राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल, यस्ता छन् केही सांसदहरुका बेग्ला बेग्लै धारणा

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु भएको छ । छलफलमा सहभागी हुँदै सांसदहरूले बजेटको पक्ष र विपक्षमा आआफ्ना धारणा व्यक्त गरिरहेका छन् ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा कृष्णहरि बुढाथोकीले बजेटले उद्यमशीतलाई ध्यान दिनुपर्ने धारणा राखे । नेपाली कांग्रेसकी सांसद शाहजान खातुनले भन्सार महसुल पहिलाको भन्दा ४० प्रतिशत बढी भएको जनाउँदै भन्सार महसुल अनुमान अनुसार हुने आधार प्रष्ट पार्न अर्थमन्त्रीसँग आग्रह गरिन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गणेशसिंह ठगुन्नाले देशको समानुपातिक विकास गर्ने सोच भए पनि विकासको आवश्यकता भएका जिल्ला बझाङ, बाजुरा, डोटी, अछाममा बजेट नपरेकोप्रति चिन्ता व्यक्त गरे । उनले सीमा क्षेत्रमा बजेट छुट्याउने कुरा भएपनि प्राथमिकता नदिएको धारणा राखे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद परशुराम तामाङले बजेटले धनी र गरिबबीचको खाडल झन बढाएको बताउँदै पहाडमा जंगली जनावर नियन्त्रण गर्नुका साथै पहाडमा आर्थिक गतिविधि बढाउनुपर्ने सुझाव दिए ।

श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (साम्पाङ) ले बजेट जनताका समस्या समाधान गर्नेतर्फ हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै धरानका जनताले खानेपानी नपाएको विषयमा सदनको ध्यानाकर्षण गराए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा अमरेशकुमार सिंहले बजेटमा शिक्षामा कर लगाइएको विषयप्रति असहमति जनाउँदै मौलिक अधिकारमाथि कर लगाउन नहुने बताए । उनले कर्मचारीको तलब बढे पनि आमजनताका लागि राहतको प्रभावकारी कार्यक्रम नभएको गुनासो गरे ।

नेपाली कांग्रेसकी सांसद सीता थपलियाले हरेक जिल्लामा नमूना विद्यालयको अवधारणा आउने अपेक्षा गरिएको जनाउँदै बजेटमा त्यस्ता कार्यक्रम नआएको बताइन् । शिक्षामा कर लगाइएको विषयप्रति उनले आपत्ति प्रकट गर्दै ग्रामीण क्षेत्र र गाउँका किसानका लागि बजेटमा प्रभावकारी कार्यक्रम नआएको भनाइ राखिन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद टुकाभद्र हमालले आगामी आवको बजेटले खास महत्वपूर्ण विषय समेट्न नसकेको धारणा राखे । बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी छ ।

प्रतिक्रिया