनसँगै अध्यक्षका प्रत्यासीले पार्टी नै छोडेका छन् । कोसी प्रदेश अधिवेशनमा केन्द्रबाट हस्तक्षेप भएको आरोप छ । कोसी प्रदेश सभापतिमा चन्द्र राई विजयी भएका छन् । ३ जना प्रतिस्पर्धीलाई पछि पार्दै राईले २८० मत ल्याएर विजयी भएका हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी गोमा तामाङ (सरिन) ले १४१ मत पाइन् भने अर्का प्रतिस्पर्धी डा. खगेन्द्र कटुवालले ४१ र चन्द्रकुमार गौलीले २७ मत प्राप्त गरे । ४९० मत खसेकामध्ये ४८९ मत सदर भएको थियो ।
यद्यपि, कोसी प्रदेशको अधिवेशन विवादरहित भएन । अन्य प्रदेशमा समेत प्रभाव पार्ने गरी कोसी प्रदेशको विवाद सतहमा आएको हो । अधिवेशनमा पार्टीका केन्द्रीय नेतादेखि सांसदहरूको समेत हस्तक्षेप भएर स्वतन्त्र रूपले चुनाव गर्न नदिइएको आरोप लागेको छ । कोसीकी निवर्तमान कार्यवाहक सभापति तथा यस अधिवेशनमा सभापतिकी उम्मेदवार तामाङले स्वतन्त्र र निष्पक्ष रूपमा चुनाव हुन नदिइएको भन्दै पार्टी नै परित्याग गरिन् । उनले बन्दसत्रमै केन्द्रीय हस्तक्षेप रोक्न चेतावनीसमेत दिएकी थिइन् ।
पार्टीले प्यानल बनाएर चुनाव नलड्न निर्देशन दिए पनि चुनावमा प्यानल नै बनेको थियो । केन्द्रीय नेताहरू आ–आफ्ना मान्छे जिताउन सक्रिय भएको बताइएको छ । यस अधिवेशनमा रास्वपा महामन्त्री भूपदेव शाह स्वयं राईलाई जिताउन सक्रिय भएको आरोप तामाङ पक्षले लगाएको छ । तामाङले सांसदहरू नै प्यानल लिस्ट बोकेर हिँडेको भन्दै स्वतन्त्र चुनाव लड्न आउन सार्वजनिक रूपमै चुनौती दिएकी थिइन् । ‘आउनुस्, स्वतन्त्र चुनाव लडौँ । तर, एउटा व्यक्तिलाई अथवा कुनै प्यानल बनाएर माननीयहरू हिँड्छन् भने कोसी प्रदेशले स्विकार्दैन,’ उनको भनाइ थियो ।
केही सांसद संगठन बिथोल्ने प्रयास गरेको र व्यक्ति जिताउन लागेको भन्दै उनीहरूलाई प्रदेशमै निषेध गर्ने चुनौती दिएकी थिइन् । अन्ततः चुनावी परिणाम आफ्नो पक्षमा नआएपछि उनले राजनीतिबाटै बिट मारेको घोषणा गरिन् । ‘माथिको ह्विप’ले चुनाव हराइएको उनको गुनासो छ । ‘आजबाट राजनीतिक बिट मारेँ । सम्पूर्ण मतदाता साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ उनले भनेकी छिन्, ‘आखिर माथिको ह्विप भन्दै हराएरै छाड्यौ । गुटबन्दीको घाउले पिरोल्छ कोसीलाई ।’
बाग्मती र मधेसमा अधिवेशन नै स्थगित
मतपत्रमा देखिएको त्रुटि सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न भन्दै बाग्मती प्रदेशको अधिवेशन रोकिएको छ । करिब ४०० जनाको समायोजन सूचीमा उजुरी परेको थियो । त्यो विवाद समाधान गर्न पनि अधिवेशन स्थगित गरिएको थियो । निर्वाचन आयोगका अनुसार शनिबार मतदान गर्ने तयारी छ । बाग्मतीमा पनि नेतृत्वका लागि विवाद छ । यता, मधेस प्रदेशमा २८ जेठका लागि तोकिएको अधिवेशन अनिश्चितकालसम्मका लागि रोकिएको छ । पर्साबाहेक जिल्ला अधिवेशन नै हुन नसकेपछि अधिवेशन स्थगित गरिएको हो । पर्सा र सिरहामा कुटाकुट नै भएको थियो । यद्यपि पर्साले भने नेतृत्व चयन गरिसकेको छ । केन्द्रीय निर्वाचन आयोगले निर्वाचनको अर्को कार्यतालिका नआउन्जेलसम्मका लागि अधिवेशन स्थगित गरेको जनाएको छ ।
प्रतिक्रिया