उद्घाटनको झन्डै ४ वर्षपछि पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चित

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएर सञ्चालनमा आएको ३ वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित भएको छ । आगामी असोज ७ गतेदेखि पोखराबाट संयुक्त अरब इमिरेट्स (दुबई)मा नियमित उडान सञ्चालन हुन लागेको हो । दुबईस्थित वायुसेवा कम्पनी फ्लाई दुबईले ७ असोजदेखि दैनिक उडान गर्ने गरी टिकट बुकिङ खोलेको छ । फ्लाई दुबईको वेबसाइट तथा मान्यताप्राप्त ट्राभल एजेन्सीमार्फत् टिकट बुकिङ गर्न सकिनेछ ।

विमानस्थल बनेर पनि लामो समय अन्तर्राष्ट्रिय उडान नहुँदा निराश भएका पोखराका पर्यटन व्यवसायीमा यसले उत्साह थपेको छ । पोखरा प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन र सांस्कृतिक सम्पदाले सम्पन्न सहर हो । अब अन्तर्राष्ट्रिय हवाई पहुँच विस्तारसँगै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा नयाँ सम्भावना खुलेको छ । यसअघि विमानस्थलबाट चीन, भुटानलगायत मुलुकमा चार्टर उडान तथा भारततर्फ आकस्मिक मेडिकल उडान भए पनि कुनै पनि गन्तव्यमा नियमित उडान हुन सकेको थिएन । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले दुबई उडानलाई पोखराको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा लिएको बताए । उनले केवल हवाई सेवा थपिएको विषय नभई पर्यटन प्रवद्र्धन, लगानी आकर्षण तथा काठमाडौँकेन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने अवसर भएको बताए ।

होटल संघ नेपालका केन्द्रीय सदस्य भरत पराजुलीले युएईका राजदूतसँग पर्यटन आदानप्रदान तथा पोखरा–दुबई सीधा उडान सञ्चालनका विषयमा भएको छलफल सकारात्मक र उपलब्धिमूलक रहेको स्मरण गरे । ‘दुबईमा नियमित उडान सञ्चालन हुनुले पर्यटन, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्नेछ,’ उनले भने । पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले दुबई उडानले पोखराको पर्यटन उद्योगलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) की अध्यक्ष ममता न्यौपानेले पोखरा–दुबई नियमित उडानको सुरुआतले पोखराको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष रूपमा जोड्ने महत्वपूर्ण अवसर सिर्जना गरेको बताइन् ।

दैनिक उडान सञ्चालनमा आएपछि गण्डकी प्रदेश तथा आसपासका जिल्लाका वैदेशिक रोजगारीमा जाने युवा, उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रु प्रत्यक्ष लाभान्वित हुनेछन् । सन् २०२३ जनवरी १ मा उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानको सुरुआतसँगै पोखरा मुलुकको दोस्रो प्रमुख अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया